बाढी, पहिरोका कारण चार जिल्लाका मुख्य राजमार्गमा अवरोध
काठमाडौं, असोज ५। बाढी तथा पहिरोका कारण आज बिहान ६ बजेसम्म देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको नेपाल प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका अनुसार संखुवासभाको मकालु गाउँपालिका–४ नेताभिरमा पहिरो खसेपछि कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा २०८३ असोज २ गते बिहान १०ः३० बजेदेखि सडक अवरुद्ध छ।
यस्तै काभ्रेमा बाढीको सम्भावनाका कारण बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–काटुञ्जेबेँसी सडकखण्डमा सवारी सञ्चालनमा समयगत व्यवस्था गरिएको छ। अर्को सूचना नभएसम्म १० टनसम्मका मालवाहक सवारीसाधन साँझ ७ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न दिइने तथा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको विचार गरी सवारी सञ्चालन गरिने प्रहरीले जनाएको छ।
रसुवामा बाढीका कारण मुख्य राजमार्ग सबै पूर्णरूपमा अवरुद्ध छन्। २०८३ असोज १ गते बिहान १०ः३० बजेदेखि मुख्य राजमार्गका सडकखण्ड अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा सम्भावित बाढी तथा पहिरोका कारण टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। दिउँसो भने अवस्था हेरेर सञ्चालनको व्यवस्था गरिएको छ।
नुवाकोटकै विदुर नगरपालिका–१० सिमटारमा बाढीका कारण पासाङ ल्हामु सडकखण्ड पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिकाका ज्वाङखोला र शीतलबजार क्षेत्रमा पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। प्रहरीले सडकको अवस्था हेरी सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ।
नेपाल प्रहरीले सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा अवरुद्ध सडकखण्डमा सुरक्षाकर्मीले दिएको निर्देशन पालना गर्न आग्रह गरेको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment