रास्वपाकाे सिफारिसमा श्रम मन्त्री साह बर्खास्त
काठमाडौं, चैत २६ । राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साहविरुद्ध कारबाही गर्न सरकारलाई सिफारिस गरेअनुसार सरकारले उनलाई बर्खास्त गरेकाे छ।
पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै पठाएको पत्रमा मन्त्री साहले पदको दुरुपयोग गरेको आरोप लगाइएको छ।
पत्रमा मन्त्री साहले आफ्नी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बिमा बोर्डको सदस्यमा नियुक्त गराउने कार्य गरेको उल्लेख गर्दै यसले पार्टीको छवि, आदर्श र मर्यादामा आँच पुगेको निष्कर्ष निकालिएको जनाइएको छ। पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्ययनबाट उक्त विषय पुष्टि भएको दाबी गर्दै आवश्यक कारबाहीका लागि सिफारिस गरिएको हो।
पार्टी विधानअनुसार यस्तो अवस्थामा ‘राइट टु रिकल’ प्रयोग गर्न सकिने व्यवस्था रहेको उल्लेख गर्दै रास्वपाले मन्त्री साहलाई जिम्मेवारीबाट अलग गर्न र स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई समेत सचेत गराउन सुझाव दिएको छ।
यसैबीच, राष्ट्रपतिको कार्यालयले नयाँ मन्त्रिपरिषद्का सदस्यहरूको कार्यविभाजन सार्वजनिक गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेल ले संविधानको धारा ७६ अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रीहरूलाई जिम्मेवारी तोकेको जनाइएको छ।
सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री शाहले रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, श्रम, रोजगार तथा सामाजिक सुरक्षा लगायतका मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। अन्य मन्त्रीहरूकाे जिम्मेवारी यथावत रहेकाे छ ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment