६ बैशाख २०८३, आइतबार

पारिजात र पारिजातका प्रेमी


अ+
अ-
 

लामाले दिएको नाम ‘छेकुडोल्मा’, पुरेतले जुराइदिएको ‘विष्णुकुमारी’ र आफैले राखेको नाम ‘पारिजात’ । पारिजात नाम विश्वभर फैलियो । यायाबर बनेर जंगल घुम्दै पोल्टाभरि फूल टिप्ने रहर पालेकी पारिजातले ‘आफ्‌नो लागि फुल्ने र आफ्‌नै लागि झर्ने’ तथा बोटबाट टिप्न नहुने पारिजात फूलको विशेषताबाट प्रभावित भएरै आफ्‌नो नाम चुनिन भने विश्व सामु चिनाउने उनको उपन्यास ‘शिरिषको फूल’को विशेषता पनि करीव करीव उस्तै छ, फूलको रस चुस्न खोज्ने भवराको समेत अन्त गरिदिने, अर्थात मात्र आफ्‌नै लागि फुल्ने । सानैदेखि साहित्यको रसमा चुर्लुम्म डुबेकी पारिजातको पहिलो प्रकाशित उपन्यास ‘शिरीषको फूल’ (२०२२) ले २०२३ सालमा नेपाली साहित्यिक क्षेत्रमा प्रतिष्ठित ‘मदन पुरस्कार’ पायो ।

पारिजातले पाएको मदन पुरस्कारको अवशेष सुरक्षित छैन । बहिनी सुकन्याका अनुसार पुरस्कारसँगै दिइएको चाँदीको दीयो निकै समय अगाडि हरायो भने सँगै आएको प्लेट पनि चाँदीको दाममा बेचिइसकिएको छ । रोगको अगाडि पारिजातले झुक्न वाध्य भइन् । अर्थात, करीव १३ वर्षको उमेरदेखि शुरु भएको ‘र्यूमाट्वाइड आथाराइटिस’ नामक हाड जोर्नीसम्बन्धी रोगको लागि औषधि किन्न पुरस्कार बेच्नु पर्‍यो । पहिले सुन्निएर रातो हुने र सुन्निएको बसे पछि हाडै बाँगिने लक्षण भएको यो रोगले पारिजातलाई शुरुमा दाहिने हातको नाडीमा समातेको थियो भने पछि विस्तारै शरीरका अन्य भागमा समेत फैलिएको थियो ।
छोरीलाई डाक्टर बनाउने आफ्‌नो बाबुको सपनाको अगाडि जिन्दगीभरको रोगी भएर रहन बाध्य पारिजातको दाहिने हातका तीन औंलाले कामै गर्दैनथे भने बाँकी चोर औंला र बूढी औंलाका सहायताले लेख्थिन् । पारिजातले कष्टसाथ लेखेको कृति तथा लेख वापत प्रकाशकबाट पारिश्रमिक पाउँन पनि कतिपय अवस्थामा हम्मेहम्मे पर्दथ्यो । महंगो औषधि दैनिक रूपमा प्रयोग गर्नु पर्ने कारणले अभाव यति थियो कि, कुनै समय बहिनी सुकन्याले एक महिनाको लागि भनेर औषधि किन्न पैसा लिएर जाँदा तीन दिनको लागि पुग्ने औषधि आउँथ्यो ।

पारिजातको कमाउने छोरो बनेको ‘शिरीषको फूल’ को अंग्रेजी अनुवाद Blue Mimosa विदेशी साहित्य परिचय अध्ययन विभागअन्तर्गत संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयको पाठ्यक्रममा समाविष्ट छ । तीस दिनमा लेखिसिध्याइएको त्यो उपन्यासकी प्रमुख पात्र सकम्बरीमा देखिने स्वाभिमान तथा अधिकांश पात्रहरूमा देखिने शून्यवाद र निस्सारतावादको प्रभाव पारिजातमा अधिकांश समय रह्यो ।

पछिल्ला समय राजनीतिक अध्ययन र राजनीतिप्रतिको प्रभावका कारण उनमा जीवनप्रति निकै आशा पलाएको पाइन्छ । पछिल्ला समयमा जीवन नै राजनीति हो भन्ने मान्यता लिएर हिंडेकी पारिजातले आफ्‌नो ‘मृत्यु’ कवितामा ‘मृत्यु पनि संगठन भएर अंगालोहरूबीच बाँधिएकाे’ पाइन् । यस्तै पछिल्ला समयलाई सामाजिक सेवाका लागि पनि उनले दिइन् ।

दार्जिलिङमा जन्मिएर २०११ सालमा नेपाल पसेकी पारिजातले यहींको नागरिकता लिन चाहेकी थिइन् । तर विभिन्न अड्को थापेर दिइएन । नेपालको प्रशासनबाट वाक्क भएकी पारिजातले त्यसपछि नागरिकता प्रमाण पत्रको चाहना र चेष्टा गरिनन् । उनको कथन हुन्थ्यो– ‘म नेपालमै बस्छु, नेपालमै मर्छु कसले भन्दो रहेछ म नेपाली होइन भनेर । सरकारी जागिर खाने होइन, किन चाहियो नागरिकताको प्रमाणपत्र ?’ तर २०५० सालमा उनलाई सरकारले विदेश लगेर उपचार गराउने चासो देखायो र विना नागरिकता राहदानी तयार भएको थियो । एउटा विडम्बना, जिन्दगीभर कलम चलाउने पारिजातले कलम चलाएर हस्ताक्षर गर्न नसकेको कारण राहदानीमा ल्याप्चे लगाउनु पर्‍यो ।

बुवाको चुरोट खाने लतको प्रभावबाट पारिजातले शुरुमा चियापत्तीको धूलोलाई कागजमा बेरेर चुरोट खान सिकिन् र पछि चुरोटको अम्मली नै । छोरीको अम्मली छुटाउन बुवाले चुरोट छोड्नुभयो तर पारिजातले छोडिनन्, सकिनन् । रोगको पीडा भुलाउन उनले कुनै समय रक्सीको सहारा पनि लिइन् ।

आजीवन अविवाहित पारिजातका कृतिहरू अति गंभीर, स्वयं भने चंचले । जवानीमा छँदा एक युवकले मनपराएका थिए, शायद पारिजातले पनि । तर युवक सामुन्ने पर्ने वित्तिकै रिसाउँथिन् उनी । नेपाल आएपछि पारिजातको विवाहको कुरा चल्दा उनले पहिला ती युवकलाई सम्झेर चिठ्ठी पठाइन् । प्रत्युत्तरमा ती युवकको विवाह भइसकेको थाहा पाएपछि विवाह गर्ने विचार सधैंको लागि त्यागिन् । पारिजातको देहान्तपछि ती व्यक्तिले नेपालमा आएर पारिजातको सालिक हेरेर गए ।

उनै प्रेमीलाई सम्झेर पारिजातले आफ्‌ना एक मित्रलाई चिठ्ठीमा लेखिन्‌– ‘Tragedy of life is not what we suffer but is that what we miss.’ त्यसैले मेरो first love मात्रै Tragedy हो । बाँकी सबै दुःख हुन, only sufferings । मेरो जीवन अति गाह्रो र जटील भइदियो । यस्तो जीवन बाँच्न त मैले खोजेकी होइन । एउटा जटिलतालाई संगाल्न खोज्दा अर्को जटिलता थपियो । मैले त मात्र, साधारण भन्दा बेग्लै जीवन बाँचाैं भन्ने सोचेकी थिएँ ।’

 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
अमिका राजथला

अन्य लेखहरू: अमिका राजथला

यस लेखकका अन्य रोचक लेखहरू
कलाको भाषामा अन्तर्दृष्टि

कलाको भाषामा अन्तर्दृष्टि

उनका कला हेर्ने दर्शकले आयाताकार अनुहारलाई कलम, कुची वा अन्य केही अनुमान लगाउन सक्छन् तर उनी भन्छिन् "याे मेराे चित्रकला...

सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश नियुक्त

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल आजदेखि कायम मुकायम (कामु) प्रधानन्यायाधीश भएकी छिन्। प्रधानन्यायाधी...

मध्य पश्चिम युद्धको चपेटामा नेपाली बजार

मध्य पश्चिम युद्धको चपेटामा नेपाली बजार

विश्वको ऊर्जा राजधानी मानिने खाडी क्षेत्रमा भड्किएको यो सङ्कटले नेपाली बजारमा तेल र ग्यासको मूल्य मात्रै बढाएको छैन, सर्...

वायु प्रदूषण कसरी नियन्त्रण गर्ने?

वायु प्रदूषण कसरी नियन्त्रण गर्ने?

वातावरणीय संकट र विशेषगरी वायु प्रदूषणको समस्या आज नेपालका सहरहरूमा गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा देखा परेको...

एप्स्टिन काण्डः शक्तिशाली पुरुषहरूलाई सतह देखाउने पत्रकार जुली के. ब्राउन

एप्स्टिन काण्डः शक्तिशाली पुरुषहरूलाई सतह देखाउने पत्रकार जुली के. ब्राउन

जेफ्री एप्स्टिन काण्ड ! लाखौं पेजमा फैलिएको कुकृत्यको उक्त एप्स्टिन फाइलमा हालका अमेरिकी राष्ट्रपतिदेखि पूर्व राष्ट्रपति...

नेवार संस्कारमा "बाह्रा:पिकायेेगु" सूर्यदेवसँग विवाह हाे कि पूजा मात्र ?

नेवार संस्कारमा "बाह्रा:पिकायेेगु" सूर्यदेवसँग विवाह हाे कि पूजा मात्र ?

नेवार समुदायकाे संस्कृति पृथक छ, राेमाञ्चक पनि । यही कारण हुनसक्छ संस्कार-संस्कृतिकाे पहिचानमा हाेस् या व्यवहारमा- यसले ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्