शिक्षालय र कर्मचारीतन्त्रमा दलगत प्रभाव अन्त्य गर्न पहल, अध्यादेशमार्फत सुधार गरिने
काठमाडौं, वैशाख २२ । प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रमा देखिएको दलगत प्रभाव हटाउने उद्देश्यसहित सरकारले ठोस कदम अघि बढाएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले वर्षौंदेखि विद्यार्थी संगठन र कर्मचारीतन्त्र दलगत स्वार्थका “स्लिपर सेल” का रूपमा प्रयोग हुँदै आएको टिप्पणी गरेका छन्। उनले योग्यता र क्षमताभन्दा पहुँच र राजनीतिक झण्डाको मूल्य बढाइँदा प्रणालीप्रति जनविश्वास कमजोर बनेको उल्लेख गरेका छन्।
प्रधानमन्त्रीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने विषय संगठन बनाउन नसकेर होइन, दीर्घकालीन सुधारका लागि अघि सारेको हो। “अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ,” उनले उल्लेख गरेका छन्।
सरकारले अब शिक्षालयमा दलको झण्डा र कर्मचारीतन्त्रमा दलगत झोला निषेध गर्ने स्पष्ट नीति लिएको जनाइएको छ। यसले अधिकार नखोस्ने बरु पेशागत स्वतन्त्रता सुदृढ गर्ने विश्वास प्रधानमन्त्रीले व्यक्त गरेका छन्।
उनले नियुक्ति, सरुवा र बढुवामा अब दलगत निकटताभन्दा विधि, क्षमता र दक्षतालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। साथै विद्यार्थीले राजनीति सिक्दा सभ्य, जिम्मेवार र विचारशील राजनीति सिक्नुपर्ने तथा कर्मचारीले जनताको सेवा गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्री शाहले यो कदम कुनै पार्टीविरुद्ध नभई प्रणाली सुधार र संस्थागत विकासका लागि भएको स्पष्ट पार्दै अध्यादेशमार्फत यस्ता विकृतिहरू हटाउने प्रयास गरिएको बताएका छन्।
“परिवर्तन भाषणले होइन, निर्णयले आउँछ,” भन्दै उनले सरकार जनचाहनाअनुसार काम गरिरहेको दाबी गरेका छन्। साथै सुधार अभियान सफल बनाउन सबैको साथ र विश्वास आवश्यक रहेको उनले बताएका छन्। उनले अगाडि लेखेका छन्, "तपाईंहरु ढुक्क हुनुस, हामी जे गर्छौ आम नेपाली जनताकै हितमा गर्छौ ।"
उनले अर्को एउटा पाेष्टमा भ्रष्टाचारविरुद्ध कठोर अडान राख्दै सार्वजनिक रूपमै चेतावनी दिएका छन्। पशुपतिनाथको कसम खाँदै उनले भने, “यो कुर्सीमा म भ्रष्टाचारीको रक्षा गर्न वा कसैको चाकडी गर्न बसेको होइन।”
उनले भ्रष्टाचारीहरूलाई कानुनबाट उन्मुक्ति नदिने प्रतिबद्धता जनाउँदै भने, “भ्रष्टाचारीहरूले जनताको पसिनाको कमाईमाथि राजाइँ गरेको दृश्य हेरेर बस्न म जन्मिँदै जन्मेको थिइनँ।” आफूलाई कसैको पावर, दल वा पहुँचवालाको दबाबले नगलाउने बताउँदै उनले थपे, “जतिसुकै शक्तिशाली किन नहोस्, कानुनको फन्दामा ऊ नपरी अब यो देहमा कसैले उन्मुक्ति पाउँदैन।”
उनले भ्रष्टाचारीलाई जेलबाहेक अर्को विकल्प नरहेको चेतावनी दिएका छन्।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment