इरानद्वारा चौतर्फी आक्रमण, अमेरिकाले १४ देशबाट नागरिक फिर्ता गर्न आदेश
काठमाडौं, फागुन १९ । इरानले इजरायल र अमेरिकी सेना लक्षित चौतर्फी आक्रमण तीव्र पारेपछि अमेरिकाले मध्यपूर्वका १४ देशमा रहेका आफ्ना नागरिकलाई तत्काल स्वदेश फर्किन आदेश दिएको छ। अमेरिकी विदेश मन्त्रालयले ‘गम्भीर सुरक्षा जोखिम’लाई उद्धृत गर्दै व्यावसायिक उडानमार्फत तुरुन्तै मध्यपूर्व छाड्न आग्रह गरेको हो ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र कन्सुलर मामिला सहायक सचिव मोरा नामदारले सामाजिक सञ्जाल एक्स (पूर्वको ट्विटर) मार्फत नागरिकलाई तत्काल फर्कन निर्देशन दिएका छन्। उनीहरूले आवश्यक सहायताका लागि सम्पर्क नम्बरहरू समेत सार्वजनिक गरेका छन् ।
यो आदेश अन्तर्गत पर्ने देशहरूमा इरान, इराक, बहराइन, कुवेत, इजरायल (पश्चिमी किनार र गाजा सहित), साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार, ओमान, इजिप्ट, लेबनान, जोर्डन, सिरिया र यमन रहेका छन् । यो सूचीमा १४ वटा देश र क्षेत्रहरू उल्लेख गरिएको छ ।
इरानले मंगलबार बिहान युएईमा क्षेप्यास्त्र आक्रमणको ‘तेस्रो लहर’ चलाएको युएईको रक्षा मन्त्रालयले जनाएको छ । यसअघि आइतबर र सोमबार अमेरिकी दूतावासमाथि समेत आक्रमण भएको थियो। रियादस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण हुँदा आगलागी भएको र कुवेतस्थित अमेरिकी दूतावास पनि आक्रमणको निसाना बनेको थियो । रियाद, जेद्दा र दाहरानमा रहेका अमेरिकी नागरिकलाई तुरुन्तै सुरक्षित स्थानमा बस्न भनिएको छ ।
अमेरिकाले पनि इरानविरुद्धको आक्रमण तीव्र पार्ने चेतावनी दिएको छ। एक वरिष्ठ अमेरिकी अधिकारीले सीएनएनलाई दिएको जानकारीअनुसार, अमेरिका २४ घण्टाभित्र इरानमाथि ‘उल्लेखनीय रूपमा आक्रमण बढाउने’ तयारीमा छ। त्यसको अर्को चरणमा इरानको क्षेप्यास्त्र उत्पादन केन्द्र, ड्रोन क्षमता र नौसेना सम्पत्ति ध्वस्त पार्ने केन्द्रित हुनेछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आक्रमण थप तीव्र हुने संकेत गरेका छन्। सञ्चार माध्यमसँगको कुराकानीमा उनले भनेका छन्, “हामीले अहिलेसम्म हाम्रो शक्तिशाली आक्रमण सुरु गरेका छैनौं। ठूलो लहर अझै आउन बाँकी छ। ठूलो लहर चाँडै आउनेछ” ।
यसैबीच, मध्यपूर्वमा जारी द्वन्द्वमा अहिलेसम्म ६ जना अमेरिकी सैनिक मारिएको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले जनाएको छ। इरानको आक्रमणमा परी अमेरिकी सैनिक घाइते समेत भएका छन् । यो द्वन्द्व फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानका सैन्य केन्द्रहरूमा गरेको आक्रमणपछि सुरु भएको हो, जसमा इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामेनी मारिएका थिए ।
एजेन्सीहरूकाे सहयाेगमा
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment