आज राति कोशी–बागमतीका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह
काठमाडौं, असार २९ । जल तथा मौसम विज्ञान विभागले आज (सोमबार) राति कोशी र बागमती प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागले सोमबार जारी गरेको चेतावनी तथा परामर्शअनुसार कोशी र बागमती प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै, गण्डकी प्रदेशका पहाडी भू–भागका धेरै स्थान, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
मनसुन सक्रिय रहेकाले ती क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता विपद्को जोखिम बढ्न सक्ने विभागले जनाएको छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
विभागले सम्भावित जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिक, यात्रु तथा सरोकारवाला निकायलाई आवश्यक पूर्वतयारी गर्न तथा विभागबाट जारी हुने पछिल्ला मौसम सूचना नियमित रूपमा पालना गरी अद्यावधिक रहन आग्रह गरेको छ।
यसै बीच, लगातारको वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि उक्त सडक भएर हुने सबै प्रकारका सवारीसाधनको आवागमन अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा रोकिएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार सूचना जारी गर्दै काठमाडौं उपत्यकाबाट बाहिर यात्रा नगर्न तथा रुपन्देही, नवलपरासी, बर्दघाटलगायत क्षेत्रबाट काठमाडौंतर्फ आउँदै गरेका यात्रुलाई चितवनभन्दा अगाडि नबढ्न आग्रह गरेको छ।
प्रशासनले यात्राका क्रममा खानेपानी, सुख्खा खाना, आवश्यक औषधि, अतिरिक्त लत्ता–कपडा तथा मोबाइल चार्जरसहितको तयारी गरेर मात्रै यात्रा गर्न अनुरोध गरेको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment