५ बैशाख २०८३, शनिबार

बुद्धको आयुसंस्कार परित्याग दिवस


अ+
अ-

गौतम बुद्धको जीवनमा भएका महत्वपूर्ण घटनाहरुमा आयुसंस्कार परित्याग पनि एउटा हो । यसलाई बौद्ध समाजले ठूलो महत्व दिएको हुन्छ । यो माघ पूर्णिमाको दिन भएको हुनाले यस दिनलाई आयुसंस्कार परित्याग दिवस भनेर मनाउने गर्दछन् । 

जन्म, बोधिलाभ, प्रथम धर्मचक्रप्रवर्तन तथा महापरिनिर्वाण चार महत्वपूर्ण घटना त भयो नै, त्यसबाहेक अन्य चार वटा घटनामध्ये आयुसंस्कार परित्याग पनि एउटा हो । त्यसैले यी आठवटै ठाउँलाई समेटेर एकमुष्ट अष्टमहास्थान भन्ने चलन छ । आयुसंस्कार परित्याग गरेको ठाउँ वैशाली हो । बौद्धहरु अष्टमहास्थानलाई तीर्थस्थलका रुपमा लिन्छन् । 

बोधगयामा इ.पू. ५२८ वैशाख पूर्णिमाको रात गौतम बुद्धलाई बोधिलाभ भएको कुरा प्रायःलाई थाहा भएकै कुरा हो । बोधिलाभ हुनु भनेको बुद्धत्व प्राप्ती गर्नु अर्थात् बुद्ध हुनु हो । ठिक यही बेला अर्को एउटा घटना पनि भएको थियो । बुद्धकहाँ एक जना मार आइपुगे र बुद्धसँग बोल्दै उनले ‘बोधिलाभ गरेर बुद्ध भइहाल्यौ अब निरुपादिशेष निर्वाण पनि लाभ गरिहाल्नू’ भन्ने आग्रह गरेका थिए । बोधिलाभ गरी बुद्धत्व प्राप्त गर्नुलाई सौपादिशेष निर्वाण भनिन्छ भने देहत्याग गर्नुलाई निरुपादिशेष निर्वाण भनिन्छ । मारको आग्रह थियो– ‘धर्म उपदेश दिएर नबस्नू, देहत्याग गरेर जानू’ भन्ने हो । त्यस बेला बुद्धले मारलाई भनेका थिए, ‘मेरा भिक्षु–भिक्षुणी र उपासक उपासिका जबसम्म धर्ममा सक्षम हुँदैनन्, म निर्वाण लाभ गर्दिनँ ।’ त्यसपछि मार आफ्नो बाटो लागेका थिए । त्यसको पैतालीस वर्ष पुग्न तीन महिनाअघि अर्थात् माघ पूर्णिमाका दिन जब बुद्ध वैशालीमा एउटा विहारमा बसिरहेका थिए, मार पुनः आइपुगे र भने– ‘भिक्षु–भिक्षुणी तथा उपासक उपासिकाहरु धर्ममा सक्षम भइसकेका छन्, अब निर्वाण लाभ गर्ने बेला भयो ।’
 
वैशाख पूर्णिमाका दिन बुद्धत्व लाभ गरेर तीन महिनापछि बुद्धले पहिलो पल्ट सारनाथमा धर्मचक्र प्रवत्र्तन गरेका थिए । धर्मचक्र प्रवत्र्तनको अर्थ आफूले लाभ गरेको बोधि अरुलाई सुनाउनु हो अर्थात् धर्मको कुरा जनमानसमा फैलाउनु हो । बुद्धको उपदेश सुनेर केही दिनपछि पाँच जना भिक्षुले अर्हत्व लाभ गरेका सफल भए । अर्हत्व लाभ गर्नुको अर्थ हो, धर्मलाई बोध गरिसक्नु र अब आइन्दा दुःखरुपी पुनर्जन्म लिन नमर्ने भइसक्नु । त्यसपछि यशकुमार र उनका साथीहरुलाई भिक्षु बनाए र सबै भिक्षुहरुलाई धर्म प्रचार गर्न चारै दिशामा पठाएर आफू मगधको राजधानी राजगीरतर्फ हिडे । बुद्ध पैतालीस वर्षसम्म विभिन्न ठाउँको भ्रमण गर्ने र धर्म उपदेश सुनाउने गर्दै बिताए । यस बीच धेरैले अर्हत्व लाभ गरे भने टाढाटाढासम्म बुद्धको धर्म फैलिसकेको थियो । संघ सशक्त भइसकेको थियो । यो सबै हेरिरहेको मारलाई अब त समय भयो भन्ने लाग्यो र बुद्धलाई देहत्याग गर्नका लागि भन्न आएका थिए । बुद्धले पनि मारलाई अबको तीन महिनापछि आफूले देहत्याग गर्ने बताए । देहत्यागको यो घोषणालाई बौद्ध जगतमा आयुसंस्कार परित्याग भन्ने गरिन्छ । यो घोषणाको लगत्तै पृथ्वी कम्पन (भूकम्प) भएको थियो । पृथ्वी कम्पन भएको भनी भिक्षु आनन्दले बुद्धलाई भन्न आउँदा बुद्धले पनि तथागत (सम्यकसम्बुद्ध) ले आयुसंस्कार परित्याग गर्ने बेलामा यसरी कम्पन हुने बताएका थिए । 

बुद्ध यतिकै बनिँदैन । बुद्ध बन्छु भनेर एक सम्यकसम्बुद्धको सम्मुख विधिवत् अधिष्ठान गरिसकेपछि बोधिसत्व हुने हो र बोधिसत्व भई अनेकौं कष्ट गरी बारम्बार जन्म लिई सम्पूर्ण पारमीहरु पूरा गरी बल्लबल्ल बुद्धत्व लाभ गरी  बन्ने हो । यो दुर्लभ घटना हो । बुद्ध बनेपछि पुनर्जन्म हुँदैन । सकिन्छ । गौतम बुद्धकै अनुसार बुद्धहरुले चाहेको खण्डमा लामो समयसम्म जीवित रहन सक्दथे । तर मारसँग अबको तीन महिनामा देहत्याग गर्ने भनी आयुसंस्कार परित्याग गरिदिए । 

बुद्धका हरेक घटना अर्थपूर्ण हुने गरेको पाइन्छ । आयुसंस्कार परित्याग गरेर पनि बुद्धले त्यागको दृष्टान्त दिए । केही पनि कुरा सँधै एउटै अवस्थामा हुँदैन, सबै कुरा परिवर्तनशील छन् र हरेक प्राणी एक दिन मर्नु नै पर्दछ । यो प्राकृतिक नियम हो । यो प्राकृतिक नियमविरुद्ध बुद्ध पनि जान चाहेनन् ।

गौतम बुद्धले आयुसंस्कार परित्याग गरेको ठाउँ वैशाली अहिले भारतको विहार राज्यको राजधानी पटनाबाट लगभग ५० किलोमिटरको दूरीमा रहेको छ । त्यस बेला बुद्ध बस्ने विहार क्षेत्रमा पछि अनेकौं निर्माण संरचनाहरु बने । ती निर्माण संरचनाहरुको पुरातात्विक भग्नावशेषहरु अहिले पनि छन् । विश्वभरका बौद्धहरु यस स्थानमा पुगेर बुद्धप्रति श्रद्धाभाव व्यक्त गर्दछन् । 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

अन्य लेखहरू: बसन्त महर्जन

यस लेखकका अन्य रोचक लेखहरू
आमा बाबुको मुख हेर्ने पर्व

आमा बाबुको मुख हेर्ने पर्व

आमाबाबुलाई आदरसत्कार नगर्नु भनेर कसले भन्छ र ? तर सबै धार्मिक समुदायमा ‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ पर्व त छ...

महाराज क्राचल्ल र बौद्ध धर्ममा उनको योगदान

राजा क्राचल्लले आफूलाई ‘परमसौगात’ अर्थात् बुद्धका ठुलो उपासक भनेर चिनाउन मन पराउने राजा हुन् । यसबाट उनी बौद्ध धर्मका उप...

बडामहाराजा नागराज र बौद्ध धर्ममा उनको योगदान

कीर्तिखम्बमा उल्लेखित विवरण राजा नागराज र उनका उत्तराधिकारीहरुका सम्बन्धमा हो । तिब्बती श्रोतहरुले पनि यही विवरण प्रस्तु...

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति चोरी हुनु धेरै दुःखदायी हो । झिल्के बनाएर यसको सत्यानाश नै गरिदिनु थप दुःखदायी हो । मूर्तिचोरीमा संलग्न हुनेहरु न...

नेवार समाजमा पाहाँचःह्रे चाड

नेवार समाजमा पाहाँचःह्रे चाड

विभिन्न जातीय समुदायको सांस्कृतिक जीवनको अध्ययन गर्दा एउटा समानता के देखिन्छ भने, वर्षभरिमा जेजति चाड पर्व मनाएपनि त्यसम...

नरेश श्रेष्ठ र फोटोग्राफी

नरेश श्रेष्ठ र फोटोग्राफी

अनेकौं पहिचानहरुको भीडमा एउटा पहिचान हो, फोटोग्राफर नरेश श्रेष्ठ । र, उनको फोटोग्राफी । बहीखाता राखेजस्तै उनी कतिपय ऐतिह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्