
मारातिका (हलेसी)लाई गन्तव्य बनाएर हुँइकिएको हाम्रो गाडी ढ्याक्क रोक्दा बेलुकाको सात बजिसकेको थियो। बौद्ध जगतले मारातिका भन्ने ठाउँ हलेसी नामले बढी प्रचार पाएको छ। यही ठाउँलाइ किराँत समुदाय हाेलैसू भन्छन् । बिहान ६ बजे काठमाडौंबाट भक्तपुर, धुलिखेल, नेपालथोक, खुर्कोट, घुर्मी, ओखलढुँगा, जयरामघाट हुँदै गन्तव्य पुग्दा गाडीले दुइ सय २५ किलोमिटर नापिसकेको थियो।
मारातिका बाैद्धजनका लागि बाैद्ध तीर्थस्थल हाे । हिन्दूहरू पनि यसलाइ अास्थाकाे थलाेकाे रूपमा लिइ हलेसीधाम भन्छन् । प्राकृितक रूपमा भन्नु पर्दा ठुलासाना गरी धेरै गुफा भएकाे थलाे हाे । याे खोटाङ जिल्लामा अवस्थित छ ।

पहिल्यै तय भएको थियो, पुगेको दिन पुग्ने मात्रै हो, अरु केही गर्न भ्याइँदैन । भाेलिपल्ट सबेरै उठेर गुफामा जाने र काठमाडौं फिर्ता आउने । बेलुका पुगेपछि खाना खायौं । अब के गर्ने ? सुतिहाल्ने बेला त भएको छैन । त्यति बेलासम्म गुफा खुल्छ भन्ने थाहा पाएपछि उत्तिखेरै गुफा छिर्न हतारियौं । त्यहाँ एउटा मात्रै गुफा होइन, धेरै छन् । पहिले आउँछ, हलेश्वर महादेव गुफा, ६७ मिटर गहिरो खाल्डोमा । एउटा प्राकृतिक ठाडो ढुंगा छ, त्यसैलाई हिन्दू धर्मावलम्बीहरू शिवलिंग भनेर पूजा गर्छन् । र, मुख्य गुफा यसैलाई मानिन्छ ।
मुख्य गुफा त बन्द रहेछ । यसलाई दायाँ पारेर अलि पर ओरालो झरेपछि अर्को गुफा आउँछ । ढोकैमा सानो बसाहाको मूर्ति राखेर बसाहा गुफा नाम दिइएको । हलेश्वर महादेव गुफाकै पछाडि पर्दो रहेछ यो । दुबै गुफा एउटै पर्वतको गर्भभित्र रहेको र यसलाई बौद्धमार्गीले अवलोकितेश्वर पर्वत नाम दिएका छन् । यसको अघिल्तिर बज्रपाणी र उत्तरतिरको मज्जुश्री पर्वत । हामी पुग्दा बसाहा गुफा बन्द गर्न ताल्चा मार्ने बेला भएको थियो । हुँदैन भन्दाभन्दै एकै छिनमा फर्किहाल्छौं भनि भित्र पस्यौं र फक्र्यौं ।
बौद्धधर्म प्रचार गर्न आठौं शताब्दीमा आचार्य पद्मसंभव तिब्बत जानुअघि काठमाडौं बसाइका क्रममा विभिन्न ठाउँमा साधना गरेका थिए । यसै क्रममा उनले मारातिकामा आफ्नो शक्ति मान्दर्वासहित अमितायु साधना गरेर सिद्धि प्राप्त गरेका थिए । तिब्बतमा बौद्ध धर्म सातौ शताब्दीमै पुगिसकेको भए पनि स्थायित्व लिन सकिरहेको थिएन, बोन धर्मका बाधा अडचन कायमै थियो । ती जम्मै अडचन पन्छाउने तथा दरिलोसँग बौद्ध धर्म स्थापना गरेका कारण गुरु रिम्पोचे भनी उनलाई तिब्बतीहरू मानसम्मान दिन्छन् । गुरुले सिद्धि प्राप्त गरेको ठाउँ भएर त्यतिबेलादेखि तिब्बतीका लागि मारातिका पनि तीर्थस्थल बन्यो । बौद्धहरू यहाँ विशेषतः ध्यानकै लागि आउँछन् ।

भाेलिपल्ट बिहान निद्रा खुल्दा अलि पर मन्दिरबाट घण्टीको आवाज आइरहेको थियो । आवाजैले हिन्दू वातावरण दिइरहेको थियो । पलङ्मै थिएँ, कोठाको अर्को कुनामा रहेको खाट हेर्छु, रित्तिसकेको छ । राति सुत्नुअघि नै भनेको, उठाएर बस्दिन, निद्रा खुल्नासाथ उठेर जान्छु, ध्यान बस्छु ।
हलेश्वर गुफा प्रवेश गर्नेहरूको लाइन लम्बिएर बाटैसम्म पुगिसकेको थियो । प्रांगणमा मारातिका क्षिमेत ताग्तेन क्षोलिङ गुम्बा र गणेश मन्दिर छ । सबैको हातहातमा पूजा सामग्री थियो । तर ढोका खुलिसकेको थिएन । त्यता अलमलिएर बसेनौं, सरासर खुड्किला ओर्लेर बसाहा गुफातर्फ लाग्यौं । त्यहाँ पनि ढोका खुलिसकेको रहेनछ । ढोका नखुलेर के भयो र ? दश बाह्र जना जति साधक ढोकाबाहिरै ध्यान गरिरहेका थिए । ध्यानीहरूलाई बाधा पुग्ला भन्ने भयले अरुहरू चुपचाप बसिरहे पनि त्यसमा धार्मिक भावना नै देख्न पाइन्छ ।
मेरो ‘रुम पार्टनर’ पनि ध्यानमै देखें । प्रवेशद्वारबाट छिर्न १० रुपैयाँको टिकट काट्नु पर्दो रहेछ, त्यो दिन प्रवेश पाउनेमा पहिलो मै परेँ ।
गुफाभित्र छिर्दै खुडकिला चढेर माथिल्लो तल्लामा पनि उक्लियौं । बाहिर अँध्यारै भए पनि भित्र भने बिजुली बालिएको छ । शान्त वातावरण । एकातिर गुफाको बनौट र आकृतिले आश्चर्यचकित थियौं भने अर्कोतिर आचार्य पद्मसंभवसँग सम्बन्धित स्थल भएर श्रद्धाले नतमस्तक भयाैं । ध्यानमा बस्न त्यहाँ ओछ्याउने कुरा ओछ्यायौं र अनुकुलता हेरी बस्यौं । भित्र छिर्नेहरू सबै ध्यानमा बस्ने होइन, कोही हेरेर मात्रै फर्कने रहेछन् । हामी र अरु गरी ध्यानमा बस्न थाल्दा त्यस्तै बीस पच्चीस जना जति होला । थपिने र उठ्ने क्रम हुँदै गर्यो । तर, पछि थपिन आउनेको संख्या बढ्दै गयो ।
आचार्य पद्मसंभव र मान्दर्वा ध्यानमा बसेको त हलेश्वर गुफा भनिनै उतै हो । त्यस गुफालाई बौद्धहरू शान्तिद्वार भन्छन् । त्यहाँ ध्यान गरेर बस्दा साधनामा अवरोध पुर्याउनेलाई दमन गरेको ठाउँलाई अहिले यही बसाहा गुफा भन्दारहेछन् । हामीलाई आचार्यकै सम्मुखमा ध्यान गरिरहेको महसूस भयो ।

हिन्दू मिथकअनुसार उहिल्यै भस्मासुर राक्षसले कठोर तपस्या गरी खुशी पारेका महादेवसँग जसको टाउकोमा हात हालुँ उसको भस्म होस् भनी वर मागेका थिए रे । महादेवले पनि साेचविचार नै नगरी वर दिएछन् रे । वर पाएपछि महादेवकै टाउकोमा हात हाल्न भष्मासुर उद्दत भएछन् । त्यसपछि महादेव अाफ्नाे बचावटका लागि भागेर यस गुफातिर लुक्न आए । हिन्दूका लागि पनि यो तीर्थस्थल भयो । किरात समुदायको मिथकसँग पनि यो सम्बन्धित छ । किरात मिथकअनुसार राजा हालेसुङको नामबाट हलेसी बनेको हो ।
केही बेरपछि गुफा प्रवेश गर्नेहरूको हल्ला टाढैबाट सुनिन थाल्यो । हलेश्वर गुफामा पूजा सिध्याएर यता आएकाहरू भनेर बुझ्न गा¥हो भएन । उनीहरूसँगै गुन्जिएको आवाजभित्र ‘जय शम्भो !’ विशेष रुपमा प्रतिध्वनित भइरहेको थियो ।
यताको गुफामा त्यस्तो पूजा गर्ने वा हेर्ने खासै छैन, गुफाको भूबनोट बाहेक । यति बेलासम्ममा हामी पनि ध्यानबाट उठ्ने बेला भइसकेको थियो । हामी जहाँनेर ध्यान गरिबसेका थियौं, यसैको ठिक्क माथि एउटा भ्वाङ् रहेछ, आकाशको तारासमेत देखिने । उज्यालिन थालेपछि प्रष्टसँगै देख्यौं । गुरु रिम्पोछेले साधनामा बाधा हाल्नेलाई दमन गरी यही प्वाल पारेर बाहिर निस्केका थिए रे। बाहिर निस्कन बाटो हुँदाहुँदँ यस्तो प्वाल बनाएर किन बस्नु प¥यो र ? प्रश्न छ । भित्तामा रहेका आकृतिहरूलाई पद्मसंभव र महादेवसँग जोडेर कथिने कुराहरूको कमी छैन । ती कुराहरू तिनै जानून्।

गुफाबाहिर निस्केर पूर्वको बाटो हुँदै उक्लियौं । हलेश्वर गुफाको ढोकैमा पुग्दो रहेछ । हुलमूल र होहल्ला उत्तिकै थियो । मान्छे र घण्टको आवाजले धार्मिक वातावरण दिइरहेको । भित्र छिर्नेको लाइन अझै सकिएको थिएन । छेउ लागेर हेरेर बस्यौं । एकातर्फ महादेवको पूजा गर्नेको चहलपहल भने अर्को कुनामा बौद्ध भिक्षुहरू शान्तसँग सूत्रपाठ गरिरहेका ।
भित्र छिर्न जुत्ता फुकालेर लाइनमा बस्नै पर्ने रहेछ । लाइनमा सहभागी भई प्रवेश ग¥यौं । फूल अछेता र अबिरले भुइँ भिजेको थियो भने त्यसमा टेक्नेको पाइताला रातै हुन्थ्यो । गुफाको भूबनोट पनि आश्चर्य लाग्दो रहेछ । अझ यतातिर स–साना अरु गुफा पनि हुँदारहेछन । तीनलाई धर्मद्वार, पापद्वार के के जातिको नाउँ दिएको पाइयो । त्यस्तै गरी ढुंगाका विभिन्न आकृतिलाई पनि गणेश, कुमार, पार्वती आदि नाम दिइएका छन् र भक्तजन पूजा गर्छन ।

गुफाबाट निस्केर हामी बजार पुग्यौं । बजारको उत्तर लुङदारले ढपक्कै ढाकिएको मन्जुश्री पर्वत देख्यौं। कसैले भन्यो, त्यहाँ पनि हेर्ने छ । के होला ? कसैले भन्यो, छाम बस्ने ठाउँ । पहाड उक्लियौं । र, तेर्सो तेर्सो तर साँघुरो बाटो आउँदो रहेछ । लुङ्ताहरूको बीचबाट गएको त्यो बाटोले अर्को गुफा सामुन्ने पु¥याइदियो । ठाउँ निकै साँघुरो । अलि कच्चा खालको भ¥याङ ठड्याएको छ, त्यही चढेर माथि जानु पर्ने। सीमित मान्छेमात्र चढ्न सकिने । कोही ओर्लंदै छन् भने अरु चढ्न नसकिने ।

माथि एउटा सानो गुफा भनौं वा कोठा छ, त्यसमा गुरु पद्मसंभवको एउटा मूर्ति राखिएको छ, त्यत्ति । स्थानिय यसलाई छाम बस्ने ठाउँ भन्छन् । गुचमुच्चिएर बस्ने हो भने मुस्किलले पाँच जनाभन्दा बढी अटिन्न । त्यहाँबाट दायाँतिर एउटा अर्को प्वाल रहेछ । घिस्रिएर मात्र छिर्न सकिने । के रहेछ हेरौं भनेर अलिकति घिस्रिएको त बाहिरको उज्यालो देखें । त्यहाँ एक जना मान्छे ध्यान बस्न पुग्ने ठाउँ पनि रहेछ र ध्यान गरिरहेकाे एक जनालाइ देखें । ती ध्यानी अरू हाेइनन्, हाम्रै समूहकाे एक सदस्य रहेछन् ।
मारातिकामा आउने जानेहरूको क्रम दिनभर चल्दो रहेछ । हामी छिटोछिटो होटल फक्र्यौं र चियानास्ता गयौं । ढिलो गर्नुको अर्थ फर्कन पनि ढिलैं हुने निश्चित थियो । विहान ९ बजेतिर हाम्राे गाडी काठमाडाैंलाइ लक्ष्य गरी फर्क्याे ।
लेखकका बारेमा जानकारीका लागि : basantamaharjan.com.np