मिस्टर जेफपिटर्स
ओ. हेनरी
दक्षिण क्यारोलिनाको चार्लस्टनमा बसेर जेफ पिटर्सले पैसा कमाउने कति जुक्ति गरिसक्यो भनेर साध्य छैन । उसले सुनाउने अनगिन्ती कुराहरूमध्ये उसको आफ्नै जिन्दगीका कथाहरू सुन्न निकै रमाइलो हुने गर्छ । ऊ हातमुख जोड्न कहिले जोखिमपूर्ण शारीरिक सर्कस देखाइरहेको हुन्थ्यो त कहिले गुलिया खानेकुरा र खोकीको औषधि पनि बेचिराखेको हुन्थ्यो ।
छालाको सुट लगाएर लामो लामो कपाल पालेर म अर्कान्सको पिशरहिलमा पुगें । टेक्सरकानाको एउटा अभिनेतासित सानो चक्कुसँग साटेर लिएको हिराको औंठी पनि लगाएर गएको थिएँ । तर उसले त्यो चक्कु के गर्योै होला, थाहा भएन ।
त्यतिबेला म औषधिउपचार गर्ने प्रवासी मान्छे डा. बाहुको नामले प्रख्यात थिएँ । म आफूसँग भएका जडिबुटीले जस्तोसुकै रोगलाई पनि बिसेक पार्छु भनी बाजी मार्दै हिंड्थे । ‘यो औषधि संजीवनी वृक्षबाट बनाइएको हो, यो औषधि ‘कोर्न डान्स’को लागि जोरजाम गर्न जाँदा चोक्खा प्रान्तका अध्यक्षकी दयालु श्रीमतीले भेट्टाएर ल्याएकी हो…।’ म यस्तै कुरा गर्दै हिंड्थें ।
पछि बसेको सहरमा मेरो व्यवसाय राम्रोसित नचल्दा म टाट पल्टिएँ । त्यतिबेला खल्तीमा पाँच डलर मात्र बाँकी थियो अनि म फिशरहिलको औषधि व्यापारीकहाँ पुगें । उसले मलाई आधा ग्रुस आठऔंसको शिशी र बिर्को दियो । मेरो झोलामा औषधिको नाम लेख्ने कागज र औषधि बनाउन आवश्यक सामग्रीहरू बाँकी थिए । अनि के कुराको कमी भयो र ? म बसेको होटलको कोठामा धाराबाट पानी आइरहेको थियो । टेबुलमाथि दर्जनौं मृत संजीवनी चिराइतोका शिशीहरूको लाइन लाग्दा मेरो जिन्दगीले पनि आनन्दको अनुभव गर्यो ।
झट्ट हेर्दा मात्र राम्रो देखिने त्यो औषधि त हु“दै होइन । औषधि बनाउन मात्र पनि दुई डलर दस पैसा पर्ने रसहरू खर्च गर्नु पर्ने हुन्थ्यो । धेरै बर्षपछि सहर जाँदा त्यो औषधिको माग त निकै बढ्यो ।
त्यो एक रात एउटा गाडी भाडामा लिएर मूल सडकमा चिराइतो बेच्ने काम सुरू गरें । पिशरहिल भन्ने त्यो ठाउँ खाल्डोमा परेको हुनाले त्यहाँका मान्छेहरूलाई छाती नदुख्ने, खोकी नआउने र रूघा नलाग्ने औषधिको रुपमा त्यसउलाई अपनाउन सकिन्छ भनेर बुझाउन मलाई त्यति धेरै गाह्रो भएन । एक शिशीको पचार सेन्ट लिएर त्यस्तै दुई दर्जन जति के बेचें हुँला, एउटा पुलिसले विस्तारै मेरो कोट तानिहाल्यो । म तुरुनतै चुपचाप गाडीबाट ओर्लेर उसको हातमा पाँच डलर थमाइदिएँ ।
‘साहेब, रातीको समयमा यहाँ त साह्रै रमाइलो हुँदो रहेछ हगि ?’ अलि जिस्किने पारामा मैले भनें ।
‘औषधिको नाममा यस्तो अवैध र गैरकानुनी झोल बेच्दै हिंड्न तिमीसित लाइसेन्स त छ के ? ’
‘अहँ साहेब, मसित त त्यस्तो केही कुरा छैन । यहाँ यस्तो कुराको व्यवस्था छ भनेर थाहा पनि भएन । यो कुरा म भोलिसम्ममा व्यवस्था गरिसक्छु ।’
‘व्यवस्था गर्न नसकेसम्म म यो काम गर्न दिन्न ।’
त्यसपछि औषधि बेच्ने काम बन्द गरेर होटलतिर फर्कें र होटल मालिकसित कुरा बुझें ।
‘ओहो, यहाँ फिशर हिलमा मेयरको साला डाक्टर होस्किनको नाउँ बाहेक अरु कसैको पनि छैन । यहाँ अरु कोही पनि डाक्टरलाई प्राक्टिस गर्ने अनुमति नै छैन ।’ होटल मालिक बोल्यो ।
‘म औषधि उपचार गर्ने काम त गर्दिन ।’ मैले जवाफ दिएँ– घरघरमा गई खुद्रा व्यापारीको रूपमा औषधि बेच्न पाउने लाइसे
नस त मलाई राज्ले नै दिइराखेको छ नि ।’
भोलिपल्ट बिहान मेयरलार्य भेट्न भनी म उसको अफिस पुगें तर ऊ त आइपुगेकै रहेनछ ।कति बेला आइपुग्ने हो सो कुरा पनि त्यहाँका कर्मचारीहरूलाई थाहा रहेनछ । म आफू बसेको होटममै फर्की मेचमा बसी चुपचाप चुरोट तानेर बसिरहें ।
यत्तिकै बेला नीलो रंगको टाई लगाएको एउटा मान्छे मेरो अगाडिको मेचमा आएर बस्यो र सोध्यो– ंकति बज्यो होला ?’
जवाफ दिएँ– ‘साढे दस बज्यो । ’
एक क्षणपछि म आफैं बोलें– ‘अहो, मैले त तपाईलाई चिनें नि । तपाईको नाम एण्डी टकर होइन र ? तपाईको कामदेखि पनि म परिचित नै छु । दक्षिण प्रान्तमा ग्रेट क्युपिट कम्बिनेशनको नाउँमा विवाहको बेला साँटफेर गर्ने औंठी, आलु काट्ने सामानहरू, सिरपको शिशी, रक्सी लगायतका सामानहरूको प्रति पोका पचास सेन्टमा बेच्दै हिंड्ने तपाईनै होइन र ? ’
उसको बारेमा मैले सम्झिराखेको हुनाले ऊ मदेखि निकै खुशी भयो । आफ्नो पेशालाई राम्रासित कदर गर्ने ऊ पनि एउटा भ्रमणशील बिक्रेता नै हो आफ्नो व्यापारबाट कमाइने नाफामा नै ऊ सन्तुष्ट छ, अवैध धन्दातिर लाग्ने सोचाइ कहिल्यै बनाएन ।
मैले उसलाई फिशरहिलको स्थानीय वातावरणको सम्बन्धमा बेलिविस्तार लगाएँ । त्यहाँको नराम्रो राजनीतिको सम्मिश्रणले गर्दा पैसा कमाउन गाह्रो हुने कुराको पनि अवगत गराएँ । यी सबै कुरा बताउनुको खास कारण के थियो भने मलाई एउटा पार्टनरको आवश्यकता थियो र मैले उसलाई आफ्नो पार्टनरको रुपमा लिने कुरा सोचिसकेको थिएँ ।
एण्डी त्यसै दिन मात्र बिहानको रेलबाट आइपुगेको रहेछ र पैसाको अभावमा छटपटाइरहेको थियो । युरेका स्प्रिङ सहरमा एउटा जहाज बनाउने योजनाको सिलसिलामा ऊ चन्दा बटुल्न आएको रहेछ । कसरी चन्दा संकलन गर्दा आफुलाई पनि फाइदा होला भन्ने कुरा सोचेर पार्कभित्र छिरी विचारविमर्श गर्यौं र एउटा गतिलो योजना तयार पार्यौं ।
भोलिपल्ट बिहान त्यस्तै एघार बजेतिर हुँदो हो, होटलको कोठामा एक्लै बसिरहेको थिएँ, सहरको मेयर जज बान्कसलाई सन्चो भएन भनी अंकल टम भन्ने मान्छे मलाई बोलाउन आयो । मैले सोधें,–‘अहँ, म त डाक्टर होइन, डाक्टरलाई नै बोलाउनु पर्ने, बोलाउन नगएर यहाँ किन ?’
उसले जवाफ दियो–‘यो सहरमा हस्किन्स एउटैमात्र डाक्टर छ, तर ऊ पनि बीस माइल टाढा बिरामी हेर्न गइराखेको छ ।मेयर साहेब सिकिस्त हुनुहुन्छ, यहान्लाई नलिई नआउनू भनी पठाउनु भएको छ ।’
मैले शर्त राखें, ‘बिरामी हेर्न डाक्टर आएजस्तो आउन म असमर्थ छु तर मान्छेलाई मान्छे हेर्नेजस्तो गरी आउने भए आउन सक्छु ।’
खल्तीमा मृत संजीवनीको रुपमा एक शिशी चिराइतो लिएर म मेयरको घर पुगें । मेयरको घर सहरमा सबैभन्दा राम्रो र आकर्षक थियो । घरको अगाडि चौरमा डरलाग्दा दुइटा कुकुर थिए ।
मेयर बान्कसको जुंगा, दाह्री र पाइतालाबाहेक पुरै शरीर केही नदेखिने गरी सिरकले छोपिएको थिो र सिरकभित्रबाट क्रन्दन आइरहेको थियो उसको घिल्तिर एक गिलास पानी बोकी एउटा युवक उभिरहेको थियो ।
‘डाक्टर साहेब, म त यहाँ मर्नै लागें । मलाई बचाइदिनु हुन्न ?’मेयरले रून्चे स्वरमा सोध्यो ।
मैले भनें, ‘‘मेयर, वस्तवमा म डाक्टर होइन । हजुरको केही सेवा गर्न सकुँला कि भन्ने भावना लिएर मानवताको नाताले मात्र म यहाँ आएको हुँ ।’
पुनः ऊ बोल्यो– ‘‘तपाईंलाई देखेर म कृतज्ञ भएँ । डाक्टर वाहु, यो मेरो भान्जा बिडल हो । मेरो कष्ट हटाउन यसले खूब प्रयास गरेको थियो तर सबै ब्यर्थ भो’। ऐय्या…।
ओछ्यानमा बसेर म मेयरको नाडी छाम्नतिर लागें ।
‘खोइ तपाईको जिब्रो एकपल्ट हेरूँ त’ मैले भनें । हेरिसकेपछि उसको आ“खाको नानी पनि नियालेर हरें ।
‘विरामी पर्नु भएको कति भयो ?’ मैले सोधें ।
‘हिजो बेलुकादेखि ऐय्या, … डाक्टर साहेब मलाई खानकुरा केही दिनुहुन्न र ?’
‘मिस्टर फिडल, पर्दा अलिकति हटाइ दिनुस् त ।’
‘नाई, म फिडल होइन, बिडल’ युवक बोल्यो– ‘काका, फुल, मासु खाइसिन्छ कि ?’
मेयरको काँध नजिक कान लगी बोलें –‘दायाँपट्टिको हाडमा अलि ठुलै घाउ भएको देखिन्छ ।’
‘हे इश्वर, यसमा केही कुरा मालिस गरी निको पारिदिनुस् न । ’ उसले आफ्नो दुखेसो पोख्यो ।
जुरुक्क उठी टोपी लगाई म त्यहाँबाट ढोकातिर लम्कें ।
‘रोगले चापेर मर्नै लागेको मान्छेलाई छोडेर नजानुस् ।’ मेयर बोल्यो ।
‘डाक्टर,’ बिडल बोल्यो–‘दुःखमा परेको यस्तो मान्छेलाई यत्तिकै छाडेर जान तपाईको मानवताले त रोक्नुपर्ने हो । ’
‘मेयर, औषधिले अब केही गर्नेवाला छैन, अब एउटै मात्र बाटो छ ।’मैले भनें ।
त्यो के हो त ?’ उसले सोध्यो ।
‘वैज्ञानिक प्रयोग’ मैले भनें–‘जडिबुटी केही नखाइकन मनोगल रूपमा यसलाई जित्ने । विसन्चो हुँदा यो खासै केही भएको होइन, केवल अलिकति यताउता मात्र परेको भनेर विश्वास गर्ने।’
‘के भन्नुभएको डाक्टर साहेबले रु तपाई समाजवादी त होइ हगि ?’मेयरले सोध्यो ।
‘यो त मनोविज्ञान सम्बन्धी विषय पर्यो । नभएकोलाई हो र भएकोलाई होइन भनेर विश्वास दिलाउनु पर्ने एउटा खेलको विषयमा म बोलिरहेको हुँ ।’ मैले भनें ।
‘अनि के यो कुरा तपाई आफूमा पनि लागू गर्न सक्नुहुन्छ ?’मेयरले सोध्यो ।
‘म त तान्त्रिक विद्या र मनोवैज्ञानिक नियन्त्रणको एउटा माध्यम हुँ । अस्ति भएको आन् आर्वोरको मेलामा भिनेगर कम्पनीको मरिसकेको अध्यक्ष पृथ्वीमा आई आफ्नी बहिनीसित भेटघाट गरेको थियो , त्यो मेरै माध्यमबाट भएको हो । घर घरमा गई गरिबहरूलाई म औषधि बेच्न हिंडिरहेको तपाई देख्न सक्नुहुन्छ तर तिनीहरूसित मेरो कुनै व्यक्तिगत आकर्षण छैन । औषधि किन्न म तिनीहरूलाई कर पनि गर्दिन्, गरेर फाइदा पनि के पो हुने हो र ।’
‘मलाई औषधि दिनुहुन्छ कि हुन्न ?’मेयरले अझै पनि सोध्यो ।
‘हेर्नुस् म जहाँ जाऊँ त्यहाँ मेडिकल सोसाइटीका सदस्यहरूसित झगडा पर्नेगर्छ । तसर्थ म औषधि उपचार गर्दिन । यदि मेयरको हैसियतले तपाई मसित लाइसेन्सको कुरा उठाउनुहुन्न भने तपाईको जिन्दगी बचाउन म मनोबैज्ञानिक तरिकाबाट उपचार गर्न सक्छु ।’
‘हुन्छ, हुन्छ, बरू अलि चाँडो गर्नु पर्यो । ऐय्या … फेरि दुख्यो ।’
मलाई दुईसय पचार डलर फी चाहिन्छ’ मैले भनें–‘दुइटा उपचारले नै तपाईको पीडालाई रफ्फूचक्कर बनाइदिन्छु ।’
‘हुन्छ, म तिर्छु । मेरो जिन्दगीको मूल्यको कुरा पनि त छ’।– मेयरले भन्यो ।
उसको आँखामा मैले राम्रोसित नियालेर हेरें ।
‘अब आफूलाई रोग लागेको छ भनेर बिर्सिदिनुस्, साँच्चै तपाई स्वस्थ नै हुनुहुन्छ । तपाईसित मुटु नै छैन, अथवा दुखेको हाड पनि छैन, दिमाग पनि छैन, केही पनि छैन । तपाईलाई कहीं कतै दुखेको छैन । जुन पीडा तपाईलाई भएको छ त्यसलाई भ्रम भन्ठान्नुस् … अब तपाईलाई केही भएको छैन, होइन त ?’मैले सोधें ।
‘हो, केही विसेक भएजस्तो लाग्यो, डाक्टर साहेब ।’मेयर बोल्यो–‘मेरो दाया“तिरको हाड सुन्निएइर आएको छैन भनेर पनि तपाई एक पल्ट झूठो बोलिदिनुस् न ।’
मैले फेरि उसको जीउ छामेर उपचार गर्नतिर लागें ।
‘पीडा त भागिहाल्यो । जीउको पछाडि मासुको डल्लो पनि गायब भयो । तपाईलाई निद्रा लाग्छ, आँखा चिम्लयो र घुरेको स्वर पनि सुनियो ।
‘देख्नुभयो त मिष्टर टिडल ? यो आधुनिक विज्ञानको चमत्कार ?’ मैले सोधें ।
ऊ बोल्यो, ‘‘टिडल होइन, बिडल । काकालाई अब बाँकी उपचार कहिले गरिदिनु हुन्छ त डाक्टर पू–पू ?’
‘पू–पू होइन, वाहु’ मैले भनें– ‘भोलि बिहान एघार बजेतिर म आउँछु । निद्रा खुलेपछि तार्पिन तेल पिलाउनुहोस् र तीन पाउण्ड मासु पनि खुवाउनुस् । ल त नमस्ते ।’
भोलिपल्ट बिहान भनेकै समयमा पुगें ।
मैले सोधें– ‘मिस्टर रिडल, काकालाई अब कस्तो छ ?’
‘रिडल होइन, बिडल’ त्यो युवक बोल्यो– ‘औषधिले त राम्रोसित काम गरेछ नि ।’
मेयरको सबै कुरो राम्रो भइसकेछ । मैले उसलाई अर्को औषधि दिएँ र उसले पछिल्लो पीडा पनि गायब भइसकेको कुरा बतायो ।
‘अब दुई–चार दिन फेरि आराम लिनुभयो भने बिलकुल ठीक हुनुहुनेछ । आजकल म शिरहिलमा आइरहेको पनि तपाईकै भाग्यले रहेछ ।’ मैले भने– ‘साँच्चै तपाईको यो भाग्य नै हो किनभने अरू डाक्टरहरूको औषधिले त तपाईलाई हुँदै हुँदैन, यो तपाई बुझ्नु नै हुन्छ ।अब मेरो फीको बारेमा… कृपया चेक दिनुस्, चेकमा हस्ताक्षर गरिराख्न मलाई झञ्जट लाग्छ ।’
‘उसो भए नगद नै लिनुस् न त ।’ मेयर बोल्यो ।
मेयरले तकियामुनिबाट पर्स निकाल्यो । पचास पचासका पाँचवटा हरिया डलर आफ्नो हातमा लियो ।
‘रसिद देऊ त’ मेयरले बिडललाई भन्यो । रसिदमा मैले हस्ताक्षर गरिसकेपछि उसले मेरो हातमा पैसा थमाइदियो । खूब जतनसाथ मैले त्यो पैसा भित्री खल्तीमा हालें ।
अब मेयसले अर्कै रौनकमा स्वर निकाली बोल्यो–‘अफिसर, अब तपाई आफ्नो कर्तव्य पालन गर्नुस् ।’
बिडलले मेरो पाखुरा समाती बोल्यो–‘राज्यको नियम उल्लंघन गरी विनालाइसेन्स औषधि गर्न हिंडेको कारण अब तपाई हिराशतमा हुनुहुन्छ, डाक्टर वाहु उर्फ मिस्टर जेफ पिटर्स ।’
‘को हो तपाई ? ’मैले सोधें ।
‘उहाँ को ?’ ओछ्यानमा चट्ट बसेर मेयर बोल्यो– ‘उहाँ राज्यको मेडिकल सोसाइटीबाट नियुक्त गरिएको एक जना गुप्तचर हुनुहुन्छ । पाँच देशबाट तपाईको पिछा गर्दागर्दै उहाँ हिजो यहाँ आउनुभयो र यो योजना तयार भयो ।’
‘गुप्तचर ?’
‘हो, म गुप्तचर हुँ । अब म तपाईलाई शरिफ कहाँ बुझाउन लान्छु ।’ उसले भन्यो ।
बिडलको कठालो समातेर मैले भनें– ‘हेरौं न त तैंले मलाई लाने ।’
उसको आधा जीउ झ्यालबाहिर जाने गरी उसको कठालो समाति राखें । उसले मेरो चिउँडोको मुन्तिर पिस्तोलको नाल राखिदियो । म टक्क उभिएँ । मेरो हातमा हतकडी लगायो र खल्तीमा राखिसकेको पैसा खोसेर लियो ।
मेयर जज बान्क्ससित बिडल बोल्यो–‘हामी दुबैले एकसाथ हस्ताक्षर गरेको बिल यही हो । यो बिल म शरिफको अफिसमा दिइराख्छु, तपाई वहाँबाटै लिनुस् । मुद्दा चलाउन दसी प्रमाणको लागि यस्तो बिल त चाहिन्छ नै तपाईलाई भनिराख्नु त पर्दैन ।’
‘ठीक छ, ठीक छ मिस्टर बिडल’ मेयर बोल्यो । मतिर फर्केर पुनः बोल्यो–‘डाक्टर वाहु, आफ्नो व्यक्तिगत आकर्षण प्रयोग गरी यो हतकडीलाई पनि त तोड्न सक्छौं, किन तोडेनौ ?’
‘मेयर साहेब, म त आफ्नो व्यक्तिगत आकर्षण आवश्यक ठाउ“मा मात्रै पो प्रयोग गर्छु, जहाँ पायो त्यहीं गरेर दुरूपयोग त गर्न सक्दिन ।’ मैले भनें र मेयर बान्क्सको कान नजिकै हतकडी लगेर अदबका साथ आवाज निकालिदिएँ ।
मेयरलाई पुनः भनें– ‘मेयर साहेब, यो व्यक्तिगत आकर्षण पनि सफलता नै हो भन्ने कुरामा तपाई विश्वस्त हुने एक समय आउ“छ नै र यो मुद्दामा म नै सफल हुन्छु भन्ने कुरामा पनि विश्वास गर्नु हुनेछ ।’
मेरो विश्वासमा साँच्चि यस्तै भयो पनि ।
हामी त्यहाँबाट निस्केर शरिफको अफिसको ढोकैमा पुगेपछि मैलै भनें– ‘ए एण्डी, यहाँ हामीलाई कसैले पनि देख्न सक्दैन अब । हतकडी चाँडो खोल्देऊ, यही राम्रो होला । ’
हो, ऊ एण्डी टकर नै हो । हाम्रो योजना यही थियो र हामी यसरी सफल भयौं ।
अनुवादः बसन्त महर्जन
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment