२५ श्रावण २०८३, सोमबार

विपद्का जोखिम पहिचान तथा बहु–जोखिम अध्ययन आवश्यक : डा. उप्रेती


अ+
अ-

काठमाडौं, साउन २४ । विपद्का जोखिम एकअर्कासँग अन्तरसम्बन्धित हुने भएकाले कुनै एउटा जोखिममा मात्र केन्द्रित नभई बहु–जोखिम (मल्टिपल हाजार्ड) को अध्ययन गर्नुपर्ने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बताएका छन्।
हिमालय क्षेत्रमा विपद् जोखिम तथा उत्थानशीलतासम्बन्धी अन्तरविषयक अनुसन्धानका लागि इन्टिग्रेटेड रिसर्च अन डिजास्टर रिस्क (IRDR) अन्तर्राष्ट्रिय उत्कृष्टता केन्द्र (ICoE) को उद्घाटन कार्यक्रममा बोल्दै डा. उप्रेतीले जोखिम पहिचानसँगै त्यसबाट हुन सक्ने प्रभावको समेत अध्ययन गर्नुपर्ने बताए।
उनका अनुसार प्राधिकरणमा दैनिक चारदेखि पाँचवटासम्म जियो–हाजार्ड (भू–जोखिम) सम्बन्धी अध्ययनका लागि अनुरोध आउने गरेका छन्। नेपालमा चट्याङसम्बन्धी पर्याप्त अध्ययन नभएकाले त्यस क्षेत्रमा काम गर्नुअघि अध्ययन आवश्यक रहेको उनले बताए।
“चट्याङका विषयमा नेपालमा खासै अध्ययन भएको छैन। त्यसैले यस क्षेत्रमा काम गर्न पहिला अध्ययन गर्नुपर्छ। अध्ययनका लागि हामीले अर्थ मन्त्रालयसँग बजेट माग गरेका छौँ,” उनले भने।
डा. उप्रेतीले प्रत्येक ठाउँमा जोखिमको प्रकृति एउटै नहुने भएकाले स्थानीय तहले आफ्नो क्षेत्रको जोखिम पहिचान गरी त्यसबाट हुन सक्ने प्रभावको अध्ययन गर्नुपर्ने बताए।
“पहिलो कुरा जोखिम पहिचान गर्नुपर्छ। यहाँ जोखिम पहिचान र त्यसको प्रभावको कुरा आउँछ,” उनले भने, “गाउँपालिका वा नगरपालिकालाई हेर्दा त्यहाँ विभिन्न प्रकारका जोखिम हुन्छन्। त्यसैले एउटा मात्रै जोखिम होइन, मल्टिपल हाजार्डलाई हेरेर अध्ययन गर्नुपर्छ।”
उनले स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका विभिन्न प्रकारका जोखिम पहिचान गरी त्यसको सम्भावित प्रभावका आधारमा पूर्वतयारी र व्यवस्थापन योजना बनाउनुपर्ने बताए।
नेपालमा विभिन्न किसिमका विपद्का जोखिम रहेकाले सरकारले विकास गरेका प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ। अन्तर्राष्ट्रिय समिति तथा अन्तर्राष्ट्रिय निर्देशिकाले समेत विपद् जोखिम व्यवस्थापनका विभिन्न व्यवस्था गरेको उल्लेख गर्दै उनले स्थानीय तहले आफ्नो क्षेत्रको जोखिम र त्यसबाट हुन सक्ने प्रभावको जिम्मेवारीपूर्वक अध्ययन गर्नुपर्ने बताए।
विपद्को जोखिममा रहेका नागरिकका लागि सुरक्षित आवासको व्यवस्था पनि महत्वपूर्ण विषय भएको उल्लेख गर्दै उनले सरकारले विपद् प्रभावित तथा जोखिममा रहेका नागरिकका लागि ‘जिरो कस्ट’मा घर निर्माण गर्ने योजना अघि सारेको बताए।
राष्ट्रियदेखि स्थानीय तहसम्म विपद् व्यवस्थापनका लागि आवश्यक तयारी र क्षमता विकास गर्नुपर्नेमा जोड दिँदै उनले स्थानीय तहलाई पनि विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा राख्नुपर्ने बताए।
विपद् व्यवस्थापनका क्षेत्रमा अन्तर्राष्ट्रिय अभ्यासबाट सिकेर नेपालको आवश्यकता र परिस्थितिअनुसार उपयोग गर्न सकिने उनको भनाइ थियो।

विज्ञानलाई समाजसँग जोडेर विपद् जोखिम न्यूनीकरणमा काम
कार्यक्रममा Institute of Himalayan Risk Reduction (IHRR) का कार्यकारी निर्देशक ई. सुरज गौतमले सहभागीलाई स्वागत गर्दै संस्थाले विज्ञानलाई समाजसँग एकाकार गरेर अगाडि बढिरहेको बताए।
IRDR International Centre of Excellence (ICoE-IHRR) को उद्घाटनका अवसरमा गौतमले IRDR सँग आबद्ध हुन पाउनु गौरवको विषय भएको बताए। यस्तो आबद्धताले विभिन्न देश तथा संस्थासँग सहकार्य र अनुभव आदानप्रदानको अवसर सिर्जना गर्ने उनको भनाइ थियो।
उनले विपद् जोखिम पहिचान, पूर्वतयारी, सूचना संकलन तथा विश्लेषणमा प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए। मोबाइल, सूचना प्रणाली तथा अन्य प्रविधिको प्रयोगमार्फत जोखिमसम्बन्धी सूचना संकलन गरी समुदायसम्म पुर्‍याउन सकिने उनले बताए।
विपद् जोखिम न्यूनीकरणमा विश्वविद्यालय तथा अनुसन्धान संस्थाको भूमिका पनि महत्वपूर्ण हुने उल्लेख गर्दै गौतमले विगतका विपद्का घटना, त्यसबाट भएको क्षति र उपलब्ध तथ्यांकको अध्ययन गरी भविष्यको जोखिम न्यूनीकरणमा प्रयोग गर्नुपर्ने बताए।
नेपालमा भएका विपद्का घटनाबाट प्राप्त तथ्यांकलाई व्यवस्थित रूपमा प्रयोग गर्न सके जोखिमको अवस्था बुझ्न र सोहीअनुसार पूर्वतयारी गर्न सहज हुने उनको भनाइ थियो।
उनले मेसिन लर्निङ लगायतका नयाँ प्रविधिको प्रयोगबाट वर्षासम्बन्धी तथ्यांकको विश्लेषण, जोखिमको पूर्वानुमान तथा आवश्यकताअनुसार नगद हस्तान्तरणजस्ता कार्यक्रमलाई समेत प्रविधिसँग जोड्न सकिने बताए।
भौतिक पूर्वाधार तथा जोखिमयुक्त स्थानको पहिचानमा प्रविधिको प्रयोग गर्न सकिने उल्लेख गर्दै उनले राष्ट्रिय प्रणालीसँग जोडेर सीसीटीभी अनुगमन तथा अन्य निगरानी प्रणालीको उपयोग गर्न सकिने बताए।

हिमालयमा जलवायु जोखिम बढ्दो
कार्यक्रममा IRDR की कार्यकारी निर्देशक साइनी याङ्ले भिडियो सन्देशमार्फत सम्बोधन गर्दै हिमालय क्षेत्र विश्वको औसतभन्दा तीव्र गतिमा तातिरहेको बताइन्।
उनले हिमनदी पग्लिने क्रम तीव्र हुँदै गएको, नदी प्रणाली अनिश्चित बन्दै गएको र यसले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने करिब दुई अर्ब मानिसको पानी सुरक्षामाथि जोखिम बढाएको बताइन्।
जलवायु परिवर्तन अब टाढाको खतरा नभई वर्तमानको वास्तविकता बनिसकेको उनको भनाइ थियो। जलवायु परिवर्तन र हिमालयको जटिल भौगोलिक अवस्थाबीचको अन्तरक्रियाले आपसमा जोडिएका बहु–जोखिम सिर्जना गरिरहेको उनले बताइन्।
हिमताल विस्फोटजन्य बाढी, भूकम्प तथा बाँध भत्किने जस्ता घटनाले सयौँ किलोमिटर तलसम्म रहेका समुदायलाई प्रभावित गर्न सक्ने उल्लेख गर्दै उनले यस्ता विपद्को सामना गर्न अन्तरविषयक तथा सीमापार सहकार्य आवश्यक रहेको बताइन्।
उनले प्रकृति विज्ञान, इन्जिनियरिङ, सामाजिक विज्ञान, सार्वजनिक स्वास्थ्य र नीतिलाई एकीकृत गरेर काम गर्नुपर्नेमा जोड दिइन्। नागरिक विज्ञान र समुदायमा आधारित अनुगमनमार्फत अग्रपंक्तिका समुदायको आवाजलाई अनुसन्धानको केन्द्रमा ल्याउनुपर्ने उनको भनाइ थियो।
याङ्ले विपद् जोखिम न्यूनीकरणमा जनकेन्द्रित उत्थानशीलता आवश्यक रहेको बताउँदै स्थानीय समुदाय, विशेषगरी महिला र युवाको ज्ञान तथा अनुभवलाई अनुसन्धानसँग जोड्नुपर्ने बताइन्।
उनले ICoE-IHRR बाट अन्तरविषयक अनुसन्धान, बहु–जोखिम मूल्याङ्कन, प्रारम्भिक चेतावनी प्रणाली, विज्ञान–नीति सम्बन्ध तथा समुदायको सहभागिताका क्षेत्रमा महत्वपूर्ण काम हुने अपेक्षा व्यक्त गरिन्।

अन्तर्राष्ट्रिय सहकार्य बढाउनुपर्नेमा जोड
डिपिनेट नेपालका अध्यक्ष बसन्तराज अधिकारीले विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा जिम्मेवारी अझ बढेको बताए। IRDR को पहिलो ब्याचका विद्यार्थीसमेत रहेका अधिकारीले IRDR को कार्यप्रक्रियाबारे जानकारी दिँदै यसको मुख्य कार्यालय चीनको बेइजिङमा रहेको र नेपालमा दुई सयभन्दा बढी ‘योङ साइन्टिस्ट’ आबद्ध रहेको बताए।
उनका अनुसार IRDR मा विकसित मुलुक मात्र नभई विकासशील देशका अनुसन्धानकर्ता तथा वैज्ञानिक पनि आबद्ध छन्। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा क्षमता विकासका लागि विभिन्न देश तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य र अनुभव आदानप्रदान आवश्यक रहेको उनले बताए।
भारत, जापान, मलेसिया, नेपाल, जर्मनी, अमेरिका, क्यानडा, अस्ट्रेलियालगायतका देशका वैज्ञानिक तथा सम्बन्धित संस्थासँग सहकार्यका अवसर रहेको उनले बताए। अन्तर्राष्ट्रिय वैज्ञानिक समुदाय तथा विभिन्न संस्थाबाट प्राप्त सहयोग नेपालका लागि महत्वपूर्ण हुने उनको भनाइ थियो।
त्यस्तै, IRDR–ICoE NSET तथा NSET का कार्यकारी निर्देशक ई. सूर्यनारायण श्रेष्ठले नेपालमा विज्ञान तथा प्रविधि क्षेत्रका लागि छुट्टै रणनीतिक योजना आवश्यक रहेको बताए।
उनले विज्ञान तथा प्रविधिको क्षेत्रमा राष्ट्रिय फोरम निर्माण गरी सूचना प्रविधि (आईटी) र कृत्रिम बौद्धिकता (एआई) लगायतका क्षेत्रमा केन्द्रित हुनुपर्ने बताए। उपलब्ध स्रोत र अनुसन्धानका निष्कर्षलाई प्रभावकारी रूपमा प्रसार गरी व्यवहारमा प्रयोग गर्नुपर्नेमा पनि उनले जोड दिए।
कार्यक्रममा IRDR का सहभागीहरूले विपद् जोखिम न्यूनीकरण तथा अनुसन्धानका क्षेत्रमा आफूले प्राप्त गरेका अनुभव सुनाएका थिए। नेपालबाट कोभिड–१९ अघि पाँचौँ ब्याचसम्म IRDR मा सहभागी भए पनि त्यसपछि नेपालबाट नयाँ सहभागी नरहेको जानकारी कार्यक्रममा दिइएको थियो।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
३८ वर्षपछि डडेल्धुराका १२ परिवारले पाए लालपुर्जा

३८ वर्षपछि डडेल्धुराका १२ परिवारले पाए लालपुर्जा

३८ वर्षपछि डडेल्धुराका १२ परिवारले पाए लालपुर्जा...

नेपालमा बुक पोस्ट सेवा बन्द भएको होइन : सरकार

नेपालमा बुक पोस्ट सेवा बन्द भएको होइन : सरकार

नेपालमा बुक पोस्ट सेवा बन्द भएको होइन : सरकार...

१२ सामुदायिक विद्यालयको भौतिक विकासमा ६२ करोडभन्दा बढी लगानी

१२ सामुदायिक विद्यालयको भौतिक विकासमा ६२ करोडभन्दा बढी लगानी

१२ सामुदायिक विद्यालयको भौतिक विकासमा ६२ करोडभन्दा बढी लगानी...

मानव बेचबिखन नियन्त्रण संशोधन विधेयकमा २२ वटा बुँदा संशोधन गर्न सुझाव

मानव बेचबिखन नियन्त्रण संशोधन विधेयकमा २२ वटा बुँदा संशोधन गर्न सुझाव

मानव बेचबिखन नियन्त्रण संशोधन विधेयकमा २२ वटा बुँदा संशोधन गर्न सुझाव...

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा...

नेपाललाई चीन–दक्षिण एसियाबीचको आर्थिक सेतु बनाउने सरकारको लक्ष्य

नेपाललाई चीन–दक्षिण एसियाबीचको आर्थिक सेतु बनाउने सरकारको लक्ष्य

नेपाललाई चीन–दक्षिण एसियाबीचको आर्थिक सेतु बनाउने सरकारको लक्ष्य...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्