विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड
काठमाडाैं, भदाै ४ । विपद् पूर्वतयारी सञ्जाल (डीपीनेट नेपाल) का अध्यक्ष बसन्त अधिकारीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि प्रविधिमैत्री नीति र पारदर्शी डाटा प्रणाली आवश्यक रहेको बताएका छन्।
ह्युम्यानिटेरियन ओपनस्ट्रिटम्याप टिम (हट), डीपीनेट नेपाल, इपिएफएल भिटा, इपिएफएल र नक्साको संयुक्त आयोजनामा सञ्चालित 'को-डिजाइन एण्ड क्यापासिटी बिल्डिङ: लोकलाइज्ड जियो-एआई फर पोस्ट-डिजास्टर लस एण्ड ड्यामेज एसेसमेन्ट' विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
अधिकारीले विपद्पछिको पुनरुत्थान र क्षति न्यूनीकरणका लागि रियल-टाइम डाटा र सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे। "विपद्पछिको अवस्थामा हुने गैर-आर्थिक क्षतिको मापन र व्यवस्थापन कसरी गर्ने भन्ने विषय अहिलेको मुख्य चुनौती हो," उनले भने, "नेपालमा हाल विद्यमान डाटा पोर्टल र मोडलहरूको प्रभावकारी कार्यान्वयन र सञ्चालनका बारेमा थप स्पष्टता आवश्यक छ।"
प्रविधि र साइन्स एण्ड टेकको प्रयोगमार्फत विपद् जोखिम न्यूनीकरणका सूचनाहरू सर्वसाधारणसम्म पुर्याउन युट्युब लगायतका खुला डिजिटल माध्यमहरूको प्रयोग भइरहेको जानकारी दिँदै अधिकारीले समाजलाई 'सोसाइटी ५.०' तर्फ लैजान प्रविधिमा आधारित इक्विटेबल, ट्रान्सपरेन्ट र ओपन-सोर्स मोडलहरू अपनाउनुपर्नेमा जोड दिए। उनले थपे, "नीतिगत तहमा काम गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। सरकार, गैरसरकारी संस्था (एनजीओ/आइएनजीओ) र नागरिक समाज मिलेर सहकार्य नगरेसम्म विपद् व्यवस्थापनका कार्यक्रमहरू पूर्ण रूपमा सफल हुँदैनन्।"
कार्यक्रममा काठमाडौँ युनिभर्सिटीका एआई विज्ञ तथा सफ्टवेयर इन्जिनियर सरोज दाहालले स्रोत व्यक्तिका रूपमा सहजीकरण गरेका थिए। उनले आर्टिफिसियल इन्टेलिजेन्सको इतिहास, अमेरिका, चीन र भारतमा यसको विकासक्रमका साथै जेनेरेटिभ एआई, एजेन्टिक एआई र लर्निङ/एडप्टिभ एआईका प्रकारहरूबारे जानकारी गराएका थिए। त्यसैगरी एप्लाइड एआई र कोर एआईबीचको फरक प्रष्ट पार्दै उनले एआई मोडलहरूलाई तालिम दिन डाटाको आवश्यकता पर्ने कुरामा जोड दिए।
तालिमका क्रममा सहभागीहरूलाई गुगल जेमिनी, जेमिनी नोटबुक, नोटबुकएलएम (अडियो, भिडियो, रिपोर्ट र टेक्स्ट विश्लेषणका लागि) तथा गुगल फ्लो भिडियो जस्ता अत्याधुनिक औजारहरूको प्रयोगबारे व्यावहारिक अभ्यास गराइएको थियो।
आज र भाेलिसम्म सञ्चालन हुने कार्यक्रममा सहभागीहरूले विपद्पछिको क्षति तथा नोक्सानी मूल्याङ्कनमा स्थानीयकृत जियो-एआई (Geo-AI) को प्रयोग, क्षमता अभिवृद्धि र प्रविधिको प्रभावकारी कार्यान्वयनका विषयमा गहन छलफल र अभ्यास गरिरहेका छन्।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment