कस्ताे छ राेबाेटले चलाएकाे चीन–सिंगापुर मितेरी पुस्तकालय ?
तपाईं चीन–सिंगापुर मितेरी पुस्तकालय जानुस्, तपाईंलाई स्वागत गर्न आइपुग्नेछन्, राेबाेटहरू । हाे, छातिमा कम्प्युटर बाेकेका राेबाेटहरूले तपाईंलाई चाहिने किताब छ, छैन, कहाँबाट, कसरी लिने सबै कुराकाे जानकारी गराउँछन् ।
आगन्तुकलाई स्वागत गर्दै पुस्तकालयको नक्सा, नयाँ पुस्तकको जानकारी र कार्यक्रमहरूको समय तालिका बुझाउने यी गाइड रोबोटहरू पुस्तकालयकाे लबीमा घुमिरहेका हुन्छन्। लाइब्रेरीका कर्मचारीका अनुसार यस्ता गाइड दस वटा छन् ।
साना साना बालबालिकादेखि ठूला ब्यक्तिसम्मले प्रयाेग गर्ने यस पुस्तकालयका गाइड राेबाेटहरूले बालबालिकाका लागि संवाद गर्ने, कथा सुनाउने र शैक्षिक खेलहरू उपलब्ध गराउने तथा अन्तरक्रिया गर्ने पनि गर्दछन् ।
चीन र सिंगापुरबीचको साझा परियोजना अन्तर्गत, यो पुस्तकालय चीनको तियांजिन सहरी विकास क्षेत्र—सिनो–सिंगापुर टियांजिन ईको–सिटीमा रहेकाे छ ।२०१८ सेप्टेम्बर २८ मा औपचारिक रूपमा उद्घाटन गरिएको यो संस्थाले दुवै देशबीचको दिगो विकास र सांस्कृतिक आदान–प्रदानको प्रतिबिम्ब प्रस्तुत गर्दछ।
चीन–सिंगापुर मितेरी पुस्तकालयकाे पाँच तल्ले भवन छ भने ३५ हजार वर्गमिटर क्षेत्रमा फैलिएको छ। भवनमा प्राकृतिक प्रकाशको व्यवस्था, हरित प्रविधि, आरामदायी पठन कक्ष र सामुदायिक कार्यक्रमका लागि खुला स्थान उपलब्ध छ।
नवप्रवर्तन र प्रविधि

यो पुस्तकालयको सबैभन्दा आकर्षक पक्ष भनेको स्मार्ट प्रविधिको व्यापक प्रयोग हो। पुस्तकालयभित्र पसेदेखि नै रोबोटहरूकाे सक्रियता ब्यापक देखिन्छ । तपाईंलाई स्वागत गर्ने मात्र हाेइन, पुस्तकहरू खोजेर ल्याउने स्वचालित रोबोट सहायकहरू पनि छन् ।
आगन्तुकलाई स्वागत गर्दै पुस्तकालयको नक्सा, नयाँ पुस्तकको जानकारी र कार्यक्रमहरूको समयतालिका बुझाउने गाइड रोबोटले एकातिर काम गरिरहेका हुन्छन् भने अर्काेतिर पाठक तथा विद्यार्थीले पढेर फिर्ता लिने काम पनि राेबाेटले नै गर्छन् ।
फिर्ता ल्याएकाे किताब मेशिनमा राख्नेबित्तिकै त्यसलाई स्कयान गरेर, दुरुस्त छ छैन हेरेर मात्र किताब फिर्ता लिने नलिने निर्णय राेबाेटले गर्छ । स्वीकार गरिएका किताब पनि साना साना राेबाेटहरूले विषयवस्तुअनुसार छुट्टाछुट्टै अर्को राेबाेटमा खसाल्छन् । यी साना राेबाेटले एक घण्टामा एक हजार पाँच सय किताब छुट्याउने क्षमता राख्दछ । ती खसालिएका किताबलाई पुस्तकालय काेठामा लैजाने तथा विषयवस्तुअनुसार राखनधरन गर्ने काम फेरि अर्को राेबाेटले गर्छ ।
पढेकाे किताब फिर्ता गर्दै एक पाठक ।
बालबालिकाकासँग संवाद गर्ने, कथा सुनाउने र शैक्षिक खेलहरू उपलब्ध गराउने इंटरएक्टिभ रोबोट त छँदै छ, पुस्तक व्यवस्थापन, पुनःर्याकेिङ र सफाइमा सहयोग गर्ने सबै काम रोबोटबाटै हुन्छ। यी रोबोटहरूले मानवीय कर्मचारीको काम हल्का बनाउँदै पुस्तकालयलाई २४ घण्टा सुचारु र सफा राख्नमा योगदान पुर्याएका छन्।
समुदायकाे योगदानमा पुस्तकालयमा शैक्षिक र सांस्कृतिक कार्यक्रमहरू पनि संचालित हुन्छ भने बालबालिकादेखि वयोवृद्धसम्मका लागि तालिम, प्रदर्शनी र छलफल सत्रहरू पनि सञ्चालन हुन्छन् ।
लोकप्रियता र भविष्य
‘सिकु शान्शु’ जस्ता दुर्लभ ग्रन्थ, ऐतिहासिक दस्तावेज र बहुभाषिक साहित्यहरू पनि पुस्तकालयमा उपलब्ध हुनुले पनि पुस्तकालयकाे महत्त्वलाई दर्साउँछ।
उद्घाटनको समयमै ३.५ लाख पुस्तकहरूको संग्रह; दीर्घकालमा १५ लाख पुस्तक र १० लाखभन्दा बढी दस्तावेज भण्डारणको लक्ष्य पुस्तकालयले राखेकाे छ।
सांस्कृतिक, उद्योग क्षेत्र तथा प्रविधिक केन्द्रका रूपमा मात्र तियाञ्जिन परिचित हाेइन, याे शहर अन्तर्राष्ट्रिय रूपमा समेत चिनिँदै गएको छ।
चीन–सिंगापुर मित्रता पुस्तकालय केवल किताब पढ्ने ठाउँ होइन—यो एक स्मार्ट, हरित र बहुसांस्कृतिक केन्द्र हो, जहाँ रोबोट र प्रविधिले मानवीय सिर्जनशीलतालाई थप उचाइमा पुर्याएका छन्। यसको उदाहरणले भविष्यका पुस्तकालयहरूको स्वरूप कस्तो हुन सक्छ भन्ने स्पष्ट देखाउँछ।
( चीनबाट फर्केर । )
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment