खोइ कहाँ बिग्रियो र नेवार ?
नेवार समाजमा एउटा ताज्जुबको कुरा सुन्न पाइन्छ जुन गैरनेवारले प्रायः सुनेका हुँदैनन् । घटना विशेष र नेवार–नेवार मात्रै रहेको ठाउँमा अलि बाठोबाठो खालको वा आफूमात्र बाठो भन्ठान्ने नेवारले यसरी आफ्नो मन्तव्य व्यक्त गरेका हुन्छन्, ‘‘यही भएर त हामी नेवारहरू बिग्रेका हौं ।’’ विशेषतः नेवार–नेवारबीच मतभेद भएको अवस्थामा प्रायः यस्तो बोलिन्छ । र, म सचेत छु र तिमीहरू बिग्रेका छौ, तसर्थ ‘मेरो कुरा तिमीहरूले सुन्नुपर्छ’ भन्ने आसय व्यक्त गर्न वा व्यक्तिगत दम्भ देखाउन पनि यस्तो वाक्य बोल्ने गर्दछन् ।
नेवार एउटै नश्लको नाम होइन । यो धार्मिक समुदाय पनि होइन । सबै नेवारको एउटै ऐतिहासिक पृष्ठभूमि पनि होइन । अझ भनौं, ब्राह्मण, क्षेत्री, गुरुङ, मगर, तामाङ, थारु भनेजस्तो यो एउटै समुदायविशेष पनि होइन । नेवारको भौगोलिक पहिचान नेपाल उपत्यका र यसको सेरोफेरो हो । आजभोलि यसलाई काठमाडौं उपत्यका वा काठमाडौं खाल्डो पनि भनिन्छ जसमा काठमाडौं, भक्तपुर, ललितपुरलगायतका वस्तीहरू समेटिएको छ र नेपालको संघीय राजधानी क्षेत्रका रूपमा चिनिन्छ । यहाँको सबैभन्दा पुरानो वासिन्दाको रूपमा लिइन्छ, नेवारलाई । तर यिनीहरू यही भूगोलमा उत्पत्ति भएका होइनन्, भूगोलको कुनै क्षेत्रमा विकास भई एकै पल्ट बसाई सरेर यो उपत्यकामा आएका पनि होइनन् । तर नेवार पहिचानको अत्यन्त प्राचीन परम्परा यो भूमिमा स्थापित भयो र त्यही परम्परामा प्रवाहितहरू नेवार हुन् ।
हामी इतिहासलाई सजिलोका लागि प्राग्इतिहास, आद्यइतिहास र इतिहास भनेर कालविभाजन गरेर अध्ययन गर्दछौं । नेपाल उपत्यकाको इतिहासमा नेवारको उपस्थिति तीन वटै कालखण्डमा देख्न पाइन्छ । कोही सुरुमा आएका हुन् भने कोही अलि पछि । कोही निकै पछि मात्रै आएका पनि पाइन्छन् । विभिन्न समयमा विभिन्न ठाउँबाट बसाई सरेर यस उपत्यकामा आएका र रहँदाबस्दा यहीँको समाजमा घुलमिल भएर नयाँ पहिचान बनाएकाहरू सबै नेवार हुन् । यसरी घुलमिल भएर एउटा छुट्टै पहिचान बनाएको समाज वा सभ्यतालाई समाजशास्त्रको भाषामा ‘एसिमिलेशन’ भनिन्छ ।
नेपाल उपत्यकाको रूपमा सदियौं वर्षअघिदेखि प्रख्यात यस भूक्षेत्रमा बसाईसर्दै आउँदा कोही पनि खाली हात आएका थिएनन्, केही न केही ज्ञान–विज्ञान तथा कला र शील्पको कुरा साथमा लिएर आएका थिए । यसरी साथमा लिएका आएका ज्ञान–विज्ञान तथा कला र शील्प यस भूगोल र समाजअनुसार प्रयोगमा ल्याएका हुन् । रहँदा बस्दा नेपाल उपत्यकामा अभ्यास हुने ज्ञान विज्ञान तथा कला र शील्प पनि सिक्छन् । यस प्रकार आफूसँग भएका ज्ञानविज्ञानबाहेक अरु पनि सिक्ने मौका पाउँछन् । एवं रीतले नेपाल उपत्यका र नेवार समाजको विकास भएको हो । यही भएर यस समाजमा अत्यधिक मात्रामा विविधता पाइन्छ तर नेवार पहिचानका लागि भाषा, संस्कार, संस्कृति, कला, जीवनदर्शनले समायोजित गरिएको हुन्छ ।
हिजोका दिनमा प्रतिस्पर्धा नेवार–नेवारबीच हुन्थ्यो र प्रगती गर्दथ्यो । आजको दिनमा इतिहासले कोल्टे फेरेको छ, राजनीतिक भूगोल विस्तृत भएको छ, साथै सामाजिक तथा राजनीतिक जीवनमा अन्य समुदायहरू पनि व्यापक रूपमा समावेश छन् । समग्रमा भन्नु पर्दा नेवार पहिचान लिएर बस्नेहरू मुस्किलले दश–बार्ह प्रतिशत हुन्छ । नेवारको पहिचान अब काठमाडौं उपत्यकामा मात्रै सीमित रहेन । अहिले प्रतिस्पर्धाको दायरा व्यापक रूपमा फराकिलो भएर अन्य समुदायसँग पनि प्रतिस्पर्धा गरिरहेका छन् र साथसाथै प्रगति पनि गरिरहेका छन् । यसले आफूलाई हरेक क्षेत्रमा सशक्त रूपमा प्रस्तुत गरिरहेको पाइन्छ । यस अवस्थामा नेवार समुदाय बिग्रिएको भाष्य आफैमा नमिल्दो छ ।
कोही नेवार बिग्रेको वा सप्रेको मान्ने आधार के हो ? कुन मापदण्डलाई आधार मानेर नेवार बिग्रियो वा सप्रियो भन्ने ? यो मापदण्ड तयार पार्ने काम सजिलो छैन । यस्तो अवस्थामा ‘यही भएर हामी नेवारहरू बिग्रेका हौं’ भन्नसक्नु आफैमा प्रश्नको घेराभित्र पर्नु हो । यसमा केही मनोवैज्ञानिक कुरा देख्न पाइन्छ । ‘तिमी सबै नेवारहरू बिग्रेका हौ, किनभने तिमीहरूलाई यो कुरा थाहा नै छैन, मलाई थाहा छ, त्यसैले नबिग्रेको भन्ने म मात्रै हुँ’ भन्नका लागि यस्तो भाष्य बनाउन खोजेको देखिन्छ । सत्य कुरा त के हो भने, आफूमा भएको अहं र भ्रम नजानिँदो पाराले ओकलेको हो ।
नेवारहरू आआफ्नो ठाउँमा संघर्ष गरी अगाडि बढिरहेकै छन् । व्यक्तिगत रूपमा कोही अगाडि कोही पछाडि पर्नु स्वाभाविक हो । राज्यको पूरै संयन्त्र र राज्यनीति नै नेवारविरुद्ध भएको बेलामा पनि नेवारहरूले आआफ्नो क्षेत्रमा रही संघर्ष गरी आफ्नो सशक्त उपस्थिति देखाएकै हो, राष्ट्र निर्माणमा सघाएकै हो । कला क्षेत्रको कुरा गर्ने हो भने, नेवारको आफ्नै छुट्टै पहिचान छ । देशभित्रकै तथा देश बाहिरकाले पनि नेवारलाई कला र संस्कृतिमा विशिष्ट समुदाय भनेर गनेको पाइन्छन् । प्राचीन साहित्यको भण्डार नेवारसँग सुरक्षित छ । नेवारले आफ्नै भाषामा मात्रै नभएर अन्य भाषामा पनि प्रभुत्व जमाएको पाइन्छ ।
नेवारको मातृभाषा नेपालभाषा हो तर नेवारहरू यही भाषामा मात्रै सीमति भएर रहेनन् । बोलिचालीको भाषाबाट उँभो लाग्न मुस्किलमुस्किल भइरहेको नेपाली भाषालाई स्वाट्टै अगाडि ल्याइदिने अग्रणी व्यक्तित्वहरूमा नेवारको नाम आउँछ र नेवारको योगदानलाई नजरअन्दान गर्नु हदैसम्मको कृतघ्न हुनु हो । नेपाली भाषाको साहित्य सिर्जना, व्याकरणको निर्माण, शब्दकोश, शिक्षण, पत्रकारिता, प्रविधि, प्रकाशन हरेक क्षेत्रमा नेवारको पसिना पर्याप्त मात्रामा बगेको छ ।
नेपाली भाषाको इतिहासमा नेवारको कामलाई नदेख्नु अध्ययन नै नगर्नु हो । यही गौरव नेवारलाई अर्थ, वाणिज्य, राजनीति, प्रशासन, इतिहास, खेलकूद, ज्ञानविज्ञान, धर्म, संस्कृति, परराष्ट्र मामिला, कूटनीति हरेक क्षेत्रमा प्राप्त छ । यो सामुहिक जोडबलले प्रगति गरी नेवारले यो हैसियत काम गरेको होइन । फलाना क्षेत्रमा हाम्रो समुदायको सहभागिता भएन भन्दै समुदाय स्तरमा प्रशिक्षण तथा प्रोत्साहनको कार्यक्रम बनाइरहेको पाइन्छन् तर नेवार समाजमा यस्तो कुराको नितान्त अभाव छ । कोही नेवार डाक्टर बनेको छ भने त्यसको लगानी तथा मेहनत परिवार तथा व्यक्तिविशेषको हुन्छ । कोही इन्जिनियर बन्छ भने त्यो पनि व्यक्ति तथा परिवारविशेषको लगानी हो । प्रगतिको यो प्रवृत्ति संस्कारको रूपमा आएको पाइन्छ । यस्तो गरी अगाडि बढ्न सक्ने नेवारलाई बिग्रेको भनी साधारणीकरण गर्नु हदैसम्मको हचुवा काम हो ।
नेपालको मूलधारको इतिहास भनेर काठमाडौं उपत्यका र वरिपरिको भूक्षेत्रको इतिहासलाई लिनुको अर्थ सुदूर अतीतदेखि अहिलेसम्म अटूट रूपमा प्रवाहित हुनु हो । अन्यत्र टुटेको वा हराएको पाइन्छ, सिलसिलेवार रूपमा अध्ययन गर्न सामग्रीहरूको अभाव हुन्छ । यस अवस्थामा काठमाडौंको इतिहासलाई आधार मानेर अन्यत्रको इतिहास अध्ययन गर्नु स्वाभाविक हो । भौगोलिक अवस्थितिले पनि नेवारलाई साथ दिएकै मान्नु पर्दछ ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment