१५ भदौ २०८३, मंगलबार

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन


अ+
अ-

काठमाडौं, भदाै १५ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको छैटौँ दिनसम्म नेपाल सरकारले खोज, उद्धार, उपचार, राहत तथा प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनलाई तीव्रता दिएको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा राज्यका सबै संयन्त्र परिचालन गरी उद्धारदेखि पुनःस्थापनासम्मका काम अघि बढिरहेको बताएका छन्।
प्रधानमन्त्री शाहका अनुसार हालसम्म बाढी प्रभावित क्षेत्रबाट ११ हजार ३७९ जनाको उद्धार गरिएको छ भने ३ हजार ९२५ जना सम्पर्कविहीन छन्। सम्पर्कविहीनको संख्या निरन्तर घटबढ भइरहेको सरकारले जनाएको छ।
उद्धार गरी विभिन्न अस्पतालमा भर्ना गरिएका २७९ घाइतेमध्ये १६८ जना डिस्चार्ज भइसकेका छन्।
प्रधानमन्त्री शाहले विपद्को अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी, विभिन्न निकायका पदाधिकारी, स्वयंसेवी संस्था तथा आम नागरिकको भूमिकाको प्रशंसा गर्दै उनीहरूले देखाएको धैर्य, साथ, सहयोग र समन्वयप्रति आभार व्यक्त गरेका छन्।
३६९६ प्रभावितसम्म राहत
सरकारले उद्धारसँगै राहत संकलन र वितरणलाई पनि प्राथमिकतामा राखेको जनाएको छ। काठमाडौंलगायत देशका विभिन्न स्थानबाट संघसंस्था तथा नागरिकले उपलब्ध गराएका राहत सामग्री प्रभावित क्षेत्रसम्म पुर्‍याउने काम भइरहेको छ।
सरकारका अनुसार सुरक्षाकर्मीले हवाई तथा सडकमार्गबाट रसुवा, नुवाकोट र धादिङका चार वटा संकलन केन्द्र हुँदै रसुवा र नुवाकोटका २७ वटा वितरण केन्द्रमार्फत ३ हजार ६९६ जना प्रभावित नागरिकसम्म राहत पुर्‍याएका छन्।
प्रदेश तथा स्थानीय सरकारसमेत संघीय सरकारसँगको समन्वयमा आश्रय तथा राहत व्यवस्थापनमा सक्रिय छन्। राहत संकलन तथा वितरणको अवस्थाबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नियमित जानकारी गराइरहेको सरकारले जनाएको छ।
राहत कोषमा साढे ५ अर्बभन्दा बढी
सरकारले विपद् प्रभावितका लागि आर्थिक सहयोग जुटाउन प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत रकम संकलन गरिरहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज मध्यान्हसम्म नौ वटा वाणिज्य बैंकका खातामा ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको छ। त्यस्तै, हिमालयन र लक्ष्मी बैंकमा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर जम्मा भएको जनाइएको छ।
सरकारका अनुसार विभिन्न देश तथा संघसंस्थाले थप आर्थिक सहयोगको प्रतिबद्धतासमेत जनाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’मार्फत कोषमा प्राप्त रकमको विवरण सार्वजनिक गर्दै आएको छ।
त्रिशूलीपारिको क्षेत्र सडक सञ्जालमा जोडियो
बाढीका कारण सडक सम्पर्क विच्छेद भएको नुवाकोटको त्रिशूलीपारिको क्षेत्र पुनः सडक सञ्जालमा जोडिएको सरकारले जनाएको छ।
गल्छी–त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला र गौरीबेँसी हुँदै त्रिशूली बजारसम्म पुग्ने सडक सञ्चालनमा ल्याइएको छ।
यससँगै प्रभावित क्षेत्रका नागरिकलाई सदरमुकामसँग पुनः प्रत्यक्ष सडक पहुँच स्थापित भएको र उद्धार, राहत तथा अत्यावश्यक वस्तुको आपूर्तिमा सहज हुने सरकारको भनाइ छ।
रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा पुल भत्किएपछि सरकारले अस्थायी पुल निर्माणलाई पनि प्राथमिकता दिएको छ। सरकारसँग ४८ मिटर लम्बाइका ६ वटा र ७० मिटर लम्बाइको एउटा बेलिब्रिज रहेको जनाइएको छ।
देवीघाटको तादी नदी, त्रिशूली बजार र बेत्रावती बजारमा बेलिब्रिज राख्ने विषयमा अध्ययन भइसकेको छ। भारत सरकारले २३० फिट लामो सिंगल लेन मोडुलर स्टिल ब्रिज उपलब्ध गराएको छ भने थप सात वटा बेलिब्रिज पठाउने प्रतिबद्धता जनाएको छ। चीन सरकारले पनि ३० वटा बेलिब्रिज उपलब्ध गराउने तयारी गरेको सरकारले जनाएको छ।
विद्युत् सेवा पुनःस्थापनामा प्रगति
बाढीबाट प्रभावित रसुवामा विद्युत् सेवा पुनःस्थापनाको काम अघि बढेको छ। कालिकास्थान, नौकुण्डका केही भाग, गोसाइँकुण्ड गाउँपालिकाका वडा नम्बर ५ र ६ का केही क्षेत्र तथा सदरमुकाम धुन्चेसहित करिब ३० प्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको सरकारले जनाएको छ।
आमाछोदिङ गाउँपालिकाका केही क्षेत्रमा सान्जेन जलविद्युत् आयोजनाबाट छुट्टै प्रणालीमार्फत विद्युत् सञ्चालनको तयारी भइरहेको छ। जिल्लाका अन्य क्षेत्रमा घरायसी सोलारमार्फत विद्युत् सेवा उपलब्ध गराउन ५०० थान पोर्टेबल सोलार पठाइएको छ।
नुवाकोटमा भने ८५ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना भइसकेको छ। बाँकी १५ प्रतिशत क्षेत्रमा आगामी पाँच दिनभित्र विद्युत् सेवा पुर्‍याउने लक्ष्यसहित काम भइरहेको छ।
धादिङमा पृथ्वीराजमार्ग आसपासका केही क्षेत्र प्रभावित भए पनि ९८ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना भएको सरकारले जनाएको छ। आदमघाटको केही क्षेत्रबाहेक जिल्लाको विद्युत् सेवा पुनःस्थापना भइसकेको र बाँकी क्षेत्रमा आगामी दुई दिनभित्र सेवा सुचारु गर्ने गरी काम भइरहेको छ।
सञ्चार सेवातर्फ नेपाल टेलिकमका १२० मध्ये ११० वटा बिटिएस र एनसेलका ७८ मध्ये ७५ वटा टावर सञ्चालनमा आएका छन्।
जलविद्युत् आयोजनाका सुरुङमा खोजी जारी
बाढीका कारण विभिन्न जलविद्युत् आयोजना प्रभावित भएपछि आयोजनामा कार्यरत केही व्यक्ति सम्पर्कविहीन भएको आशंका गरिएको छ। नेपाली सेनाले विभिन्न जलविद्युत् आयोजनाबाट हालसम्म २७९ जनाको उद्धार गरेको जनाएको छ।
रसुवागढी जलविद्युत् आयोजनाबाट दुई जनाको उद्धार गरिएको छ। नेपाली सेना र चिनियाँ उद्धार टोलीले आयोजनाको सुरुङको भित्री भागसम्म खोजी गरे पनि मानिस नभेटिएपछि टोली फर्किएको सरकारले जनाएको छ।
लाङटाङ खोला र चिलिमे जलविद्युत् आयोजनाको सुरुङको मुख खोल्न नेपाली सेनासँगै भारतीय उद्धार टोली र नेपाली सहयोगीहरू परिचालन भएका छन्।
मैलुङ खोला जलविद्युत् आयोजनाबाट नौ जना र माथिल्लो त्रिशूली–१ बाट २५४ जनाको उद्धार भइसकेको छ। माथिल्लो त्रिशूली–१ को सुरुङमा भने खोज तथा उद्धार जारी छ। त्यहाँ नेपाली सेनासँगै कोरियन र चिनियाँ टोलीले काम गरिरहेका छन्।
नुवाकोटको माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका ९० जनाको टोलीले खोज तथा उद्धारको प्रयास गरिरहेको छ। नेपाल विद्युत् प्राधिकरणको टोलीले समेत सहयोग गरिरहेको छ।
माथिल्लो त्रिशूली–३ बी आयोजनाबाट नेपाली सेनाले दुई जनाको उद्धार गरिसकेको छ। त्यहाँ थप नौ जना सैनिक परिचालन गरी कूल ३१ जनाले खोज तथा उद्धार गरिरहेका छन्। चिनियाँ उद्धार टोलीले रेकी गरेपछि नेपाली सेनाले खोजी सुरु गरेको सरकारले जनाएको छ।
त्यस्तै, त्रिशूली जलविद्युत् आयोजनाबाट तीन जना, सौर्य आयोजनाबाट चार जना र देवीघाट जलविद्युत् आयोजनाबाट चार जनाको उद्धार भइसकेको छ।
९३९ शव फेला
बाढीका कारण ज्यान गुमाएका तथा पहिचान हुन नसकेका व्यक्तिका शव वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन भइरहेको सरकारले जनाएको छ।
‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम शव व्यवस्थापन भइरहेको जनाइएको छ। पहिचान हुन नसक्ने अवस्थामा भेटिएका शवको डिएनएलगायत पहिचानमा सहयोग पुग्ने आधार सुरक्षित राखेर सरकारले व्यवस्थापन गरिरहेको जनाएको छ।
सरकारका अनुसार हालसम्म ९३९ जनाको शव फेला परेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा शव व्यवस्थापन भइरहेको छ भने पहिचान भएका शव आफन्तको जिम्मा लगाउने काम जारी छ।
‘हिमालय क्षेत्रकै ठूलो विपत्ति’
प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको बाढीलाई सामान्य बाढी नभई हिमालय क्षेत्रमा हिउँ–चट्टानको हिमपहिरोबाट सिर्जित ठूलो विपत्तिका रूपमा उल्लेख गरेका छन्।
उनका अनुसार घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको संकेत गरेको छ। हिमालय क्षेत्रलाई थप सतर्क बनाउँदै जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको विपद्को विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा उठाउनुपर्ने आवश्यकता रहेको उनले बताएका छन्।
पुनःस्थापनाको तयारी
सरकारले खोज तथा उद्धारसँगै प्रभावित नागरिकको पुनःस्थापनाका लागि पनि तयारी थालेको जनाएको छ। स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको संख्या तथा भौतिक क्षतिको विवरण संकलन सुरु गरिएको छ।
प्रधानमन्त्री शाहले हजारौँ नागरिकले घर, परिवार, प्रियजन तथा जायजेथा गुमाएको उल्लेख गर्दै उनीहरूको पीडालाई सरकारले बुझेको बताएका छन्।
प्रभावित नागरिकलाई मानसिक तथा शारीरिक रूपमा सशक्त बनाउँदै पुनःस्थापना गरी सामान्य जनजीवनमा फर्काउनु अबको मुख्य जिम्मेवारी भएको उनको भनाइ छ। पुनःस्थापनाका लागि आवश्यक आर्थिक स्रोत जुटाउने कामसमेत अघि बढिरहेको सरकारले जनाएको छ।
प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका कामबारे सुरक्षा निकायका प्रमुख, मन्त्रिपरिषद्का सदस्य, संघीय सांसद तथा प्रभावित क्षेत्रमा खटिएका अन्य प्रतिनिधिबाट निरन्तर जानकारी लिइरहेको बताएका छन् ।

फाेटाे: अमिका राजथला

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै...

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार...

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह...

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी...

चीनबाट ५० टन आपत्कालीन राहत सामग्री नेपाल आइपुग्यो, सुरुङ उद्धार विज्ञ पनि परिचालन

चीनबाट ५० टन आपत्कालीन राहत सामग्री नेपाल आइपुग्यो, सुरुङ उद्धार विज्ञ पनि परिचालन

चीनबाट ५० टन आपत्कालीन राहत सामग्री नेपाल आइपुग्यो, सुरुङ उद्धार विज्ञ पनि परिचालन...

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्