कवि भानुभक्तले नदेखेको काठमाडौं, मेयर हर्क साम्पाङले देखेपछि
तनहुँको चुम्दीरम्घा गाउँमा जन्मेका भानुभक्तको बाल्यकाल उतै गाउँघरमा बित्यो । शिक्षादीक्षा पनि उतै पाए । सरकारी सेवामा लागेका कर्मचारी उनी बही बुझाउन पहिलो पल्ट काठमाडौं आउँदा उनले काठमाडौंलाई अत्यन्तै सुन्दर नगरका रूपमा पाए । काठमाडौंको वर्णन गर्दै कवि हृदयले यसलाई स्वर्गको अलकापुरीसँग तुलना गरे ।
तर खोटाङको गार्तम्छा (कपिलासगढी गाउँपालिका)मा जन्मे हुर्केर धरान उपमहानगरपालिकाको मेयर पदमा पदवहाली गरेर काठमाडौं आएका हर्क साम्पाङले भने काठमाडौंलाई अलकापुरीका रूपमा देख्न पाएनन् । काठमाडौंको रूप फेरिसकेको थियो । जताततै अस्तव्यस्त देखिन्छ । उनी काठमाडौं आएको बेला फोहर फाल्ने डम्पिङ साइटको विवादले फोहर उठ्न नसकेर ठाउँ ठाउँमा थुप्रिरहेको थियो । यसले दुर्गन्ध पनि फैलिएर बटुवाहरूलाई हैरान पारिराखेको थियो । हर्क साम्पाङ काठमाडौंमा आउनु र फोहरको यो समस्या हुनु काकताली होइन, काठमाडौंको यो नियमित समस्या हो । दशकौं अघिदेखि फोहरको राजनीति चल्दै आइरहेको छ । काठमाडौं देखेर दिक्क लाग्नु स्वाभाविक हो र यो दिकदारीलाई उनले सामाजिक संजालमा लेखेपछि बढेको चर्काचर्की, व्यङ्ग्य वा बहस सेलाएको पनि बर्षदिनभन्दा बढी नै भइसकेको छ ।सन्दर्भ नै सेलाइसकेको अवस्थामा पनि त्यो कुराको संस्मरण गर्नु यो ताक्कालिक कुरा मात्र नभएर काठमाडौंको विगत र वर्तमान बुझ्ने एउटा महत्वपूर्ण कडी भएर हो ।

काठमाडौंको प्रशंसा गरेर अनेक शब्दश्रृङ्गार गर्नेहरूमा कवि भानुभक्त एक्लै थिएनन् । उनीअघि काठमाडौं आएका अनेकौं लेखक तथा विद्वानहरूले काठमाडौंको भरपूर मात्रामा गुणगान गरेका पाइन्छन् । यहाँको कलाकौशल तथा सुन्दरताको प्रशंसा सातौ शताब्दीमा आएका चिनियाँ राजदूत वाङ हुयन्चेले जुन रूपमा गरेका पाइन्छ, यस्तै प्रशंसा सयौं वर्षपछि आएका अन्य पश्चिमा यात्रीहरूले पनि गरेको पाइन्छ । कवि कुनु शर्माको काव्यात्मक प्रशंसा बेजोडको छ । उनले मुख्यतः पाटन राज्यको दरवार, त्यसमा पनि सुन्दरी चोकको वर्णन बजोड ढंगले गरेका छन् । गोरखाका राजा पृथ्वीनारायण शाह नै पनि काठमाडौंको सुन्दरतादेखि मन्त्रमुग्ध भएका थिए र राज्य विस्तारको क्रममा उनले राजधानी नै काठमाडौंमा सारे । उनको भनिएको दिव्योपदेश ग्रन्थमा काठमाडौंको प्रशंसा मात्रै पाइँदैन, बरु यसको संरक्षण र प्रवद्र्धन गर्ने उपायहरू पनि सुझाएका छन् । मनोरञ्जनका लागि बाहिरबाट नाच्न गाउनेहरू ल्याउनु नपर्ने, काठमाडौंकै राम्रो भएको र मनोरञ्जनका लागि काठमाडौंकै कलाकारहरूलाई प्रयोग गरे देशको धन बाहिर नजाने र भित्री कुरा पनि गोप्य नै रहने भनेका थिए । जमिनको उपयोग जमिनअनुसार गर्नुपर्दछ अर्थात् खेती लाग्ने जमिनमा बस्ती नबसाल्ने बस्ती बसिसकेको रहेछ भने पनि बस्ती अन्यत्र सारेर खेती लगाउने उपदेशले काठमाडौंको दीगो विकासलाई जोड दिएको पाइन्छ । भानुभक्तभन्दा पछि पनि काठमाडौं खासै बिग्रेको भन्न मिल्दैन तर २००७ सालपछि विस्तारै बिग्रन थालेर २०५० सालपछि भने द्रूतत्तर गतिमा नै बिग्रन थाल्यो ।
अवसरको खोजीमा रहेकाहरूका लागि काठमाडौं करीव दुई हजार वर्षअघिदेखि एक प्रकारले गन्तव्य रहँदै आएको कुरा अनेक ऐतिहासिक श्रोतबाट बुझिन्छ । काठमाडौंको विकास यहीँका रैथाने र अवसरको खोजीमा आएकाहरूको मेहनतबाट भएको हो । ती मेहनतीहरू काठमाडौंलाई यति माया गर्दथे कि, काठमाडौंलाई नै आत्मसात गरेर रैथाने भएर गए । आफ्नो गाउँ ठाउँ फर्केकाहरू पनि काठमाडौंको कला शिल्प तथा वैभवलाई साथमा लिएर गए । काठमाडौंकै रैथानेहरू पनि यताउता जाने क्रममा यहाँको कलाकौशल तथा वाणिज्य व्यापारलाई अन्यत्र फैलाए । काठमाडौं उपत्यकाबाहिर अन्य राज्यहरू आफ्नो वाणिज्य व्यापार, निर्माण तथा कलाकौशलको विकास गर्न काठमाडौं उपत्यकाका राज्यहरूसँग सम्बन्ध बढाउने र यहाँका नेवारहरूलाई प्रसस्त सुविधा दिएर आमन्त्रण गरी लैजाने गरेको गोरखा, कास्कीलगायतको इतिहासबाट थाहा पाइन्छ । यहाँका कलाकारहरू तत्कालीन लो (मुस्ताङ), डोल्पालगायतका क्षेत्रमा निकै लोकप्रिय रहेको कुरा त्यताको वस्तुस्थितिबाट थाहा हुन्छ । नेवार कलाकार अरनिको यस्तै निर्माणका लागि कलाकारहरूको ठूलो दलबलका साथ तिब्बत पुगेको र तिब्बतबाटै बेइजिङमा कुब्लाई खाँको दरवारमा पुगेको इतिहास प्रसिद्ध छ । विकास निर्माण तथा कलाकौशलका लागि तत्कालिन नेपाल वा काठमाडौं उपत्यका प्रसिद्ध रहेको इतिहासको यो सुन्दरतम् पक्षलाई निरन्तरता दिन नसक्नु नेपालको इतिहासमा एउटा ठुलै दुर्घटना हो ।
नेपालले विकास निर्माणका कामहरू सन्तुलित ढंगले गर्न नसक्दाको परिणाम हो, देशैभरबाट नेपालीहरू काठमाडौंमा ओइरिनु । राज्य संचालनमा राजकीय पद पाएका राज्यप्रमुखहरूको ध्याउन्ना राज्यको समृद्धिमा भन्दा व्यक्तिगत ऐशआराम तथा षड्यन्त्रमा लिप्त भएको पाइन्छ भने राज्यअधिकारीकहरू पनि विचलित भएको पाइन्छ । नीति निर्माण तहमा पुग्नेहरू पनि दूरदृष्टिका भएनन् । राजधानी काठमाडौंभन्दा बाहिर पनि नेपाल छ भन्ने कुरा बुझ्न सकेनन् वा बुझ्न चाहेनन् । यद्यपि नीति निर्माण तहमा पुगेकाहरू काठमाडौंबाहिरबाटै आएका हुन् । काठमाडौं पुगेर काठमाडौंमा नै भाँसिएकाहरूले आफ्नो गाउँठाउँलाई चटक्कै बिर्सिदिँदा विकास निर्माणका गतिविधिहरू काठमाडौं बाहिर हुनसकेन । सानो सानो कामका लागि पनि काठमाडौं नै धाउनु पर्ने भयो । शिक्षा, स्वास्थ्य, व्यापार व्यवसाय सबै क्षेत्रका लागि काठमाडौं पहिल्यैदेखि केन्द्र त थियो नै, यस्तै विकास आफ्नो ठाउँमा पनि हुनुपर्छ भन्ने भन्दा आफ्नो गाउँठाउँमा जस्तो सुकै भएपनि आफू काठमाडौंमै रमाउने र यहीँ भाँसिने सोच विकास हुन थाल्यो । तर काठमाडौंको वस्तुस्थितिलाई बुझ्न सकेन । जथाभावी कामकारवाही हुनथाल्दा अव्यवस्था सिर्जना हुनपुग्यो । यसले पहिल्यैदेखिको बनिबनाऊ प्रणालीमा पनि असर पर्न गयो ।
यी नीति निर्माणको तहमा पुगेकाहरूमा प्रमुख रूपमा दुई कमजोरी देखियो, पहिलो, काठमाडौंबाहेक आफ्नै गाउँठाउँको विकासमा पनि ध्यान नजानेहरूले अन्य दूरदराजको भूभागमा ध्यान दिने त कुरै भएर । दोस्रो, काठमाडौंलाई देख्ने आँखाले पनि काठमाडौंको स्थानियता, यहाँको मौलिकता तथा परम्परालाई पनि आत्मसात गर्न सकेनन् । काठमाडौंको रैथाने ज्ञान पूर्णतः उपेक्षित बन्न गयो । इतिहासलाई बुझ्नै सकेनन् ।
संघीय गणतन्त्रको स्थापनापछिकै कुरा गरौं, नेपालको जुनसुकै निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आएको जनप्रतिनिधि नै किन नहोस्, उसको ध्यान काठमाडौंको स्थानिय समस्यामा रहेको हुन्छ । स्थानिय समस्यामा नै अधिकांशको ध्यान जाँदा त्यसैको राजनीति हुनु पनि स्वाभाविक हो जसले गर्दा काठमाडौंकै विकास निर्माणका कामहरू प्रभावित हुन पुगेको छ । नेपाललाई सात प्रदेशमा बाँडेर नगर तथा गाउँ पालिकाहरूको व्यवस्था गरेपछि आआफ्नै ठाउँमा अवसरको सिर्जना हुन्छ र काठमाडौंमा बढेको अस्वाभाविक चाप घट्छ भन्ने मनसाय थियो तर असन्तुलित विकास र उचित व्यवस्थापनको कमीले गर्दा काठमाडौंको चाप घट्न सकेको छैन । अन्यत्र जनशक्तिको अभाव छ भने काठमाडौंमा प्रतिस्पर्धा बढी नै हुन्छ । यसरी नै काठमाडौंबाट विदेश पलायन हुने दर पनि बढ्दो छ ।
काठमाडौंको विकास निर्माणको काम पहिलाको तुलनामा बढेको त हो तर सन्तुलित र दीगो विकास भएन । कवि भानुभक्तले अलकापुरी नगरी देखेको काठमाडौंलाई धरानका मेयर हर्क साम्पाङले नर्कतुल्य देख्नुले समग्रमा काठमाडौं उपत्यका विकासतिर नभएर विनाशतिर लम्किरहेको देखिनु यथार्थ हो । कवि भानुभक्त आचार्य र धरानका मेयर हर्कराज साम्पाङ दुबैको बुझाई यथार्थपरक छ र यसलाई नै मानकको रूपमा लिई काठमाडौंको भूत र वर्तमानमाथि गम्न सकिन्छ ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment