फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो: लाखौं सडकमा
पेरिस, असोज २१ । फ्रान्समा विद्यालय तथा शिक्षाको कमजोर अवस्था सुधारको माग गर्दै सुरु भएको विद्यार्थी आन्दोलन देशव्यापी बन्दै गएको छ। मंगलबार मात्रै विद्यार्थी, शिक्षक, अभिभावक र अन्य समर्थकसहित करिब २ लाख ६६ हजार जना प्रदर्शनमा सहभागी भएको फ्रान्सको गृह मन्त्रालयले जनाएको छ।
आन्दोलनमा पेरिसमा मात्रै करिब ५६ हजार जना सहभागी भएका थिए। आयोजकहरूले भने देशभर ४ लाख ५० हजार र पेरिसमा १ लाखभन्दा बढी सहभागी भएको दाबी गरेका छन्। सेप्टेम्बरमा पेरिस आसपासका माध्यमिक विद्यालयबाट सुरु भएको आन्दोलन अहिले देशका विभिन्न सहर र विश्वविद्यालयसम्म फैलिएको छ।
विद्यार्थीहरूले कक्षाकोठामा विद्यार्थीको चाप अत्यधिक रहेको, शिक्षक तथा अन्य कर्मचारीको अभाव भएको, विद्यालय भवन जीर्ण अवस्थामा रहेको र लामो समयसम्म पढाइ सञ्चालन हुने गरेको भन्दै सुधारको माग गरिरहेका छन्। उच्च शिक्षामा प्रवेशका लागि प्रयोग हुने Parcoursup प्रणालीमा सुधार तथा शिक्षा क्षेत्रमा थप स्रोत र लगानी गर्नुपर्ने माग पनि उनीहरूको छ।
आन्दोलनका क्रममा फ्रान्सका धेरै विद्यालय बन्द वा अवरुद्ध भएका छन्। अक्टोबर १ सम्म एक हजारभन्दा बढी माध्यमिक विद्यालय आन्दोलनबाट प्रभावित भएको शिक्षा मन्त्रालयले जनाएको थियो। अक्टोबर ६ को प्रदर्शनका क्रममा देशभर ४ सयभन्दा बढी विद्यालय प्रभावित भएका थिए भने केही स्थानमा कक्षा स्थगित गरिएको थियो।
शान्तिपूर्ण प्रदर्शनसँगै केही स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ। प्रदर्शनकारीले एम्बुलेन्स, दमकलमा समेत आगाे लगाएका थिए भने केही ठाउँका पसलहरूमा लुटपाटसमेत भएकाे थियाे । प्रहरीले पेरिस, स्ट्रासबर्ग, रेनेस, टुलुजलगायतका सहरमा अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ। मंगलबार मात्रै करिब ४ सय ८८ जना पक्राउ परेको र ४३ भन्दा बढी सुरक्षाकर्मी घाइते भएको फ्रान्सेली अधिकारीहरूले बताएका छन्। आन्दोलन सुरु भएयता पक्राउ पर्नेहरूको संख्या हजारौं पुगेको छ, जसमा ठूलो संख्या नाबालिगको रहेको बताइएको छ।
प्रहरी कारबाहीका क्रममा विद्यार्थीहरू घाइते भएको विषयमा पनि प्रश्न उठेको छ। प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले विद्यार्थी, विद्यालय कर्मचारी र प्रहरीको सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताउँदै आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गरिने बताएका छन्। सरकारले भने केही स्थानमा आन्दोलन बाह्य समूहका कारण हिंसात्मक बनेको दाबी गरेको छ।
विद्यार्थी आन्दोलनलाई शिक्षक, अभिभावक तथा ट्रेड युनियनहरूले समेत समर्थन गरेका छन्। यसले आन्दोलनलाई केवल विद्यार्थीको मुद्दामा सीमित नराखी फ्रान्सको सार्वजनिक शिक्षा प्रणालीमा लगानी, जनशक्ति र पूर्वाधारसम्बन्धी व्यापक बहसतर्फ लैजाने संकेत गरेको छ। विद्यार्थी तथा शिक्षक संगठनहरूले तत्काल सुधारका लागि करिब १० अर्ब युरो बराबरको लगानीको मागसमेत अघि सारेका छन्।
आन्दोलन चर्किएपछि प्रधानमन्त्री लेकोर्नुले शिक्षकको अभाव पूर्ति, अनुपस्थित शिक्षकको स्थानमा तत्काल जनशक्ति व्यवस्थापन, विद्यालय भवन मर्मत तथा विद्यालय समय पुनरावलोकनलगायतका विषयमा सरकारको तर्फबाट प्रस्ताव ल्याउने बताएका छन्। मन्त्रीहरूलाई अक्टोबरको अन्त्यसम्म प्रारम्भिक प्रस्ताव तयार गर्न निर्देशन दिइएको छ।
फ्रान्समा अहिले शिक्षा सुधारको मागसँगै सरकारको बजेट र सार्वजनिक सेवामा लगानीसम्बन्धी असन्तुष्टि पनि देखिएको छ। आगामी वर्षको बजेटमाथि छलफल हुनुअघि विद्यार्थी, शिक्षक र अन्य सार्वजनिक क्षेत्रका कर्मचारीहरूको आन्दोलन तीव्र बनेको हो। यसले फ्रान्समा बढ्दो सामाजिक तथा राजनीतिक असन्तुष्टिलाई समेत सतहमा ल्याएको छ।
एजेन्सीहरूकाे सहयाेगमा
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment