इजरायल-अमेरिका-इरान द्वन्द्व जारी : इरानद्वारा जवाफी आक्रमण, ट्रम्पद्वारा आक्रमण जारी राख्ने चेतावनी
काठमाडौं, फागुन १९ । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्यापछि अब के होला भन्ने संशयकै बीचमा मध्यपूर्वमा युद्ध बढ्दै गएको छ।
इजरायल र इरानबीचको तनाव बढ्दै जाँदा बेरुत तथा दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा भएको आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने १४९ जना घाइते भएका छन्। लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुने संख्या प्रारम्भिक हो ।
इरानसँग सम्बन्धित समूह हिज्बुल्लाहले इजरायलतर्फ मिसाइल प्रहार गरेपछि इजरायली सेनाले जवाफी कारबाहीस्वरूप बेरुत तथा दक्षिणी लेबनानका लक्षित क्षेत्रमा आक्रमण सुरु गरेको हो। आक्रमणअघि इजरायलले दक्षिण लेबनानका दर्जनौँ बस्तीका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न चेतावनी दिएको थियो।
इजरायलले लेबनानको राजधानी बेरुतसहित विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेपछि स्थिति झन् तनावपूर्ण बनेको हो । हिज्बुल्लाहले भने लेबनानबाट इजरायलतर्फ मिसाइल र ड्रोन प्रहार गरेको पुष्टि गर्दै इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्याको बदला लिन उक्त आक्रमण गरिएको दाबी गरेको छ। इजरायली सेनाका अनुसार प्रहार गरिएका केही क्षेप्यास्त्र खुला क्षेत्रमा खसेका थिए।
शिया मुस्लिम राजनीतिक तथा सैन्य संगठन हिजबुल्लाहलाई इरानको बलियो समर्थन रहेको मानिन्छ र उक्त समूहले इजरायलको अस्तित्वको अधिकारको विरोध गर्दै आएको छ।
यसअघि अमेरिका र इजरायलले इरानमा संयुक्त हवाई आक्रमण गर्दा खामेनीसहित झन्डै ४० जना शीर्ष नेता तथा अधिकारी मारिएका थिए। त्यसको जवाफस्वरूप इरानले इजरायल र अमेरिकी सैन्य उपस्थित रहेका खाडी मुलुकहरूतर्फ क्षेप्यास्त्र प्रहार गरिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै उद्देश्य पूरा नभएसम्मु इरानमाथिको सैन्य कारबाही जारी रहने चेतावनी दिएका छन्।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment