‘हिट एक्शन डे’ आज: दक्षिण एशियामा बढ्दो गर्मीको संकट, नेपाल पनि उच्च जोखिममा
काठमाडौं, जेठ १९ । विश्वभर अत्यधिक गर्मीका जोखिमबारे जनचेतना फैलाउने उद्देश्यले आज ‘हिट एक्शन डे’ (Heat Action Day) मनाइँदै छ। जलवायु परिवर्तनका कारण तापक्रम निरन्तर बढ्दै गएपछि गर्मीलाई विश्वव्यापी स्वास्थ्य तथा विपद् जोखिमका रूपमा लिन थालिएको छ।
सन् २०२२ देखि अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासंघ (IFRC) र साझेदार संस्थाहरूको पहलमा प्रत्येक वर्ष जुन २ मा ‘हिट एक्शन डे’ मनाउन थालिएको हो। यस वर्षको मुख्य विषयवस्तु ‘इनडोर हिट’ अर्थात् घर, विद्यालय, कार्यस्थल तथा हेरचाह केन्द्रभित्रको अत्यधिक गर्मीबाट हुने जोखिममा केन्द्रित छ।
विशेषज्ञहरूका अनुसार अत्यधिक गर्मी अहिले विश्वकै सबैभन्दा घातक जलवायुजन्य जोखिममध्ये एक बन्दै गएको छ। वृद्धवृद्धा, बालबालिका, दीर्घरोगी, गर्भवती महिला तथा खुला वातावरणमा काम गर्ने श्रमिकहरू यसको उच्च जोखिममा पर्ने गरेका छन्।
यस वर्ष दक्षिण एशियाका धेरै देशहरू असामान्य गर्मीको चपेटामा परेका छन्। भारत, पाकिस्तान र बंगलादेशका विभिन्न क्षेत्रमा तापक्रम ४५ देखि ५० डिग्री सेल्सियससम्म पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। गर्मीका कारण दैनिक जनजीवन, श्रम उत्पादन, स्वास्थ्य सेवा तथा ऊर्जा आपूर्तिमा समेत असर परेको छ।
नेपालमा हाल मनसुन प्रवेशको चरण सुरु भए पनि तराई तथा सहरी क्षेत्रमा गर्मीको प्रभाव अझै कायम छ। जलवायु तथा विपद् सम्बन्धी अन्तर्राष्ट्रिय अध्ययनहरूले नेपाल र बंगलादेशका शहरहरूमा गरिएको सर्वेक्षणमा अत्यधिक गर्मीलाई बढ्दो सार्वजनिक स्वास्थ्य जोखिमका रूपमा औंल्याएका छन्। विशेषगरी खुला क्षेत्रमा काम गर्ने श्रमिक, महिलाहरू तथा टिनको छाना भएका घरमा बस्ने समुदाय बढी प्रभावित हुने अध्ययनले देखाएको छ।
विशेषज्ञहरूका अनुसार अत्यधिक गर्मीले स्वास्थ्यमा मात्र नभई कृषि उत्पादन, जलस्रोत, ऊर्जा माग तथा आर्थिक गतिविधिमा समेत प्रत्यक्ष असर पार्छ। दक्षिण एशियामा गर्मीका लहरको आवृत्ति, अवधि र तीव्रता पछिल्ला दशकहरूमा उल्लेखनीय रूपमा बढेको विभिन्न अध्ययनहरूले देखाएका छन्।
माैसमविद् उज्ज्वल उपाध्यायकाअनुसार काराकोरम–हिन्दूकुश–हिमालय क्षेत्र र तिब्बती पठारका केही भूभागबाहेक आज नेपाली समय अनुसार बिहान ८ बजे सम्पूर्ण एसियाको ठूलो भूभाग उच्च तापक्रमको प्रभावमा देखिएको छ। तापक्रम नक्सामा नीलो रङले चिसो अवस्था, हरियोले सामान्य अवस्था, र रातो तथा गाढा रातो रङले क्रमशः उच्च र अत्यधिक उच्च तापक्रमलाई जनाउँछ।
उपाध्यायकाअनुसार मानव गतिविधिबाट बढ्दो कार्बन उत्सर्जनले पृथ्वीको वायुमण्डललाई तातो बनाइरहेको छ। यही उष्ण वायुमण्डलले मौसमी प्रणालीमा असन्तुलन ल्याई विभिन्न जलवायुजन्य विपद् निम्त्याइरहेको छ, जसमध्ये अत्यधिक ताप (Extreme Heat) आजको विश्वका सबैभन्दा गम्भीर र तीव्र रूपमा बढिरहेका जोखिममध्ये एक हो। यसले मानिसको कार्यक्षमता घटाउनुका साथै स्वास्थ्य, पर्यावरण, कृषि, श्रम उत्पादकत्व तथा समग्र आर्थिक–सामाजिक क्षेत्रमा गम्भीर असर पुर्याउँछ।
अध्ययनहरूका अनुसार अत्यधिक तापका कारण विश्व अर्थतन्त्रमा हुने वार्षिक क्षति सन् २०३० सम्म २४ खर्ब अमेरिकी डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
यही बढ्दो तापीय जोखिमप्रति सचेतना अभिवृद्धि गर्न तथा कार्बन उत्सर्जन न्यूनीकरण र जलवायु अनुकूलनका प्रयासलाई प्रवर्द्धन गर्न हरेक वर्ष जुन २ तारिख “हीट एक्सन डे (Heat Action Day)” अर्थात् “बढ्दो तापमान विरुद्ध प्रतिकार्य दिवस” मनाइन्छ।
विश्वमा तापक्रम बढ्दैछ भने जोखिम पनि बढ्दैछ। यही जाेखिम न्यूनीकरणका लागि अब समय आएको छ—उत्सर्जन घटाउने, अनुकूलन क्षमता बढाउने र गर्मीजन्य जोखिमबाट जीवन तथा जीविकोपार्जनको रक्षा गर्ने।
भारतमा विभिन्न राज्यमा तातो हावाको लहर (हीटवेभ) जारी रहँदा अस्पतालहरूमा निर्जलीकरण, तापघात ( हिट स्ट्राेक) तथा गर्मीजन्य बिरामीको संख्या बढेको छ। चिकित्सकहरूले विशेष गरी बालबालिका, वृद्धवृद्धा र बाहिर काम गर्ने श्रमिकहरू उच्च जोखिममा रहेको बताएका छन्।
पाकिस्तान र बंगलादेशमा पनि अत्यधिक तापक्रमले कृषि, श्रम तथा जनस्वास्थ्य क्षेत्रमा चुनौती थपेको छ। जलवायु विज्ञहरूका अनुसार दक्षिण एशिया विश्वकै ती क्षेत्रमध्ये पर्छ जहाँ तापक्रम वृद्धि विश्व औसतभन्दा तीव्र गतिमा भइरहेको छ।
‘हिट एक्शन डे’ का अवसरमा विभिन्न देशका सरकार, स्थानीय तह, स्वास्थ्य संस्था र मानवीय सङ्गठनहरूले छायाँयुक्त सार्वजनिक स्थलको व्यवस्था, सुरक्षित खानेपानी, प्रारम्भिक चेतावनी प्रणाली, कार्यसमय व्यवस्थापन तथा जनचेतना कार्यक्रम सञ्चालन गरिरहेका छन्। यस दिवसले अत्यधिक गर्मीलाई सामान्य मौसमी अवस्था नभई जीवन र स्वास्थ्यसँग जोडिएको गम्भीर जोखिमका रूपमा लिन विश्व समुदायलाई आह्वान गरेको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment