६ बैशाख २०८३, आइतबार

दक्षिण एशियामा चम्किएकी चाँदनी


अ+
अ-

माथिल्लो तल्लाबाट झरेर तल्लो तल्लाको कोठामा बस्दा श्वास फेरेको आवाज प्रष्ट सुनिन्थ्यो । त्यो श्वास फेराईले उहाँ विरामी पो हो कि भन्ने लाग्यो । र, सोधे- सञ्चो छैन कि कसो ? तत्कालै उत्तर दिनुभयो- “गाह्रो भनेको के हो, थाहा छैन, हेल्दी नै छु ।”

राष्ट्रिय-अन्तर्राष्ट्रिय रूपमा गरिएको कर्मको ४६ वर्षमध्ये अधिकांश समय महिलाका क्षेत्रमै बिताउनु भएकी चाँदनी जोशीले आफ्‌ना विभिन्न स्वास्थ्य समस्यामा ९ पटक शल्यक्रिया गराईसक्नु भएको छ भने घुँडामा देखिएको समस्याले गर्दा घुँडामा स्टिल जडान गरिएको छ । शल्यक्रिया भएको एक महिनामै कार्यक्षेत्रमा खट्दा पेट समातेर हिंडेको अनुभव छ उहाँलाई । आजकल सुत्न समस्या छ । ‘स्लिप अप्निया’ले गर्दा नाकमा मेशिन लगाएर सुत्नु पर्ने अवस्था छ । यद्यपि उहाँ यतिबेला पनि विभिन्न संघसंस्थामा आवद्ध भएर काम गर्दै आउँनु भएको छ र भन्नहुन्छ- “हेल्दी नै छु, काम नै मेरो थेरापी हो ।”

पन्ध्र महिनाको दौरानमा उहाँको परिवारका सदस्यहरू (आमा, बुवा, श्रीमान, छोरी) गुमाउँनु पर्दाको दीनलाई उहाँ सबैभन्दा मुश्किल समयका रूपमा लिनुहुन्छ । श्रीमान तथा विवाह गर्ने उमेरकी छोरीको थाई एयरलाइन्सको विमान दुर्घटना हुँदा मृत्यु भएको थियो । उहाँ तत्कालीन अवस्थालाई सम्कँदै ‘भन्नुहुन्छ- ‘त्यतिबेलाको अवस्थामा चिकित्सकहरूले नै ‘कि पागल हुनुपर्ने, कि गइसक्नु पर्ने प्रतिक्रिया दिएका थिए तर काम नै मेरो थेरापी बन्यो ।’

२००१ सालमा पाल्पामा जन्मनुभएकी चाँदनी देशले गर्व गर्नुपर्ने व्यक्तित्व मध्येमा पर्नुहुन्छ । ‘नेपाली महिला भएर ‘डि वान’ पोजिशनमा पुगें’ उहाँ गर्वका साथ भन्नुहुन्छ । १३ वर्षकै उमेरमा एसएलसी दिएर १९ वर्षदेखि पद्मकन्या कलेजमा पढाएर आफ्‌नो करिअर शुरूवात गर्नुभएकी चाँदनीको नेपाललगायत दक्षिण एशियाका महिलासम्बन्धी नीति निर्माणमा त्यत्तिकै भूमिका रहेको छ । उहाँले नेपालको छैठौ राष्ट्रिय योजनादेखि दशौं योजनासम्म नै राष्ट्रिय योजनामा लैंगिक मूलप्रवाहिकरणको लागि सक्रीय भूमिका निर्वाह गर्नुभयो भने भारतको राष्ट्रिय विकास योजना ९ औं, १० औं र ११औंमा लैंगिक मूलप्रवाहिकरणको लागि सक्रिय भूमिका निर्वाह गर्नुभयो । यस्तै पाकिस्तानको सातौं राष्ट्रिय विकास योजना, बंगलादेशको चौथो राष्ट्रिय विकास योजना लगायत श्रीलंका, माल्दिभ्स, भुटान जस्ता देशका लागि समेत राष्ट्रिय लैंगिक नीति बनाउन उहाँको त्यत्तिकै भूमिका रहेको छ ।

युनिफेमको दक्षिण यशियाली क्षेत्रीय कार्यालयको क्षेत्रीय कार्यक्रम निर्देशकबाट निवृत्त जोशी हालै मात्र सार्क लैंगिक सूचना केन्द्रको सल्लाहकारमा नियुक्त हुनु भएको छ भने अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाहरूको अधिकारको लागि काम गर्ने संस्था होम नेट दक्षिण एशियालगायत थुप्रै संस्थामा सक्रिय हुनुहुन्छ ।

महिला नीति निर्माण तहमा बसेपछि महिलाका लागि केही हुँदो रहेछ भन्ने कुराको नमूना बन्नु भएकी चाँदनी आफ्‌ना देशविदेशका काम मूल्यांकन गर्दै भन्नुहुन्छ-“सुनामी पछिको एउटा ब्रेकफास्ट मिटिङमा बिल क्लिन्टनलाई महिलाको नाममा पनि जग्गा जमिन दिनुपर्ने नीति हुनु पर्छ भन्ने कुरा राखें, मेरो प्रस्ताव पारित भयो ।”

शिक्षणदेखि महिलातिरका कुरा

चाँदनीले अंग्रेजीमा स्नातकोत्तर गरेर आफैले पढेको पद्मकन्या कलेजमा पढाउँन थाल्नु भयो । आफैले पढेको कलेजमा पढाउँन पाउँदा खुशी नै लाग्यो । अंग्रेजी दार्शनिकहरूको अध्ययन तथा साहित्य पढेर गएको तर कक्षामा कोर्ष अनुसारका साना साना किताब पढाउँदा भने ‘आफै झरें कि भन्ने उहाँलाई लाग्दथ्यो । पाँच वर्ष पढाएपछि अंग्रेजी विभागको प्रमुख हुनुभयो । विभागीय प्रमुखका नाताले अरूलाई विधागत विषयमा प्राथमिकता दिदा आफ्‌नो भागमा परेको भाषा पढाउँदा भने उहाँलाई फ्रस्ट्रेशन हुन्थ्यो । धेरै पढायो भने गुरू पनि गोरू हुन्छ भन्ने भनाईलाई पनि मनन गर्दै उहाँले आफ्‌नो शिक्षण पेशालाई छोड्नुभयो ।

उहाँले आफूलाई सरकारी प्रशासनतिर डोऱ्याउनु भयो तर आफ्‌नो दख्खल भएको अंग्रेजी कहाँ प्रयोग गर्ने भन्ने कुराको समस्या परेपछि फेरि आफ्‌नो क्षमता प्रयोग गर्ने ठाउँ खोजी गर्नुभयो । तत्कालीन गृह पञ्चायत मन्त्रालयबाट कर्मचारीहरूको लागि तालिम सामग्री, तथा कितावहरू निस्कन्थ्यो । उहाँले आफ्‌नो संभावना त्यतै देख्नुभयो र त्यतै लाग्नुभयो । काम गर्दै जाने क्रममा १९७५ को अन्तर्राष्ट्रिय विश्व महिला सम्मेलन भयो ।

सो सम्मेलनको कार्ययोजनाअनुसार स्थानीय विकास मन्त्रालयले महिला विकासका कार्यक्रम संचालनमा ल्यायो तर त्यो प्रभावकारी भएन । चाँदनी भन्नुहुन्छ-“कार्यक्रमले ‘टेक अफ नगरेपछि मेरा हाकिम श्यामप्रसादले ‘तपाईले पित्तल छोए पनि सुन हुन्छ, कार्यक्रममा काम गर्नु पन्यो’ भन्नुभयो । ममा पनि महिला विकासको कामको अनुभव नभएको कुरा बताएपछि विदेश गएर किन नसिक्ने भन्ने कुरा आयो र भारतका विभिन्न महिलासम्बन्धी कार्यक्रमको अबलोकन भ्रमणमा निस्किएँ ।”

चाँदनीलगायत अन्य नेपाली, भुटानी र बंगलादेशका प्रतिनिधिले भारतको सेवा, ह्वाइट रेभ्युलुसनलगायतका कार्यक्रमको ३ हप्ते अवलोकन भ्रमणपछि नेपालमा के, कसरी महिला विकास गर्न सकिन्छ भन्ने कुराको योजना बन्न थाल्यो । सोही अनुसार नेपालमा पेवा बढाउने कार्यक्रम सन् १९८१मा शुरू भयो, युनिसेफको सहयोगमा । यस परियोजनामा समाजशास्त्री लिन बेनेटको पनि संलग्नता थियो ।

पेवा कार्यक्रमकी आमा

नेपाल लगायत अन्य सार्क राष्ट्रमा समेत परिचित हुन पुगेको महिलाको पेवा कार्यक्रमको प्रणेता हुनुहुन्छ चाँदनी जोशी । र यसै क्षेत्रका व्यक्तित्वहरू उहाँलाई प्रणेता मात्रै नभएर ‘पेवा कार्यक्रमको आमा’ नै भनी चिनाउने गर्दछन । यही कारण आफूले महिलाका लागि संचालन गरेका थुप्रै कार्यक्रममध्ये पेवा बंढाउने कार्यक्रम (प्रोडक्शन क्रेडिट फर रूरल ओमन-पिसिआरडब्लु) कार्यक्रम नै बढी मन परेको उहाँ बताउनुहुन्छ । चाँदनी जोशी नेपालमा रहेर, संयुक्त राष्ट्र संघीय महिला कार्यक्रम (युनिफेम) मा रहेर तथा दक्षिण एशियाली क्षेत्रीय प्रमुख जुनसुकै रूमा काम गर्दा पनि उल्लेखित कार्यक्रमले सहयोग गरेको चाँदनीको अनुभव छ । उहाँ भन्नुहुन्छ-‘एक्सपेरियन्सले कन्फिडेन्स दियो । पेवा बढाउने कार्यक्रम नै महिला विकासको गुरू भयो । दक्षिण यशियाली सबै देशहरूमा नेपालकै जस्तो वातावरण भएकोले पनि अप्ठेरो परेन । विल क्लिन्टन, प्रतिभा पाटिल, हमिद कारजाई, बेनजिर भुट्टोजस्ता व्यक्तित्वसँग कुरा गरेर महिलाका पक्षमा कुरा राख्ने आँट त्यही गाउँका महिलाले दिए ।”

नेपालको विभिन्न पाँच वटा जिल्ला (धादिङ, तनहुँ, स्याङ्जा, नवलपरासी र सुर्खेत) मा महिला विकास अधिकृत राखेर संचालन गरिएको कार्यक्रम ११ वटा जिल्ला पुऱ्याएपछि अनुगमन भयो । काम गरिएको प्रकृया ठीक छ भन्ने भएपछि सोही परियोजनामा सहयोग गर्न एफएओ, युएनडिपी, युएनएफपिए, सेडा, इफादजस्ता अन्तर्राष्ट्रिय दातृ निकायहरू पनि आए । बोल्नेभन्दा बढी सुन्ने, नीति निर्माण तहसँग जोडेर काम गर्ने, कामका लागि विकसित होइन विकासले नछोएको ठाउँ जानुपर्छ भन्ने मान्यता राख्नुहुने चाँदनीलाई पिसिआरडब्लु कार्यक्रममार्फत गाउँ गाउँमा चिनिन पाउँदा धेरै खुशी एवं गर्व लागेको थियो ।

सरकारी स्तरमा सहसचिव भइसकेको, सामाजिक सेवाको क्षेत्रमा जेसिजको पहिलो निर्वाचित महिला अध्यक्ष भएको नाताले उहाँको पहिचान देशभित्र पर्याप्त थियो। उहाँ भन्नुहुन्छ- ‘सहसचिव भइसकेको, जेसिजको महिला अध्यक्ष भएको कारण यहाँ मलाई नचिन्लान् भन्ने थिएन तर दक्षिण एशिया स्तरको क्षेत्रीय प्रमुख भएर पाकिस्तान जाँदा त्यहाँ मलाई चिन्ने मान्छे सीमित मात्र थिए । नेपालमा गरेको कामलाई त्यहाँ फेरि शून्यबाटै शुरू गर्नुपर्ने भयो ।’

चाँदनीलाई नेपालमा पिसिआरडब्लु कार्यक्रम सफल रूपमा संचालन गरेकै आधारमा संयुक्त राष्ट्र संघीय कार्यक्रमको लागि पहिलो महिला प्रमुखको रूपमा आमन्त्रण गरिएको थियो । प्रमुखको जिम्मेवारीसहित उहाँले तत्कालीन अवस्थामा दक्षिण एशियाली ८ वटा देशहरूलाई हेर्नुपर्दथ्यो । चुनौति प्रशस्त हुँदाहुँदै पनि

उहाँले पाकिस्तान पुगेको तीन महिनामा आफ्‌नो कार्ययोजना बनाएर दिंदा विश्वास नै गर्न नसकेको अनुभव सुनाउनुहुन्छ । काममा आफू स्पष्ट भएको खण्डमा जुनसुकै काम पनि सफल हुने बताउँनुहुने उहाँ भन्नुहुन्छ- सरकारमा २६ वर्ष काम गरें, देश-विदेशमा गएर काम गरें तर मेरो महिला ‘एक्टिभिज्म’ मरेन ।

महिला क्षेत्रमै किन ?

चाँदनी जोशीले आफ्‌नो पेशागत जीवन करीव करीव महिलाका क्षेत्रमा नै गुजार्नु भयो । नेपालका महिला आन्दोलनका धेरै जस्तो कुरा ‘कार्पेट मुनि नै छ’ भन्नुहुने चाँदनी महिला क्षेत्रमै किन त ? एक क्षण सोच्नु भयो र भन्नु भयो- ‘यही मेरो ‘डेस्टिनी हो जस्तो लाग्छ । यो सेक्टरमा लाग्ने प्रेरणा सानैदेखि थियो होला ।’

२००७ सालको क्रान्तिलाई सानैमा अनुभव गर्नुभएकी चाँदनी निर्वासनमा पठाइएका राणा रूद्र शम्शेरकी नातिनी थिइन् । मामाघर पाल्पाको जोर बंगलामा हुर्कनु भएकी चाँदनी आफ्‌नो निवाससँगै जोडिएको जेलमा रहेका युवती पनि देख्नुहुन्थ्यो । जेलमा परेका महिला देख्दा उहाँ ‘महिला किन जेलमा ?’ भनी सोध्नुहुन्थ्यो, जवाफमा- करणी गरेको भनिन्थ्यो तर त्यो कुरा बुभिंदैनथ्यो । कुरा नबुझे पनि ती महिलाप्रति उहाँमा सदाशयता रहन्थ्यो, महिलाहरू घर परिवारमै बस्न पाएको भए राम्रो हुन्थ्यो भन्ने लाग्दथ्यो ।

चाँदनीको शिक्षा र होस्टल

आमाको छोरीले पनि पढ्नु पर्छ भन्ने मान्यताकै कारण आफूले तत्कालीन अवस्थामा पढ्न पाएको मान्नुहुने चाँदनी ६ वर्षको उमेरमा पढ्नको लागि लखनउ, भारत जानुभएको थियो । परिवारका झण्डै ६० जना बालबालिका मध्ये लखनउको कन्भेन्टमा पढ्न जाने भने उहाँ मात्र पर्नु भयो । त्यहाँ पुग्दा अंग्रेजी अलिअलि लेख्न आए पनि बोल्न आउँदैनथ्यो तर उहाँलाई बुलु दीक्षितले सहयोग गर्नुहुन्थ्यो, पहिलो वर्ष । पछि भने उहाँले अंग्रेजी मात्र होइन, हिन्दी-उर्दू पनि चाँडै सिक्नु भयो ।

घरको भन्दा होस्टलको वातावरण ज्यादै फरक थियो । घरमा छँदा राति कपाल कोर्नु हुँदैन, बूढो लोग्ने पर्छ (छोरीको लागि) भन्ने गरिन्थ्यो तर होस्टेलमा भने सँधै बेलुकी कपाल कोरेर सुत्नु पर्थ्यो । यस्तै दाँत बेलुकी पनि माझ्‌नै पर्ने नियम थियो । पछिल्लो जीवनमा होस्टेल बस्दाका धेरै नियमहरूमा परिवर्तन आयो तर कपाल कोर्ने र दाँत माझ्ने बानी अहिलेसम्म निरन्तर छ ।

परिवारका लागि स्टिकी

चाँदनीले यति अगाडि बढ्न सक्नुमा उहाँको घरप्रति जिम्मेवारी थिएन भन्ने होइन । घर-परिवार, छोराछोरीको जिम्मेवारी अनि आफ्‌नो करिअर- कसरी व्यालेन्स गर्ने भन्ने चुनौति थियो । यद्यपि उहाँले आफ्‌नो कामका लागि परिवारलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने कुरा हरेक पल सोच्नु हुन्थ्यो । यही कारण उहाँ घर-देश बाहिर जानुअघि घरका प्रत्येक सदस्यका लागि ‘जिम्मेवारी सहितको स्टिकी छोड्नुहुन्थ्यो । कामबाट फर्किएपछि ती स्टिकी संकलन गर्दै काम भए नभएको पनि बुझ्‌नुहुन्थ्यो । उहाँ भन्नुहुन्छ- काम गर्दा गर्दै राम्रो व्यवस्थापन, सम्पर्कलाई सुचारू गर्ने तरीका सिकें । जापान, भारतमा रहँदा तत्कालीन अवस्थामा आजजस्तो मोबाइल थिएन, फोनबाटै कुरा गर्न पनि धेरै पैसा खर्च हुने हुँदा छोरा छोरीका लागि प्रत्येक हप्ता हुलाकबाट पोष्ट कार्ड पठाउँथे । कतिपय अवस्थामा पोष्टकार्ड म घर पुगिसक्दा पनि आउँदैनथ्यो, मभन्दा ढीला पुग्थ्यो तर पनि म पठाउँथे ।

सबैको म, मेरो को ?

चाँदनी जोशीले महिलाका क्षेत्रमा गर्नुभएको काम, मिहेनत सफल भयो । यही कारण नजिकबाट चिन्ने अधिकांश दक्षिण यशियामा महिलाहरू उहाँलाई ‘आमा’ रूपमा लिन्छन् । शुरूमै भने झै उहाँले जे काम गरे पनि सफल हुने-पित्तल छोए पनि सुन भए जस्तै । यस अर्थमा उहाँ आफूलाई भाग्यमानी ठान्नुहुन्छ । उहाँ भन्नुहुन्छ- जे काम गरें, त्यसको जस पाएँ । सबैले कसरी संभव भयो भन्छन्, म भन्ने गर्छ- आई वाज नेभर इन लभ अफ चेयर । कुर्सीसँग मोह भए डर पनि हुन्छ ।’ जोशीका अनुसार उहाँले कार्यक्रमका लागि कहिल्यै राजनीतिक दवाव वेहोर्नु परेन, विभागीय मन्त्रीको क्षेत्रमा कार्यक्रम पनि लग्नुभएन ।

महिलाका क्षेत्रमा काम गरेर देश विदेशमा चाँदनीले थुप्रै साथीहरू पनि बनाउँनुभयो । तर तिनमा दिलबाट आउँने अपनत्व उहाँले पाउनु भएन । विदेशमा गरिएको सम्मानभन्दा घरमा गरिएको कदर उच्च हुने मान्यता राख्नु हुने उहाँका हितैषीको संख्या गन्दै उहाँ भन्नुहुन्छ- ‘डा. वानिरा गिरी र डा. विना प्रधान मेरा दुवै मिल्ने साथी बाहेक अरूसँग त्यति अपनत्व भएन ।’

कामको लागि वर्षों घर बाहिर बिताउनु भए पनि हुर्कदो उमेरका छोराछोरीले कहिल्यै गुनासो नगरेको र छोराछोरीले पनि आफ्‌नो करिअरका लागि आमाबुवाको नाम प्रयोग नगरेकोमा सन्तुष्ट हुनुहुन्छ, चाँदनी । छोराछोरीप्रति गौरवान्वित चाँदनी भन्नुहुन्छ- दुवै कलाकार छन्, हामीलाई चाहिएको बेला कहाँ थियौ भन्ने प्रश्न कहिल्यै गरेनन् । बुहारी र ज्वाई पनि राम्रा छन्, म धेरै ‘लक्की छु ।

(नेवा:टाइम्स डटकमकाे सह-प्रकाशन ‘हसना म्यागेजिन’मा प्रकाशित कभरस्टाेरीकाे पुनर्प्रकाशन)

 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
अमिका राजथला

अन्य लेखहरू: अमिका राजथला

यस लेखकका अन्य रोचक लेखहरू
कलाको भाषामा अन्तर्दृष्टि

कलाको भाषामा अन्तर्दृष्टि

उनका कला हेर्ने दर्शकले आयाताकार अनुहारलाई कलम, कुची वा अन्य केही अनुमान लगाउन सक्छन् तर उनी भन्छिन् "याे मेराे चित्रकला...

सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश नियुक्त

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल आजदेखि कायम मुकायम (कामु) प्रधानन्यायाधीश भएकी छिन्। प्रधानन्यायाधी...

मध्य पश्चिम युद्धको चपेटामा नेपाली बजार

मध्य पश्चिम युद्धको चपेटामा नेपाली बजार

विश्वको ऊर्जा राजधानी मानिने खाडी क्षेत्रमा भड्किएको यो सङ्कटले नेपाली बजारमा तेल र ग्यासको मूल्य मात्रै बढाएको छैन, सर्...

वायु प्रदूषण कसरी नियन्त्रण गर्ने?

वायु प्रदूषण कसरी नियन्त्रण गर्ने?

वातावरणीय संकट र विशेषगरी वायु प्रदूषणको समस्या आज नेपालका सहरहरूमा गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा देखा परेको...

एप्स्टिन काण्डः शक्तिशाली पुरुषहरूलाई सतह देखाउने पत्रकार जुली के. ब्राउन

एप्स्टिन काण्डः शक्तिशाली पुरुषहरूलाई सतह देखाउने पत्रकार जुली के. ब्राउन

जेफ्री एप्स्टिन काण्ड ! लाखौं पेजमा फैलिएको कुकृत्यको उक्त एप्स्टिन फाइलमा हालका अमेरिकी राष्ट्रपतिदेखि पूर्व राष्ट्रपति...

नेवार संस्कारमा "बाह्रा:पिकायेेगु" सूर्यदेवसँग विवाह हाे कि पूजा मात्र ?

नेवार संस्कारमा "बाह्रा:पिकायेेगु" सूर्यदेवसँग विवाह हाे कि पूजा मात्र ?

नेवार समुदायकाे संस्कृति पृथक छ, राेमाञ्चक पनि । यही कारण हुनसक्छ संस्कार-संस्कृतिकाे पहिचानमा हाेस् या व्यवहारमा- यसले ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्