भोटेकोशी–त्रिशूली बाढीपीडित बालबालिकालाई अनुमति विना संरक्षणमा राख्न नपाइने
काठमाडौँ, भदौ १४ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी र त्रिशूली बाढीमा आफन्त गुमाएका तथा प्रभावित बालबालिकालाई अनुमति बिना व्यक्तिगत वा संस्थागत संरक्षणमा राख्न तथा ओसारपसार गर्न नपाइने सूचना जारी गरेको छ ।
बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका बालबालिका प्रभावित भएका छन् । उनीहरूमध्ये आमाबाबु वा संरक्षक गुमाएका, बेपत्ता भएका वा आफैँ घाइते भएका बालबालिकाको संरक्षणबारे परिषद्ले हिजाे शनिबार अत्यन्त जरुरी सूचना जारी गरेको हो ।
परिषद्का अनुसार यस्ता बालबालिकालाई सम्बन्धित स्थानीय बाल अधिकार समितिको निर्णय र बाल कल्याण अधिकारीको सिफारिसबिना कुनै पनि संस्थाले बालगृह वा संरक्षण केन्द्रमा राख्न पाउने छैन । स्थानीय तहले नै परिवारका अन्य सदस्य वा नातेदारकहाँ राखेर राहत, उपचार, मनोसामाजिक परामर्शलगायतको व्यवस्था गर्नुपर्ने परिष्दले जनाएको छ ।
स्थानीय तहभित्र त्यसो गर्न नसकिए मात्र परिषद्मा सिफारिस पठाउनुपर्ने र त्यसपछि मात्र सूचीकृत संस्थामा संरक्षण सेवाको प्रबन्ध मिलाइने परिषद्को भनाइ छ ।
परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले जारी गरेको सूचनामा नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन २०७५ र नियमावली २०७८ को मापदण्डविपरीतका क्रियाकलाप नगर्न आग्रह गरिएको छ ।
बालबालिकाको सर्वोत्तम हितलाई मध्यनजर गर्दै उक्त निर्देशनको पालना गर्न सम्बन्धित निकाय, संस्था र व्यक्तिहरूलाई अनुरोध गरिएको छ ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment