लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता
रौतहट, साउन २७ । रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने तथा पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ भने एक बालिका अझै बेपत्ता छन्।
मंगलबार (साउन २६ गते) लालबकैया खोलामा नुहाउने तथा पौडी खेल्ने क्रममा देवाही गोनाही नगरपालिका–१ करुनिया बस्ने करमे आलमका करिब १० वर्षीय छोरा महमद रमतुलाह, हिसी अकतरकी करिब १० वर्षीया छोरी सबनम खातुन र शेख खुर्सैदकी करिब १० वर्षीया छोरी रौशन खातुन पानीमा डुबेर बेपत्ता भएका थिए।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको कमाण्डमा सात जना प्रहरी, सशस्त्र प्रहरी बल बेस देवाही गोनाहीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भक्तबहादुर शाहीको कमाण्डमा पाँच जना तथा सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भीमबहादुर पुनको कमाण्डमा रबर बोर्डसहितको टोली खोजी तथा उद्धारमा परिचालन भएको थियो।
खोजीका क्रममा बुधबार बिहान करिब ७ः३० बजे महमद रमतुलाहको शव घटनास्थलबाट करिब पाँच किलोमिटर दक्षिण परोहा नगरपालिका–२ जिंगडवास्थित लालबकैया खोलाको किनारमा फेला परेको प्रहरीले जनाएको छ।
सोही स्थानमा सबनम खातुनको शव पनि फेला परेको थियो। दुवै शव घटनास्थलबाट करिब ५.२ किलोमिटर दक्षिण जिंगडवास्थित लालबकैया खोलाको किनारमा एकआपसमा करिब २०० मिटरको दूरीमा फेला परेको प्रहरीले जनाएको छ।
बेपत्ता रौशन खातुनको भने खोजी कार्य जारी रहेको नेपाल प्रहरीले जनाएको छ। प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले खोलामा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment