कालो माटो नपाइने कालिमाटी
नेवार वस्तीहरूको स्थाननाम के कसरी रह्यो भन्ने सन्दर्भमा कालिमाटीको चर्चा छुटाउन मिल्दैन । कालिमाटी नेवार शब्द होइन । काठमाडौंमा यो ठाउँको नाम निकै प्रख्यात र चर्चित पनि । त्रिपुरेश्वर र टेकुबाट पश्चिम, कुलेश्वरबाट उत्तर र कलंकीबाट पूर्वमा रहेको आधुनिक बजार क्षेत्रले सिंचित भूक्षेत्र नै कालिमाटी हो । विभिन्न ठाउँबाट आएकाहरू कालिमाटी भएर आफ्नो गन्तव्यतिर लाग्ने भएका कारण पनि यो धेरै मात्रामा परिचित नाम हो ।
कालिमाटी नामले कालो माटो भएको ठाउँ भन्ने अर्थ दिन्छ । कालो माटोको तात्पर्य ‘कँचा’ हो । माटोका अनेकौं प्रकारमध्ये एउटा प्रकार कँचा’ को रूपमा जानिन्छ । यो माटो निख्खर कालो मात्रै हुँदैन, खेतवारीका लागि मलको पनि काम गर्दछ । काठमाडौंमा केही वर्षअघिसम्म पनि यही माटो राखेर कृषिकर्म गरिन्थ्यो । कँचा वा कालोमाटो काठमाडौं उपत्यकामा अनेकौं ठाउँमा पाइन्छन् । तर अहिले चर्चा गर्न लागिएको ठाउँ कालिमाटी नाम मात्रको हो, वास्तवमा यहाँ जमिन खनेर हेरेको खण्डमा कालो माटो पाइँदैन । जहाँ कालो माटो नै पाइँदैन त्यही ठाउँको नाम कालिमाटी रहनु कालो माटो वा कालिमाटी स्थानीय नेवार भाषामा नहुनु विशेष प्रश्न हो । यो प्रश्नमाथि घोत्लिंदा बेग्लै पृष्ठभूमि दृष्टिगोचर हुन्छ ।
टेकु, कालिमाटी, कलंकी, नैकाप, सतुंगल हुँदै काठमाडौंबाट बाहिर निस्कने बाटो धेरै पुरानो होइन । यसको निर्माण केही दशकअघि मात्रै भएको हो । त्यसअघि अहिले कालिमाटी रहेको ठाउँ उजाड र खासै प्रयोगमा नआउने ठाउँ मात्रै थियो । कीर्तिपुरबाट आउनेहरू यहाँबाट नभएर कुलेश्वर हुँदै एकै पल्ट टेकु निस्कन्थे । त्यसरी नै कलंकीबाट आउनेहरूको पुरानो बाटो चिचिदोल (चिचिडोल), बाफल, ताहाचल, भीमसेनस्थान हुँदै आगाडि बढ्थे ।
काठमाडौंमा एउटा नयाँ बाटोको आवश्यकता प¥यो । टेकुबाट अहिलेको कलंकी, नयाँ नैकाप हुँदै काठमाडौंबाट बाहिर निस्कने र प्रवेश गर्ने फराकिलो बाटो बनाउने क्रममा कालिमाटी क्षेत्रको विकास हुनपुगेको हो । त्यसपछि कालिमाटी क्षेत्र अन्य बाटो र क्षेत्रहरूसँग जोडिन पुग्यो । यो ठाउँको नाम कालिमाटी रहनुअघि कालिमाटी नामले अरु नै ठाउँ जनाइन्थ्यो । अर्थात् कालिमाटी भन्ने ठाउँ अर्कै थियो । कलंकीसँगै पुरानो बाटोको छेवैमा चिचिदोल नामको एउटा नेवार वस्ती अझै पनि छ । त्यहाँ प्रसस्त मात्रामा कालो माटो (कँचा) पाइन्छ । कालो माटो पाइने भएर चिचिदोल (चिचिडोल) मौलिक नामको ठाउँमा कालिमाटी भन्न थालियो । यही कालिमाटीका केही घर बसाई सरेर नयाँ विकास गरे्को ठाउँमा बस्न गयो र उनीहरूले आफूसँग आफू बस्दै आएको कालिमाटी नाम पनि लिएर गए । नयाँ ठाउँलाई एउटा नाम चाहिएको थियो, अन्यत्रको नामलाई नै यता ल्याउने काम भयो । रमाइलो कुरा त के हो भने, नयाँ ठाउँले पुरानो ठाउँको नाम पाएपछि धेरै चर्चित भयो र मौलिक रूपमा कालिमाटी जुन ठाउँको नाम हो, त्यसको नाम रहन पुग्यो, ‘पुरानो कालिमाटी’ । त्यस क्षेत्रको नागरिकतालगायतका सरकारी कामकाजमा ‘पुरानो कालिमाटी’ उल्लेख पाइन्छ । त्यसभन्दा अघिका सरकारी कागजपत्रहरूमा चिचिदोल नै हुन्छ ।
चिचिदोललाई विस्थापन गरी कालिमाटी, कालिमाटीलाई पनि विस्थापन गरी पुरानो कालिमाटी बन्यो भने आजभोलि पुरानो कालिमाटी नाम पुराना पुस्तालाई सम्झना मात्रै रहेको पाइन्छ । हिजोआज संगैको वस्ती कलंकी नाम विस्तार हुँदै यस नामले वरिपरिका अन्य वस्तीहरूलाई पनि समेट्दै ल्याउने क्रममा चिचिदोल, कालिमाटी, पुरानो कालिमाटीलाई पनि कलंकी नै भन्न थालेको पाइन्छ । अझ रमाइलो कुरा त के हो भने, कुनै बेला कलंकी नाम ठाउँ विशेषको नाम नभएर एउटा मन्दिरलाई मात्र जनाउँथ्यो । त्यही मन्दिरको नामले सुरुमा त्यसको सानो क्षेत्रलाई समेट्यो भने अब पुरानो कालिमाटी पनि कलंकी नै हुन थालेको छ ।
हालको कालिमाटीले कालिमाटी नाउँ पाउनुअघि यसको नाम के थियो त ? धेरैलाई जिज्ञासाको विषय हुनसक्छ । यसको स्थानिय नाम के थियो त भन्ने कुरा खुल्दैन तथा कालिमाटी नाम रहनुअघि खरीबोट थियो । खरीबोट स्थानीय नाम होइन । खरीबोट वरिपरि केही घर र ती घरहरूमा पसल पनि हुन्थ्यो । उक्त खरीबोट अहिले त्यहाँ पाइँदैन तर खरीबोटलाई सम्झनाबाट नहराओस् भनेर सिमेन्टको डमी बनाइएको पाइन्छ । कुलेश्वरबाट आउँदा र बायाँ मोडेर कलंकीतिर जाने बेला कुनामा रहेको ठूलो घर पहिलो तल्लाको बार्दलीमा उक्त डमी खरीबोट देख्न पाइन्छ ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment