भारतबाट ११ टन राहत सामग्रीसहित चौथो उडान नेपालतर्फ
काठमाडौं, भदाै १४ । भारतले रसुवा बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन थप ११ टन सहायता सामग्री नेपाल पठाएको छ। भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले सामाजिक सञ्जालमार्फत भारतबाट ११ टन सहायता सामग्री बोकेको चौथो उडान नेपालतर्फ उडेको जानकारी दिएका छन्।
भारतीय वायुसेनाको सी–१३० विमानमा सुरुङ प्राविधिक टोली र खोज तथा उद्धारका लागि आवश्यक उपकरण पठाइएको छ। यस्तै, बाढी तथा पहिरोमा बेपत्ता भएकाहरूको पहिचानका लागि डीएनए परीक्षण गर्न फरेन्सिक विज्ञको टोली र आवश्यक फरेन्सिक उपकरण पनि विमानमा रहेको जयशंकरले बताएका छन्।
विमानमार्फत राहत सामग्रीका रूपमा कम्बल, स्लीपिङ ब्याग, त्रिपाल, प्लास्टिकका सिट तथा हाइजिन किट पनि नेपाल पठाइएको छ।
भारतले खोज तथा उद्धारका साथै क्षतिग्रस्त पूर्वाधार पुनःस्थापनामा समेत सहयोग गरिरहेको जनाएको छ। जयशंकरका अनुसार २३० फिट लामो एक लेनको मोड्युलर स्टिल पुल निर्माणका लागि आवश्यक उपकरण बोकेका १६ वटा ट्रक नेपाल आइपुगेका छन्।
त्यसैगरी, नेपालका विभिन्न स्थानमा स्थापना गर्नुपर्ने थप सातवटा बेली पुलका लागि आवश्यक उपकरण पनि चाँडै पठाइने भारतले जनाएको छ। ती पुल जडानका लागि प्राविधिक टोलीसमेत नेपाल आउने तयारीमा रहेको जनाइएको छ।
भारतका अनुसार हालसम्म अत्यावश्यक औषधि, पोर्टेबल जेनेरेटर, खाद्य सामग्री, पानी शुद्धीकरण गर्ने ट्याब्लेट तथा प्राविधिक उपकरणसहित कुल ६८.५ टन राहत सामग्री हवाई माध्यमबाट काठमाडौं ल्याइसकिएको छ।
जयशंकरले नेपालमा भइरहेको खोज, उद्धार तथा राहत प्रयासमा भारतको सहयोग निरन्तर जारी रहने बताएका छन्।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment