५ बैशाख २०८३, शनिबार

नेवार समाजको लक्ष्मी पूजा


अ+
अ-
दशैं वा दशहराको लगत्तै र छठ पर्वको केही दिनअघि नेवारहरू बडो महत्व दिएर स्वन्ति नखः मनाउँछन् । यही समय भारतमा त्यौहार र नेपालको पहाडी भेगमा तिहार नामबाट प्रचलित पर्व भएका कारण यसैलाई नेवारहरूले स्वन्ति भनेका हुन् कि भनेर झुक्किने गरेको पनि नपाइने होइन । जसरी दशैं वा दशहराको समयमा नेवारहरू बेग्लै पाराले मोहनी नखः मनाइरहेका हुन्छन् त्यसरी नै दिवाली वा तिहारको बेला पनि नेवारहरू बेग्लै पाराले स्वन्ति नखः मनाइरहेका हुन्छन् । दिवाली वा तिहारलाई यमपञ्चक भनेर पाँच दिन मनाइने भएपनि स्वन्ति मूलतः तीन दिन मात्र मनाइन्छ । यमपञ्चककै प्रभावमा नेवारहरूले पनि काग र कुकुरको पूजा गरेर हिजोआजा पाँच दिन मनाउनु बेग्लै कुरा हो । यहाँ नेवार परिप्रेक्षमा लक्ष्मी पूजाको चर्चा गरिन्छ ।

लक्ष्मी भनेर जसलाई पूजा गरिन्छ, त्यस लक्ष्मीका सम्बन्धमा बहुआयामिक दृष्टिकोण अपनाउन सकिएन भने कुरा अलमलिने संभावना अधिक हुन्छ । लक्ष्मी एउटै छैनन् । नेवारले स्वन्तिमा पूजा गर्ने लक्ष्मीको नाम धनलक्ष्मी हो । धनलक्ष्मीको अर्को स्वरुप बसुन्धरा हो । यसलाई अझ सरल रुपमा बुझाउनु नितान्त आवश्यक छ । नेवारहरूले बसुन्धरादेवीसित सम्बन्धित तीन वटा पर्व मनाउने गर्दछन् । बसुन्धरादेवी को हुन् ? भन्ने प्रश्न पनि उठ्छ । बसुन्धरा रत्नसम्भव कुलबाट आएकी देवी हुन् र यिनको तीन वटा स्वरुप रहेको पाइन्छ । यिनलाई धन, धान्य र भूमिकी बोधिसत्वका रुपमा पनि लिने गरिन्छ । धन, धान्य र भूमि प्रदायकका रुपमा लिइने यी देवीलाई विभिन्न अवसर विशेषमा पूजा गर्ने चलन छ । यसअनुसार स्वन्ति नखःको सुरुवात धनलक्ष्मीको पूजाबाट हुन्छ । यो आश्विन कृष्ण औंसीका दिन पर्दछ । यसरी नै मार्ग शुक्ल पूर्णिमाका दिन बसुन्धराकै अर्को रुप धान्यलक्ष्मीको पूजा गरिन्छ । तेस्रो पल्ट गुँलाको समाप्तीपछि वसुन्धराको पूजा गरेर गातिला व्रत बसिन्छ । यो वसुन्धरा देवीकै व्रत हो । प्राचीन नेवार समाजमा बर्षभरिमा बेग्लाबेग्लै १६ प्रकारका लक्ष्मीहरुको पूजा गर्ने चलन थियो । प्रत्येक महिना दुई प्रकारको लक्ष्मीको पूजा गर्ने उक्त चलन अहिले हराएको छ ।

स्वन्तिमा नेवार समाजमा पुजिने लक्ष्मी (धनलक्ष्मी) अन्य हिन्दू समाजमा पुजिने लक्ष्मीभन्दा धेरै मात्रामा फरक रहेका पाइन्छ । एउटै होइनन् । तसर्थ एउटै लक्ष्मी भनेर बुझ्न भ्रममा पर्नु हो । हिन्दु परम्परामा देवी लक्ष्मी विष्णु भगवानकी धर्मपत्नी हुन् । उनको प्रतिमा लक्षण नै फरक पाइन्छ । यी लक्ष्मी माथिल्ला दुई हातले पुष्प समाइ रहेकी र तल्ला दुई हातमध्ये दायाँ हात अभयमुद्रा वा वरदमुद्रामा हुन्छिन् । यसरी नै बाँया हातले धनको वर्षा गरिरहेको चित्रण गरिन्छ ।

तर नेवार समाजमा स्वन्ति पर्वमा पूजा गरिने धनलक्ष्मीको प्रतिमा लक्षण बेग्लै हुन्छन् । यिनको पनि चार हात त हुन्छन् तर सिंहासनमा अर्धपर्यङ्काशनमा विराजमान हुन्छिन् । यो वसुन्धराको आशन हो । त्यो आर्यताराको पनि आशन हो । माथिल्ला दुई हातमध्ये दायाँ हातले सामान्यतः ‘ज्वला न्हायकं’ समाइ रहेकी हुन्छिन भने बाँया हातले ‘सिन्हःमू’ (टिका थाली) समाइरहेकी हुन्छिन् । यसरी नै तल्ला दुई हातमध्ये दायाँ हात वरद मुद्रामा र बाँया हात अभयमुद्रामा हुन्छिन् । साथै, लक्ष्मीको चित्रसँगै कुबेर, ख्याः, आदिको पनि चित्रण गरिएको हुन्छ ।

सुन्धरालाई महालक्ष्मीका रूपमा कारण्डव्यूह वा गुणकारण्डव्यूहमा उल्लेख गरिएको पाइन्छ । उक्त सुत्रअनुसार वसुन्धरालाई बोधिसत्व आर्यावलोकितेश्वरले ‘तपाई लक्ष्मी, श्री महादेवी, माहेश्वरी र वसुन्धरा हुनुहुन्छ । तपाईं सबै सम्पद सुख र उत्साह दिइरहने हुनुहुन्छ । सदा जगतलाई धर्मदान गरेर धर्ममा प्रतिस्थापति गरेर पालन गरिरहनुहोस्’’ भनेको पाइन्छ ।

लक्ष्मी पूजाको दिन नेवार समाजमा विहानै घर अगाडि पिखालखुमा लिपपोट गरेर रातो मातोले मण्डप बनाई घरको धुकुतिसम्म तानिन्छ । पिखालखुमा मण्डप बनाउनुको अर्थ लक्ष्मीलाई स्वागत गर्न हो भने धुकितिसम्म सोही रातो माटोले तान्नुको अर्थ आदरसम्मानका साथ बाटो बनाउनु हो । धुकुतिमा धनलक्ष्मीको तस्वीर राखी त्यस अगाडि फलफूल तथा अन्य पूजा सामग्री राखिन्छ । नेवार समाजमा लक्ष्मी पूजाको सम्बन्ध दशैंसँग जोडिएको पाइन्छ । दशैंको बेला जुन पशु वा पंक्षीको बली चढाइन्छ, त्यसको एक टुक्रा मासु लक्ष्मीका लागि भनेर छुट्याइएको हुन्छ । दशैंको मासु पनि राखिन्छ । दशैंमा पशुबली नचढ्ने घरमा भने यो गर्नु गरिन्न । घरमा रहेका पुराना पुराना पैसाहरू पनि यसै अवसरमा पूजा गर्न लक्ष्मीको तस्वीरसँगै राखिन्छन् । लक्ष्मी पूजा एकै दिनमा सम्पन्न हुँदैन । नेवारहरू भोलिपल्ट म्हपूजा गर्दछन् । सोही अनुसार लक्ष्मीको पनि म्हपूजा गरिदिन्छन् । तेस्रो दिनमा किजापूजा भनेर अर्को पूजा सम्पन्न हुन्छ भने चौथो दिन विहान मात्र लक्ष्मी पूजाको विसर्जन गरिन्छ । यसलाई ‘लक्ष्मीद्यः क्वकायेगु’ भनिन्छ । ‘लक्ष्मीद्यः क्वकायेगु’ भनेर विसर्जन गरी चढाइएका फलफूल तथा खाद्य सामग्रीहरू प्रसादको रुपमा ग्रहण गरिन्छन् । यो प्रसाद ग्रहण गर्नका लागि विवाह गरी गइसकेका छोरीबेटीहरूलाई पाहुना डाक्नुपर्ने चलन रहेको छ ।

 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

अन्य लेखहरू: बसन्त महर्जन

यस लेखकका अन्य रोचक लेखहरू
आमा बाबुको मुख हेर्ने पर्व

आमा बाबुको मुख हेर्ने पर्व

आमाबाबुलाई आदरसत्कार नगर्नु भनेर कसले भन्छ र ? तर सबै धार्मिक समुदायमा ‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ पर्व त छ...

महाराज क्राचल्ल र बौद्ध धर्ममा उनको योगदान

राजा क्राचल्लले आफूलाई ‘परमसौगात’ अर्थात् बुद्धका ठुलो उपासक भनेर चिनाउन मन पराउने राजा हुन् । यसबाट उनी बौद्ध धर्मका उप...

बडामहाराजा नागराज र बौद्ध धर्ममा उनको योगदान

कीर्तिखम्बमा उल्लेखित विवरण राजा नागराज र उनका उत्तराधिकारीहरुका सम्बन्धमा हो । तिब्बती श्रोतहरुले पनि यही विवरण प्रस्तु...

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति चोरी हुनु धेरै दुःखदायी हो । झिल्के बनाएर यसको सत्यानाश नै गरिदिनु थप दुःखदायी हो । मूर्तिचोरीमा संलग्न हुनेहरु न...

नेवार समाजमा पाहाँचःह्रे चाड

नेवार समाजमा पाहाँचःह्रे चाड

विभिन्न जातीय समुदायको सांस्कृतिक जीवनको अध्ययन गर्दा एउटा समानता के देखिन्छ भने, वर्षभरिमा जेजति चाड पर्व मनाएपनि त्यसम...

नरेश श्रेष्ठ र फोटोग्राफी

नरेश श्रेष्ठ र फोटोग्राफी

अनेकौं पहिचानहरुको भीडमा एउटा पहिचान हो, फोटोग्राफर नरेश श्रेष्ठ । र, उनको फोटोग्राफी । बहीखाता राखेजस्तै उनी कतिपय ऐतिह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्