३१ जेठ २०८३, आइतबार

आइयूसिएनको रिजनल काउन्सिलरमा नेपालकाे तर्फबाट राेशनी अधिकारीको एकल उम्मेदवारी


अ+
अ-

काठमाडौं, असाेज २१ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) को साउथ एन्ड इस्ट एसिया क्षेत्रीय काउन्सिलरका लागि नेपालबाट रोशनी अधिकारी पाठकको एकल उम्मेदवारी परेको छ। असोज २३ देखि संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा हुने वर्ल्ड कन्जरभेसन कंग्रेसमा मतदानमार्फत काउन्सिलरको छनोट हुने भएको छ।

उम्मेदवारी दर्ता गरेपछि अधिकारीले नेपालले भोगिरहेको जलवायु परिवर्तनका चुनौतीहरूलाई विश्व मञ्चमा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाएकी छिन्।

“हाम्रो क्षेत्रको जैविक विविधता, जलवायु प्रभाव, मानव–वन्यजन्तु द्वन्द्व, प्राकृतिक विपद् र कम परिचित संरक्षण विषयहरूलाई आइयुसिएनका नीतिगत छलफलमा प्रभावकारी रूपमा पुर्‍याउन सकिन्छ भन्ने विश्वासले नै मलाई उम्मेदवारी दिन प्रेरित गर्‍यो।” उनले नेवा: टाइम्सलाई बताएकी छिन् ।

जैविक विविधता संरक्षणका लागि महिला, युवा, आदिवासी जनजाति र सीमान्तकृत समुदायसँग सहकार्य गर्ने पनि उनको योजना छ।

नेपाल विश्वव्यापी रूपमा जलवायु परिवर्तनको गम्भीर असरमा परेको मुलुक हो। यस्तोमा विश्वका सबैभन्दा ठूला संरक्षण सञ्जालमध्ये एक आइयूसिएनमा नेपालको क्षेत्रीय प्रतिनिधित्व हुनु देशकै लागि प्रतिष्ठाको विषय बन्ने संरक्षण विज्ञहरू बताउँछन्।

काउन्सिलर जिताउन परराष्ट्र मन्त्रालयले विदेशस्थित नेपाली दूतावासमार्फत सदस्य राष्ट्रहरूबीच लबिङको पहल सुरु गरेको स्रोतले जनाएको छ। आइयूसिएनका सदस्य देशका प्रतिनिधिहरूले मतदानमार्फत काउन्सिलर चयन गर्नेछन्।

रोशनी अधिकारी पाठक करिब दुई दशकदेखि वातावरण पत्रकारितामा सक्रिय छिन्। सन् २०२२ अक्टोबरमा उनी नेपाल वातावरण पत्रकार समूह (नेफेज) की अध्यक्ष निर्वाचित भएकी थिइन्। काठमाडौं महानगरपालिकाको मेट्रो एफएमबाट पत्रकारिता सुरु गरेकी उनले नेपाल टेलिभिजनमा कार्यक्रम सञ्चालन गरेकी थिइन्।

अधिकारीले युरोपेली युनियनसहित विभिन्न विकास साझेदारहरूसँग जैविक विविधता र वातावरण संरक्षणमा काम गरेको अनुभव राख्छिन्। उम्मेदवारी मनोनयनपछि उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गरेकी छिन्। प्रस्तुत छ, नेवा: टाइम्स डटकमले उम्मेदवार राेशनी अधिकारीसँग गरेकाे संक्षिप्त कुराकानी:

. अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) को साउथ एन्ड इस्ट एसिया क्षेत्रीय काउन्सिलरका लागि उम्मेदवारी दिने सोच कसरी आयो ?

विगत २२ वर्षदेखि म वातावरण सम्बद्ध पत्रकारिता, जैविक विविधता संरक्षण, समुदाय सशक्तिकरण र नीति संवादमा संलग्न छु। इकोसिस्टम संरक्षणदेखि कृषि र कीटनाशकका प्रभावसम्मका विषयमा काम गर्दा मैले समुदाय र महिलाको दृष्टिकोण संरक्षणको केन्द्रमा राख्नुपर्छ भन्ने बुझेँ।

नेपाल वातावरण पत्रकार समूह (नेफेज) की पहिलो महिला अध्यक्ष र हाल स्मल म्यामल कन्सर्भेसन एण्ड रिसर्च फाउन्डेसन (SMCRF) की बोर्ड सदस्यको रूपमा मैले स्थानीयदेखि क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरसम्म काम गर्ने अवसर पाएकी छु।

यी अनुभवहरूले मलाई आइयुसिएनको प्लेटफर्ममा दक्षिण र पूर्वी एसियाका सदस्यहरूको आवाज उठाउने प्रेरणा दिए। हाम्रो क्षेत्रको जैविक विविधता, जलवायु प्रभाव, मानव–वन्यजन्तु द्वन्द्व, प्राकृतिक विपद् र कम परिचित संरक्षण विषयहरूलाई आइयुसिएनको नीतिगत छलफलमा प्रभावकारी रूपमा पुर्‍याउन सकिन्छ भन्ने विश्वासले नै मलाई उम्मेदवारी दिन प्रेरित गर्‍यो।

२.काउन्सिलरका रूपमा तपाईं विजयी हुनु भयो भने देशलाई के फाइदा हुन्छ ?

यदि म विजयी भएँ भने नेपालले क्षेत्रीय र विश्वव्यापी संरक्षण निर्णय प्रक्रियामा अझ बलियो उपस्थिति पाउनेछ।

• नेपालका सफल अनुभव र सिकाइहरू—जस्तै समुदाय–आधारित संरक्षण, महिला नेतृत्व, जलवायु अनुकूलनका अभ्यास—अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्न सकिनेछ।

• आइयुसिएनका सदस्य संस्थाहरूबीच नेटवर्किङ र सहकार्य सुदृढ हुनेछ।

• प्राविधिक र वित्तीय स्रोतहरूको पहुँच बढ्नेछ, जसले देशका संरक्षण परियोजनाहरूमा प्रत्यक्ष फाइदा पुर्‍याउनेछ।

• ग्लोबल प्लेटफर्ममा नीति तथा रणनीतिगत छलफलमा नेपालको योगदान बढ्नेछ, विशेषगरी जलवायु, प्राकृतिक विपद्, GLOF र फ्ल्यास फ्लड जस्ता विषयमा।

३. तपाईंको उम्मेदवारी अरूको भन्दा पृथक किन छ ?

म युवा पुस्ताको प्रतिनिधि, महिला र सामाजिक दृष्टिकोण बोकेको उम्मेदवार हुँ।

• म जैविक विविधता र संरक्षणसँगै सञ्चार, लैंगिक समानता, नीति र समुदाय सशक्तिकरणको अनुभव बोकेकी छु।

• म “ब्रिज” बन्न चाहन्छु — क्षेत्रीय र विश्वव्यापी सदस्यबीच सहकार्य र सिकाइ साटासाट गराउने।

• मेरो दृष्टिकोण विज्ञान र समाज दुवैको सन्तुलनमा आधारित छ, जसले आइयुसिएनलाई नयाँ सोच र ऊर्जाको योगदान दिन सक्छ।

४. महिला भएकै कारण सजिलो र अप्ठ्यारो के छ ?

महिला भएकाले सहानुभूति, समावेशिता र दीगो समाधानमा सोच्ने दृष्टिकोण स्वाभाविक रूपमा बलियो हुन्छ — यो सजिलो पक्ष हो।

तर नेतृत्व तहमा महिलाको प्रतिनिधित्व अझै सीमित छ, जसका कारण कहिलेकाहीँ हाम्रो क्षमतालाई कम मूल्यांकन गरिन्छ।

तर म यसलाई नकारात्मक होइन, अवसरको रूपमा लिन्छु — दक्षिण र पूर्वी एसिया क्षेत्रकै जस्तै चुनौतीहरूलाई सकारात्मक रूपमा बदल्दै, महिला नेतृत्वले संरक्षणमा नयाँ ऊर्जा र सम्भावना ल्याउन सक्छ भन्ने विश्वासमा छु।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान...

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धका धातु, रामग्राम र श्रद्धाको दर्शन...

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्