0 1 min 2 mths

विभिन्न सभा–समारोह तथा शुभ–अवसरका अतिथिलाई लगाइने खादा पछिल्ला वर्षहरुमा लोकप्रियताकै कारण चर्चामा थियो। अहिले पुनः यो चर्चामा छ, तर अर्कै कारणले।

हाम्रा संस्कृति मन्त्रालयका सचिवलगायत केही राजनीतिकर्मीहरुलाई लागेछ, खादा लगाएर स्वागत गर्नु विदेशी संस्कृति हो, तसर्थ बहिष्कार गर्नुपर्छ। 

औपचारिक निर्णय नै गरेर खादालाई प्रतिबन्धित गर्ने परिपत्र जारी भएको सुन्दा संस्कृतिप्रेमीहरुलाई निको लाग्ने कुरै भएन। उनीहरुले विरोध गरेपछि संस्कृति मन्त्री जीवनबहादुर शाहीले प्रतिबन्ध फुकुवा गर्न निर्देशन दिएको सुनिएको छ। खादा बहिष्कार प्रकरणले हाम्रा उच्चपदस्थहरुमा सांस्कृतिक विचलन आएको देखाउँछ।

विदेशी संस्कृति र उत्पादनलाई निरुत्साहित पार्न खादा बहिष्कार गर्ने यस्तो ‘राष्ट्रवादी’ सोचले नेपालको ऐतिहासिक, सांस्कृतिक, धार्मिक विशेषताको अनादर गरेको प्रतीत हुन्छ।

शुरुमा नेपाली कांग्रेस चितवन जिल्ला शाखा र त्यसपछि केही स्थानीय निकायहरुले आइन्दा आफ्ना कार्यक्रमहरुमा खादा प्रयोग नगर्ने निर्णय गरेको समाचार पढ्दा खासै पत्यार लागेको थिएन। तर, त्यसलगत्तै गम्छाको प्रयोग बढेको टेलिभिजनहरुमा देखिन थाल्यो, खासगरी मन्त्री आमन्त्रित कार्यक्रमहरुमा।

तराई–मधेशको दैनिक जीवनमा प्रचलित ‘गम्छा’ र विशेष अवसर वा धार्मिक कार्यमा चलाइने ‘खादा’ उस्तै–उस्तै देखिए पनि प्रयोग र अर्थका दृष्टिले भिन्न छ।

पहिले नेपाली, अहिले अनेपाली
खादा ‘बहिष्कार’ गर्न पछिल्लो समय प्रयोगमा ल्याइएको ढाकाको गम्छालाई काठमाडौं उपत्यकाको नेवार बौद्ध समाजमा ‘खातागा’ भनिन्छ।

बहिष्कारवादीहरुले चाहिं यसलाई ‘नेपाली खादा’ भन्न थालेका छन्। उनीहरु ‘नेपाली खादा’ प्रचलनमा ल्याएर ‘विदेशी खादा’ लाई लखेट्ने ‘राष्ट्रवादी’ सोचबाट प्रेरित भएको प्रष्टै छ।

नेवार, तामाङ, शेर्पा, गुरुङलगायतका बौद्धमार्गी समुदायका अगुवाहरु भने खादा बचाउन दौडधूप गरिरहेको बुझिन्छ। बौद्ध संस्कृतिले पाएको व्यापकता रोक्न ‘राष्ट्रवादी’ हरुले खादा बहिष्कार अभियान चलाएको चिन्ता उनीहरुमा पाइन्छ।

वास्तविकता चाहिं के हो भने, खादाको प्रयोग सामान्यतः तिब्बती चलनजस्तो देखिए पनि यो मूल रुपमा नेपाली संस्कृति हो। नेपाली बौद्ध समुदायमा धार्मिक कार्य, शुभकार्य र अन्य शुभ–अवसरमा अतिथिलाई खादा लगाइदिने परम्परा छ।

पहिले यसलाई ‘खातागा’ भनिन्थ्यो र कपडाकै हुने भएकोले अलि खस्रो र भद्दा पनि हुन्थ्यो। हाम्रो त्यही ‘खातागा’ तिब्बतमा पुगेर ‘खादा’ को रुपमा व्यापकता पाउने क्रममा ‘सिल्की’ हुन पुग्यो। त्यसरी तिब्बतीकरण हुँदा अष्टमंगलका प्रतीक र बौद्धमन्त्र ‘ॐ मणि पद्मे हुँ’ पनि छापिन थाले।

अब प्रश्न उठ्छ– विदेशमा बढी लोकप्रिय हुनपुगेको कुनै पनि स्वदेशी संस्कृति वा वस्तुलाई पराया भनेर त्याग्दै जाने हो भने नेपालीले आफ्नो मौलिक वा गौरव भनी देखाउन बाँकी के रहला? काठमाडौंको ‘पौभा’ चित्रकला तिब्बत पुगेर ‘थाङ्का’ भयो, आज यही नामले विश्वप्रसिद्ध छ।

तिब्बतीहरुले नेपालीसँग यो कला सिकेर उतै बनाउन थाल्नुअघि ‘पौभा’ चित्र काठमाडौंबाटै तिब्बत निर्यात हुन्थ्यो। आफ्नो मौलिक कला–संस्कृतिको स्वामित्व लिएर प्रचार–प्रसार गरी पहिचान बनाउनुपर्नेमा तिनलाई बहिष्कार वा प्रतिबन्धित गर्नु भनेको ‘विनाशकाले विपरीत बुद्धि’ सिवाय केही होइन। विदेशी शब्दसँगै आपत्ति हो भने बरु थाङ्कालाई पौभा, खादालाई खातागा भनेर वरण गर्नु बुद्धिमानी हुन्छ।

केही वर्षअघिसम्म बौद्ध समाजमा सीमित खादा गैर–बौद्ध कार्यक्रमहरुमा पनि लोकप्रिय हुनु आफैंमा सुखद् कुरा हो। धार्मिक–सांस्कृतिक सहगमनको यो काम सरकार, गैर–सरकारी क्षेत्र वा व्यक्तिहरुले नभई पवित्र खादा आफैंले गरेको हो। सामाजिक सद्भावसँग सम्बन्धित यस्ता कुरामा तर्सिनुपर्ने कुनै कारण छैन। यो अनिवार्य पनि छैन।

खादा प्रयोग गर्ने परम्परा नभएका वा गर्न नचाहनेले त्यसो नगर्ने हर प्रकारको अधिकार राख्छन्। सरकारी निकायले समाजमा नकारात्मक सन्देश फैलाउने ‘बहिष्कार’ शब्दको प्रयोगसहित औपचारिक निर्णय गरेर परिपत्र गर्नु आपत्तिजनक छ।

खादा बहिष्कारको औचित्य पुष्टि गर्न चाहनेहरुले यो बढी खर्चिलो भएको भनेको सुनियो। संस्थागत बहिष्कारको समाचार प्रकाशनमा आएपछि तिनै संस्थाहरुको सार्वजनिक कार्यक्रममा खादाको विकल्पमा गम्छाको प्रयोग देखियो।

अझ, पत्रिकामा प्रकाशित तस्वीर नियालेर हेर्दा खादा बहिष्कारलाई प्रभावकारी पार्न गम्छा लगाएको ‘फोटो सेसन’ गराएको देखियो। यो हास्यास्पद मिहिनेतमा केटौलेपन छ, किनभने खादाको तुलनामा गम्छा महँगो पर्छ।

(याे लेख पहिलाे पल्ट ८ असोज, २०७३ मा हिमालखबर डटकममा प्रकाशित भएकाे हाे । साेही डटकममा पढ्न यहाँ क्लिक गर्नु हाेला)

लेखकका बारेमा जानकारीका लागि basantamaharjan.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *