0 1 min 2 mths

काठमाडौंको बबरमहलस्थित एक घरमा जातका कारण दलित युवती रूपा सुनारले डेरा नपाएको विषय पछिल्लो समय चर्चामा छ। मुख्यतः यो जात–व्यवस्थासँग सम्बन्धित विषय हो। घटनाबारे प्रहरीमा जाहेरी दिएपछि घरधनी सरस्वती प्रधानलाई पक्राउ गरी तीन दिन हिरासतमा राखियो। घटनाबारे विभिन्न तह र तप्काले बहुकोणबाट चर्चा र बहस गरे। पक्ष र विपक्षमा अनेक कुरा आए। 

सबै कुरा हेर्दा घटना र प्रवृत्तिमा पुनरावृत्ति मात्रै देखियो, जातीय विभेदको समस्या समाधानतिर गएन। सम्बन्धित समाज र समुदायमा छुवाछूतको मान्यता सुल्झिनेभन्दा झन् बल्झिने अवस्था देखियो। यसमा खासगरी समाधान गर्ने दिशामा राज्यको अग्रसरता रहेन। 

नेपालको वर्तमान कानूनमा जातको आधारमा भेदभाव गर्न पाइँदैन। यस्तो व्यवहार गम्भीर अपराध मानिन्छ र दण्डनीय हुन्छ। यो कानून तदारुकताका साथ लागू हुनुपर्नेमा दुईमत छैन। तर, जातीय भेदभावविरुद्धको यो कानूनलाई भुत्ते पार्ने काम स्वयं राज्यबाट हुँदै आएको छ। कानून बनाउँदैमा राज्य पानीमाथिको ओभानो बन्न सक्दैन। राज्यका निकायमा रहेका व्यक्तिहरूका क्रियाकलाप प्रत्यक्ष–परोक्ष रूपमा जात–व्यवस्थालाई प्रश्रय दिने खालको छ। यो स्थितिमा बबरमहलमा भएको घटना पहिलो त होइन नै, अन्तिम हुन्छ भन्न सकिने अवस्था पनि छैन। 

जातको आधारमा डेरा नदिएको जाहेरी दिई घरधनीलाई हिरासतमा राख्नसक्नु दलित समुदायमा आएको सशक्तिकरण पक्कै हो। तर, यसैलाई साध्यका रूपमा लिँदै विजयोत्सव मनाउनु र समाजमा व्यक्ति तथा संस्था स्थापित हुने मौकाको रूपमा लिनु समाधानको बाटो होइन। यसबाट दलित आन्दोलनलाई उपलब्धि हासिल हुने पनि देखिँदैन। 

घरधनी प्रधान थरकी नेवार र डेरा खोज्ने सुनार थरकी महिला हुन्। घटनाको विकासक्रममा ‘नेवार भर्सेस दलित समुदाय’ झैं स्थिति देखियो। सामाजिक सञ्जालहरूमा आएका टीका–टिप्पणीहरूमा नेवारको पहिचान जातका आधारमा भेदभाव गर्ने समुदाय भनेर चित्रित हुनपुग्यो। नेवारसँग कसैको कुनै वेलाको व्यक्तिगत रिसइबी र पूर्वाग्रह साँध्ने मौका यही हो भने जस्तो गरी बबरमहल घटनालाई जातीयकरण गरेर उछाल्ने काम पनि भयो। यो घटनामा कतिपय नेवार प्रतिक्रियात्मक हुनुमा यो पनि एक कारण हो। प्रतिक्रियाका क्रममा नेवार समाजमा जात–व्यवस्था छ वा छैन भन्ने बहस हुँदा कतिपय पर्दा आफैं उघ्रिएको छ, कतिपय पर्दा भने च्यात्नुपर्ने अवस्था छ।

जतिसुकै आधुनिक सभ्य समाज र विकसित संस्कारको कुरा गरे पनि जातीय विभेदले समाजलाई गाँजेको छ। जात–व्यवस्था के हो, यसको जड कहाँ छ त? यो प्रश्नको अन्तरकुन्तर केलाउँदा सीधै वेद वा वेदमा आधारित सामाजिक संरचनासम्म पुगिन्छ। वेदमा आधारित सामाजिक वा धार्मिक संरचनाले हिन्दू आर्य सभ्यताभित्र जात–व्यवस्था हुर्काएको छ। जात–व्यवस्थाको स्रोत वर्ण व्यवस्था हो। वेदमध्ये सबैभन्दा पुरानो ऋग्वेदमा जातभातको उल्लेख नै नभएको भनी प्रतिवाद गर्नेले पनि चार वर्णको कुरालाई नकार्न सक्दैनन्।

हजारौं वर्षअघि हिन्दू समाजमा चार वर्ण (ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र) भनेर चार प्रकारको श्रम समूहमा आधारित वर्ण व्यवस्था लागू गरियो। श्रम विभाजनका रूपमा अवलम्बन गरिएको यही वर्ण व्यवस्था नै अन्ततः जात–व्यवस्था बन्नपुग्यो। 

जात–व्यवस्था अनुसार ब्राह्मण उच्च वर्ण वा जातको मानिन्छ। गौतम बुद्ध (इ.पू. ५६३–४८३) ले यही व्यवस्थामाथि प्रश्न गर्ने क्रममा आफूले आफैंलाई उच्च मान्ने अधिकार ब्राह्मणलाई कसले दियो भनी सोधेका थिए। समाजमा स्थापित ब्राह्मण, क्षेत्री, वैश्य र शूद्रको भाष्य नै फेर्ने काम गौतम बुद्धबाट भयो, जुन ‘धम्मपद’ लगायत त्रिपिटक अन्तर्गतका विभिन्न ग्रन्थमा अध्ययन गर्न पाइन्छ। तत्कालीन वैदिकहरूले बुद्धसँग शत्रुवत् व्यवहार गर्नुको कारण वैचारिक वा दार्शनिक पाटो नभई उनले जात–व्यवस्थालाई दिएको चुनौती हो। जात–व्यवस्थाको औचित्य नरहेको पुष्टि गरेर गौतम बुद्धले सबै वर्ण वा जातका मानिसलाई भिक्षु–भिक्षुणी तथा उपासक–उपासिका बनाए, आफ्नो संघको विस्तार गरे, तर वैदिक समाजमा हस्तक्षेप गर्ने र नयाँ व्यवस्था स्थापना गर्ने काम गरेनन्।   

जात–व्यवस्थाको एउटा स्पष्ट चित्र तहगत हुनु र माथिल्लो भनिएकाले तल्लो भनिएकालाई हरेक दृष्टिले पेल्नु हो। यो व्यवस्था अनुसार ब्राह्मण समुदायभित्रै पनि ठूला र साना भन्ने तहगत मान्यता र व्यवहार छ। यस्तो तहगत मान्यता अन्य हरेक वर्णमा प्रचलित छ। दलितभित्रै आन्तरिक छुवाछूतको अवधारणा भारत र नेपालको हिन्दू समाजमा पाइन्छ।

गैरहिन्दू र अन्य समुदायमा जातपात
जात–व्यवस्थाको प्रभाव वैदिक वा हिन्दू समाजमा मात्रै सीमित भने छैन। यसको प्रभाव अन्य धर्म र जातीय समुदायमा पनि पर्न गयो। जस अनुसार नेवार समुदाय पनि जात–व्यवस्थाको जालोमा छ। नेवार समाजमा मुख्यतया हिन्दू र बौद्ध दुई धर्म प्रचलित छन्। यस अनुसार नेवार हिन्दूमा जात–व्यवस्था हुनु अस्वाभाविक हैन। तर, नेवार हिन्दू समाजमा रहेको जात–व्यवस्था शूद्रअन्तर्गत दलित समुदायको भन्दा फरक छैन। नेवार हिन्दूले आफूलाई ब्राह्मण वर्गमा राखेर अन्यलाई तल्लो तहमा त झारे, तर यी नेवार ब्राह्मणलाई वैदिक ब्राह्मणले आफ्नो समकक्षमा राखेको पाइँदैन। वैदिक समाजले बोक्ने मूल्य–मान्यता नेवार हिन्दू समाजले नबोक्ने हुँदा हिन्दू नै भनिए पनि उनीहरूको हैसियत ‘दोस्रो दर्जाको’ छ। जात–व्यवस्थालाई उनीहरूले मान्यता दिनु आफ्नो सर्वोच्चताका लागि बोकेको स्वार्थ मात्र हो।

सबै प्राणी बराबर मान्ने बौद्ध धर्मलाई पछ्याउने नेवारमा पनि वैदिकहरूको जात–व्यवस्था पाइनु भने आश्चर्यको विषय हो। वैदिक ब्राह्मण (पुरुष) ले तल्लो जातको भनिएका महिलासँग विवाह गर्दा उसबाट जन्मिने सन्तानको जात खस्ने भने जस्तै काठमाडौंको नेवार बौद्ध समाजमा वज्राचार्यले शाक्य बाहेक अन्य जातका महिलासँग विवाह गर्दा उसको सन्तानको जात खसेर तुलाधर भनिने परम्परा छ। यो परम्परा वैदिक समाजको अन्धानुकरण वा सिको बाहेक केही पनि होइन। 

नेवार बौद्धमा बज्रयानी र थेरवादी गरी मुख्यतया दुई समुदाय छन्। बज्रयानी बौद्ध समाजमा बज्राचार्य र शाक्यलाई पण्डित वा पुरोहितका रूपमा मानिँदै अर्थात् सर्वोच्च स्थान दिइएको छ। तर, यी दुईबीचमा पनि ठूलो र सानोको भेदभाव पाइन्छ। यो पुरोहित वर्गले आफ्नै जजमानका रूपमा रहेका सर्वसाधारणमाथि गर्ने जातीय भेदभाव बेग्लै छ। 

नेपाली बज्रयानी बौद्ध समाजमा विद्यमान जातपातबाट आजित भएर अर्को परम्परा अपनाउने क्रममा राणाकालमा थेरवाद बौद्ध सम्प्रदाय भित्रिएर तत्कालै विस्तार भएको मान्नु अत्युक्ति नहोला। तर, थेरवादी बौद्ध समाजमा पनि ठूलो र सानो जातको भनी गरिने भेदभाव अहिलेको विडम्बना र बौद्ध धर्मका लागि चुनौती पनि हो।

मूल स्रोत हिन्दू समाजमा नै जात–व्यवस्था धर्मराउन थालेको वेला नेवार समुदाय यसबाट अझ छिटै मुक्त हुनसक्छ। नेवार समुदायले अपनाएको जात–व्यवस्था २००७ सालयता सात दशकभित्र धेरै मात्रामा भत्किइसकेको छ। बाँकी अवशेष पनि चाँडै अन्त्य हुने देखिन्छ। राम्रो वृक्षले वरिपरि पनि राम्रो प्रभाव पारे जस्तै हिन्दू समाजको जात–व्यवस्थारूपी विषवृक्षले नेवार समाजलाई पनि असर पारेको मात्रै हो। केही वर्षअघि नेवाः देय् दबू (राष्ट्रिय संगठन)ले जातीय विभेद अन्त्यको घोषणा नै गरेको थियो। तर, यस्तो घोषणा गर्दैमा विभेदको अन्त्य हुने भए भारत र नेपालमा जातीय विभेद उहिल्यै उखेलिइसक्थ्यो। 

वैदिक हिन्दू समाजमा विद्यमान जातीय विभेद र नेवार समाजमा रहेको जातीय विभेद एउटै होइन। जात–व्यवस्थालाई ‘विषवृक्ष’ का रूपमा लिने हो भने त्यसको जरा हिन्दू धर्मभित्र रहेको खोज्न धेरै मिहिनेत गर्नुपर्दैन। त्यो वृक्षलाई धर्मको नाममा मलजल गर्ने काम सदियौंदेखि हुँदै आएको छ। जात–व्यवस्थाको अन्त्य हुनुपर्ने आवाज बुलुन्द भइरहेको यो वेला हिन्दू धर्म जोगाउनकै लागि जात–व्यवस्थालाई बलियो बनाउनुपर्ने चिन्तन राख्नेहरू पनि एकथरी छँदै छन्। तर, जात प्रथारूपी विषवृक्ष ढलाउँदा हिन्दू समाजको खास वर्गको पनि खास स्वार्थमा बाहेक असर पर्दैन।

जात–व्यवस्थाको केही हजार वर्षभित्रको इतिहास नियाल्दा यसको निर्मूलन वर्तमानमा द्रुतत्तर गतिमा भइरहेको पाइन्छ। जात–व्यवस्थाको औचित्यहीनताबारे वैदिक हिन्दू समाजभित्रै जागरण आउनु र तल्लो जाति भनिएको वर्ग आफैं पनि जागरुक र आन्दोलित हुनु सकारात्मक पक्ष हो। यसले विभेदको जरा कमजोर पार्दै एकदिन उखेलिने निर्विवाद छ।  

दलित महिलालाई जातका आधारमा कोठा नदिँदा ‘कोठा र कोटा’ को कुरा गर्दै पीडित समुदायलाई नै आलोचना गरेको पनि पाइयो। तर, दलितलाई निश्चित क्षेत्रमा प्राप्त आरक्षणको कोटा विगतमा भएको थिचोमिचो र भेदभावका कारण पछि परेका भनेर दिइएको क्षतिपूर्ति मान्नुपर्छ। यसलाई एउटा चरणमा अवसर दिएर समान अवस्थामा पुर्‍याउने र समाजको विकासमा सहयात्री बनाउने अर्थमा लिन सके सद्‌भावको वृद्धि हुनेछ। 

यस विपरीत एक–अर्कालाई दोषारोपण गर्ने, द्वेषभाव राख्ने प्रवृत्तिले कित्ताकाट मात्रै हुन्छ। जातीय विभेद हटाएर हातेमालो गरी अगाडि बढ्नुपर्नेमा कित्ताकाट गरेर समाज नै विभाजित हुने बाटोमा लाग्नु समाधान होइन। नेवार समुदाय आफैं जात–व्यवस्थाको जालोमा बाँधिएर पीडित छ। जसका कारण उस्तै समस्या भोगेका समुदाय नै परस्पर लड्दा जात–व्यवस्थाको वास्तविक मुद्दा यथावत् रहेर विषयान्तर मात्रै हुन्छ। जात–व्यवस्था शत्रु हो भने यो साझा शत्रुलाई परास्त गर्ने गरी यस्तो सोच र प्रवृत्तिविरुद्ध एकसाथ लड्न जरुरी छ।

(याे लेख पहिलाेपल्ट हिमालखबर डटकममा २६ असार, २०७८ मा प्रकाशित भएकाे हाे । साेही डटकममा पढ्न यहाँ क्लिक गर्नु हाेला)

लेखकका बारेमा जानकारीका लागि : basantamaharjan.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *