Meaning and history of the word jyapu
समयको परिवर्तनले यस समुदायका व्यक्तिहरु पनि धेरै क्षेत्रमा छरिन पुगेका छन् र तत्तत् क्षेत्रमा कार्य कुशलताका साथै आफ्नो अस्तित्व पनि देखाउन सफल भएकाले ज्यापू समुदायप्रति हेरिने दृष्टिकोणमा परिवर्तन आइरहेको छ । यसलाई ज्यापू समुदायले लिएको फड्को वा युगान्तकारी घटनाको रूपमा लिन सकिन्छ । तर पनि अन्य समुदायमा मात्र नभई स्वयं उच्च पदस्थ तथा गण्यमान्य ज्यापू व्यक्तित्वहरूमा नै पनि यो ‘ज्यापू’ शब्दका सम्बन्धमा भ्रम रहेको पाइन्छ । प्रस्तुत लेख यसै शब्दको सेरोफेरोमा रही केही चिन्तन मनन गरिन्छ ।
ज्यापू शब्दको व्युत्पत्ति र अर्थ
कुनै पनि शब्दको अर्थ त्यसको व्युत्पत्तिमा निहित हुन्छ । अर्थविस्तार वा संकुचनका क्रममा मात्र व्युत्पत्ति ‘मौन’ बस्ने गर्छ । ज्यापू शब्दका बारेमा यहाँ थुपै्र लेखिएपनि यसको व्युत्पत्तिका बारेमा सन्तोषजनक रूपमा घोट्लिएको पाइन्न । यसको व्युत्पत्तिका सम्बन्धमा भन्दा अर्थमा नै बढी अलमलिने गरेको पाइन्छ । र अधिकांश (ज्यापू तथा गैर ज्यापू लेखकहरू) ले अथ्र्याउने गरेको एउटा अर्थ हो, ‘ज्या’ भनेको काम र कहिल्यै काम नसकिने सँधैं बेपूmर्सदिला रहने कर्मशील जाति भएकोले यस समुदायलाई ‘ज्यापू’ भनिएको हो । त्यसअनुसार ज्यापूको ‘पू’ अक्षर ‘पूरा’ को संक्षिप्त रूप मानिएको बुझिन्छ तर जातिवाचक शब्दको इकार वा उकार दीर्घ राख्ने नेपाली भाषाको व्याकरणीय नियम मात्र भएकोले यो ‘ज्यापू’ शब्दमा दीर्घ ‘पू’ प्रयोग भएको कुरा हेक्कामा राख्नु पर्दछ । यही जातिवाचक नामलाई यस जातिले बोल्ने नेपालभाषामा ¥हश्व ‘पु’ अर्थात् ‘ज्यापु’ शब्द प्रयोग हुने गर्दछ । तसर्थ काम कहिल्यै नसकिन,े बेफूर्सदिला, कमर्शीलजस्ता अर्थहरू खेती किसानीमा लाग्नेको कामको प्रकृतिसँग मात्र मिल्दछ, ती त आलंकारिक शब्दहरु मात्रै हुन्, इतिहाससँग कुनै लेनदेन छैन । अथवा ज्यापू समुदायलाई खेती किसानी काममा लाग्न हौस्याउने र काम मात्रै गराउने चलाखी हो कि भन्ने आशंका गर्न नसकिने पनि होइन ।
ज्यापू शब्दको व्युत्पत्ति कसरी भयो र यसको अर्थ के हो भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । काठमाडांै उपत्यकाका आदिवासीका रूपमा नेवारभित्र पनि ज्यापू समुदायलाई लिइन्छ । स्वयं यही समुदाय पनि आफूहरू नेपाल उपत्यकाका आदिवासी हौं भन्ने दावीे गर्छन् । आदिवासी हौं भनेर दावी गर्ने यस समुदायको चालचलनमा यसको झलक नपाइने होइन । ती कुराहरू के के हुन् वा त्यसमा के के हुन सक्दैन भन्ने अलग्गै विषय हो र अनु्सन्धान तथा छलफलको त्यो अर्को पाटो हुन सक्छ ।
ज्यापू जाति काठमाडौं उपत्यकाका आदिवासी हुन् भन्ने पहिलो र अहं आधार स्वयं ‘ज्यापू’ शब्द नै हो । यसका लागि केही हजार वर्ष अघिसम्मको इतिहासमा फर्केर अध्ययन गर्नु पर्दछ । ईशाभन्दा पाँच सय वर्षअघि अर्थात् गौतम बुद्ध (ईपू. ५६३–४८३) भन्दा निकैअघि नै दक्षिणतिरबाट विभिन्न जातीय समुदायका मान्छेहरूको आवतजावत काठमाडौं उपत्यकामा बढ्दो मात्रामा हुन्थ्यो । यस कुराको उल्लेख पछिका विभिन्न ग्रन्थहरुमध्ये कौटिल्यको अर्थशास्त्र, बौद्ध ग्रन्थ सर्वास्तीवादविनयसूत्र तथा अन्य ग्रन्थहरूमा भएको पाइन्छ । यसरी आवतजावत गर्दागर्दै कोली, शाक्य, वृज्जि, लिच्छवि आदि समुदायहरू यहीं बसोबास गर्न थाले । बुद्धको जीवनकालमा नै पनि ती जातीय समुदायहरु नेपाल उपत्यकामा स्थायी बसोवास गरी यहीं घुलमिल हुन थालिसकेको जानकारी पाइन्छ । यसरी वाह्य समाजसँगको स्वाभाविक सम्पर्कले यिनीहरूको प्रभाव तत्कालीन नेपाल वा नेवार समाजमा र तत्कालिन नेपाल वा नेवार समाजको प्रभाव तिनीहरुमा पर्नु स्वाभाविक पनि हो । यस प्रकार नेपाली समाजको विकास त्यति बेला नै भइसकेको बुझिन्छ । नेपाली समाजको विकास प्रकृयामाथि अध्ययन गर्दा हेक्का राख्नु पर्ने कुरा के रहेको छ भन्दाखेरी नेपाल उपत्यकामा पहिल्यैदेखि विकसित हुँदै आइरहेको एक प्रकारको सभ्यतामा विलय हुन आएका अन्य जातीय समुदायहरुले सभ्यताको इतिहासलाई अझ परिष्कृत गर्दै यसलाई उच्च बनाउने कार्यमा अपूर्व योगदान दिए । विलय भएरै पनि केहीले आफ्नो पूर्व पहिचानलाई केही मात्रामा जोगाएका पनि थिए । आफूहरुले ल्याएको सभ्यता नेपालको सभ्यतासँग घुलमिल गराएर नेपाल वा नेवार सभ्यतालाई उच्च बनाउने र त्यही सभ्यतामा आफू बसीभूत हुन थाले । यिनीहरु यही नयाँ विकसित वा मूलमा स्थानिय सभ्यतामा गौरवान्वित हुन थाले । आफूहरु पूरै मात्रामा यहाँ घुलमिल भएर, नेवारकै रुपमा पहिचान बनाएर पनि आफ्नो इतिहास नबिर्सेको एउटा ज्वलन्त उदाहरण ‘ज्यापू’ शब्द हो ।
यहाँको भूमिमाथि पुराना निवासीहरूको वर्चश्व भएकाले सम्मानस्वरूप तिनीहरूले यहाँका आदिवासीहरूलाई ‘भूमिपुत्र’को अर्थमा ‘ज्यापु’ भन्न थालेको देखिन्छ । ‘ज्यापू’ र ‘भूमिपुत्र’ दुई भिन्न भाषाको एउटै अर्थ लाग्ने शब्द भएको दावी यस लेखकको छ । ‘ज्यापु’ को ‘पु’ संस्कृत भाषाको ‘पुत्र’ वा पाली भाषाको ‘पुत्त’ शब्दको स्थानियकरण हो । गौतम बुद्धले जनसाधारणले बोल्ने भाषा प्रयोग गर्ने क्रममा पाली भाषाले प्रश्रय पाएको र त्यसभन्दा बाहेक विशिष्ट क्षेत्रमा संस्कृत भाषाकै प्रयोग हुने गरेको तत्कालीन सामाजिक तथा साँस्कृतिक अध्ययनबाट थाहा हुन्छ । गौतम बुद्धको जीवनकालमा पाली भाषा सर्वसाधारणको सम्पर्क भाषाको रूपमा विकास भएको थियो । पाली भाषाका प्रयोगकर्ताहरू काठमाडौंमा आएपछि यहाँका आदिवासी वा भूमिपुत्रहरूलाई सहज रूपमा सम्मान गर्दै ‘ज्यापुत्त’ वा ‘ज्यापुत्र’ भन्ने क्रममा ‘ज्यापु’ भन्न थालेको देखिन्छ । संस्कृत भाषामा ‘ज्या’ शब्दले पृथ्वी वा भूमि जनाउने हुन्छ (Apte 1959:224) ।
ज्यापु समुदायको इतिहास
नेवार भित्रको पूरै ज्यापू समुदायलाई ‘किराँत’ वर्गका रूपमा चिनाउन मन पराउनेहरू पनि छन् । कोही किराँतपछि आएका लिच्छविहरू नै हाल ज्यापूको रूपमा चिनिएको मान्यता राख्दछन् । नेपाली समाजको विकासको अध्ययनले ती मान्यताहरुको खण्डन गर्दछ । यसै सम्वन्धमा केही चर्चा गरिंदा नेपाली समाजको विकासलाई बुझ्न सकिने भएकाले यहाँ त्यस बारेमा थप अध्ययन हुनु पर्ने देखिन्छ ।
इतिहासको अध्ययनका सामग्रीहरुबाट काठमाडौं उपत्यकामा प्रवेश गर्ने पहिलो वा आदिवासी जाति किराँतहरु हैनन् भन्ने कुरा स्पष्ट छ । भारतीय भूभागबाट आर्यहरूद्वारा धपाइएपछि काठमाडौं उपत्यकामा शरणार्थीका रूपमा पसेका किराँतहरूले आफ्नो छुट्टै पहिचानलाई जोगाउनुको सट्टा अघिदेखि विकास हुँदै आइरहेको यहींको समाजमा विलय भएको देखिन्छ । बाबुराम आचार्यले उल्लेख गर्ने गरेको ‘नेपार’ वा ‘नेवार’ तिनै जाति हुन् जुन आदिवासीहरु र किराँतहरू विलय भएर बनेको हो । (२००९, २०६०ः६३) । विलय हुने क्रममा स्थानिय समाजमा किराँतहरूको प्रभाव पर्नु पनि स्वाभाविक मान्न सकिन्छ । त्यसरी प्रभावित हुनेहरू ज्यापू नै हुन् भन्ने कुरा माथि उल्लेखित कुराबाट पुष्टि हुन्छ । अर्थात् प्राचिन ग्रन्थहरुमा उल्लेखित किराँत जाति नेपाल उपत्यकामा पसेर यहीका आदिवासीहरुमा विलय भएर गएको र त्यसको निकैपछि मध्यकाल र त्यसपछि लिखित वंशावलीहरूले समुच्च रूपमा किराँत नाउँ दिएको देखिन्छ । जसलाई आचार्यले नेपार वर्गका किराँत भनेको बुझिन्छ र यिनै नेपार वर्गका किराँतहरूलाई नै पछि आउने अनेक जातिले सम्मान गर्दै भूमिपुत्रका रूपमा ‘ज्यापु’ भन्न थालियो र आजपर्यन्त ‘ज्यापू’ जाति वा समुदायका रूपमा काठमाडांै उपत्यकामा एक प्रमुख समुदायको रूपमा बसेका छन् । अर्थात्, प्राचिन आदिवासी र किराँत दुई समुदाय यति घुलमिल भयो कि अब ती दुईबीच विभाजन गरेर हेर्नै नसकिने भइसकेको छ ।
वैशालीमा लिच्छवि गणराज्यमाथि मगध साम्राज्यको हमला हुनुअघि नै नेपालमा लिच्छविलगायत अनेक समुदायको बसोबास भइसकेको थियो । वैशाली आक्रमणको सय वर्षपछि मात्र नेपालको राज्य व्यवस्था किराँतहरूको हातबाट बाहिरिएको देखिन्छ । यसबाट के बुझ्न सकिन्छ भने वैशालीमा हारेका लिच्छविहरूले नेपालमा किराँतहरूलाई हराएर राज्य हत्याएको नभई विस्तारै आफ्नो प्रभाव बढाएर राज्य व्यवस्थामा हात हालेको देखिन्छ । लिच्छविकालिन अभिलेखहरूमा प्रयुक्त गैर संस्कृत शब्दहरू अहिले पनि नेवार समुदायले बोल्नु, लिच्छवि सभ्यताभन्दा फरकको आदिम संस्कृति वर्तमान नेवार समुदायमा जीवितै हुनुजस्ता दृष्टान्तले यहीं विकास भइरहेको सभ्यतामा किराँतलगायत लिच्छवि, बज्जी वा वृज्जी, कोली, शाक्य आदि समुदाय सम्मिश्रण भएको वर्तमान सामाजिक संरचनाबाट पनि बुझ्न सकिन्छ । प्राप्त लिच्छविकालिन अभिलेखहरूमा पनि किराँतहरूको उपस्थिति पछिसम्म नै देख्न पाइन्छ (महर्जन २०६२ः८) । आफ्नो राजनीतिक अधिकारहरू खोसेर लिएपछि पनि किराँत वर्गका नेवारहरूको लिच्छवि वर्गका नेवारहरूमाथि प्रतिशोधात्मक भावना रहेको कुनै संकेत प्राप्त हुन सकिरहेको छैन । यस्तै लिच्छवि वर्गका नेवारहरूले पनि किराँत वर्गका नेवारहरूलाई अपमान वा तिरस्कार गरेको कुनै पनि लक्षणहरू देखिन सकिरहेका छैनन् । बरु अभिलेखमा किराँतहरुलाई सम्मानजनक स्थान नै दिएको पाइन्छ ।
उपसंहार
मानव सभ्यताको उषाकालमा नै भएको कुरा अन्यत्रका बाजाहरूको विकाससँग तुलनात्मक अध्ययन गर्दाथाहा हुन्छ । समय र सभ्यताहरूसँग समायोजन गर्दै आजसम्म यसलाई जातिय परम्परा र संस्कृतिको रूपमा जीवितै राख्ने काम काठमाडांै उपत्यकाका ज्यापू समुदायले गर्दै आइरहेको छ । त्यति लामो इतिहास धिमे बाजामा पाइन्छ जुन लरतरो कुरा होइन । झट्ट हेर्दा धिमे बाजा ज्यापू समुदायको मात्र देखिए पनि सभ्यताको दृष्टिले यो समस्त मानव जातिको अमूल्य निधि हो । त्यस्तो निधिका सम्वाहक ज्यापू जातिप्रति समस्त मानव समुदाय ऋणी हुनैपर्छ । नेवार कला र संस्कृतिका अध्येता मेरी स्लसर ज्यापू समुदायको मुक्तकण्ठले प्रशंसा गर्दछिन् र आफ्नो पुस्तकमा अतीतका कुराहरूको अध्ययनका लागि ज्यापू समुदाय एउटा झ्याल नै भएको मन्तव्य दिन्छिन् ९क्गिककभच ज्ञढढड स्ज्ञद्द० तर यस्ता निधिहरूका संवाहक ज्यापू समुदायमाथि आजभोलि ठूलो चुनौती पनि नभएको होइन । एकातिर यस समुदाय आफ्नै इतिहासबाट बेखबर छन् भने अर्कोतिर इतिहासलाई तोडमरोड गर्नेहरू पनि उत्तिकै छन् । यस समुदायलाई एकापट्टि आफ्नो परम्परागत निधिहरूको संरक्षणमा लाग्नु परेको छ भने अर्को तिर विश्व भूमण्डलीकरणको चपेटामा यस्तै समुदायहरू पिल्सिने भएकोले यो समुदाय चनाखो हुनु पर्छ भन्ने महशूश हुन्छ ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment