गौतम बुद्ध : जे छु, ठिकै छु भन्नेहरुलाई बिथोल्ने
बौद्ध धर्मदर्शनको एउटा ‘बटमलाइन’ हो, सारा प्राणी दुःखमा छ, दुःखको कारण छ, दुःखको अन्त्य गर्न सकिन्छ र अष्टाङ्गिक मार्गलाई अंगिकार गरेर दुःखको अन्त्य गर्न सकिन्छ ।
यसै सन्दर्भमा नेपाली साँगीतिक क्षेत्रमा निकै चर्चित एउटा गीत यहाँ उल्लेख गर्नु प्रासंगिक हुन्छ । उक्त गीतको बोल हो, ‘मलाई नसोध कहाँ दुक्छ घाउ, म जे छु ठिर्कै छु बिथोल्न नआउ’ । हरिभक्त कटुवालको रचना तथा नारायण गोपालको गायन रहेको यो गीतले बोकेको भावलाई नै जीवनदर्शन बनाउनेहरुलाई संभवतः बुद्ध र बौद्ध धर्मदर्शनको उक्त बटमलाइन पच्दैन र रुच्दैन । बुद्धका शिक्षाहरुले आफूलाई बिथोलेको भन्ठान्छन् । तर बुद्धका अनुसार बिथोल्नुपर्ने उनीहरुलाई नै हो । बौद्ध धर्मदर्शनको आवश्यकता बढी उनीहरुलाई नै हो ।
राजा सुद्धोदनका छोरालाई नपुग्दो के थियो र ? तर घरवार छाडेर अनेक ठाउँमा गई आध्यात्मिक ज्ञानको खोजीमा लागे । र, अन्ततः पैतीस वर्षको उमेरमा बोधिलाभ गरी बुद्ध बने । यो त एक जन्मको कुरा भयो, अत्यन्त सुदूर पूर्वजन्ममा उनी सुमेध नामका तापषी ऋषि थिए । त्यही बेला उनको ज्ञानको स्तर कतिसम्म पुगिसकेको थियो भने, अर्हत्व लाभ गरी अर्हत् भई जन्म र मृत्युको भवचक्रबाट छुटकारा पाउन सक्थे । तर अरु सत्वप्राणीप्रति मनमा अत्यन्तै करुणा भाव जागेर अर्हत् हुने अवस्थालाई स्थगत गरी बोधिचर्यातिर लागे । बोधिचर्यातिर लाग्नु भनेको बोधिसत्व हुनु हो । बोधिसत्वहरुको आदर्शभन्नु अरुको हितसुखका लागि आफू समर्पित हुनु हो । यसका लागि मृत्युवरण गर्न नै किन नपरोस् । अरुका लागि दुःखकष्ट उठाउनु परेपनि बोधिसत्वले केही कष्ट महसूस गर्दैनन् बरु खुसी खुसी जीवन नै अर्पण गर्दछन् । बुद्ध बन्नका लागि पूरा गर्नुपर्ने पारमिताहरुमा यस्तो अभ्यास गरिन्छन् । यस्तो दुसाध्य जीवन बोधिसत्वले अनेकौं जीवनमा जिउँदै अन्ततः गौतम बुद्ध बनेका हुन् । बोधिसत्व वा बुद्ध बन्नु भनेको दुःखमा परेका प्राणीहरुको उद्धारका लागि हो । यस अवस्थामा दुःखमा परेका प्राणीले आफू जे छु, ठिकै छु, बिथोल्न नआउ भन्दैमा बिथोल्न नजाने होइन, बिथोल्न जाने नै हो । दुःखमा परेकालाई बिथोल्नु भनेको दुःखको दलदलबाट निकालेर सुख दिनु हो ।
पूर्वीय दर्शनहरुको ध्येय दुःखको व्याख्यामा छ । प्रायःले दुःखको अन्त्य कसरी गर्ने भन्ने विषयमा नै चिन्तन गर्दछ । कसरी गर्ने भन्ने सवालमा अनेक उपायहरु दिइएका छन् र ती उपायहरु नै विभिन्न नामका दर्शन हुन् । यही दर्शनलाई धर्म पनि भनिएको छ । तिनैमध्ये एक हो, गौतम बुद्ध र उनको धर्म । बुद्ध भन्नु जागृत अवस्था हो अर्थात् दुःखलाई देखिसकेका, दुःखबाट छुटकारा पाइसकेका । गौतम बुद्धले चतुआर्यसत्यको उपदेश दिएका थिए, यसलाई चार आर्यसत्य पनि भनिन्छ । यो भनेको जीवनमा दुःख छ, दुःखको कारण छ, दुःखको अन्त्य गर्न सकिन्छ र अष्टाङ्गिक मार्गलाई अंगिकार गरेर दुःखको अन्त्य गर्न सकिन्छ । भौतिक तथा मानसिक तवरमा मन परेको कुरा नपाउनु दुःख हो भने पाएको कुरा गुमाउनु पनि दुःख नै हो । एउटाले पुगेर अर्को नपाउने पनि दुःख नै हो भने दोस्रो पाएर पनि तेस्रो नपाउनु दुःख नै हो । वास्तवमा यो भनेको तृष्णा हो । तृष्णाको वसमा अनेकौं सोचविचार तथा काम गरिरहेका हुन्छौं जसले संस्कारको निर्माण गर्दछ र यही संस्कारले प्राणीलाई अनेकौं दुःखको भुमरीमा राखीदिन्छ । यो भनेको एउटा जीवनमा जन्मदेखि मृत्युसम्म भोग्नु पर्ने दुःख र पुनर्जन्महरु हो । दार्शनिक तवरमा दुःख भनेको फेरि फेरि जन्म लिनुपर्नेलाई पनि दुःख नै भन्छि । बुद्धको शिक्षाको मूल उद्देश्य भन्नु त्यही दुःखको अन्त्य गर्नु हो ।
जीवन दुःखमय छ भनेर हामी बुझ्न नै सकिसकेका हुँदै्रनौं । दुःखमय छ भने हजारौं लाखौं पल्ट सुनिसक्दा पनि त्यसलाई बोध गर्न सकिरहेका हुँदैनौं । सुनिरहेका मात्र होइन, जीवन दुःखमय छ भनेर हजारौं लाखौं पल्ट अरुलाई बुझाइराख्दा पनि स्वयंले बोध गर्न सकिरहेका हुँदैनौं । यही बोध गर्न नसक्नु नै हाम्रो समस्या हो । अझ कतिसम्मभने, जीवन सुखमय भएको भन्ठान्नेहरु पनि हुन्छन् । वा दुःखमा यति अभ्यस्त भइसकेका हुन्छन् कि, दुःखलाई यस्तै त हो भन्ठानेर स्वीकार गरिरहेका हुन्छन् । अथवा, मन नपर्ने दुःखलाई स्वीकार गरी ‘मेरो यो जिन्दगीमा सँधैं यो उदासी, सकेकै छु जिउन कहिल्यै नहाँसी’ भनिरहेका हुन्छन् । र जीवन जिउने क्रममा अनेक अनुभव र अनुभूति गरेका हुन्छन् । र, यसरी अभिव्यक्ति दिन पुग्छन्, ‘मेरो चाहना हो तिमी हाँसे पुग्छ, मेरो घाउ तिमी नहाँसे पो दुख्छु, त्यसैले म भन्छु तिमी मुस्कुराउ’ ।
आधुनिक मनोविज्ञानअनुसार मन अनेक तहमा हुन्छन् । मनका अनेक तहहरुको व्याख्या त गौतम बुद्धले नै अभिधम्ममा गरिसकेका छन् । मनको विश्लेषण गर्नमा आधुनिक मनोविज्ञानको उपलब्धी बुद्धको व्याख्यामध्ये थोरैमा मात्र पुग्न सकेको हो । त्यही अनुसार पनि अचेतन मन भनेको राग, द्वेष, मोह, कुण्ठा आदिको भण्डार हो । यो अचेतन मन कुनै कुनै बेला प्रकट हुन्छन् । त्यही प्रकट हुने बेलाको स्थितिबारे गीतमा भन्छ, ‘कतै विरानीमा हराएँ भने म, कतै बेहोसीमा कराएँ भने म, मेरो प्राप्ती त्यही त्यति थाने पुग्छ’, र पुनः भन्छ, ‘मेरो घाउ तिमी नहाँसे पो दुख्छ, अँध्यारोमै छोड दियो, नजलाउ’ ।
दुःखमा अभेष्ट अथवा दुःखको अनुभूति नै नभएकालाई आफू सुखी रहेको भ्रम हुन्छ । यस अवस्थामा उसलाई कुनै डिस्टर्भ मन नपर्नु स्वाभाविक हो । तर सुखीलाई भने यस अवस्थामा करुणा भाव जाग्ने हुन्छ । गौतम बुद्ध सुखी तथा महाकारुणिक हुन् । कसलाई कहाँ घाउ दुखेको छ, उनी थाहा पाउँछन् र मलाई नसोध कहाँ दुःख घाउ भनेर यथास्थितिमा बस्नेहरुलाई पनि यथास्थितिमा रहन दिन्नन् ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment