९ भदौ २०८३, बुधबार

भोटेकोशी बाढीले नुवाकोट र रसुवामा ९६७ घर बगेको रेडक्रसकाे प्रारम्भिक विवरण


अ+
अ-

काठमाडौं, भदाै १० । चीनको तिब्बततर्फ भोटेकोशी नदीमा हिमपहिरोपछि आएको ठूलो बाढीले रसुवा र नुवाकोटका भोटेकोशी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
नेपाल रेडक्रस सोसाइटी (एनआरसीएस) को राष्ट्रिय मुख्यालयले बुधबार नुवाकोटको विदुर पुगेर गरेको स्थलगत अध्ययनपछि तयार पारेको ‘फिल्ड मिसन रिपोर्ट–१’ अनुसार नुवाकोटमा मात्रै प्रारम्भिक रूपमा ९६७ घरधुरी बाढीले बगाएको विवरण प्राप्त भएको छ। यो संख्या प्रारम्भिक भएकाले अझै बढ्न सक्ने रिपोर्टमा उल्लेख छ।
रिपोर्टअनुसार विदुर नगरपालिका–१, ३, ४, ५, ६, ७, १० र १२ का विभिन्न क्षेत्र बाढीबाट प्रभावित भएका छन्। सोलेमा ६०, बेत्रावतीमा २५, भैंसेमा १२, त्रिशूली बजारमा २००, ढुंगेवारीमा ४५, सिमलचौर बगैंचामा ४०, देवीघाटमा ६५, श्रीखाली क्षेत्रमा १२० र बेलकोटगढीमा ४०० घरधुरी बाढीले बगाएको प्रारम्भिक जानकारी रेडक्रसले प्राप्त गरेको छ।
बाढीका कारण नुवाकोटमा करिब १ हजारदेखि १ हजार ५ सय मानिस विस्थापित भएको अनुमान गरिएको छ। जिल्ला अस्पतालमा १६ जना घाइतेको उपचार भइरहेको र उनीहरूमध्ये दुई जना ‘रेड जोन’मा, नौ जना ‘ग्रिन जोन’मा तथा पाँच जना ‘यल्लो जोन’मा रहेको रिपोर्टमा उल्लेख छ। रेड जोनमा रहेका दुई घाइतेलाई थप उपचारका लागि तत्काल अन्यत्र लैजानुपर्ने अवस्था रहेको बताइएको छ।
यद्यपि, अनौपचारिक रूपमा प्राप्त सूचनाअनुसार मानवीय क्षति अझ बढी हुनसक्ने अनुमान गरिएको छ। देवीघाट क्षेत्रमा चार शव पहिचान भएको प्रारम्भिक जानकारी पनि रेडक्रसले प्राप्त गरेको छ।
रिपोर्टअनुसार भोटेकोशी नदीको जलाधार क्षेत्रमा रहेका रसुवा र नुवाकोटका १४ वटा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ। धेरै सार्वजनिक तथा निजी संरचना बगेका छन् भने ठूलो संख्यामा मानिस बेपत्ता भएको जानकारी प्राप्त भएको छ। केही जलविद्युत् आयोजनाका सुरुङभित्र मानिसहरू फसेर उद्धारको प्रतीक्षामा रहेको बताइएको छ।
रसुवामा पनि ठूलो क्षति भएको रेडक्रसको प्रारम्भिक विवरणमा उल्लेख छ। धुन्चेदेखि नुवाकोटतर्फको नदी किनार आसपासका सडक बाढीले बगाएपछि सडक सम्पर्क अवरुद्ध भएको छ। जलविद्युत् आयोजनामा क्षति पुगेका कारण रसुवा र नुवाकोटमा विद्युत् सेवा प्रभावित भएको तथा सञ्चार सम्पर्कसमेत सीमित र अवरुद्ध रहेको रिपोर्टमा उल्लेख छ।
रसुवाको उत्तरगंगा गाउँपालिका–२ बाट ४० घरधुरी विस्थापित भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। त्यहाँबाट थप विवरण संकलन गर्ने काम भइरहेको रेडक्रसले जनाएको छ।
रसुवामा २१६ मेगावाटको आयोजनासहित मेलुङ, रसुवागढी, तल्लो रसुवागढी, ३ए र ३बी जलविद्युत् आयोजनामा क्षति पुगेको तथा २०० केभीको हबमा समेत क्षति भएको प्रारम्भिक रिपोर्टमा उल्लेख छ। रसुवामा १८ वटा शव फेला परेको जानकारी प्राप्त भएको छ।
सडक तथा सञ्चार सम्पर्क अवरुद्ध भएकाले रसुवाका प्रभावित क्षेत्रमा विस्तृत स्थलगत सूचना अझै प्राप्त हुन नसकेको रेडक्रसले जनाएको छ। हाल प्रभावित क्षेत्रमा पुग्न हवाई उद्धार नै मुख्य विकल्प बनेको रिपोर्टमा उल्लेख छ।
उद्धार तथा राहत तीव्र
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना तथा निजी हेलिकप्टरमार्फत घाइतेको उद्धार र आवश्यक राहत सामग्री ढुवानी भइरहेको छ। विदुर नगरपालिकाको परिसरमा नेपाली सेनाले प्राथमिक उपचार केन्द्र स्थापना गरी गम्भीर घाइतेलाई उपचारपछि आवश्यकताअनुसार काठमाडौं पठाइरहेको छ।
नेपाल रेडक्रसले नुवाकोटमा विस्थापित नागरिकका लागि पाँचवटा अस्थायी आश्रयस्थल पहिचान गरेको छ। देवीघाटको चन्द्रज्योति विद्यालयमा करिब ५००, आयुर्वेद केन्द्रमा करिब ३००, ढुंगेस्थित नर्सिङ कलेज छात्रावासमा १००, पृथ्वी माध्यमिक विद्यालयमा ५००, त्रिशूलीको कभर्ट हलमा ३०० र भैरव माध्यमिक विद्यालयमा ३०० जनालाई राख्न सकिने व्यवस्था पहिचान गरिएको रिपोर्टमा उल्लेख छ।
रेडक्रसले करिब १ हजार विस्थापितलाई सुख्खा खाना वितरण गर्ने तयारी गरेको छ। प्रतिव्यक्ति एक प्याकेट चाउचाउ, एक प्याकेट बिस्कुट, २०० ग्राम चिउरा र एक बोतल खानेपानी उपलब्ध गराउने योजना बनाइएको छ।
रेडक्रस मुख्यालयले नुवाकोटमा २०० थान कम्बल, २०० त्रिपाल, २०० म्याट्रेस, २०० प्याकेजिङ ब्याग, २५ प्राथमिक उपचार बाकस, २५ स्ट्रेचर र ५० शव ब्याग पठाएको छ।
रसुवामा रेडक्रस जिल्ला शाखाले विस्थापित ४० घरधुरीलाई तयारी खानेकुरा वितरण गर्ने योजना बनाएको छ। उत्तरगया गाउँपालिकामा तीन भारतीय र १३ नेपाली पर्यटक रेडक्रसको सम्पर्कमा रहेको र उनीहरूलाई सुरक्षित स्थानमा राखिएको रिपोर्टमा उल्लेख छ।
थप राहत सामग्रीको आवश्यकता
प्रारम्भिक स्थलगत अध्ययनले दुवै जिल्लामा गैरखाद्य राहत सामग्री, शव व्यवस्थापनका लागि शव ब्याग, मर्यादित अन्त्येष्टि तथा शव व्यवस्थापन सामग्री, सुख्खा तथा आधारभूत खाद्यान्न, अस्थायी आश्रयस्थलमा खानेपानी र आश्रयस्थल निर्माणका लागि थप सहयोग आवश्यक देखाएको छ।
त्यसैगरी विद्युत् सेवा तथा सडक सञ्चालनमा ल्याउनुपर्ने, जिल्ला विपद् व्यवस्थापन केन्द्रको काम सहज बनाउन वैकल्पिक विद्युत् व्यवस्था गर्नुपर्ने र थप स्वयंसेवक परिचालन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
प्रभावित क्षेत्रमा पावर बैंक, ह्यान्ड माइक, टर्च र अस्थायी रूपमा प्रयोग गर्न इन्टरनेट उपकरणसमेत आवश्यक रहेको रेडक्रसको रिपोर्टमा उल्लेख छ।
रेडक्रसको टोलीले अध्यक्ष डा. विशालकुमार भण्डारीको नेतृत्वमा नुवाकोटको विदुर नगरपालिका पुगेर सांसद, नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण हुमागाईं, नेपाली सेना तथा सुरक्षा निकायका अधिकारीहरूसँग छलफल गरी प्रारम्भिक विवरण संकलन गरेको थियो।
टोलीमा रेडक्रसका अध्यक्ष डा. विशालकुमार भण्डारी, इओसी संयोजक शेरबहादुर कार्की, स्वास्थ्य तथा सुरक्षा कार्यक्रमका कार्यक्रम संयोजक राजु राउत र कार्यक्रम अधिकृत विनोद लामिछाने सहभागी थिए।
रेडक्रसले बाढीबाट रसुवा र नुवाकोटको भोटेकोशी नदी जलाधार क्षेत्रमा ठूलो विनाश भएको र सार्वजनिक तथा निजी सम्पत्तिमा व्यापक क्षतिसँगै ठूलो संख्यामा मानिस बेपत्ता रहेको जनाएको छ। सडक तथा सञ्चार सम्पर्क अवरुद्ध रहेकाले खोज तथा उद्धार कार्य निकै कठिन बनेको रिपोर्टमा उल्लेख छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
बाढी प्रभावित नेपालका लागि भारतले १० टन मानवीय सहायता र औषधि पठायो

बाढी प्रभावित नेपालका लागि भारतले १० टन मानवीय सहायता र औषधि पठायो

बाढी प्रभावित नेपालका लागि भारतले १० टन मानवीय सहायता र औषधि पठायो...

रसुवा बाढी : उद्धार र उपचारलाई तीव्र बनाइएको प्रधानमन्त्री शाहको भनाइ

रसुवा बाढी : उद्धार र उपचारलाई तीव्र बनाइएको प्रधानमन्त्री शाहको भनाइ

रसुवा बाढी : उद्धार र उपचारलाई तीव्र बनाइएको प्रधानमन्त्री शाहको भनाइ...

रसुवाको भोटेकोशी बाढी : ३६ जनाको शव फेला, २४५ जना सम्पर्कविहीन

रसुवाको भोटेकोशी बाढी : ३६ जनाको शव फेला, २४५ जना सम्पर्कविहीन

रसुवाको भोटेकोशी बाढी : ३६ जनाको शव फेला, २४५ जना सम्पर्कविहीन...

रसुवा बाढीमा घाइते २५ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत

रसुवा बाढीमा घाइते २५ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत

रसुवा बाढीमा घाइते २५ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत...

लेहेन्दे खोलाबाट शुरू भयाे बाढी:   बाढी प्रभावितको हेलिकोप्टरबाट उद्धार गर्न प्राधिकरणको निर्देशन

लेहेन्दे खोलाबाट शुरू भयाे बाढी: बाढी प्रभावितको हेलिकोप्टरबाट उद्धार गर्न प्राधिकरणको निर्देशन

लेहेन्दे खोलाबाट शुरू भयाे बाढी: बाढी प्रभावितको हेलिकोप्टरबाट उद्धार गर्न प्राधिकरणको निर्देशन...

रसुवाको बाढी प्रभावित क्षेत्रमा सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन

रसुवाको बाढी प्रभावित क्षेत्रमा सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन

रसुवाको बाढी प्रभावित क्षेत्रमा सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्