१३ असोज २०८३, मंगलबार

नेपालभाषा साहित्यमा महाकवि सिद्धिदास अमात्यको स्थान


अ
अ+
अ-
⠿ drag

नेपालभाषा साहित्य क्षेत्रका लेखक, कवि, कलाकार तथा भाषासेवीहरू प्रत्येक वर्ष यँलागा द्वितीयाको दिन विहान एक ठाउँमा भेला हुन्छन्, नेपालभाषाका महाकवि सिद्धिदास अमात्यको ठूलो तस्वीर अघिअघि राख्दै ‘नसंचा उलेगु’ भन्दै प्रभातफेरिका लागि निस्कन्छन् । यति बेला उनीहरू गाउँछन्, ‘‘थौंया दिन कविगुरु सिद्धिदास बूगु रे, नेपाःमिया सरगतय् ह्याउँगु सुर्य लूगु रे ... ।’’

कविवर दुर्गालाल श्रेष्ठद्वारा रचित यस गीतमा महाकवि सिद्धिदास अमात्यको बखान मात्रै गरिएको छैन, नेवार र नेवार भाषाको दमनमा लागेको राज्यशक्तिविरुद्ध खेदो पनि खनिएको छ । तत्कालीन परिस्थितिलाई उदाङ्गो पारिएको छ । हो, उनै सिद्धिदासको जन्म नेपालसम्बत ९८७ यँलागा द्वितीया अर्थात असोज १ गते  (वि.सं. १९२४) पिता लक्ष्मीनारायण र माता हर्षलक्ष्मीको सुपुत्रका रुपमा काठमाडौंको केलटोलमा भएको थियो र बैसठ्ठी वर्षको उमेरमा वि.सं. १९८६ पौष १५ गतेका दिन निधन भएको थियो । 

सिद्धिदासको समय भन्नु राणाकाल थियो । नेवार सभ्यताको भाषा र साहित्य यो समयमा राज्यबाट कोप भाजन भइसकेको थियो । कुनै बेला राजकीय संरक्षण प्राप्त यो भाषाको साहित्य यति बेला उपेक्षित थियो । नेवारले आपसमा बोल्न त पाउँथे तर सरकारी कामकाजमा लेख्न नपाइने राजकीय उर्दी जारी भइसकेको थियो । यो भाषामा शिक्षा प्राप्त गर्न पनि पाइँदैनथ्यो । शिक्षा नै शासक र शासक वर्गका आसेपासेका छोराछोरीमा सीमित भएको समयमा देश दुनियाँको रैतीको मातृभाषामा शिक्षा प्राप्त गर्न पाउनु त असम्भव नै थियो । उपेक्षित नेपालभाषामा साहित्य सिर्जना झन् उपेक्षित हुनु स्वाभाविक हो । नेपाली भाषामा साहित्यिक गतिविधि बढ्दो थियो । सिद्धिदासको टोलभन्दा केही पर हिडेर दशै मिनेटमा पुग्ने भोसिको टोलमा मोतिराम भट्ट थिए, बनारसमा बसी साहित्यिक गतिविधिमा लागिरहेका । कहिले काहीँ काठमाडौं आउँदा उनी आकर्षणको केन्द्र हुन्थे किनभने साहित्य र शास्त्रको राजधानी भनेजस्तो चम्केको बनारसमा बसी उनी नेपाली तथा अन्य भाषाको साहित्यिक गतिविधिमा लागिरहेका थिए । उनै मोतिरामले नेपाली भाषाका आदिकवि आदिकवि भानुभक्त आचार्यको रामायण प्रकाशनमा ल्याइसकेको थिए । उक्त रामायण सिद्धिदासको हात प¥यो । कवि चक्रपाणी चालिसेसँग सम्बन्ध बढ्यो । गोपीनाथ लोहनीलगायत अन्य कविहरूसँगको संगतले सिद्धिदासमा पनि कवि हुने हुटहुटी बढ्न थाल्यो । उनी दोहा चौपाईमा लेख्न जान्थे र लेख्थे पनि । आफूले लेखेका कविताहरू चक्रपाणीलाई सुनाउँथे र सल्लाह माग्थे । कवि हुनका लागि दोहा चौपाईले मात्रै पुग्दैन भनी छन्दहरू पनि सिकाइ दिए । ती छन्दहरूमा कविता लेख्ने अभ्यासलाई तीब्रता दिए । उनको अभ्यासदेखि चक्रपाणी चासिले खुसी भएको कुरा कविश्रेष्ठ भनी प्रशंसा गरेबाट बुझिन्छ । यसरी नै सिद्धिदासले पनि उनलाई कविगुरु भनेर मान दिएको पाइन्छ । 

⠿ drag

सिद्धिदास भन्दा केही सय वर्षअघि नै नेपालभाषामा रामायणको अनुवाद भइसकेको थियो । भक्तपुर राज्यका एक भारदार दुखीराम भारोले यो अनुवाद कार्य गरेका थिए । संभवतः यो जानकारी सिद्धिदासमा थिएन । उनी भानुभक्तको रामायणमा डुब्दै गए र त्यसलाई नेपालभाषामा अनुवाद पनि गर्दै गए । सुरुमा उनलाई केही गारो त भएको थियो तर केही समयपछि सहज हुँदै गयो । यसलाई भानुभक्त रामायणकै अनुवाद भनिहाल्न पनि अप्ठेरो छ, ठ्याक्कै अनुवाद भएको पाइँदैन, मौलिकता पनि झल्किन्छ तसर्थ भानुभक्त रामायणको आधारमा नेपालभाषामा लेखिएको रामायण भन्न सकिन्छ । यस रामायणलाई उनले सिद्धिरामायण नाम दिएको राखेका छन् । 

बाबु लक्ष्मीनारायण व्यापारका लागि काठमाडौं केलटोलतिर आएका थिए र यतै स्थायी बसोवास हुन पुग्यो । बाबुको इच्छा होला वा सपना देखेको होला, छोराले व्यापारको आकारलाई बढाउला । छोराको लेखपढ राम्रै थियो, भनेको कुरा मान्थ्यो पनि । छोरालाई लिएर भारतको कलकत्ता सहर घुम्न निस्केका थिए र छोरालाई त्यहाँबाट केही किताब पनि किनिदिएका थिए । बाबुको पसलमा बसिदिने पनि गर्दथे । तर पसलमा बस्दाबस्दै उनी कविता लेख्न थाल्थे । साथीभाईलाई भेला पारेर कविता सुनाउँथे पनि । सुरु सुरुमा त छोराको कविता प्रेम देखेर बाबु खुसी पनि हुन्थे । तर पछि पछिल्ला दिनहरू बाबुबाट गाली पाउन थाले । उनी भने मातृभाषामा कविता लेख्न र मातृभाषाको काव्यभण्डारमा काव्यहरू थप्न पाएरै प्रफुल्लित हुन्थे । 

मोतिलाल भन्ने एक जना साथी थिए, कविताबारे घन्टौं छलफल गरेर बस्थे । दुई जना मिलेर एउटा हिन्दू भाषाको एउटा काव्य अनुवाद गर्ने योजना पनि बनाएका थिए । तर साथी काठमाडौंबाट बाहिर गएको र कहिल्यै नफर्केकाले अनुवाद कार्य हुन पाएन । उनी काव्य रचनामा तल्लिन हुँदै गए । तर यसै बीच बाबुको व्यापार बिग्रियो । बाबुको मृत्यु पनि भयो । यस अवस्थामा घर सम्हाल्ने जिम्मा सिद्धिदासकै थाप्लोमा आइप¥यो । यसका लागि उनी यताउता काममा जान थाले । सरकारी अड्डामा पनि काम गर्न गए तर दरवारमा हुने घटनाहरूले पनि कर्मचारीको जागीर जान्थ्यो र गयो पनि । उनी कामकै सिलसिलामा बीरगंज पुगे । त्यहाँ बस्दाबस्दै बेतियामा गई ‘सज्जनहृदयाभरण’ नामक सानो काव्यकृति छपाएर ल्याए । सिद्धिदासको जीवनमा प्रकाशित यही एउटा कृति थियो । यद्यपि उनीबाट ४४ वटा कृतिको रचना भएको मानिन्छ । 

एक समय उनी कमलाछिस्थित भूधरानन्द वैद्यको पसलमा औषधि कुट्ने काम गर्न पनि पुगेका थिए । यो दरवार हाईस्कूलको ठिक पछाडि पर्दछ । स्कूल आउने विद्यार्थीहरूमा सिद्धिचरण श्रेष्ठ तथा उनका साथीहरू सिद्धिदासकहाँ पुग्थे र उनीहरूलाई कविता सुनाएर बस्थे । सिद्धिचरण श्रेष्ठलाई मातृभाषामा कविता लेख्ने प्रेरणा सिद्धिदासबाटै प्राप्त भएको थियो भनिन्छ ।  

सिद्धिदासका कृतिहरूको एउटा विशेषता छ, सबै कृतिको नाम स अक्षरबाट सुरु हुन्छ । उदाहरणका लागि सज्जनहृदयाभरण, सिद्धिरामायण, सत्यसति, सरल श्रुतबोध, शारदा भजन, सुखदुःख, साधारण धर्म, सर्वभक्ति, सतनीति, संवाद, सनातन धर्म, समाचार, सर्वकर्म, सत्यमदन, शिवविलास, सर्वबन्धु, सिद्धिव्याकरण आदि । 
नेपालभाषा साहित्यको इतिहासलाई विभिन्न कालखण्डमा विभाजन गरिएको छ । सिद्धिदास अमात्यलाई पुनर्जागरणकालका प्रमुख व्यक्तित्वका रुपमा मूल्याङ्कन गरिएको छ । त्यस कालमा अन्य व्यक्तित्वहरूमा निष्ठानन्द बज्राचार्य, जगतसुन्दर मल्ल, र योगवीरसिं कंसाकार थिए । यी चार जनाको योगदान चार भिन्नाभिन्नै क्षेत्रमा थियो र त्यसमा सबैभन्दा जेठा पनि सिद्धिदास नै थिए । यी चार जनालाई चार खम्बाको रुपमा लिइन्छ । 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

अन्य लेखहरू: बसन्त महर्जन

यस लेखकका अन्य रोचक लेखहरू
नेवारको सन्दर्भमा किराँतको प्रसङ्ग

नेवारको सन्दर्भमा किराँतको प्रसङ्ग

काठमाडौं उपत्यका वा नेवारको इतिहासमाथि चर्चा गर्दा किरातको प्रसङ पनि सँगसँगै आउँछ । किराँतलाई उपेक्षा गरेर नेवार इतिहासल...

‘सम्हय् बजि’ को सांस्कृतिक तथा दार्शनिक अर्थ

‘सम्हय् बजि’ को सांस्कृतिक तथा दार्शनिक अर्थ

नेवार समाजमा प्रचलित ‘सम्हय् बजि’लाई विभिन्न परिकारसहितको नेवार खाजा सेट भन्ने अर्थमा मात्र बुझ्नु वास्तवमा यसबारे केही ...

यँयाः (इन्द्रजात्रा)को कथामा इतिहासको खोजी

यँयाः (इन्द्रजात्रा)को कथामा इतिहासको खोजी

प्रायः सोचिरहेको हुन्छु, इतिहास कसरी हराउँदै जान्छ र मिथकका रुपमा कथा कहानीहरू किन बढ्दै जान्छ ? हिन्दू धर्मका पुराणहरूम...

नेवाःले नेवारलाई गाली गर्न थालेपछि

नेवाःले नेवारलाई गाली गर्न थालेपछि

कतिपय नेवारलाई के लाग्छ भने, आफूहरु नेवाः हो, नेवाः नै भन्नुपर्छ । गैर......

इन्द्रजात्रा : प्राचीन यँयाःको अर्वाचीन नाम

इन्द्रजात्रा : प्राचीन यँयाःको अर्वाचीन नाम

इन्द्रजात्रा नाममा प्रसिद्ध सांस्कृतिक उत्सवलाई नेवार भाषामा यँयाः......

होस/बेहोस (लघुकथा)

होस/बेहोस (लघुकथा)

मदिरालयमा बडो मज्जाले मदिरापान गरेको थिएँ । त्यही भएर बाहिर निस्कँदा......

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्