२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न
काठमाडौं, असार ३२ । लामो समयदेखि छपाइ हुन बाँकी रहेका पुराना सवारी चालक अनुमति पत्र (लाइसेन्स) को छपाइ कार्य सम्पन्न भएको छ। सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको सुरक्षा मुद्रण केन्द्रले यातायात व्यवस्था विभागसँगको सम्झौताअनुसार छपाइ हुन बाँकी रहेका करिब २७ लाख चालक अनुमति पत्रको छपाइ असार ३२ गते सम्पन्न गरेको जनाएको छ।
मन्त्रालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार नागरिकमैत्री, छिटो र भरपर्दो सेवा प्रवाह गर्ने सरकारको प्रतिबद्धताअनुरूप लामो समयदेखि रोकिएको लाइसेन्स छपाइ कार्य पूरा गरिएको हो।
सुरक्षा मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच दुई चरणमा भएको सम्झौताअन्तर्गत उक्त छपाइ सम्पन्न भएको मन्त्रालयले जनाएको छ। पहिलो चरणको सम्झौता २०८२ कात्तिक १२ गते र दोस्रो चरणको सम्झौता २०८३ वैशाख ४ गते भएको थियो।
हाल सुरक्षा मुद्रण केन्द्रले यातायात व्यवस्था विभागबाट दैनिक प्राप्त हुने ट्रायल उत्तीर्ण गरी राजस्व बुझाएका तथा नवीकरण गरेका सेवाग्राहीको विवरणका आधारमा प्रत्येक दिन करिब ३ हजारदेखि ५ हजार सवारी चालक अनुमति पत्र २४ घण्टाभित्र छपाइ गरी विभागलाई हस्तान्तरण गरिरहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार यस व्यवस्थाले चालक अनुमति पत्र वितरण प्रक्रियालाई थप सहज, छिटो र प्रभावकारी बनाउने विश्वास लिइएको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment