मातृ औँशी आज: आमाप्रति सम्मान अर्पण गर्दै देशभर विभिन्न कार्यक्रम
काठमाडौं, वैशाख ४ । आज देशभर मातृ औँशी पर्व मनाइँदैछ। हिन्दू परम्पराअनुसार आमाप्रति श्रद्धा, सम्मान र कृतज्ञता प्रकट गर्ने यस पर्वका अवसरमा बिहानैदेखि नजिकका तीर्थस्थल तथा घर–घरमा विशेष पूजा–आराधना गरिएको छ।
आमालाई मिठा परिकार खुवाउने, उपहार दिने तथा आशीर्वाद लिने परम्परासँगै दिवंगत आमाको सम्झनामा श्राद्ध तथा तर्पण गर्ने चलन पनि रहेको छ। काठमाडौंको मातातीर्थ लगायत विभिन्न स्थानमा दिवंगत आमाको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्न भक्तजनको घुइँचो लागेको छ।
यस अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले पनि शुभकामना सन्देश जारी गरेको छ। सन्देशमा ‘सृष्टि, सभ्यता र संस्कारकी जननी आमा प्रति उच्च सम्मान अर्पण गर्ने पावन अवसर’ भन्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको छ।
शुभकामनामा आमाको त्याग र योगदानको उच्च कदर गर्दै सन्तानको उज्ज्वल भविष्यका लागि आमाहरूले आफ्ना व्यक्तिगत चाहना र सपना त्याग गर्ने गरेको उल्लेख गरिएको छ। “आमाले सिकाउनुभएको नैतिकता र प्रदान गर्नुभएको निस्वार्थ प्रेम नै समृद्ध राष्ट्र निर्माणको असली जग हो,” सन्देशमा भनिएको छ।
साथै आमाहरूको मर्यादा र गौरवलाई सधैं उच्च राख्ने संकल्प गर्न सबैमा आह्वान गरिएको छ। मातृ औँशीले परिवार र समाजमा आमाको भूमिकालाई स्मरण गराउँदै भावनात्मक एकता र संस्कारको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment