बौद्ध वा हिन्दूको प्रश्नमा अल्मलिएका नेवार
कोही नेवारलाई कसैले ‘तिमी बौद्ध हो कि हिन्दू ?’ भनेर सोध्योभने साधारणतः त्यो नेवार अल्मलिन्छ । वास्तविकता त के हो भने, एक सर्वसाधारण नेवारलाई बौद्ध हुनु र हिन्दू हुनुमा केही फरक परेको हुँदैन । परम्परा जसरी चल्दै आएको हो, त्यसरी नै चल्दै जाने हुन्छ, बौद्ध हुनु र हिन्दू हुनुमा केही तलमाथि परेको हुँदैन । राष्ट्रिय जनगणनामा धर्मसम्बन्धी एउटा कोलम पनि रहेको छ र तिम्रो धर्म के हो भनेर सोध्दा सहज रुपमा जवाफ पाउन नसक्ने अवस्थामा तिमी गणेशलाई मान्छैं भनेर सोध्ने हुन्छ । अधिकांश नेवारले गणेशलाई मान्ने हुन्छ । गणेशलाई मानेकै भरमा हिन्दू गणकले उसलाई हिन्दूको रुपमा बुझ्ने हुन्छ । कथंकदाचित गणक बौद्ध रहेछ भने उही प्रश्न र जवाफको आधारमा ती नेवारलाई बौद्ध भनेर बुझ्ने हुन्छ । यसबाट स्पष्ट हुन्छ, कोही नेवारको अघिपछि गणेशलगायत कतिपय देवीदेवताको तस्वीर वा मूर्ति देख्दैमा बौद्ध वा हिन्दू भनेर निर्धारण गर्न सकिन्न ।
नेवार समाजमा बौद्ध र हिन्दूस्थलहरू प्रायः सँगसँगै रहेका हुन्छन् । बौद्ध स्थलमा पुग्ने बौद्ध नेवार हिन्दूस्थलको पनि दर्शन गरेर फर्कन्छन् भने हिन्दू स्थल जाने हिन्दू नेवार बौद्ध स्थलको पनि पूजा गरेर फर्कन्छन् । एक नेवारले बौद्ध र हिन्दूमा फरक देख्दैन । नेवार समाजमा बौद्ध र हिन्दू दुबै छनक पाइने भएर कतिपयले यसरी लेख्ने तथा बोल्ने गरेको पाइन्छ, नेवार समाजको विशिष्ट विशेषता भनेको बौद्ध र हिन्दू परम्पराको लामो सहअस्तित्व र अन्तर्सम्बन्ध हो । झट्ट हेर्दा यो हो पनि तर होइन । नेवारका बारेमा शूक्ष्म रुपमा अध्ययन गर्न नसकेपछि यस्तै भ्रम बस्ने हो । यसलाई कुनै एउटा पक्षबाट मात्रै नभएर समग्र र शूक्ष्म रुपमा हेर्नु नितान्त जरुरी छ ।
हिन्दूको तात्पर्य वेदबाट निःसृत धार्मिक परम्परा हो । थालनीमा यसले वैदिक नाम पाएको थियो, पछि ब्राह्मण नामबाट जानियो । त्यस्तै अनेकौं अन्य नाम पाउने क्रममा हिन्दू नाम पनि पायो । बौद्ध र हिन्दूको स्रोत एउटै होइन । यी दुई स्रोत बीच भिन्नता मात्रै होइन, अन्तरविरोध पनि प्रसस्त मात्रामा पाइन्छ । हिन्दूले आत्माको अस्तित्व मान्छ र त्यसलाई अजर अमर तथा शाश्वत मान्छ । तर बौद्धका लागि यहाँ नित्य भन्ने कुरा केही पनि छैन । सबै अनित्य हो । अशाश्वत हो । वेदमा एउटा सर्वशक्तिमान सत्ताको कल्पना गरिएको छ भने पछि त्यसैलाई परमात्मा, ब्रह्म तथा ईश्वर भनेर कल्पना गरियो । बौद्ध मतले त्यस्तो कुनै परमसत्ताको अस्तित्वलाई स्वीकार्दैन । यस्ता अन्तरविरोधहरू प्रसस्त मात्रामा पाइन्छन्, जसको लेखाजोखा राख्नु यो सानो लेखको उद्देश्य होइन । यहाँ प्रश्न हो, त्यति धेरै अन्तरविरोध हुँदाहुँदै पनि नेवार समाजमा दुबै धर्म सँगसँगै कसरी रहन सकेको हो ? एक नेवारलाई तिमी बौद्ध हो कि हिन्दू हो भनेर प्रश्न गर्दा अकमकिन्छ वा दुबै हो भनेर जवाफ किन दिन्छ ? अझ ध्यान दिनुपर्ने कुरा त के हो भने, ती नेवारलाई यस्तो प्रश्नलाई अर्थहीन वा अनावश्यक ठानेको हुन्छ ।
काठमाडौं उपत्यकामा बौद्ध र हिन्दू दुबै धर्म पछि मात्रै प्रवेश गरेको थियो र त्यसअघि यहाँ बेग्लै धार्मिक परम्पराले जरा गाडिसकेको अवस्था थियो । पछि प्रवेश गरेका बौद्ध, हिन्दूलगायत कुनै पनि धर्मले यहाँ परम्परादेखि चल्दै आएको धर्मपरम्परालाई विस्थापित गर्न सकेन बरू मिलिजुली आफ्नो स्थान बनाए । मिलीजुली स्थान बनाउनु पर्ने अवस्थामा हाम्रो यस्तै हुन्छ, यस्तै हुनुपर्छ भनेर अडान लिनसक्ने अवस्था हुँदैन । अघि नै सुदृढ धार्मिक तथा सांस्कृतिक परम्परा चलनचल्तीमा रहेको काठमाडौंमा पछिका आगन्तुकहरू यथावत रुपमा बसोवास गरेको नभएर स्थानीयसँग घुलमिल भएर बसेका हुन्, जसलाई सामाजशास्त्रीय भाषामा ‘एसिमिलेशन’ भनिन्छ । अघि नै सुदृढ धार्मिक तथा सांस्कृतिक परम्परा के हो ? भन्ने प्रश्न आउँछ । त्यसलाई ठ्याक्कै नाम दिनुपर्दा कतिपयले प्रकृति धर्म भनेको पाइन्छ तर प्रकृति धर्मले व्यापक अर्थ जनाउँछ, समुदाय विशेषलाई जनाउँदैन । यस अवस्थामा नेवार धर्म र संस्कृति भन्न सकिन्छ । वर्तमानमा पनि गथांमुगःलगायत कतिपय धार्मिक तथा सांस्कृतिक गतिविधिहरूको अभ्यास पाइन्छ जससँग बौद्ध तथा हिन्दू वा अन्य कुनै पनि धर्मसम्प्रदायको कुनै सम्बन्ध रहेको हुँदैन र नितान्त रुपमा नेवार समाजमा देख्न पाइन्छ । बौद्ध नेवार हुन् वा हिन्दू नेवार, तिनीहरूको साझा धर्मसंस्कृतिको रुपमा यो हुनु नै नेवार समाजको मुख्य विशेषता हो ।
समयक्रममा बौद्ध र हिन्दूबीच नै पनि यसरी अन्तरघुलन भएको पाइन्छ, जसले बौद्ध र हिन्दू बीचको सीमारेखा खोज्नुपर्ने बनाइदिन्छ । दुबै धर्ममा तन्त्रको अभ्यास हुन्छ । तन्त्र आफै धर्मदर्शन होइन तर धर्मदर्शनको अभ्यासका लागि यो साधना विधि हो । अझ दुबैको तन्त्रगुरु एकै व्यक्ति परेको पनि हुन्छ । एकै थलोमा एकै गुरूसँग तन्त्र सिक्ने र पछि आआफ्नो धर्मदर्शनअनुसार अभ्यास गरिन्छ । यस अवस्थामा बाहिरियाले सबै कुरा उस्तोउस्तै देख्नु स्वाभाविक हो । तन्त्रका कतिपय कुरा दीक्षा नपाएकालाई भन्नु हुँदैन भनेर भनिँदैन र थाहा नपाएपछि अनेक अड्कल लगाएर त्यसलाई बुझ्न खोज्दा झन् नबुझिनु स्वाभाविक हो ।
हिजोआज बौद्ध धर्मको एउटा थेरवाद सम्प्रदायआवद्ध बौद्ध नेवारले बज्रयानी सम्प्रदायआवद्ध नेवार बौद्धमाथि टिप्पणी गर्ने क्रममा बौद्धको नाममा हिन्दू परम्परा चलाएको भन्ने आक्षेप लगाइन्छ । बौद्ध धर्मको इतिहासमा बज्रयानको विकासमा योगदान रहेका आचार्यहरू मध्ये धेरैको पृष्ठभूमि वैदिक ब्राह्मण हो र वैदिक ब्राह्मणहरू यज्ञ होम आदि गर्दछन् । भाषा पनि संस्कृत प्रयोग गर्दछन् । चालचलन पनि वैदिक ब्राह्मणकै हुनु स्वाभाविक हो । ती बौद्ध आचार्यहरूले बज्रयान विधिमा वैदिक तौर तरिकालाई अपनाउनु पनि स्वाभाविक हो । एक नेवारको घरमा घःसू वा अन्य कुनै अनुष्ठान गर्नुपर्दा बज्रयानी बौद्ध नेवारले परम्परालाई पछ्याउने क्रममा गरेका गतिविधिहरू झट्ट हेर्दा वैदिक ब्राह्मण परम्पराजस्तै देखेपनि त्यहाँ पूर्ण रुपमा बज्रयानी बौद्ध परम्परा रहेको हुन्छ । पटक्कैपिच्छे बुद्ध वचनको वाचन गरिरहेको हुन्छ भने । बुद्ध, बोधिसत्व तथा ताराहरूको बाहेक अन्यको नाम लिएको हुँदैनन् । यस कुरामा ध्यान दिन नसक्दा बौद्ध र हिन्दू उही हो भन्ने भ्रम पर्न जान्छ । अझ रोचक कुरा त के हो भने, हिन्दूजस्तो देखिएपनि बज्रयानी मात्र हुँदैन, परम्परागत नेवार मूल्यमान्यता तथा परम्परा पनि सँगसँगै अगाडि बढिरहेको हुन्छ । नेवार परम्परालाई बौद्ध वा हिन्दू दृष्टिकोणबाट मात्रै बुझ्न सकिन्न ।
कोही नेवारले दर्शै मानेकै आधारमा त्यो नेवार हिन्दू नै हो भनेर ठोकुवा गर्न सकिन्न । दशैं बौद्धले पनि अनिवार्य रुपमा मान्छ । बौद्ध नेवार र हिन्दू नेवारले मान्ने दशैं एउटै हो, जुन अन्य समुदायले मान्ने दशैंभन्दा धेरै मात्रामा फरक हुन्छ । विधिविधान तथा मूल सिद्धान्त नै फरक हुन्छ । दशैं भन्ने गरेपनि मोहनी मनाउने हो र मोहनीमा शक्तिको साधना हुन्छ, अन्य समुदायमा दशैंका बेला शक्तिको उपासना हुन्छ । साधना र उपासना नितान्त रुपमा फरक कुरा हो । अर्थात्, दशैंकै आधारमा कोही नेवार बौद्ध वा हिन्दू भनेर छुटिंदैन । बरु यस अवसरमा नेवारको आदिम संस्कृतिको निरन्तरता देख्न पाइन्छ ।
बौद्ध वा हिन्दू, को हुन् ? जसले जुन अपनायो ऊ त्यही हुन् । यो आस्था वा विश्वास मात्रै होइन, वैचारिकी पनि हो । एक नेवारमा बौद्ध वा हिन्दू भन्ने सवालमा अलमलिने गरेपनि त्यहाँ सीमारेखा त हुन्छ नै । कसैको जीवनसंस्कार बौद्ध विधिअनुसार भएको छ भने कसरी हिन्दू हुन्छ ? उसले बोक्ने जीवनदर्शन यदि बौद्ध हो भने त्यसलाई हिन्दू भनेर थोपर्नु जायज होइन । बौद्ध र हिन्दूबीच अन्तर घुलन भन्नु र समन्वय भन्नुबीच तात्विक भिन्नता हुन्छ । नेवारका सम्बन्धमा बौद्ध र हिन्दू दुई दृष्टिकोण मात्रै पर्याप्त हुँदैन र नेवारलाई ‘तिमी बौद्ध हो कि हिन्दू ?’ भनेर सोध्दा साधारणतः अलमलिनु स्वाभाविक हो ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment