नेवार समाजको लक्ष्मी पूजा
लक्ष्मी भनेर जसलाई पूजा गरिन्छ, त्यस लक्ष्मीका सम्बन्धमा बहुआयामिक दृष्टिकोण अपनाउन सकिएन भने कुरा अलमलिने संभावना अधिक हुन्छ । लक्ष्मी एउटै छैनन् । नेवारले स्वन्तिमा पूजा गर्ने लक्ष्मीको नाम धनलक्ष्मी हो । धनलक्ष्मीको अर्को स्वरुप बसुन्धरा हो । यसलाई अझ सरल रुपमा बुझाउनु नितान्त आवश्यक छ । नेवारहरूले बसुन्धरादेवीसित सम्बन्धित तीन वटा पर्व मनाउने गर्दछन् । बसुन्धरादेवी को हुन् ? भन्ने प्रश्न पनि उठ्छ । बसुन्धरा रत्नसम्भव कुलबाट आएकी देवी हुन् र यिनको तीन वटा स्वरुप रहेको पाइन्छ । यिनलाई धन, धान्य र भूमिकी बोधिसत्वका रुपमा पनि लिने गरिन्छ । धन, धान्य र भूमि प्रदायकका रुपमा लिइने यी देवीलाई विभिन्न अवसर विशेषमा पूजा गर्ने चलन छ । यसअनुसार स्वन्ति नखःको सुरुवात धनलक्ष्मीको पूजाबाट हुन्छ । यो आश्विन कृष्ण औंसीका दिन पर्दछ । यसरी नै मार्ग शुक्ल पूर्णिमाका दिन बसुन्धराकै अर्को रुप धान्यलक्ष्मीको पूजा गरिन्छ । तेस्रो पल्ट गुँलाको समाप्तीपछि वसुन्धराको पूजा गरेर गातिला व्रत बसिन्छ । यो वसुन्धरा देवीकै व्रत हो । प्राचीन नेवार समाजमा बर्षभरिमा बेग्लाबेग्लै १६ प्रकारका लक्ष्मीहरुको पूजा गर्ने चलन थियो । प्रत्येक महिना दुई प्रकारको लक्ष्मीको पूजा गर्ने उक्त चलन अहिले हराएको छ ।
स्वन्तिमा नेवार समाजमा पुजिने लक्ष्मी (धनलक्ष्मी) अन्य हिन्दू समाजमा पुजिने लक्ष्मीभन्दा धेरै मात्रामा फरक रहेका पाइन्छ । एउटै होइनन् । तसर्थ एउटै लक्ष्मी भनेर बुझ्न भ्रममा पर्नु हो । हिन्दु परम्परामा देवी लक्ष्मी विष्णु भगवानकी धर्मपत्नी हुन् । उनको प्रतिमा लक्षण नै फरक पाइन्छ । यी लक्ष्मी माथिल्ला दुई हातले पुष्प समाइ रहेकी र तल्ला दुई हातमध्ये दायाँ हात अभयमुद्रा वा वरदमुद्रामा हुन्छिन् । यसरी नै बाँया हातले धनको वर्षा गरिरहेको चित्रण गरिन्छ ।तर नेवार समाजमा स्वन्ति पर्वमा पूजा गरिने धनलक्ष्मीको प्रतिमा लक्षण बेग्लै हुन्छन् । यिनको पनि चार हात त हुन्छन् तर सिंहासनमा अर्धपर्यङ्काशनमा विराजमान हुन्छिन् । यो वसुन्धराको आशन हो । त्यो आर्यताराको पनि आशन हो । माथिल्ला दुई हातमध्ये दायाँ हातले सामान्यतः ‘ज्वला न्हायकं’ समाइ रहेकी हुन्छिन भने बाँया हातले ‘सिन्हःमू’ (टिका थाली) समाइरहेकी हुन्छिन् । यसरी नै तल्ला दुई हातमध्ये दायाँ हात वरद मुद्रामा र बाँया हात अभयमुद्रामा हुन्छिन् । साथै, लक्ष्मीको चित्रसँगै कुबेर, ख्याः, आदिको पनि चित्रण गरिएको हुन्छ ।
सुन्धरालाई महालक्ष्मीका रूपमा कारण्डव्यूह वा गुणकारण्डव्यूहमा उल्लेख गरिएको पाइन्छ । उक्त सुत्रअनुसार वसुन्धरालाई बोधिसत्व आर्यावलोकितेश्वरले ‘तपाई लक्ष्मी, श्री महादेवी, माहेश्वरी र वसुन्धरा हुनुहुन्छ । तपाईं सबै सम्पद सुख र उत्साह दिइरहने हुनुहुन्छ । सदा जगतलाई धर्मदान गरेर धर्ममा प्रतिस्थापति गरेर पालन गरिरहनुहोस्’’ भनेको पाइन्छ ।
लक्ष्मी पूजाको दिन नेवार समाजमा विहानै घर अगाडि पिखालखुमा लिपपोट गरेर रातो मातोले मण्डप बनाई घरको धुकुतिसम्म तानिन्छ । पिखालखुमा मण्डप बनाउनुको अर्थ लक्ष्मीलाई स्वागत गर्न हो भने धुकितिसम्म सोही रातो माटोले तान्नुको अर्थ आदरसम्मानका साथ बाटो बनाउनु हो । धुकुतिमा धनलक्ष्मीको तस्वीर राखी त्यस अगाडि फलफूल तथा अन्य पूजा सामग्री राखिन्छ । नेवार समाजमा लक्ष्मी पूजाको सम्बन्ध दशैंसँग जोडिएको पाइन्छ । दशैंको बेला जुन पशु वा पंक्षीको बली चढाइन्छ, त्यसको एक टुक्रा मासु लक्ष्मीका लागि भनेर छुट्याइएको हुन्छ । दशैंको मासु पनि राखिन्छ । दशैंमा पशुबली नचढ्ने घरमा भने यो गर्नु गरिन्न । घरमा रहेका पुराना पुराना पैसाहरू पनि यसै अवसरमा पूजा गर्न लक्ष्मीको तस्वीरसँगै राखिन्छन् । लक्ष्मी पूजा एकै दिनमा सम्पन्न हुँदैन । नेवारहरू भोलिपल्ट म्हपूजा गर्दछन् । सोही अनुसार लक्ष्मीको पनि म्हपूजा गरिदिन्छन् । तेस्रो दिनमा किजापूजा भनेर अर्को पूजा सम्पन्न हुन्छ भने चौथो दिन विहान मात्र लक्ष्मी पूजाको विसर्जन गरिन्छ । यसलाई ‘लक्ष्मीद्यः क्वकायेगु’ भनिन्छ । ‘लक्ष्मीद्यः क्वकायेगु’ भनेर विसर्जन गरी चढाइएका फलफूल तथा खाद्य सामग्रीहरू प्रसादको रुपमा ग्रहण गरिन्छन् । यो प्रसाद ग्रहण गर्नका लागि विवाह गरी गइसकेका छोरीबेटीहरूलाई पाहुना डाक्नुपर्ने चलन रहेको छ ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment