माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी
नुवाकोट, भदाै १४ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धारका लागि नेपाली सेनासहितको संयुक्त टोलीले उद्धार प्रयास तीव्र बनाएको छ। सुरुङभित्र प्रवेश गर्ने मार्ग विस्तार गर्न नेपाली सेनाका इन्जिनियरहरूले ब्लास्टिङ गर्नेसम्मका उपाय अघि बढाएका छन्।
उद्धारका लागि नेपाली सेनाका ६६, सशस्त्र प्रहरी बलका तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका १८ र नेपाल प्रहरीका ६ गरी ९० जनाको संयुक्त टोली घटनास्थलमा परिचालन गरिएको छ।
उद्धार टोलीले दिउँसो २ बजे सुरुङको मुख्य भाग अर्थात् ‘क्राउन हेड’ सम्म पुगेर २ फिट चौडाइ र ३ फिट उचाइको प्वाल बनाएको थियो। सोही प्वालबाट डोरीको सहायताले उद्धारकर्मी सुरुङभित्र झरेर आवाज दिँदा भित्रबाट कुनै प्रतिक्रिया प्राप्त हुन नसकेको जनाइएको छ।
भित्र रहेका व्यक्तिसम्म पुग्न कठिन भएपछि उद्धार टोलीले थप उपकरण परिचालन गर्नुका साथै प्वाललाई फराकिलो बनाउने काम अघि बढाएको छ। आवश्यकताअनुसार ब्लास्टिङको माध्यमबाट समेत बाटो खोल्ने प्रयास भइरहेको छ।
जोखिमपूर्ण र कठिन अवस्थाका बीच नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त उद्धार टोली निरन्तर घटनास्थलमा खटिएको छ। शिक्षा मन्त्रालयले उद्धार कार्यलाई सम्भव भएसम्म छिटो र प्रभावकारी बनाउन विभिन्न विकल्पमार्फत प्रयास भइरहेको जनाएको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment