जोमसोममा आजदेखि ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’
जोमसोम, भदौ ३० । हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा आजदेखि दुईदिने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन, २०८३’ सुरु भएकाे छ। घरपझोङ गाउँपालिकाको अगुवाइमा गण्डकी प्रदेश सरकार, विभिन्न स्थानीय तह, अन्नपूर्ण संरक्षण क्षेत्र तथा अन्य निकायको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको हो।
सम्मेलनमा देशभरका स्थानीय तह तथा जिल्ला समन्वय समितिका प्रतिनिधिको सहभागिता रहनेछ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतका अनुसार सम्मेलनमा सहभागिताका लागि ७५३ वटै स्थानीय तहलाई पत्राचार गरिएकोमा आइतबारसम्म ४२० स्थानीय तहले सहभागिता जनाउने प्रतिबद्धता जनाएका छन्। ३६ वटा जिल्ला समन्वय समितिका तर्फबाट पनि सम्मेलनमा सहभागिता हुनेछ।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम र त्यसको स्थानीयस्तरमा परेको प्रभावलाई सम्मेलनको प्रमुख विषय बनाइएको छ। विश्वव्यापी रूपमा तापक्रम वृद्धि भइरहँदा हिमाल पग्लिने, हिमताल फुट्ने, हिमनदीमा परिवर्तन आउने तथा पानीका मुहान सुक्ने र मौसममा अप्रत्याशित परिवर्तन हुने क्रम बढिरहेको भन्दै सम्मेलनले यस्ता समस्याबारे छलफल गर्नेछ।
सम्मेलनको पूर्वसन्ध्यामा प्रधानमन्त्री वालेन्द्र शाहले शुभकामना सन्देश दिँदै जलवायु परिवर्तनका कारण स्थानीय जनजीवन, कृषि र जैविक विविधतामा समेत ठूलो असर पर्न थालेको बताएका छन्। उनले जलवायु परिवर्तनका असर सामना गर्न संघ, प्रदेश र स्थानीय तहबीच बलियो सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले जलवायु परिवर्तनबाट हुने असर न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी भएको उल्लेख गर्दै नेपालले जलवायु परिवर्तनका कारण बेहोर्नुपरेको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्ने बताएका छन्। उनका अनुसार जोमसोममा हुने सम्मेलनले नेपालको हिमाली, पहाडी र तराई क्षेत्रमा जलवायु परिवर्तनले पारिरहेको गम्भीर असरबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने अपेक्षा गरिएको छ।
सम्मेलनबाट जारी हुने ‘जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणापत्र, २०८३’ मार्फत स्थानीय तहको एकीकृत आवाजलाई विश्वसामु पुर्याउने तथा जलवायु वित्तमा नेपालको पहुँच स्थापित गर्न र जलवायु न्यायको मार्ग प्रशस्त गर्न भूमिका खेल्ने विश्वास प्रधानमन्त्रीले व्यक्त गरेका छन्।
घरपझोङ गाउँपालिकाले सम्मेलनलाई हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम, स्थानीय समुदायको समस्या तथा अनुकूलनका उपायबारे साझा धारणा निर्माण गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ। सम्मेलनमा स्थानीय तहको अनुभव र प्राथमिकताका आधारमा जलवायु परिवर्तनसँग जुध्ने उपायबारे छलफल हुने आयोजकले जनाएको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment