सवारी आवगमन एवं यात्रुको सुरक्षा सुनिश्चितता गर्न प्राधिकरणको निर्देशन
काठमाडौं, वैशाख २२। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिम देखिएका संवेदनशील सडक मार्गमा सवारी आवगमन कडाईपूर्वक बन्द गरी, गराई यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गर्न, गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
प्राधिकरणले जोखिम भएका ठाउँमा सवारी आवागमन बन्दको अवज्ञा गर्ने सवारी चालक एवं सवारीधनीलाई कडाईपूर्वक कारबाहीको दायरामा ल्याउनसमेत भनेको छ।
सोमबार साँझ काभ्रे जिल्लास्थित रोशी खोलाको बहाव बढेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा रोक्दारोक्दै पाँचवटा सवारी अगाडि बढ्दा यात्रुहरु बाढीमा फस्न पुगेका थिए। त्यसरी फसेका सबै ८९ जना यात्रुको सकुशल उद्धार गरिएको छ।
केही सवारी चालकका कारण यात्रुहरुको सुरक्षाको सन्दर्भमा गम्भीर प्रश्न खडा भएपश्चात प्राधिकरणले स्थानीय वस्तुस्थिति एवं सडकको जोखिमको अवस्थालाई विश्लेषण गरी आवश्यकताअनुसार सवारी आवागमन कडाइपूर्वक बन्द गर्न अनुरोध गरिएको प्राधिकरणका उपसचिव रामबहादुर के.सी.ले जानकारी दिनुभयो।
रोशी खोलाको जस्तो घटना दोहोरिन नदिन प्राधिकरणले विपद् जोखिमको हिसाबले संवेदनशील सडक मार्ग पहिचान गरी जोखिम न्यूनीकरण गर्न सम्बन्धित सबै निकायहरुसँग समयमै समन्वय गर्न पनि भनेको छ।
त्यसैगरी, विपद्का बेला सडक अवरुद्ध भई सवारी आवगमन बन्द भएको अवस्थामा अलपत्र परेका र जोखिममा रहेका यात्रुहरुलाई सुरक्षित राख्न योजना तयार पारी सोही अनुसार कार्यान्वयन गर्न, गराउन पनि निर्देशन दिएको छ।
प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान, उक्त पूर्वानुमान अनुसार प्राधिकरणबाट जारी हुने पूर्वसूचना, पूर्वचेतावनी र जानकारी पालना गर्न अनुरोध पनि गरेको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment