६ बैशाख २०८३, आइतबार

मनसुनको संघारमा के छ पूर्वतयारी ?


अ+
अ-



२०७८ साल असोज २२ गते एक्कासी पानी पर्दा स्थानीय देवीटार आधारभूत माध्यमिक विद्यालयमा पढेर घर फर्कंदै गरेकी १२ वर्षिया बालिकालाई जिर्खे खोलाले बगायो । स्थानीयहरू त्यही खोलालाई बाटो बनाएर हिंड्ने गर्दा बालिकाको अकालमा ज्यान गयो भने हिजोआज पनि त्यही खोलालाई बाटो बनाएर सयौंको दैनिक आवतजावत हुन्छ । तर स्थानीय निकाय तथा बासिन्दाले विकल्प बाटो बनाएका छैनन् । राक्सिराङ्ग गाउँपालिका वडा नं ८ मा पर्ने उक्त विद्यालयमा पढ्ने, पढाउने, उक्त खोला हुँदै हिंड्ने सबैले जोखिमलाई हत्केलामा लिएर हिंडेका हुन्छन् ।

उक्त विद्यालयमा पढाएर हस्याङफस्याङ गर्दै मनहरी जान दौडिंदै लाईसिंराङमा अटो चढ्न आइपुगेका शिक्षिकाहरू वर्षाको मौसममा बाटोकै अभावमा पढाउन जान मुश्किल हुने बताउँछन् । वर्षौंदेखि त्रासमा पढाउन जाने, त्यही बाटो हुँदै ओहोरदोहोर गर्ने सर्वसाधारणलाई नपत्याउँदो जिर्खे खोलाले समय समयमा तर्साउँने गरेको छ तर स्थानीय निकायले यसलाई अनदेखा गर्दै आएको छ ।

राक्सिराङ्ग गाउँपालिकाले पहिलो स्थानीय चुनाव २०७४ बाट निर्वाचित हुने वित्तिकै सबै वडामा बाटो पु¥याउने लक्ष्य लियो । अधिकांश गाउँमा डोजरे बाटो पुग्यो तर जिर्खे खोलाको विकल्प बाटो बनेन । हुनत, ती डोजरेबाटो वर्षा याममा कामै नलाग्ने हुन्छन् । वर्षात्को पानीले बाटो बगाउँदा मनसुनको महिनाहरूमा बाटो कता छ भनेर भेउ पाउन मुश्किल पर्छ ।

बाटो भए संघसंस्था पनि जाने, अन्य विकासका पूर्वाधार पनि पुग्ने, कर्मचारी पनि जाने हुँदा बाटोले गाउँलाई सहजता र विकास दिन्छ भन्ने मान्यता स्थानीय निकायका पदाधिकारी तथा स्थानीय जनताको रहेको छ । हुनत स्थानीय बासिन्दा बाढी पहिरोजस्ता प्राकृतिक विपद डोजरे बाटोले मात्र ल्यायो भन्ने कुरा मान्न तयार छैनन् । उनीहरूको तर्क छ, २०५६ र २०५९ सालको विकराल बाढी पहिरोको विपद हुँदा गाउँ पालिकाले बाटो बनाएकै थिएन । राक्सिराङ्ग गाउँपालिकावासीले यो बाढी पहिरोलाई महामारी भन्ने गरेका छन् ।

७ नं.वडाका पूर्व अध्यक्ष कूल बहादुर प्रजाका अनुसार बुहारी चङ्गी मायाको पनि गर्भवती हुँदा पहिरोमा परेर मृत्यु भएको थियो । २०५९ सालमा बाढी पहिरोको महामारीमा उहाँ पर्नुभएको थियो । ‘पहिरोमा परेकी चङ्गी मायाको दुबै खुट्टा हिलोमा गाडियो, निकाल्नै सकिएन । त्यही बेला पहिरो ढलेको रुख आएर उनको पेटमैं लाग्यो । त्यही पीडाले उनको मृत्यु भयो ।’ प्रजाले दुःखी हुँदै बताउनुभयो ।

२०८० सालमैं वडा नं ८ की राधिका प्रजाले वर्षामा बिग्रेको बाटोकै कारण आफ्नो नवजात शिशु गुमाउनु प¥यो । उहाँको गर्भमा बच्चा उल्टो बसेको थियो । देवीटारमा भेटिनुभएकी स्वास्थ्य स्वयंसेविका मनकुमारी प्रजा, ५२ ले जत्ति प्रयास गर्दा पनि बच्चा सुल्टो बसेन । वर्षाको पहिरो भेलका कारण बिग्रेको बाटोमा एम्बुलेन्स आएन । एम्बुलेन्स आउन सकेको भए, अस्पताल पु¥याउन सकेको भए र उहाँको बच्चा अपरेशन गरेर समयमैं निकाल्न सकेको भए नवजात शिशु खेर जाँदैनथ्यो । हिलो, पहिरोको बाटो र सफा गर्ने समय नभएकै कारण राधिकाले शिशु गुमाउनु प¥यो । यो घटनामा स्वयंसेविका मनकुमारीले गाउँपालिकालाई स्पष्टिकरण दिनु प¥यो । झण्डै १३ वर्षको स्वयंसेविकाको काममा विपदले ल्याएको ठूलो दुर्घटना थियो भने राधिकाको लागि जीवनकै अपूरणीय क्षति थियो ।

वडा नं. ९ को खैराङ जान पनि बाटो छ तर छोटो बाटोको नाममा गोराङ्दी, कम्नीदोभान खोला तर्दै र खोलै खोला हिंड्दा खोलाले बगाउने जोखिमलाई नकार्न सकिन्न । वडा नं ९का वडा अध्यक्ष राम कुमार बाल्पा थिङका अनुसार उल्लेखित खोलाले वार्षिक रुपमा प्रत्येक वर्ष एक दुई जना बगाएकै हुन्छ । बाटो बनेपछि पहिरो पनि बढेको छ । त्यसैले अब पहिरो न्यूनीकरणका लागि नयाँ बाटो नबनाउने, भएको बाटोको स्तरीकरण गर्ने, नाली बनाउने, पहिरो रोकथाम गर्न पर्खाल, जाली लगाउन वडा स्तरमैं बजेटको विनियोजन गरिएको छ । वडा अध्यक्ष रामकुमार बाल्पा थिङ भन्नुहुन्छ– ‘२०५९को विपद, महामारीमा परेर एक सयदेखि एक सय ५० घरधूरी परिवार खैराङ छोडेर विस्थापित भए, फर्किएर आएनन् ।’

२०५६ सालमा देवीटार राक्सिराङ्ग गाउँपालिका वडा नं ८ मा तीन दिन निरन्तर वर्षाभएपछि गएको पहिरोले थिचेर २६ जनाको मृत्यु भयो । उक्त पहिरोमा परेर तुलसी माया प्रजा, ४२ को (माइती)परिवारका १२ जनाको एकै ठाउँमा मृत्यु भयो । तुलसीको माइती परिवारबाट एक जना भाई भकारीमा लुकेका थिए, उनी मात्र बाँच्न सफल भएका थिए ।

उहाँको आफ्नै (विवाह गरेको) घरमा पनि दुई छोरी, देवर, जेठानी गुमाउनु प¥यो । माइसिराङबाट दुइटा पहाडको पहिरो खसेको थियो भने मुन्तिर बग्दै गरेको सानो खोला थुनिएर विकराल पोखरी बनेको थियो । अर्को, परेवाटार तिरबाट आएको खोला पनि थुनिएर पानीको ताल बनेको थियो । उक्त बाढी र पहिरोमा परेर २६ जनाले ज्यान गुमाएकोमा तुलसीको जेठाजुको मात्र लास भेटियो, अरु कसैको लास भेटिएन ।

सोही पहिरोमा परेर तुलसीको मामा सिंहबहादुर प्रजाको परिवारका ७ जना परे । २०१६ सालमा जन्मिनुभएका सिंह बहादुर प्रजाले पहिरोमा श्रीमती, बुहारी, दुई छोरी र दुई छोरा गुमाउनुभयो । बाढी पहिरोले वित्यास निम्त्याएको दिन तुलसीका मामा सिंह बहादुर दिदीको घरमा सबै परिवारसहित पाहुना लाग्न पुग्नुभएको थियो ।

२०५९ सालको देवीटारकै अर्को पहिरोमा दर्जबहादुर मोक्तानको परिवार नै प¥यो । ७३ वर्षीय मोक्तानको माइलो छोराको सबै (६ जना, छोरा बुहारी, दुई नाति र दुई नातिनी) परिवार नै परे र बेपत्ता भए । उहाँको छोराको र आफ्नो गरी तीन वटा घर बगाएको थियो पहिरोले । यो पहिरो जाँदा दर्जबहादुर भने माथि रहेको गोठमा हुनुभएकोले सुरक्षित रहनुभयो । देवीटारको पहिरो र गोमराङको पहिरोले राघा खोला थुनिएपछि पानी जम्दा वितण्डा मच्चाएको थियो । ७३ वर्षीय मोक्तानले २०५६ साल र २०५९ सालको जस्तो विपद आफूले कहिल्यै देखेको तथा भोग्नुभएन ।

यस्तै, वडा नं. ५, लाइसिराङमा २०५९ सालको पहिरोमा परेर ३ जना स्थानीय बासिन्दा बेपत्ता भए भने पहाडको फेदमा भएका २३ घर परिवार बेघर नै भए । पहिरोले २३ घरलाई माटोमा मिलाएपछि स्थानीय बासिन्दाले उक्त ठाउँमा आफ्नो घर ठड्याउने हिम्मत गरेनन् र सदाको लागि त्यो ठाउँ नै छोडेर अन्तै बिस्थापित भए । अहिले त्यो ठाउँ मात्र एक पहाडको रुपमा देखिन्छ ।
राक्सिराङ्ग गाउँपालिकाले पहिलो स्थानीय चुनाव २०७४बाट निर्वाचित हुने वित्तिकै सबै वडामा बाटो पु¥याउने लक्ष्य लियो । अधिकांश गाउँमा डोजरे बाटो पुग्यो । तर ती डोजरेबाटो वर्षा याममा कामै नलाग्ने हुन्छन् । वर्षामा अधिकांश बाटो पहिरोले, पानीको भल बगेर क्षतविक्षत हुन्छन् । त्यसैले गाउँपालिकाले नै कार्यपालिकाको मिटिङ बसेर मनसुनपछि प्रत्येक वर्ष बाटो सफा गर्ने गरेको छ । वर्षातको समयमा स्थानीय रुटका गाडी चल्दैनन् भने सीमित मात्रामा बोलेरो गाडी चल्छन् ।

शरणार्थी वडा कार्यालय

वडा कार्यालय नै शरणार्थी बनेको सुन्दा अनौठो लाग्न सक्छ । तर पहिरोका कारण यो यथार्थ भोग्न वाध्य भएको छ, राक्सिराङ्ग गाउँपालिकाको नं ५ वडाले । थोप्लेसी भन्ने ठाउँमा बनाएको वडा कार्यालयको भवन एक वर्ष संचालन भएपछि पहिरो आएर २०७६ असोज १३ गते पुरियो । त्यसपछि राक्सिराङ्ग गाउँपालिका परिसरकै एउटा कोठामा खुम्चिएको छ, ५ नं वडा कार्यालय । ५ नं. वडा कार्यालयका वडा अध्यक्ष हरि बहादुर प्रजा भन्नुहुन्छ, ‘पहिरोका कारण हामी आफैं शरणार्थी बन्यौं, योभन्दा ठूलो पहिरोको पीडा के होला ?’ गाउँ पालिकाको पुरानो भवनको एउटा कोठाबाट अर्को कोठामा वडा कार्यालय सरेको छ तर छुट्टै कार्यालय अझै बन्न सकेको छैन तर बनाउने प्रकृयामा भने गएको छ ।

विपदमा महिला
महिलाले पुरुष वर्गले भोग्ने सबै विपद भोग्छन्, त्यसमा थप विपद पनि भोग्छन्, महिला भएकै कारणले । त्यसैले महिला र विपदलाई समन्वयात्मक रुपमा हेर्नुपर्ने हुन्छ । देशमा ठूलो विपद परेको बेलामा प्रभावकारी र समन्वयात्मक रुपले राष्ट्रिय तहको प्रतिकार्यका लागि दिशानिर्देश गर्नु, विपद हुनुभन्दा अगाडि भइरहेको समयमा र विपदपश्चात तुरुन्त गरिने कार्य तथा जनधनको सुरक्षा, कानुनको पालना, विरामी, घाइते र जोखिममा परेका व्यक्तिको हेरचाह, उद्दार, आवश्यक सामग्री प्रदान, सार्वजनिक सम्पत्ति संरक्षण जस्ता कार्य प्रभावकारी रुपमा गर्नुपर्ने हुन्छ । यी प्रत्येक कार्य गर्दा लैंगिक दृष्टिकोण अपनाउन सकिएन भने महिलाहरू पीडित हुन पुग्छन् । साथै, भूकम्प, बाढी, पहिरोलगायतका विपद तथा संकटका समयमा यौन तथा प्रजनन स्वास्थ्य सुधारका लागि पनि विशेष महत्व दिएर काम गर्नुपर्ने हुन्छ । विपदमा यौन तथा प्रजनन स्वास्थ्यलाई त्यति वास्ता गरिन्न तर महिलाका यौन तथा प्रजनन स्वास्थ्यका कुरा प्राकृतिक भएका कारण यो संकटका बेला पनि निरन्तर आवश्यक हुन्छ, चलिरहने हुँदा यसलाई नजरअन्दाज गर्न मिल्दैन ।

राक्सिराङ्ग गाउँपालिकामा आउँने गरेका विपदले पनि स्थानीय महिलाहरूलाई समस्या पारेको छ भन्ने कुरा माथिका घटनाहरूबाट पनि बुझ्न सकिन्छ । ठाडेचुरीमा महिलाहरूसँग गरिएको छलफलमा जानकारी गराएअनुसार उक्त क्षेत्रका पाँच जना महिला गर्भवती हुँदा मृत्यु भयो । बाढी पहिरोका कारण सिर्जिएको बाटोको असहजता, स्वास्थ्य केन्द्र तथा स्वास्थ्यकर्मीको अप्राप्यताजस्ता कारणले ती महिलाले ज्यान गुमाएका हुन् । यी महिलाको मृत्यु भएपछि राधाकुमारी प्रजाले ससुरा कृष्णबहादुर प्रजाको नाममा भएको दुई विघा सात कठ्ठा जग्गा राक्सिराङ्ग आधारभूत अस्पताल, ठाडेचुरीलाई २०७५ सालमा दिएपछि त्यहाँ अस्पताल बनेको छ ।

अस्पतालमा जिर्खे डाँडा, धुसाराङ, दामराङ लगायत वडा नं ३, ८ र ९ का महिलाहरू उपचारका लागि आउँने गरेका छन् । ६ जना चिकित्सक सहितको अस्पतालले उपचार सेवा दिन थालेपछि स्थानीय महिलाहरूले धेरै सहज भएको महसुस गर्न थालेका छन् । तर सम्पूर्ण निर्माण कार्य पनि नसकिएको तथा चार वर्षदेखि संचालनमा आएको अस्पतालको आडैमा गएको पहिरोबाट अस्पतालाई बचाउन भने तत्कालै विशेष उपाय गरिनुपर्ने विपद पत्रकारिता सञ्जालले गरेको ‘राक्सिराङ्ग गाउँपालिकाको विपद जोखिम अवस्था’ विषयक अध्ययनले देखाएको छ । राष्ट्रिय जनवकालत मञ्च, नेपाल (नाफान)को सहयोगमा भएको तथा आफैं संलग्न भएको अध्ययनका क्रममा वडा नं. ७ का वडा अध्यक्ष रामबहादुर प्रजाले पनि गाउँमा बाटो बन्नुअगाडि समयमा अस्पताल पु¥याउन नसक्दा चार जना गर्भवती महिलाले जीवन गुमाएको जानकारी गराउनु भएको थियो ।

कोरोना भाईरस रोग (कोभिड—१९) विश्व महामारीको समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रजनन्, सुरक्षित गर्भपतन सेवा, मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य सेवाको लागि अन्तरिम मार्गनिर्देशन पनि जारी गरेको थियो । सरकारले हाल देशमा कोभिडको संक्रमणकालिन अवस्था नरहेको भनी घोषणा गरेको कारणले यो मार्ग निर्देशिका अहिले निस्क्रिय रहेको छ ।
देशमा वर्षैभर कुनै न कुनै खालका विपदको सामना गर्नु पर्ने अवस्था भइरहनु, मार्ग निर्देशिका निष्कृय हुनु, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ मा मानवीय विपद्को समयमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवासम्बन्धी कुनै पनि प्रावधान नहुनुजस्ता कुराले यसमा सरकार तथा स्थानीय निकायको ध्यानकृष्ट हुनु जरुरी देखिन्छ । अर्थात, सर्वोच्च अदालतद्वारा स्थापित नजीरअनुसार विपद् तथा महामारीको अवस्थामा समेत प्रजनन स्वास्थ्य सेवा निरन्तरताको लागि सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५मा संशोधन गर्नुपर्ने देखिन्छ ।

महिला, कानुन र विकास मञ्चका कार्यकारी निर्देशक तथा अधिवक्ता सविन श्रेष्ठका अनुसार मानवीय विपद्को समयमा ऐनअन्तर्गतको सुरक्षित मातृत्व, आकस्मिक प्रसूति तथा नवजात शिशु, परिवार नियोजन र सुरक्षित गर्भपतन सेवालाई अत्यावश्यक सेवाको रुपमा समावेश गरी नियमित रुपमा सेवा प्रदान गर्नुपर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानवीय विपद्को समयमा प्रजनन स्वास्थ्य सेवाको निरन्तर उपलब्धता लागि आवश्यक कार्यविधि जारी गर्ने तथा जारी कार्यविधि बमोजिम प्रदान गरिएको सेवालाई ऐन बमोजिम प्रदान गरिएको मानिने भन्ने व्यवस्था सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ मा थप गर्नुपर्ने अधिवक्ता सविन श्रेष्ठ बताउनुहुन्छ ।

महिलाले निर्वाह गर्नुपर्ने प्राकृतिक भूमिका, भूमिकाअनुसार स्वास्थ्य र शरीरमा पर्ने प्रभावले गर्दा कतिपय अवस्थामा महिलाले नचाहेर पनि विपदको असर बढी भोग्नुपर्ने हुन्छ । वागमती प्रदेशकै एउटा गाउँपालिका भएर पनि कुनै विकट गाउँको झलक दिने भौगोलिक अवस्था, प्राकृतिक विषमताजस्ता कुराले राक्सिराङ्ग गाउँपालिकाका स्थानीयले विपदलाई नराम्ररी झेल्दै आएका छन् । तर यो वर्ष बाढी पहिरोबाट हुने क्षति न्यूनीकरणका लागि गाउँपालिका पूर्वतयारीमा लाग्दै आएको गाउँ पालिकाका अध्यक्ष राज कुमार मल्लले बताउनुभयो । अध्यक्ष मल्लका अनुसार गाउँ पालिकाले बाढी पहिरोबाट पीडित भएकालाई उद्दार गर्नको लागि सामग्री तयार गरिसकेको छ भने स्थानीय स्वयंसेवक, नगर प्रहरीहरूलाई तालिम दिने काम गर्दै आएको छ ।

स्मरणीय छ, जल तथा मौसम विज्ञान विभागले यो वर्षको मौसमी प्रक्षेपणमा हिमाली तथा पहाडी जिल्लाहरूमा सरदरभन्दा बढी वर्षा तथा गर्मी हुने पूर्वानुमान गरेको थियो । समयभन्दा अगाडि नै मनसुन आउने बताएको थियो । हुनत मनसुन आउनु अगाडिका सानातिना वर्षाले नै काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परे । नेपालमा सामान्यतया १३ जुनमा मनसुन भित्रिएर २ अक्टुबरमा बाहिरिने गर्दछ । मनसुन भित्रिने र बाहिरिने गति सामान्य भएमा नेपालमा ११२ दिनसम्म मनसुन रहन्छ । सामान्यतयाः यो अवधिमा वर्षभरि पर्ने पानीको करिब ८० प्रतिशतसम्म वर्षा हुन्छ । तर यो वर्ष राम्ररी वर्षात हुन नसक्दा तराई क्षेत्रमा पूर्णतः रोपाईं नै हुन सकेन । मनुसनको अवधि अझै बाँकी भएकोले यसले अझै विपद निम्त्याउन सक्ने कुरालाई नजरअन्दाज गर्न सकिंदैन । वर्षाले बालीनाली सप्रिए पनि बाढी, पहिरो र डुबान जस्ता विपत्तीले जनधनको क्षति पनि हुने गर्दछ । मनसुनले हाम्रो घर छिमेकमा पाइला अगाडि बढाईसकेको अवस्थामा हाम्रो पूर्व तयारी के छ त ? हामी सबैले सोच्नै पर्छ, पूर्वतयारी गर्नै पर्छ ।


यही वर्ष वैशाख २९ गते काभ्रेमा मध्यम खालको वर्षापछि आएको बाढीले पनि ठूलो क्षति पु¥यायो । उक्त दिन २४ घण्टामा खोपासीमा ४३.४ र रोशीमा ४१ मिलिमिटर वर्षा मापन गरिएको थियो । बाढीले पनौतीमा एक महिला बेपत्ता भइन् भने सडक, खानेपानी र कृषि क्षेत्र नराम्रोसँग प्रभावित भयो ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साउन २२ गते प्रकाशित गरेको तथ्यांकअनुसार २०८२ साउन २१ देखि साउन २२ गतेसम्ममा प्रभावित जिल्लाहरूमा आगलागीबाट ८ जिल्ला, बाढीबाट २ जिल्ला, पहिरोबाट १० जिल्ला, पहिरोबाट १० जिल्ला र अविरल वर्षाबाट ८ जिल्ला प्रभावित छन् । प्रभावित जिल्लाहरूमा कुनै पनि मृत्युका घटना दर्ता भएका छ्रैनन् । यस्तै, २०८२ वैशाख १ गतेदेखि साउन २२ सम्मका बाढी, पहिरो, भारी वर्षा, चट्याङ, सर्पदंश, आगलागी, वन डढेलो, हावाहुरी, जनावर आक्रमण, लेक लाग्नु, भूकम्प आदि मध्ये सबैभन्दा बढी घटना आगलागीबाट एक हजार ५८ घटना भएका छन्, जसबाट १५ जनाको मृत्यु भएको छ भने चट्याङका २४४ घटनामा २८ जनाको मृत्यु भएको छ । यस्तै, बाढीको १९३ घटनामा १६को मृत्यु र २७८ पहिरोको घटनाबाट १३जनाको मृत्यु भएको तथ्यांक छ । बाढीबाट प्रभावित परिवार एक हजार तीन सय १० छ भने आगलागीबाट प्रभावित परिवार एक हजार एक सय ६९ रहेका छन् । प्राधिकरणका अनुसार जम्मा दुई हजार छ सय ५० घटनामा चार हजार सात सय छ परिवार प्रभावित भएका छन् ।

गत वर्ष असोजमा आएको बाढी पहिरोले पनि अत्यधिक क्षति गरेको थियो । २०८१ सालको असोज महिनामा (सेप्टेम्बर २६–२८, २०२४) नेपालमा परेको अत्यधिक वर्षाले देशव्यापी रूपमा ठूलो जनधनको क्षति पु¥याएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ५४वर्ष यताकै अत्यधिक वर्षा भएकोमा पहिरो र डुबान तथा अन्य क्षति बागमती, कोशी र मधेश प्रदेश बढी प्रभावित भएका थिए । २४७ नेपाली र तीन जना विदेशीसहित २५० जनाको ज्यान गएको छ । १८ बेपत्ता भएको उक्त घटनामा १७७ जना घाइते भएका थिए । उक्त वर्षाले विभिन्न ९ स्थानमा रहेको वर्षा मापन केन्द्रहरूमा अहिलेसम्मकै रेकर्ड ब्रेक गरेको थियो भने १० वटा जलमापन केन्द्रमा खतराको तह पार गरेको थियो ।

उक्त बाढी तथा पहिरोले कुल रू.४६.६८ अर्ब अनुमानित क्षति गरेको अनुमानित तथ्यांक छ । क्षतिभएको भौतिक पूर्वाधारमा ४१ वटा सडक, ४४ वटा पुल, १६ वटा जलविद्युत् आयोजना, र ४४६ वटा दूरसञ्चार संरचना समावेश छन् । कृषि र पशुपालन, खानेपानी आपूर्ति, शिक्षा र स्वास्थ्य गरी अर्बौंको क्षति उक्त बाढी पहिरोले गरेको थियो ।

अत्यधिक परेको वर्षाले प्रमुख रुपमा बागमती प्रदेशमा सबैभन्दा बढी क्षति भएको थियो, जहाँ ४,४१४ घर पूर्ण रूपमा ध्वस्त भएका थिए भने काभ्रेपलाञ्चोक जिल्लामा ३,१२१ घर पूर्ण रूपमा ध्वस्त भएका थिए । ग्लोबल फ्लड अवेरनेश सिस्टम(ग्लोफास न्यूज)का अनुसार यस घटनामा काठमाडौं उपत्यका ५६ जनाको मृत्यु भएको थियो र २,१०० भन्दा बढी घर प्रभावित भएका थिए ।

गत वर्षको आरिघोष्टे वर्षाका कारण कञ्चनपुर जिल्लामा पुगेको क्षति तथा नोक्सानी सम्बन्धी गरिएको विस्तृत अध्ययनले उक्त आरिघोष्टे वर्षापछि आएको बाढी तथा डुबानका कारण दुई अर्बभन्दा बढी आर्थिक क्षति पुगेको आंकलन गरिएको छ । त्यसैगरी, ११०९ घरहरु पूर्ण रुपमा र ८०२६ घरहरु आंशिक रुपमा क्षतिग्रस्त भएको तथा वर्षा केन्द्रमा ६२४ मिलिमिटर वर्षा हुँदा उक्त जिल्लाका आसपासका क्षेत्रमा ठुलो क्षति पुगेको थियो । कञ्चनपुरमा भएको उक्त वर्षा नेपालमा वर्षा मापन गर्न थालिएको ७७ वर्षयताकै सबैभन्दा ठुलो थियो ।

प्राधिकरणकै तथ्यांकअनुसार गतवर्ष २०८१ मनसुनजन्य विपदको घटना हेर्दापनि बाढी पहिरोबाट नै बढी प्रभावित भएको देखिन्छ । घटनाको संक्षिप्त विवरणमा हेर्दा बाढीका ४१८ घटनामा ९७ मृत्यु, १८ बेपत्ता र ४८ जना घाइते भएका थिए । ५७५ पहिरोका घटनामा ८ जनाको मृत्यु, ३८ जना घाइते भएका छन् भने भारीवर्षाको १००६ घटनामा परेर ३५१ जनाको मृत्यु, ४८ बेपत्ता तथा २८६ जना घाइते भएका थिए । नेपालमा बाढी, पहिरो, भारी वर्षाको प्रभावपछि चट्याङबाट बढी प्रभावित हुने गरेको तथ्यांकले देखाएको छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित रहेकोले देशका अधिकांश क्षेत्रमा विगत केही दिनदेखि वर्षा भइरहेको छ ।

गृहमन्त्री रमेश लेखकले अबको पाँच वर्षभित्र हरेक नागरिकले विपद जोखिमको पूर्वसूचना प्राप्त गर्ने प्रतिवद्धता हिजो साउन २२ गते मात्र व्यक्त गरेका छन् । “सबैका लागि पूर्वसूचना” राष्ट्रिय कार्याशालामा बोल्दै उनले अबको पाँच वर्षमा सबै नागरिकले विपद जोखिमपूर्व सूचना प्राप्त गर्ने बताएका हुन् । कार्यक्रममा उनले भने,’२०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्व सूचना प्राप्त गर्ने स्थितिको सुनिश्चिता गरिन्छ ।’ तर अझै पनि पूर्वसूचनाकै अभावमा हजारौं नेपालीले ज्यान गुमाउनु पर्ने अवस्थालाई सरकारले गम्भीर रुपमा लिनुपर्छ, छिटो भन्दा छिटो पूर्वसूचना प्रणालीको जडान तथा विपद पूर्वतयारीमा ध्यान दिनुपर्छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
अमिका राजथला

अन्य लेखहरू: अमिका राजथला

यस लेखकका अन्य रोचक लेखहरू
कलाको भाषामा अन्तर्दृष्टि

कलाको भाषामा अन्तर्दृष्टि

उनका कला हेर्ने दर्शकले आयाताकार अनुहारलाई कलम, कुची वा अन्य केही अनुमान लगाउन सक्छन् तर उनी भन्छिन् "याे मेराे चित्रकला...

सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश नियुक्त

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल आजदेखि कायम मुकायम (कामु) प्रधानन्यायाधीश भएकी छिन्। प्रधानन्यायाधी...

मध्य पश्चिम युद्धको चपेटामा नेपाली बजार

मध्य पश्चिम युद्धको चपेटामा नेपाली बजार

विश्वको ऊर्जा राजधानी मानिने खाडी क्षेत्रमा भड्किएको यो सङ्कटले नेपाली बजारमा तेल र ग्यासको मूल्य मात्रै बढाएको छैन, सर्...

वायु प्रदूषण कसरी नियन्त्रण गर्ने?

वायु प्रदूषण कसरी नियन्त्रण गर्ने?

वातावरणीय संकट र विशेषगरी वायु प्रदूषणको समस्या आज नेपालका सहरहरूमा गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा देखा परेको...

एप्स्टिन काण्डः शक्तिशाली पुरुषहरूलाई सतह देखाउने पत्रकार जुली के. ब्राउन

एप्स्टिन काण्डः शक्तिशाली पुरुषहरूलाई सतह देखाउने पत्रकार जुली के. ब्राउन

जेफ्री एप्स्टिन काण्ड ! लाखौं पेजमा फैलिएको कुकृत्यको उक्त एप्स्टिन फाइलमा हालका अमेरिकी राष्ट्रपतिदेखि पूर्व राष्ट्रपति...

नेवार संस्कारमा "बाह्रा:पिकायेेगु" सूर्यदेवसँग विवाह हाे कि पूजा मात्र ?

नेवार संस्कारमा "बाह्रा:पिकायेेगु" सूर्यदेवसँग विवाह हाे कि पूजा मात्र ?

नेवार समुदायकाे संस्कृति पृथक छ, राेमाञ्चक पनि । यही कारण हुनसक्छ संस्कार-संस्कृतिकाे पहिचानमा हाेस् या व्यवहारमा- यसले ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्