८ असोज २०८३, बिहिबार

इन्द्रजात्रा : प्राचीन यँयाःको अर्वाचीन नाम


अ+
अ-

इन्द्रजात्रा नाममा प्रसिद्ध सांस्कृतिक उत्सवलाई सम्वद्ध नेवारहरु नेवार भाषामा यँयाः भन्दछन् । अन्य समुदायसँग बोल्नुपर्दा मात्रै इन्द्रजात्रा भन्ने हो, आपसमा बोल्दा प्रायः यँयाः नाम नै चल्छ । इन्द्रजात्रा आगन्तुक वा थोपरिएको शब्द हो । उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लाको पनि स्थानीय भाषामा आफ्नै आफ्नै नाम छन्– येँ, यल र ख्वप । जात्रालाई याः भनिन्छ । काठमाडौंको जात्राको अर्थमा अर्थात् ‘येँ’ को ‘याः’को अर्थमा यस पर्वलाई ‘येँयाः’ भन्ने गरेको पाइन्छ । तर समग्र नेवारको बोलीमा ‘येँयाः’ नभएर ‘यँयाः’ शब्दको बोलेको पाइन्छ । ‘येँयाः’ र ‘यँयाः’ दुई शब्द बीचको भेदले धेरै कुराको प्रकाश पार्दछ अर्थात येँयाःले काठमाडौंको जात्रा भनेर अर्थ दिन्छ भने यँयाः एउटा सांस्कृतिक उत्सवको अर्थ दिन्छ । यँयाः काठमाडौं उपत्यकामा मात्रै सीमित नभई उपत्यकाका प्रायः नेवार वस्तीमा मनाइने सांस्कृतिक पर्व भएको हुनाले येँयाः अर्थात् काठमाडौंको जात्रा भन्नु युक्तिसंगत छैन । यो यँयाः हो । 

यँयाः शब्द इन्द्रजात्राको अपभ्रंश भनेर हिजोआजको प्रकाशनहरुमा प्रायः उल्लेख पाइन्छ । इन्द्र शब्द नै ‘यन्द्र’ भएको र त्यही यन्द्र बिग्रेर ‘येँ’ बनेको तर्क वास्तवमा नदी उल्टो बगेको जस्तो जबर्जस्ती तर्क मात्रै हो । अन्यत्रजस्तै काठमाडौंमा पनि इन्द्रको खासै स्थान पाइँदैन । 

इन्द्रजात्रा भन्ने गरिए पनि यस अवसरमा इन्द्रसँग सम्बन्धित खासै सांस्कृतिक गतिविधि हुँदैन । यति बेला यँमाःद्यःलाई सार्वजनिक प्रदर्शनीमा राखिन्छ । त्यही ‘यमाःद्यः’ इन्द्र रहेको भन्ने तर्क पनि मिल्दो छैन । यो तर्क एउटा कथामा आधारित छ, तर त्यो कथा इन्द्रको महिमा बखान गर्ने नभएर मानमर्दन गर्ने खालको छ । मानमर्दन भएको पात्रको नाममा कुनै जात्रा हुनु तर्कसंगत कुरा होइन । कथामा इन्द्रलाई चोरको रुपमा प्रस्तुत गरिएको छ । इन्द्रका बारेमा जानिने प्रमुख श्रोत ऋग्वेद हो, ऋग्वेदमा यस्तो कथा पाइँदैन । नाम इन्द्रजात्रा भएपनि इन्द्रसम्वन्धी केही प्रसंग नआउने भएर यसलाई इन्द्रजात्रा भन्नु गल्ती भएको सम्बन्धमा मेरो एउटा बेग्लै लेख प्रकाशित हुँदा ‘इन्द्रको पूजा हुन्छ’ भनी प्रतिवाद गरेको पनि पाइयो तर एकाध टोलमा इन्द्रको पूजा हुने कुरा यस जात्राको मूलधारमा आउँदैन । बरु यस अवसरमा अन्य देवीदेवताहरूको पूजा तथा सत्कार पर्याप्त मात्रामा हुन्छ । 

काठमाडौं उपत्यकासँग इन्द्रको के सम्बन्ध छ ? यो एउटा ऐतिहासिक प्रश्न हो । इन्द्रको सत्ता वैदिक कालमा थियो ।  ऋग्वेदमा ज्यादा चर्चा इन्द्रकै पाइन्छ । वैदिक समाजमा इन्द्रको सत्ता सर्वोच्च भएपनि त्यो सँधै कायम रहेन । वैदिकहरु बीचमा नै इन्द्रको सत्ताविरुद्ध विद्रोह भयो वा अर्को पक्षले प्रभाव जमाई विष्णुको सत्ता कायम गरेको पाइन्छ । वैदिक समाजभित्रै भागवत सम्प्रदायको उदय र विकास यसको प्रत्यक्ष उदाहरण हो । भागवतहरू इन्द्र अस्वीकार गरी विष्णुको सत्तालाई मान्ने गर्दछन्  । भागवत सम्प्रदाय हिजोआज वैष्णवी नामबाट चिनिन्छ । 

काठमाडौं उपत्यकामा वैदिकहरूको प्रवेश निकै पछि मात्रै हो । काठमाडौंमा वैदिकहरूको प्रवेश हुँदा इन्द्रले भारतीय भूक्षेत्रमा आफ्नो सत्ता गुमाइसकेको थियो । यसको धेरै वर्षपछि मात्रै वैदिकहरुको प्रवेश नेपालमा भएको हो । यही भएर भारत तथा नेपालको वैदिक समाजमा इन्द्रको पूजा प्रायः प्रायः दुर्लभ नै छ । यस्तो अवस्थामा उनै इन्द्रको नाममा जात्रा हुनु संभव छैन । 

यँयाः (इन्द्रजात्रा) संस्कृतिको प्रचारप्रसार र भव्यता काठमाडौंमा  बढी देखिन्छ । यही भएर पनि काठमाडौंको जात्रा भन्ने भ्रम परेको हो । इन्द्रजात्रा भनेर प्रायः हुनमानढोका दरबार क्षेत्र वरिपरिको वातावरणलाई बुझ्ने र बुझाउने गरेको पाइन्छ । तर यो क्षेत्रमा भन्दा बढी यसको प्राचीनता उत्तरतिर रहेको किलागल टोलमा देख्न पाइन्छ । सांस्कृतिक रुपमा सूक्ष्म दृष्टि दिंदा यँयाःको अवसरमा किलागल टोलमा देखिने दृष्यहरूको सदृष्य भक्तपुृरमा अझ राम्रोसँग देखिन्छ । किलागल ज्यापू बाहुल्य वस्ती हो भने भक्तपुरमा पनि यँयाः मनाउने टोलहरू प्रायः ज्यापूकै बाहुल्यतामा रहेको पाइन्छ । भक्तपुरका २१ टोलमा आठ रात नौ दिनसम्म यँमाःद्यःलाई प्रदर्शनीमा राखिने भएपनि हिजोआज त्यसमा कमी आएर करिब १७ वटा टोलमा मात्रै बाँकी छ । यँमाःद्यःहरूको प्राचीनता भक्तपुरमा देख्न पाइन्छ । काठमाडौं र भक्तपुरमा बाहेक उपत्यकाका अन्य नेवार वस्तीहरूमा पनि यँयाःको प्रचलन भएको पाइन्छ । ती वस्तीहरूमो यँयाः भनेर विविध गतिविधिसहित जात्रा मनाउने नगरिएपनि पूर्णिमाको दिन ‘समेबजि पुन्हि’ भन्ने र समेबजि वितरण गरेर उत्सव मनाउने भने गरिन्छ । 

पूर्ववैदिक कालको संस्कृतिको अध्ययन गरिरहेका गौतमबज्र बज्राचार्यको दृष्टि यँयाः पर्वमा पनि परेको छ । उनका अनुसार यँयाः ‘प्रिमनसुन कल्चर’ हो र यो पूर्ववैदिक संस्कृतिसँग सम्बन्धित छ । अर्थात् इन्द्रलगायतका वैदिक देवताहरूको फेहरिस्त दिने ऋग्वेद बन्नुभन्दा निकै अघि नै यँयाःजस्तो संस्कृति यस भूक्षेत्रमा प्रचलनमा आइसकेको थियो र यसले वर्तमानसम्म निरन्तरता पाइरहेको छ । यस अर्थमा वैदिक सभ्यता अन्यत्रबाट भारतीय भूक्षेत्रमा भित्रिनुभन्दा अघि नै यस भूक्षेत्रमा बेग्लै संस्कृति र सभ्यता थियो, त्यसलाई निरन्तरता दिने काम नेवार समुदायबाट हुँदै आएको भन्न सकिन्छ । यँयाःलाई इन्द्रजात्रा भन्न थालेको निकै पछि मात्रै हो । अथवा यसरी भन्न सकिन्छ– प्राचीन यँयाः संस्कृतिको इतिहास र परम्परालाई असर पर्ने गरी बाहिरियाले केही कथा बुनेर नयाँ भाष्य बनाई इन्द्रजात्रा र वैदिक पर्व भन्न थालिएको हो तर नाम मात्रै बदलियो, संस्कृति बदलिएन । संभवतः यँयाःको उद्गम भक्तपुर हो र त्यहाँबाट विस्तार हुने क्रममा काठमाडौं आइपुगेको हो । काठमाडौंमा आइपुग्दा यसमा उत्सवका अवयवहरु धेरै थपिएपनि मौलिकता भने रहिरह्यो । अर्थात्, यँयाः काठमाडौंको आदिम संस्कृति हो, वर्तमानमा साझा संस्कृतिको रुपमा विद्यमान छ । 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

अन्य लेखहरू: बसन्त महर्जन

यस लेखकका अन्य रोचक लेखहरू
होस/बेहोस (लघुकथा)

होस/बेहोस (लघुकथा)

मदिरालयमा बडो मज्जाले मदिरापान गरेको थिएँ । त्यही भएर बाहिर निस्कँदा......

बौद्ध चारधामको महत्व

बौद्ध चारधामको महत्व

विश्व बौद्धजगत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, बोधिलाभस्थल बोधगया, प्रथम धर्मचक्रप्रवत्र्तनस्थल सारनाथ र महापरिनिर्वाणस्...

आमा बाबुको मुख हेर्ने पर्व

आमा बाबुको मुख हेर्ने पर्व

आमाबाबुलाई आदरसत्कार नगर्नु भनेर कसले भन्छ र ? तर सबै धार्मिक समुदायमा ‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ पर्व त छ...

महाराज क्राचल्ल र बौद्ध धर्ममा उनको योगदान

राजा क्राचल्लले आफूलाई ‘परमसौगात’ अर्थात् बुद्धका ठुलो उपासक भनेर चिनाउन मन पराउने राजा हुन् । यसबाट उनी बौद्ध धर्मका उप...

बडामहाराजा नागराज र बौद्ध धर्ममा उनको योगदान

कीर्तिखम्बमा उल्लेखित विवरण राजा नागराज र उनका उत्तराधिकारीहरुका सम्बन्धमा हो । तिब्बती श्रोतहरुले पनि यही विवरण प्रस्तु...

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति चोरी हुनु धेरै दुःखदायी हो । झिल्के बनाएर यसको सत्यानाश नै गरिदिनु थप दुःखदायी हो । मूर्तिचोरीमा संलग्न हुनेहरु न...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्