५ बैशाख २०८३, शनिबार

फूलको आँखामा काँडाको संसार


अ+
अ-

फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार’ –नेपाली सांगीतिक क्षेत्रमा चर्चित एवं लोकप्रिय गीतको पङ्ति हो । अति भावुक र कोमल शब्दहरूको संयोजनबाट गीत तथा कविताहरूको सिर्जनामा जीवन अर्पण गरेका कवि दुर्गालाल श्रेष्ठको यो सिर्जनालाई घरगृहस्थी त्याग गरी बौद्ध संघमा प्रवेश गरेका आनी छोइङ् डोल्माले स्वर दिएकी छन् र यो गीत नेपाली जनजीवनको जिब्रोमा नै बसेको पाइन्छ । सामान्य कुराकानीदेखि गम्भीर बहसमा समेत यो गीतको पहिलो पङ्तिलाई उद्धृत गर्ने गरिन्छ । तर गीतका पङ्तिहरूलाई यत्तिकै सुन्ने र सुनाउने हो भने सा¥है मिठास लागेपनि सोचविचार गर्दा गीतका प्रायः पङ्तिहरूको आसय ठम्याउन गाह्रो हुन्छ । यहाँ यही कुरालाई ध्यानमा दिएर समीक्षा गरिएको छ ।

गीतको पहिलो पङ्ति ‘फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार’ ले के भन्न खोजिएको बुझ्न सकिन्न । खराब मान्छेको आँखामा सबै मान्छे खराब अनि असल मान्छेको आँखामा सबै असलै हुन्छन् भन्ने आसय दर्साउन खोजिएको भने स्पष्ट बुझिन्छ । र, अन्यले पनि यही आसयबाटै बुझेको र प्रयोग भएको देखियो । यही आसयमा यो गीत चर्चित पनि भयो । आफ्नो प्रायः सिर्जनामा बुद्ध र बौद्ध विषयवस्तुलाई बिम्व, प्रतीक तथा उपदेशबाट रंगाउने प्रवृत्ति भएका कविको यो सिर्जनालाई सर्वसाधारणले पनि बौद्ध गीत वा बौद्ध दर्शनबाट प्रभावित गीतका रूपमा लिएको देखिन्छ । गीतको गाम्भीर्यतामा डुबुल्कि मार्दै यसलाई बौद्ध दर्शनसँग जोड्नेहरू पनि पाइन्छ । तर गीतलाई बौद्ध दर्शनसँग जोड्ने हो भने गीतको यो पङतीले पल्टा खान्छ । बौैद्ध सन्दर्भमा फूलको आँखामा फूल नभएर काँडा देख्छ ।

बुद्ध राग, द्वेष, मोहलगायत तृष्णादिले मुक्त एक सत्व हुन् । फूलको आँखाले फूलै देख्ने भए बुद्धको आँखाले सबैलाई आफूजस्तै बुद्ध नै देख्नु पर्ने हो । बुद्धको उपदेशमा चार आर्यसत्यलाई बुझ्नु ‘सम्यक दृष्टि’ हो र त्यसमा पनि पहिलो सत्य ‘दुःख’ हो । दुःखै दुःखले भरिएको जगतलाई दुःखको अन्त्य गर्ने शिक्षा नै बौद्ध शिक्षा हो भन्नुमा मतैक्य छैन । निर्वाण प्राप्त गर्ने सत्व नै बुद्ध हुन् र निर्वाण प्राप्तीको अवस्थामा सुखै सुख हुन्छ भन्ने बौद्ध धर्मदर्शनको मान्यता मात्रै नभएर अनुभवीहरूबाट व्यक्त हुने वचन हो । तर फूलको पर्याय बनेका बुद्धको आँखाले जगतमा काँडैकाँडा देखेजसरी सत्व प्राणीहरूमा दुःखै दुःख देख्छन् र करुणाले ओतप्रोत भई दुःखबाट मुक्त पार्न उपदेश दिन्छन् । ‘फूलको आँखामा फूलै संसार’ हुने हो भने बुद्धले अरुलाई पनि बुद्ध नै देख्नुपर्ने थियो र करुणाको जरुरत नै पर्दैनथ्यो । फूलको आँखामा फूलै संसार हुने होभने कुनै पनि न्यायाधीसले कसैलाई पनि चोर अथवा खराब भनेर दण्ड दिनु पर्दैनथ्यो वा चोरले सबैलाई चोरै देख्ने हुन्छ । यसर्थ फूलको आँखामा फूलै संसार हुने मान्यताले सबै कुरालाई गोलमाल पारिदिने हुन्छ ।

यसरी नै ‘काँडाको आँखामा काँढै संसार’ हुने भए अर्थात खराब मान्छे सँधै खराबै भइरहन्छन् । किनभने उसले खराबै खराब देख्छन् । उसलाई असल मान्छे बन्नु पर्ने चेत नै आउँदैन वा जरुरत नै पर्दैन । खराब मान्छेले असल मान्छे देख्यो भने मात्र उ पनि असल बन्न प्रेरित हुन्छन् । यस अर्थमा यो पङ्ती पनि न यथार्थ छ, न त तर्क संगत नै ।

झुल्किन्छ है छायाँ वस्तुअनुसार’ पद्यांश पनि अति नै भावुक तर भ्रमपूर्ण छ । सामान्य बुझाइमा वस्तुअनुसार छायाँ झुल्किने भएपनि यो कुरा प्रकाशमा आधारित हुन्छ भन्ने कुरा भुल्नु हुँदैन । एउटै वस्तुको छायाँ विहान घाम उदाउँदादेखि अस्ताउँदासम्म निरन्तर रूपमा परिवर्तन भइरहन्छ । प्रकाशको अभावमा छायाँको अस्तित्व नै हुँदैन । छायाँ स्पष्ट देखिनु र नदेखिनुसँग वस्तुको कुनै सम्बन्ध हुँदैन पनि ।

चित्त शुद्ध होस् मेरो बोली बुद्ध होस्’ भनेर कामना गर्नु राम्रै हो । चित्त शुद्ध भयो भने स्वतः बुद्ध होइन्छ । बुद्धले बोल्ने बुद्ध बोली नै हुन्छ । यसर्थ दार्शनिक पृष्ठभूमिमा दुबै शब्दले एउटै अर्थ राख्दछ । यस अर्थमा कविले यहाँ शब्दमात्रै थोपर्ने काम गरेको बुझिन्छ । र, यसबाट चित्त शुद्धि र बुद्ध दुई बेग्लाबेग्लै विषयको रूपमा भ्रम सिर्जना हुन पुगेको छ ।

मेरो पाइतालाले किरै नमरोस्’ भन्ने वाक्यलाई आजभोलि सहज रूपमा बौद्ध आदर्शका रूपमा लिने गरिन्छ । यस गीतमा बुद्धको उपमा दिइएको, बुद्धलाई नै विम्ब र प्रतीक बनाएर लेखिरहने कविबाट यो गीत सिर्जना भएको र गृहस्थ जीवन त्याग गरी बौद्ध संघमा बसेकी व्यक्तित्वबाट गाइनु हो । कुनै पनि प्राणीको हत्या नगर्नु बौद्ध आदर्श वा दैनिक जीवनमा अपनाउनु पर्ने एउटा शील हो । यसअनुसार जानीबुझी कुनै प्राणीको हत्या बौद्ध हातबाट हुँदैन पनि । तर आफ्नो पाइतालाले किरा पनि नमरोस् भनेर सजग भई हिड्ने वा हिड्दै नहिड्ने बौद्धहरूबाट हुँदैन । चित्तले हत्या आसय नलिएको अवस्थामा हुनगएको हत्यालाई हिंसा मानिन्न । यो कुराको उदाहरण बुद्धकै सन्दर्भबाट उजागर गर्न पनि सकिन्छ । त्यति बेला शीलले सम्पन्न एक भिक्षु थिए, आँखा नदेख्ने । विहारमा यताउता हिड्दा उनीबाट किराफट्याङ्ग्रा कुल्चिन्थे र मर्थे । सबै प्राणीलाई बराबर देख्ने भिक्षुहरूलाई ठुलो चिन्ता थियो, विहारमा साना साना प्राणीहरू कुल्चिएर मरिरहेका छन् र कुल्चने भिक्षुलाई पनि पाप लाग्ने भयो । भिक्षुहरूको यो चिन्ता र कुल्चने भिक्षुप्रतिको गुनासो बुद्धसमक्ष पुग्दा आँखा नदेख्ने भिक्षुले जानीजानी किरालाई कुल्चेको र मार्छु नै भनेर मारेको नहुँदा यसलाई अन्यथा लिन नहुने उपदेश दिएका थिए । बरु आफ्नो पाइतालाले किरै नमरोस् भनेर अँध्यारोमा हिड्दै नहिंड्ने, आफू आएको जनाउ दिन लौरो टेकेर हिड्ने र स्वास फेर्दा पनि नाक र मुखबाट किरा छिर्ला भनेर मुखमा पट्टी बाँधेर हिड्ने अथवा अहिंसाको अभ्यास वर्धमान महावीरको जैन धर्मको आदर्श हो ।

हिंसा सम्बन्धी महावीरको अवधारणालाई गौतम बुद्ध अतिवादी दृष्टिकोण मान्छन् । यस्तो अतिवादबाट पर बस्न उपदेश दिन्छन् । बुद्धको आदर्श वा पहिचान मध्यममार्गी हो र कुनै पनि अतिवादमा अल्झिने नभएर व्यावहारिक हुने हो । गीतमा जैन आदर्श वा मूल्यमान्यताको प्रभाव परेको छ तर यही प्रभावलाई बौद्ध सन्दर्भमा थोपर्न ल्याइनु कविको भूल हो ।

कालो रातमा केही देखिन्न । कालो रातमा जुन देख्नु भनेको कोरा कल्पना वा अवास्तविक हो अर्थात् प्राकृतिक स्वभावलाई अस्वीकार गर्नु हो । जुन भएरमात्रै टहटह जुन देखिने हो अर्थात् जुन हुनु नै कालो रातको अभाव हुन्छ । ‘तहतह जुन देखुँ कालो रातैमा’ तर्कसंगत छैन । र, जीवनलाई बुझ्न सुखमात्रै होइन, दुःखलाई पनि बुझ्नु पर्दछ तर कविले ‘जीवन संगीत सुनुँ म सुखपातैमा’ भन्नु पनि उस्तै मिल्दो कुरा होइन । यसरी नै सङ्लो मनमा मात्रै होइन, मन नै नभएको अवस्थामा पनि संसार खुल्छ । त्यो संसारलाई कसरी लिने भन्ने कुरा व्यक्तिमा भर पर्दछ । यस अर्थमा ‘राम्रो आँखामा खुल्छ राम्रै संसार’ भनेजस्तै ‘सङ्लो मनमा खुल्छ है सङ्लै संसार’ भन्नु पनि तर्कसंगत छैन ।

गीत साहित्यिक र दार्शनिक दुबै दृष्टिले दोषपूर्ण छ । शब्द लालित्य र मर्मस्पर्शी अभिव्यक्ति नै साहित्यको मापदण्ड होइन, त्यसमा अर्थपूर्ण सन्देशको पनि दरकार पनि पर्दछ । गीतकार यसमा पूर्णतः चुकेको देखिन्छ । तर तिनै शब्दहरू लोकप्रिय हुनु छलफलको बेग्लै पाटो हो । अर्थहीन सन्देश पनि ग्राह्य हुनसक्छ भन्ने कुराको एउटा उदाहरण यो गीत पनि हो । लोकरिझ्याइँमा साहित्यिक एवं दार्शनिक मूल्यमान्यता तथा त्यसको गम्भीरताले खासै महत्व राख्दैन । वास्तवमा साहित्यिक दृष्टिले यो दुर्घटनामा मात्रै हो ।

Comments (2)

Taramuni Feb 7, 2026 10:06
Excellent analytical version of the song… this reading made me realized the truth of lives… made me aware of the fact that how we easily trapped ourselves by the illusion…! Thank you Basant sir!!
Neeta Tuladhar Manandhar Feb 5, 2026 12:45
गहिरो बिश्लेशन, सत्यता तेतै छ
फुल्को आखामा फुलै सन्सार
Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

अन्य लेखहरू: बसन्त महर्जन

यस लेखकका अन्य रोचक लेखहरू
आमा बाबुको मुख हेर्ने पर्व

आमा बाबुको मुख हेर्ने पर्व

आमाबाबुलाई आदरसत्कार नगर्नु भनेर कसले भन्छ र ? तर सबै धार्मिक समुदायमा ‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ पर्व त छ...

महाराज क्राचल्ल र बौद्ध धर्ममा उनको योगदान

राजा क्राचल्लले आफूलाई ‘परमसौगात’ अर्थात् बुद्धका ठुलो उपासक भनेर चिनाउन मन पराउने राजा हुन् । यसबाट उनी बौद्ध धर्मका उप...

बडामहाराजा नागराज र बौद्ध धर्ममा उनको योगदान

कीर्तिखम्बमा उल्लेखित विवरण राजा नागराज र उनका उत्तराधिकारीहरुका सम्बन्धमा हो । तिब्बती श्रोतहरुले पनि यही विवरण प्रस्तु...

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति चोरी हुनु धेरै दुःखदायी हो । झिल्के बनाएर यसको सत्यानाश नै गरिदिनु थप दुःखदायी हो । मूर्तिचोरीमा संलग्न हुनेहरु न...

नेवार समाजमा पाहाँचःह्रे चाड

नेवार समाजमा पाहाँचःह्रे चाड

विभिन्न जातीय समुदायको सांस्कृतिक जीवनको अध्ययन गर्दा एउटा समानता के देखिन्छ भने, वर्षभरिमा जेजति चाड पर्व मनाएपनि त्यसम...

नरेश श्रेष्ठ र फोटोग्राफी

नरेश श्रेष्ठ र फोटोग्राफी

अनेकौं पहिचानहरुको भीडमा एउटा पहिचान हो, फोटोग्राफर नरेश श्रेष्ठ । र, उनको फोटोग्राफी । बहीखाता राखेजस्तै उनी कतिपय ऐतिह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्