Skip to content
Menu
  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • विपद
  • पर्यटन
  • संस्कृति
  • समाज
  • महिला
  • साहित्य
Menu

नेवार समाजमा प्रचलित गथांमुगः चाड

admin
August 6, 2021August 6, 2021
FacebookTweetLinkedIn
मन्जरी प्रधान

श्रावण कृष्ण चतुर्दशीको दिन मनाउने गथांमुगः चाडलाई पिशाच चतुर्दर्शी  पनि भनिन्छ । चाडहरूको शुरुवातमा मनाइने चाड भएको हुनाले यस चाडलाई काय् मचा नखः (छोराको चाड) पनि भन्ने गरिन्छ । समाजका वयस्कहरूका अनुसार यस्तो भन्नुको अभिप्राय विवाह पश्चात घरमा पहिलो सन्तानको रुपमा छोराको चाहना हुने हुनाले यस्तो भनिने गरिएको हो तर आजभोलि यस किसिमको मान्यता नभइ सकेको छ । 

यो पर्वको मुख्य उदेश्य भूत पन्साउनु हो । उहिले उहिले यहाँ जमिनको भाग धेरै र मानिसको संख्या कम थियो । आँखाले भ्याउन नसकिने खेतमा धान रोप्नु पर्ने हुन्थ्यो । यो कार्य मानिसबाट मात्र सम्भव नभएको हुदाँ यसको लागि वैशाख अक्षय तृतियाको दिन विशेष तान्त्रिक पूजा गरि “बौ जा ह्वलेगु” भनी सोह्र टोलका ज्यापु समुदायमा आ–आफ्ना गुथि मनाइ तान्त्रिक विधि अनुसार पूजा गरि लगन टोलमा “पीगं द्यः” भएको स्थानमा “बौजा” राखिन्छ । यसरी राखिएको आ–आफनो बौजामा पूजा गर्दछन् र पूजा सकिएपछि बाजा बजाउदै निर्दिष्ट स्थानहरू मरु (काष्ठमण्डप), मखन हुदै कुमारी स्थानलाई प्रदक्षिणा गर्दै “बौजा” छर्दै जाने गर्दछन् । भोलिपल्ट थःने  (शहरको माथिल्लो टोल) मा बस्ने सोह्र टोलकाहरूले हनुमान ढोका परिसरको ठूलो घण्टाको तलतिर “बौजा” पूजा गरेर राख्न ल्याइन्छ । यसपछि कुमारी घरलाई सुल्टो पारेर शहर परिक्रमा गरि बौजा छर्नै गर्दछन् । यसरी बौजा छरैर भूतलाई शहरमा भित्राइन्छ । यस कार्यलाई “बलिं बिगु” भनिन्छ ।

गथांमुगः

यस पर्वलाई पूर्ण रुपले चोख्याउन विहान घर लिपपोत गरि नौनी (नङ्ग काट्ने आइमाई)द्वारा नङ्ग काट्न लगाइन्छ भने कसै कसैले कपाल पनि खौरि नुहाई धुवाइ गरि सफा सुग्घर गर्दछन् । यस पछि समेबजि खाएर सिनाज्या (धान रोप्ने काम) चोख्याए पछि यो चाड मान्ने गर्दछन् ।

पहिले पहिले “पीगं द्यः” नेवार समुदायका प्रत्यक टोल टोलमा नै हुने गरिन्थ्यो तर आजभोलि यस देवता छ वा छैन भन्ने विषयमा मानिसहरू अनभिज्ञ प्राय देखिएको हुनाले, टोल टोलमा इनाय द्यः(गणेश देवता) भए झैं पीगं द्यः पनि हुने गरिन्छ भन्ने विषय पनि अध्ययनको विषय हुन सक्दछ ।  असार महिनामा खेतमा धान रोप्ने कार्य गर्दा जानी नजानी खेतमा कुल्चेर धेरै जीवात्माहरू मरेका हुन सक्ने हुनाले त्यस्ता मरेका जीवात्माहरू मरेको चोख्याउने कर्मको रुपमा पनि कसै कसैले धान रोप्ने काम सकिए पछि गथाः मुगः पर्वलाई चोख्याउने पर्वको रुपमा पनि मान्ने गर्दछन् भने कसै कसैले गथाः मुगः अगाडि नै यो कार्य गर्ने गर्दछन् ।   धान रोप्ने कार्य नसकिएकाहरूले  पछि मात्र गर्ने गर्दछन् । गथाः मुगः चाड मनाएन भने अरु चाड पनि मनाउन पाइदैन भन्ने गरिन्छ । यस्तो भन्नुको तात्पर्य धान रोप्ने कार्य सामयमा सकाएर चाड मनाउनु पर्छ भनिएको हो ।

यस दिनमा भूत पन्छाउनको लागि माटोको भाँडोमा भुस (मोचु), जाडको कः (जाड बनउदा आएको छोकर), खुर्सानी, लसुन, बौ स्वाँ (यस पर्वमा राखिने विशेष फूल), हिंपाय् (रगतको ढिक्का) राखी त्यसमा बत्ती (तिं मत) राखि त्यसमा पूजा गरि समेबजि चढाई  आ–आफनो टोलको छ्वासः (टोल टोलको एक र्निदिष्ट ठाउँ) वा दोबाटोमा राख्ने गरिन्छ । यस कार्य गरि फर्किए  पछि मूल ढोकामा तिन कुने फलामको किला ठोक्दछन् । नेवार समाजमा फलामको महत्व नराम्रो र खराव तत्वबाट बचाउनका लागि प्रायः सम्पूर्ण संस्कार एवं संस्कृतिमा यसको प्रयोग गरिन्छ । यसरी फलाम मूल ढोकामा रहे पछि भूतप्रत लगाएत नराम्रोतत्व घरभित्र प्रवेश गर्न सक्दैन भन्ने विश्वास गरिन्छ । यस पछि ईकाः पकाः (रायो र सर्यू) बालेर धुवाँ बनाएर घरभरि फैलाएर घर चोखो पारिन्छ । मूल ढोकामा पूजा गरिन्छ । यसपछि घरका सदस्यहरू त्यस दिन बाहिर जादैनन् । यस दिन फलामको औंठी पनि दोबाटो वा चौबाटोमा बनाइएको गथांमुगःलाई छुवाएर लगाउने गरिन्छ ।

नयाँ घर बनाएकाहरूले पनि यसै दिनदेखि बौ बियेगु कार्यको शुरुवात गर्दछन् ।  यस दिन तन्त्र विद्या सिक्नको लागि पनि उपयुक्त दिन मानिने हुनाले यस किसिमको विद्या आरम्भ यसै दिन  गर्ने गर्दछन् । यसरी समग्र रुपमा यस चाडको मूल मर्मलाई मनन गर्ने हो भने झरीको मौषममा हुने फोहर इत्यादि सफा गर्नु नै यस चाडको उदेश्य देखिन्छ र घर शहरमा खराव तत्व रही रहे त्यसले शरीर स्वास्थ्यमा हानि पुराउन सक्ने हुनाले त्यस्ता विषयवस्तुलाई फ्याक्नु पर्दछ भन्ने मान्यता राख्नु पनि हो ।   

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला सामग्री

  • किन राेकिएन बालविवाह ?
  • मानवअधिकार रक्षाको लडाइँ र गौतम बुद्धको शिक्षा
  • गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ‘मुंगेरीलाल की हसीन सपनेँ’
  • नेवार समाजमा छोरी
  • हानिकारक प्रशोधित खानाको लतमा नेपाली
  • एकै हैनन् नेपाल संवत् र म्हपूजा 
  • वातावरण मैत्री भनिएको वायो इनर्जीको प्रभाव नकारात्मकः प्रतिवेदन
  • सत्यमोहन जोशीसँगका सम्झना
  • रहेनन् शताब्दी पुरूष सत्यमाेहन जाेशी
  • दसैंमा पशुबलि

सम्पादक : अमिका राजथला
प्रकाशक : इन्साइट पब्लिकेशन प्रा.लि., काठमाडाैं, नेपाल
इमेलः newatimes@yahoo.com

©2023 NewaTimes