सुन ताेलाकाे तीन लाख नाघ्यो, नयाँ रेकर्ड कायम
काठमाडौं, माघ ९ । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक उचाइ छोएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला तीन लाख रुपैयाँ नाघ्दै नयाँ रेकर्ड कायम भएको हो ।
महासंघले सार्वजनिक गरेको दरअनुसार आज छापावाल सुनको मूल्य प्रति तोला रू तीन लाख एक हजार चार सय पुगेको छ । यसअघि केही दिनयता लगातार बढ्दो क्रममा रहेको सुनको मूल्यले आज पहिलोपटक तीन लाखको मनोवैज्ञानिक सीमाना पार गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको भाउ प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ तोकेको थियाे भने बुधबार सुनको भाउ २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै जानु, अमेरिकी डलरको उतारचढाव तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण सुनप्रति लगानीकर्ताको आकर्षण बढ्नुले नेपाली बजारमा पनि यसको प्रत्यक्ष प्रभाव परेको महासंघले जनाएको छ ।
गत सातादेखि नै सुनको मूल्यले दैनिक रूपमा नयाँ उचाइ छोइरहेको थियो । केही दिनअघि दुई लाख नब्बे हजारको हाराहारीमा कारोबार भइरहेको सुन आज एकैचोटि उल्लेख्य रूपमा बढेर तीन लाख नाघेको हो ।
सुनको मूल्य अत्यधिक बढेपछि आभूषण व्यवसाय प्रभावित भएको व्यवसायीहरू बताउँछन् । मूल्य वृद्धिका कारण ग्राहकको खरिद घट्दै गएको र बजारमा सुनको कारोबार सुस्त भएको उनीहरूको भनाइ छ । आभुषण व्यवसायीहरूले अब सुनका गहना बनाउने डिजाइनको चाँदीको गहना बनाउन तथा चाँदीको गहनामा सुनकाे जलप लगाएर बनाउन थालेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारको चालअनुसार आगामी दिनमा पनि सुनको मूल्य उतारचढावमा रहने सम्भावना रहेको जनाएको छ ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment