हरित हाइड्रोजनलाई रासायनिक मल उत्पादनसँग जोड्न मन्त्री चौधरीको जोड
काठमाडौं, असोज २१। हरित हाइड्रोजनको विकासलाई स्वदेशमै रासायनिक मल उत्पादनसँग जोडेर अघि बढाउनुपर्नेमा कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले जोड दिएकी छन्। उनले हरित हाइड्रोजन र स्वदेशमै रासायनिक मल उत्पादनलाई नेपालको महत्वपूर्ण प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताएकी हुन्।
कृषि, वन तथा पर्यावरण मन्त्रालयमा ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट (जीजीजीआई) का नेपाल तथा पाकिस्तानका कन्ट्री रिप्रिजेन्टेटिभ लाउरा जलासजोकीसहितको प्रतिनिधिमण्डलसँग भएको छलफलमा मन्त्री चौधरीले हरित विकास, जलवायु वित्त, हरित हाइड्रोजन तथा जलवायु उत्थानशील कृषिका विषयमा धारणा राखेकी हुन्।
मन्त्री चौधरीले जलवायु वित्त मन्त्रालयको प्राथमिकताको क्षेत्र रहेको बताउँदै हालैको भोटेकोशी बाढीबाट कृषि भूमि तथा पूर्वाधारमा भएको क्षतिले खाद्य सुरक्षा र कृषकको जीविकोपार्जनमा थप चुनौती सिर्जना गरेको बताइन्। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको जोखिम सम्बोधन गर्न जलवायु उत्थानशील कृषि र त्यसका लागि आवश्यक वित्तीय स्रोत परिचालनमा जोड दिनुपर्ने उनको भनाइ थियो।
छलफलमा जीजीजीआई प्रतिनिधिमण्डलले नेपालमा हरित हाइड्रोजनसम्बन्धी लगानी परिचालनमा सहजीकरण गर्न तथा आवश्यक नीतिगत र नियामक व्यवस्था विकासका लागि प्राविधिक सहयोग उपलब्ध गराउन आफूहरू इच्छुक रहेको जनाएको छ।
वित्तीय संस्था तथा निजी क्षेत्रसँगको सहकार्यमा रासायनिक मल उत्पादनलगायत हरित क्षेत्रमा लगानी परिचालन गर्न तथा कार्बन व्यापार र कार्बन वित्तसम्बन्धी संयन्त्र विकासमा समेत सहयोग गर्न सकिने प्रतिनिधिमण्डलले जानकारी गराएको थियो।
आगामी दिनमा मन्त्रालय र जीजीजीआईबीच एडभाइजरी मिटिङ आयोजना गरी सहकार्यका प्राथमिकता क्षेत्र पहिचान गर्ने, सम्भावित परियोजना तथा लगानीका अवसर खोजी गर्ने र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो। सो अवसरमा जीजीजीआईको आगामी वार्षिक गभर्नेन्स मिटिङमा नेपालको सहभागिताका लागि आमन्त्रणसमेत गरिएको थियो।
भेटमा जीजीजीआई प्रतिनिधिमण्डलले संस्था ५५ देशमा कार्यरत अन्तर्राष्ट्रिय तथा अन्तरसरकारी संस्था रहेको जानकारी दिँदै समावेशी तथा दिगो आर्थिक विकासमार्फत जलवायु उत्थानशील र समृद्ध विश्व निर्माण गर्ने उद्देश्यका साथ काम गरिरहेको जानकारी गराएको थियो।
नेपाल सन् २०२२ देखि जीजीजीआईको सदस्य रहेको र त्यसयता स्रोत परिचालन, वित्तीय संयन्त्र विकास, संस्थागत योजना तथा क्षमता विकासमा सहयोग गर्दै आएको प्रतिनिधिमण्डलले जनाएको छ।
नेपालमा जीजीजीआईले कृषि, सिँचाइ, कृषि उपज प्रशोधन तथा जलवायु क्षेत्रसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। मधेश प्रदेशमा तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँगको सहकार्यमा सिँचाइ नहर, कृषि प्रशोधन तथा यान्त्रिक उपकरणसम्बन्धी क्षेत्रमा सहयोग गरेको जानकारी पनि दिइएको थियो।
यसैगरी, नेपालमा हरित बन्ड प्रवर्द्धनका लागि बैंक तथा वित्तीय क्षेत्रसँग सहकार्य, जलवायु वित्त तथा पेरिस एग्रिमेन्ट कार्यान्वयनका लागि क्षमता विकास र नीतिगत सहयोगका साथै हरित हाइड्रोजन तथा स्वदेशी रासायनिक मल उत्पादनसम्बन्धी पहलमा समेत जीजीजीआईले सहयोग गर्दै आएको जनाएको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment