रोल्पा–रुकुमका नेवारहरू


अ+
अ-

रोल्पा र रुकुम, हुन त नेपालको दुई जिल्ला हुन्, पचहत्तर जिल्लामध्ये दुई । तर बेग्लै अर्थ राख्छ, नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा । नेकपा (माओवादी) द्वारा संचालित जनयुद्धको युद्धघोष यही दुई जिल्लाबाट भएको थियो र युद्धकालमा माओवादीको राजधानीको रुपमा चिनिन्थ्यो । तसर्थ राष्ट्रिय रुपमा मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि यी दुई क्षेत्र चर्चाको विषय हुन्थ्यो । मान्छेहरूमा एक प्रकारको जिज्ञासा रहेको हुन्छ, यहाँका मान्छेहरू किन कम्युनिष्ट विचारधारातिर धल्केका होलान् भनेर । र कम्युनिष्ट विचारधारा फैलाउनमा ककसले केके ग¥यो होला भन्ने खुल्दुली पनि लाग्यो होला । कसैले अनुमान ग¥यो पनि होला, माओवादीको जनयुद्धसँगै यहाँ कम्युनिष्टहरू ह्वात्ते बढ्यो तर त्यसो होइन । नेपालमा कम्युनिष्ट पार्टीको स्थापनाको एक दशकपछि यहाँ विचारधाराको बीजारोपण भएको थियो । थालनीमा कसले कसरी काम ग¥यो भन्ने प्रश्न बेग्लै विषय हो तर त्यसपछिका दिनहरूमा केही नेवारको योगदानलाई कम आँक्न सकिन्न । यस क्षेत्रका रैथाने खाम मगर जातिको अध्ययन गर्न मानवशास्त्री अन्ना डे शालसँग अक्टोवर–नोभेम्वर, २००६ तिर यस क्षेत्रमा पुगेको थिएँ । हाम्रो उद्देश्य विशेष गरेर खाम मगर जातिको झाँक्री प्रथा र त्यसमा जनयुद्धको प्रभावका बारेमा अध्ययन गर्नु थियो । यसै मेलोमेसोमा ‘पशुपतिको यात्रा सिघ्राको व्यापार’ भनेजस्तो केही नेवारहरूसँग पनि भेट्ने र अन्तवार्ता गर्ने काम भयो । यो लेख वास्तवमा सिघ्राको व्यापारकै रुपमा रहेको छ तसर्थ थप अध्ययन हुनु नितान्त आवश्यक छ । यो सानो परिचयात्मक लेखममा यस क्षेत्रमा नेवारहरुको आगमन कहिलेबाट कसरी भयो, यिनीहरुको योगदान के रहेको छ र हाल कस्तो स्थितिमा रहेका छन् भन्ने बारे छलफल गरिन्छ ।

रोल्पा रुकुममा पहिलो नेवार

रुकुममा पुग्ने पहिलो नेवार को होला ? यो एउटा रमाइलो प्रश्न हो । नेवारहरू काठमाडौं उपत्यका (नेपाल) का आदिवासी हुन् । ऐतिहासिक श्रोतहरूले काठमाडौं उपत्यकामा नेवारहरूको उपस्थिति कम्तीमा दुई तीन हजार वर्ष अघिको स्पष्ट प्रमाण दिए पनि त्यसभन्दा निकै अघिदेखि यिनीहरू यहाँ रही विभिन्न प्रकारका आरोह अवरोहको अनुभव लिएर आफ्नो विकास गर्दै आएको देखिन्छ । काठमाडौं उपत्यकाबाट अन्यत्र फैलिएका नेवारहरूको सम्वन्धमा चर्चा गर्दा प्रायःले सन् १७८९ मा गोरखाका राजा पृथ्वीनारायाण शाहले काठमाडौं उपत्यकामाथि आक्रमण गरेर कब्जामा लिएपछि यताउता भागेको वा छरिन पुगेको भन्ने भनिन्छ । यो सत्य हो पनि तर त्यसभन्दाअघि नै गोरखामा राम शाहको पालामा पाटनबाट केही नेवारहरू पुगेको चर्चा पनि नपाइने होइन । हालै सिन्धुपाल्चोक जिल्लाका विभिन्न गाउँहरूमा छरिएर रहेका नेवारहरूको सोधखोज र अध्ययन गर्ने क्रममा त्यसै बेला नेवारहरू त्यहाँ पनि पुगिसकेको थाहा हुन्छ ।

तर रुकुम रोल्पातिर भने पृथ्वीनारायण शाहको उपत्यका आक्रमणपछि मात्रै हो । पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाहको नायवीकालमा अर्थात् इस्वी सम्वत १७८४ तिर बाइसी चौबीसी राज्यहरूमाथि आक्रमण गरी कब्जामा लिइएको थियो । रोल्पा रुकुम बाइसी राज्य अन्तर्गत पर्दथ्यो । रुकुम पुग्ने पहिलो नेवार च्यारसिंह श्रेष्ठ हो । यिनी भक्तपुरका हुन् । उपत्यकामा पृथ्वीनारायण शाहको आक्रमणले संभवतः बढी आक्रान्त हनेमा भक्तपुरका नेवारहरू भयो किनभने आफ्नो गाउँठाउँ नै छाडेर भाग्ने वा आफ्नो परिचय नै लुकाएर बस्नेमा यहींका नेवारहरू पर्दछन् । तर च्यारसिंह श्रेष्ठ त्यसरी राज्यको कोपभाजन हुनु पर्ला भनेर रुकुम भागेर गएका वर्गमा पर्दैनन् । यिनलाई एउटा खानी संचालन गर्न रुकुम पठाइएको थियो । पाएको जानकारी अनुसार यिनीहरू भक्तपुर राज्यको राजखलक हुन् । संभवतः पृथ्वीनारायण शाहको पक्षमा थिए । च्यारसिंहले पृथ्वीनारायण शाह र यिनका उत्तराधिकारीहरूलाई सहयोग गरी खुशी तुल्याएका पनि थिए होला र त यो पक्षलाई रिझाउनु पनि पर्ने हुँदा खानी संचालन गर्ने अधिकारसहित रुकुम पठाइएको हो । यिनलाई कुन मितिमा रुकुम पठाइएको हो भन्ने कुनै तिथि मिति प्राप्त छैन तर १७८४ पछि भन्ने सम्म अनुमान हुन्छ । यिनी झुङलाङमा टक्सार खोलेर बसे । यिनले आफ्ना दुई छोरालाई पनि सँगै लिएर गएका थिए । काम गर्दा गर्दै खानी सकिएको मात्र नभई च्यारसिंहको मृत्यु हुँदा उनका दुई छोराहरू काठमाडौं नै फर्कन लाग्दा बाटामा यी नेवार दुई दाजुभाई फर्कनु भनेको यो क्षेत्रको लागि घाटा हो भनी रोक्ने अनेक जुक्ती निकाल्यो र फकाएर त्यहीं राख्न सफल भयो पनि । दुवै दाजुभाइको विहे त्यहींका दुई युवतीसँग गरिदिए । यसरी विहे मगर जातकी छोरीमान्छेसँग भएको थियो । जेठो छोरा बुद्धिराम र कान्छा भाईलाई त्यहींको मुखियाकी छोरीसँग विहे भएको थियो । विहे पछि बुद्धिराम पुनः रुकुम नै फक्र्यो । बुद्धिरामले त्यहीं काल्चा खानी खोल्यो र चलाएर बसे । सो खानी कमल दहको पानीले भरिएपछि बन्द भएको छ । उनका पाँच छोरा थिए, जेठो भैरम श्रेष्ठ, माहिलो आलोक बहादुर, र काइलो पृथ्वीबहादुर । साहिलो र थाइलो सानैमा बितेका थिए । भैरमबाट जन्मेका सन्तानहरूमा जेठो गोविन्दबहादुर श्रेष्ठ उनको छोरो रणबहादुर श्रेष्ठ हाल सन् १०३१ तिर जन्मेका हुन् (यो वंशवृक्ष र अन्य केही जानकारी यिनी रणबहादुर श्रेष्ठबाटंै प्राप्त भएको हो) । यिनका छोरा रेशम श्रेष्ठ र नाति टेकबहादुर श्रेष्ठ अहिले गाउँमै छन् ।

मस्त बहादुरको शिक्षा

रोल्पा रुकुमको बौद्धिक समाजमा मस्त बहादुर श्रेष्ठ चिरपरिचित व्यक्तित्व हुन् । पेशाले शिक्षक थिए तर आफ्ना विद्यार्थीहरूलाई कम्युनिष्टको शिक्षा दिनमा यिनको प्रमुख हात थियो । थालनीमा मोहनविक्रम सिंह, वामदेवलगायतले कम्युनिष्ट शिक्षाको बीउ छरेर गएका थिए भने त्यसलाई हुर्काउने र बढाउने कार्यमा यिनी मस्तबहादुरको उल्लेख्य योगदान रहेको पाइन्छ ।

मस्तबहादुर श्रेष्ठका पुर्खा पाल्पाबाट आएका नेवार हुन् भन्ने जानकारीमा आएको छ । यिनीहरू गुनाममा बस्दथे । यिनका दाजु चक्रबहादुर श्रेष्ठलगायत भाइहरू अझै पनि राजनीतक क्षेत्रमा सक्रिय छन् । तर यिनी भने हाल राजनीतिबाट टाढिएर बसेका छन् । यिनी हाल रुकुममा पनि नबसी दाड जिल्लामा एउटा विद्यालय संचालन गरेर जीवन बिताइरहेका छन् ।

अरु जातिसँगको घुलमिल

रुकुम पुग्ने पहिलो नेवार च्यारसिंहका दुवै छोराले स्थानिय मगर्नीहरूसँग घरजम गरेका थिए । यो खाम मगरहरूको बसोवास भएको क्षेत्र भएका कारण तिनका श्रीमतिहरु पनि खाम मगर नै हुनु संभव छ । यस हिसाबले तेश्रोे पुस्तादेखि खाम मगर जातिको रक्त मिश्रण शुरु भएको थियो । त्यसपछि पनि रक्त मिश्रणको क्रम चलि नै रह्यो । तर केही समयपछि अन्य समुदायसँग बिलय हुने र पहिचान पनि हराउने डरले एउटा भेला गरी आइन्दा आफ्नै श्रेष्ठ थरसँगमात्र बिहेवारी चलाउने निर्णय गरका थियो । तर सीमित जनसंख्या भएको र अन्य श्रेष्ठ थरका नेवारहरू पनि निकै टाढा भएका कारण आएको समस्या निराकरणका लागि नजिकको सम्वन्धका बाहेक आफ्नै छोरीबेटीसँग लेनादेना चलाउन थालेको थियो । यस अघिसम्म कसैले अन्य थरको बुहारी भित्र्यायो भने उसले पकाएको भात चल्दैन थियो तर हाल सो मान्यता प्रायः समाप्त भइ सकेको छ ।

मस्तबहादुर श्रेष्ठ रणबहादुर श्रेष्ठका साला हुन् (आमाको भदै) । उनले दङ्गाली नेवारकी छोरीसँग विहे गरेका थिए । यिनका ६ दाजुभाइ छन्, माइलोले झङ्लवाङकी नेवारनीसँग विहे गरेका थिए भने दाजु चक्रबहादुर श्रेष्ठले मगर्नीसँग । रणबहादुर श्रेष्ठको भतिजा सत्यप्रकाश श्रेष्ठको पहिलो विहे मस्तबहादुर श्रेष्ठकी छोरीसँग भएको थियो भने दोश्रो विहे हमालको छोरीसँग । मस्तबहादुरको एउटा ज्वाइँसँग मोरावाङमा अन्तर्वार्ता लिने काम भएको भएको थियो जो हमाल थरका थिए । हमाल थरका यी ज्वाइँका अनुसार यस क्षेत्रमा नेवार र हमालको सामाजिक, सांस्कृतिक स्थिति उस्तउस्तै हो । यही अनुभव हमाल थरकी युवतीलाई भित्र्याएका सत्यप्रकाशको पनि रहेको छ ।

रोल्पा रुकुमका नेवारहरू अन्य जातिसँग निकै मात्रामा घुलमिल हुन पुगेको छ । भाषाको मामिलामा नेपाली पछि खाम मगरमा गर्दछन् तर खाम मगरहरु कम मात्र अन्यबाट प्रभावित देखिन्छन् ।

भाषा, संस्कृति र पहिचान

रोल्पा रुकुमका नेवारहरूले आफ्नो मातृभाषा ठ्याम्मै हराएका छन् । बाबु च्यारसिंहपछि दुई भाइछोरा मात्र नेवार भएको अवस्थामा आफ्नो मातृभाषा जोगाइराख्नु संभव पनि थिएन । तर ठूलो संख्यामा पुगेका भए भाषा नहराउने रहेछ भन्ने कुरा यिनीहरूभन्दा निकै अघि विभिन्न ठाउँमा पुग्नेहरूमा अझै पनि नेपालभाषामा दैनिक बोलचाल हुने गरेकोबाट थाहा हुन्छ । यिनीहरू नेपाली भाषामा नै कुराकानी गर्दछन् तर केही केही नेपालभाषाका शब्दहरू भने अनायास नै प्रयोगमा आइरहेको हुन्छ । स्थानिय भाषाको रुपमा रहेको खाम मगर भाषामा पनि कुराकानी गर्न सक्ने नेवारहरू त्यहाँ रहेका छन् ।

यहाँका नेवारहरू अन्य जातिसँग जतिसुकै घुलमिल भएपनि नाक भने छेडेका छैनन् । ‘नाक छेड्यो भने त्यो नेवार होइन’ भन्ने मान्यताले अन्यत्र जस्तै यहाँ पनि दरो सँग जरा गाडेको छ । बुद्धिराम रुकुमकोटमा आएर बसेदेखि कुलपूजा गर्न थालेको थियो । नेवार गाउँहरूमा भैरव, गणेश आदिका मन्दिरहरू नेवारहरूबाट नै निर्माण भएका छन् अन्य जातिले पनि त्यसमा पूजा गर्न आउने गर्दछन् । तर प्रमुख रुपमा त्यसको पूजा नेवारहरूबाट नै हुने गर्दछन् । विभिन्न अवसरमा बोका चढाउने पनि गर्दछन्। यसरी हुने पूजामा छोरीबेटीलाई नखत्या बोलाउने पनि चलन छँदै छ । तर इही, बाराः, म्हपूजालगायतका नेवार कर्मकाण्ड तथा पूजाहरूको प्रचलन त्यहाँ छैन । दशै त मनाउँछन् तर मोहनीको रुपमा नेवारले मनाउने त्यो दशै रोल्पा रुकुममा नरहेको थाहा हुन्छ । नेवारहरू दशैमा दिएको बलीको ‘सीकाःभू’ गर्ने गर्दछन् र काठमाडौं उपत्यकाबाट अन्यत्र छरिन पुगेका र भाषालगायतका कुरामा टाढिसकेकाहरू पनि दशैमा ‘सीकाःभू’ गर्ने लाई ‘सिल’ खाने नाममा त्यो संस्कृति जोगाइ नै राखेको पाइन्छ । यसरी नै थुप्रै ठाउँमा मृत्यु संस्कारअन्तर्गतको ‘न्हय्नुमा जा’ लाई ‘सातदिने भात’ भनेर व्यवहार गरि नै रहेका छन् तर रोल्पा रुकुममा भने यी कुराहरू हराइसकेका छन् ।

रोल्पा रुकुमका नेवारहरूमा जातीयचेत पहिल्यै देखि भएपनि प्रतिकूल स्थितिका कारण जातीय पहिचान जोगाइराख्न सकेका छैनन् । अल्पसंख्यक समुदायको रुपमा रहेका यहाँका नेवारहरू मात्र नभई क्षेत्रीबाहुनले पनि न आफ्नो संस्कारसंस्कृतिलाई पूर्ण रुपमा पालना गर्न सकेका छन् न त कुनै अर्को समुदायको संस्कारसंस्कृतिलाई नै पूर्ण रुपमा अपनाउन सकेका छन् । नेवारहरूको संस्कार संस्कृति क्षेत्रीबाहुनबाट मात्र प्रभावित नभई खाममगरहरूबाट पनि प्रभावित छन् ।

निश्कर्ष

रोल्पा रुकुमका नेवारहरु आफूलाई नेवारकै रुपमा चिनाउँछन् र यसरी आफूलाई चिनाउन पाउँदा गौरव पनि मान्दछन् । तर दूरदरारमा आफूहरु परेको र आफ्नो वरिपरिका बाहेक अन्य नेवारसँग अन्तक्र्रिया नहुँदा जातीय ज्ञानमा सीमित भएको महसूस गर्दछन् । भाषा हराएको त छँदै छ, संस्कृति संस्कार पनि निकै मात्रामा प्रभावित भइसकेकाले अब आफ्नो जातीय पहिचान नै पनि खतरामा परेको महसूस भएको छ । आफ्नो जातिका बारेमा केही जानकारी त राख्दछन् तर ती बढी मात्रामा कितावी ज्ञान भएको देखिन्छ र कतिपय त भ्रान्तिपूर्ण पनि छन् । शोभा गाविसस्थित रुकुमकोटमा सात घर नेवारको रहेको छ भने अन्यत्र पनि नेवारहरु फैलिएर रहेका छन् । नम्ली, गुनाम, झङ्लवाङ, रुङवारा, दमई, धर्मशाला आदि नेवारहरु रहेका बस्ती हुन् । कोही भारतीय सेनामा छन् भने कोही गाउँमा नै व्यापार व्यवसाय र कृषिकर्ममा लागेका छन् ।

नेपाल अब संघीय राज्य व्यवस्थामा जाँदा रोल्पा रुकुम क्षेत्र मगरात प्रदेशअन्तर्गत पर्ने ह्ुन्छ । संघीय राज्य व्यवस्थाअन्तर्गत अल्पसंख्यक समुदायको विकासमा पनि संघले ध्यान दिने हुँदा यहाँका नेवारहरुले अब आफ्नो जातीय पहिचान गुमाउनु पर्ने छैन र यथोचित व्यवस्था हुने गर्दछ । तर त्यस बेला काठमाडौं उपत्यकालगायत अन्यत्र सशक्त रुपमा रहेका नेवार समुदाय वा संघसंगठनले यिनीहरुलाई सम्पर्कमा ल्याएन भने वा यिनीहरु आफैले पनि सम्पर्क राखेर अन्तक्र्रिया गरेनन् भने भविष्यका दिनहरु गा¥हो हुने देखिन्छ ।

 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
Basanta Maharjan

More from Basanta Maharjan

Explore more articles by this author
आमा बाबुको मुख हेर्ने पर्व

आमा बाबुको मुख हेर्ने पर्व

आमाबाबुलाई आदरसत्कार नगर्नु भनेर कसले भन्छ र ? तर सबै धार्मिक समुदायमा ‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ पर्व त छ...

महाराज क्राचल्ल र बौद्ध धर्ममा उनको योगदान

राजा क्राचल्लले आफूलाई ‘परमसौगात’ अर्थात् बुद्धका ठुलो उपासक भनेर चिनाउन मन पराउने राजा हुन् । यसबाट उनी बौद्ध धर्मका उप...

बडामहाराजा नागराज र बौद्ध धर्ममा उनको योगदान

कीर्तिखम्बमा उल्लेखित विवरण राजा नागराज र उनका उत्तराधिकारीहरुका सम्बन्धमा हो । तिब्बती श्रोतहरुले पनि यही विवरण प्रस्तु...

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति चोरी हुनु धेरै दुःखदायी हो । झिल्के बनाएर यसको सत्यानाश नै गरिदिनु थप दुःखदायी हो । मूर्तिचोरीमा संलग्न हुनेहरु न...

नेवार समाजमा पाहाँचःह्रे चाड

नेवार समाजमा पाहाँचःह्रे चाड

विभिन्न जातीय समुदायको सांस्कृतिक जीवनको अध्ययन गर्दा एउटा समानता के देखिन्छ भने, वर्षभरिमा जेजति चाड पर्व मनाएपनि त्यसम...

नरेश श्रेष्ठ र फोटोग्राफी

नरेश श्रेष्ठ र फोटोग्राफी

अनेकौं पहिचानहरुको भीडमा एउटा पहिचान हो, फोटोग्राफर नरेश श्रेष्ठ । र, उनको फोटोग्राफी । बहीखाता राखेजस्तै उनी कतिपय ऐतिह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्