0 1 min 2 mths

दामन शव्द सुन्ने बित्तिकै हाम्रो मानसपटलमा जाडो याममा हिउँ पर्ने र हिउँमा खेल्न पाइने रमाईलो पर्यटकीय स्थल भनेर छाप बसेको छ । तर यो पर्यटकीय स्थल मात्र नभई धार्मिक स्थल पनि रहेको कुरा थोरैलाई मात्र थाहा होला । बौद्ध धर्मगुरु आचार्य पद्मसम्भवले ध्यान बसेको तमना भन्ने ठाउँ हिन्दू धर्मावलम्बीबीच ऋषेश्वर महादेव नामले प्रसिद्ध छ । दामनको यो धार्मिक स्थल (टावर रहेको स्थान) भन्दा १५ मिनेट माथि सडककिनारमा रहेको ऋषेश्वर महादेव भनेर लेखिएको गेटबाट झण्डै १ घण्टाको उकालो ओरालो सिंढी चढेर पुग्न सकिन्छ ।

दामनमा २ पटक पुग्दा समेत हिउँ खेल्ने अवसर नपाए पनि यस धार्मिक स्थलमा भने पुगियो । यस पटक त्यस स्थानमा विराजमान बसुन्धरादेवीको ब्रत बस्नका लागि पुगेको थिएँ । यसका लागि चैत्र १९ गते ललितपुरको कनिबहालस्थित बुद्ध धर्म संघ समितिको आयोजनामा पाँचवटा गाडीमा झण्डै १५० जना त्यसतर्फ लाग्यौं । हरेक महिनाको तृतीयाको दिन बसुन्धरादेवीको ब्रत बस्दै आएको हुनाले यसपालि पनि किन टुटाउनु भनेर गएको थिएँ । जान अगाडि नै ब्रत बस्नका लागि चाहिने सबै सामानहरु झोलामा मिलाएँ । आपूmलाई चाहिने चोखो लुगा र एउटा स्लिपिङ व्याग पनि लगेको थिएँ । बिहान ६ बजे गाडी गुड्ने भनिएपनि एक घण्टा ढिलो भयो ।

गाडी लगनखेलबाट एकान्तकुना र चक्रपथ हुँदै कलंकी पुग्दा जाममा फसियो । “कलंकीको जाम मानिसहरु हजारौं हजार” को गीत सम्झेँ । कलंकीबाट, नैकाप, गुर्जुधारा, थानकोट कटिसकेपछि नागढुंगामा चेक भयो । त्यसपछि गाडि सरर हुईंकियो नौबिसे पुरानो बजार नपुग्दै नास्ता खायौं । नास्ता खाईसकेपछि नौबिसेबाट बायाँ तर्पm त्रिभुवन राजपथको बाटो लाग्यौं । बाईरोडको बाटोमा धुलो उडाउँदै घुम्ती घुम्ती कट्दै उकालो चढ्दै जाँदा उपत्यका त एकदम खाल्डोमा देखिन थाल्यो । त्यस ठाउँ आईपुग्दा भञ्ज्याङ आइपुगेका रहेछौं । बाटो सुनसान । मुग्लिनको बाटोजस्तो चहलपहल यहाँ थिएन । बाटोमा भेटिएका छाप्रोहरु ताला लगाएका कुनै भत्केका मात्र देखियो, मानिसहरु कमै मात्र बसोबास रहेको थियो । ४ घण्टाको बाटोपछि बल्ल टाढैदेखि बस्ती देखिन थाल्यो । २५ मीटरको पालुङ पुल आइपुग्यो । शिखरकोट हुँदै थानाबजार, जहाँ रुट पर्मिट लिनु पथ्र्यो । पालुङ बजारमा स्कूल, बैंकदेखि विभिन्न सेवा सुविधाका पसलहरुको ताँती देखियो । यो पनि एउटा नेवार बस्ती रहेछ । न्हुदँया भिन्तुना भनी ठूलो अक्षरमा रञ्जना लिपिले एउटा घरको झ्यालमा लेखिएकोले यहाँका नेवारहरुलाई नेपाल संवत्को महत्व रहेछ भन्ने कुरा बुझियो ।

थाना बजारबाट अझै उकालो लाग्नु पर्ने थियो दामन पुग्न । १ घण्टा उकालो लागेपछि दामनको टावर देखियो । सडक छेऊमा गाडीहरु रोकियो, यति बेला १२ बजिसकेको थियो । सडक छेऊमा साईन बोर्डमा दामन उचाई २,३२२ मीटर लेखेको देखें । त्यही साईन बोर्डसंगै त्रिभुवन राजपथ थानकोटदेखि भैंसे दोभान ७२ माईल लेखेको सेतो अर्को साईन बोर्ड थियो । यसले थाहा हुन्छ कि यो बाटो नेपाल भारत सहयोगमा सन् १९५३ देखि ३ वर्षको अन्तरालमा निर्माण भएको रहेछ । खाना खाने समय भैसके पनि १ घण्टा कुर्नु पर्ने भया,े त्यतिन्जेलसम्म रु.३० तिरी दामन भ्यू टावर चढें । टावर धेरै अग्लो त थिएन । घुमाउरो सिंढी चढ्दै माथि बरण्डामा पुग्यौं । वरिपरि दृश्यावलोकन गर्नको लागि बार्दली बनाइएको थियो । साथै, दूरविन एउटा पनि राखेको रहेछ । मौसम सफा भएको अवस्थामा सगरमाथा र धौलागिरि समेत देखिन्थ्यो रे तर के गर्नु धुम्म परेको मौसमले गर्दा केही देखिएन । उही आफु आएको बाटो पालुङ बजार नजिकै देखियो । घाम त्यति नलागेकोले फोटोहरु अलि धमिलो देखियो तैपनि सम्झनाको लागि भए पनि एक दुईवटा फोटो खिचें । ठूलो टावरबाट पछाडि होचो टावर एउटा पनि थियो । काठको घुमाउरो सिंढीहरु चढेर माथि पुगे, गोलाकार बरण्डा वरिपरि ठुटो रुखहरु भएता पनि फोटोमा राम्रो आउने रहेछ ।

भ्यू टावरको अगाडि सरकारी कार्यालय परिसरमा अलि खुल्ला चौर थियो । दिउँसोको १ बजिसकेको थियो । पेटमा मुसा दौडिसकेकाले खाना खान सबैजना हतार हतार लाईन बस्न थाले । खाना खाईसकेपछि हामी तमनामा अवस्थित बसुन्धरादेवीको दर्शन गर्न जाने कार्यक्रम थियो । हिंडेर जांदा ढिलो हुने भएकोले गाडिबाट गएं । दामनबाट हेटौंडा जाने बाटोमा करिब १५ मिनेट जति उकालो लागेपछि दाहिनेतिर ऋषेश्वर महादेव कि जय भनेर लेखिएको त्यसको मुनि तिब्बती  भाषामा लेखिएको प्रवेशद्वारले स्वागत गरिरहेको थियो । यसै प्रवेशद्वारमा एक हजार मीटर भनेर पनि लेखिएको थियो । यसको मतलब तमना पुग्न १ हजार मीटरको दूरी थियो । उकालो ओरालो बाटोमा सिमेन्टले ढलान गरेर सिंढीहरु बनाईएको थियो । पहाडको छेऊमा यस्ता सिंढीहरु मिलाएर बनाईएको थियो ओरालो झर्दा त ठीकै थियो उकालो चढ्न अलि गाह्रो । यसरी उकालो ओरालो चढ्दै झण्डै १ घण्टा पछि तमना आईपुग्यो ।

बसुन्धरा देवीको महिमा बौद्ध धर्ममा रहंदै आएको छ । पहेंलो वर्णकी ३ वटा तेज मुखाकृति भएकी (दायाँ महालक्ष्मी, बायाँ कुमारी), ६ वटा हात मध्ये दायाँ हातले वरदान दिइरहेकी, ऐना समातेकी, तेस्रो दायाँ हातले जपमाला समाएकी, बायाँ हातले पूर्ण कलश, धानको बाला, र प्रज्ञा पारमिता पुस्तक समाएकी, अनेक रत्नको गरगहनाले सजिएकी, १६ वर्षकी बैंशले सजिएकी, मुसुमुसु हाँसिरहेकी अन्न, धन, रत्न धारण गरिएकी बसुन्धरा देवीलाई बौद्धहरुले सम्मानपूर्वक पूजा भाव गर्दै आएका छन् ।

बसुन्धरा देवीको ब्रत बसेमा धन द्रव्य पूर्ण हुने निरोगी हुने इच्छाएको प्राप्त हुने जनविश्वास रहँदै आएको छ । प्रत्येक भाद्र महिनाको कृष्ण तृतीयाका दिन बसुन्धरा देवीको ब्रत बसी भोलिपल्ट टोल टोलमा विराजमान देवीको पूजा एवं नगर परिक्रमा गर्ने परम्परा ललितपुरमा अहिलेसम्म विद्यमान छ । बसुन्धरा देवी पहेंलो वर्णको भएकोले ब्रत बस्दा पहेंलो लुगा नै लगाउने चलन रहेको छ । यस वर्ष पनि भाद्र महिनाको कृष्ण तृतीयाको दिनबाट प्रत्येक महिनाको तृतीया १२ वटा तिर्थस्थलहरुमा बसुन्धरादेवीको ब्रतको आयोजना गरिएको थियो । यसै क्रममा सबभन्दा पहिलो गुणागुलि तिर्थ (गोदावरी), बसुपुर (स्वयम्भू), धनद्व चीवहाः(चावहिल स्तूप), बसुन्धरा द्व(बसुन्धरा), क्वहिटी प्राचीन कलश, ईदे बसुन्धरा(बोडे), तिष्टुङको कलशाङ्कित अभिलेख(दामन), तुका बहाः चैत्यको प्राचीन कलश, श्रीघः न्हूघः र नघः(नघल), अन्नपूर्ण देवी (असन), जलकुम्भ देवी (पूचोमाजु), न्हूसडक कलश (विशालबजार गेट) यी १२ वटा स्थानमा विराजमान बसुन्धरादेवीको ब्रत बस्ने कार्यक्रमअन्र्तगत दामन तिष्टुङ गएका थियौं ।

ठूलो पहाडी चट्टानको तल ओडारजस्तो ठाउँ जहाँ बसुन्धरादेवीको प्रतिक स्वरुप कलश अंकित अभिलेख मात्र रहेको छ । यस ठाउँमा अहिले बसुन्धरादेवीको मूर्ति राखिएको छ । यो मूर्ति धेरै पुरानो नभई ९ वर्षअघि पाटनको नेपाल युवा बौद्ध परिषद्ले बसुन्धरा ब्रतको आयोजना गरेपछि बेखा रत्न शाक्य र उनको परिवारले स्थापना गरिएको थियो । मूर्ति त्यस्तै १० ईन्चको प्रस्तरको थियो । केही नभएको ठाउँमा मूर्ति स्थापना रहेकोले यस स्थानको महत्व बढेको छ । त्यसको संगै २० ईन्च जतिका बसुन्धरा बुद्ध र पद्मसम्भवको तीन वटा लस्करै प्रस्तरका मूर्तिहरु स्थापना गरिएका छन् । चट्टानको भित्तासंगै सिसाको ऐनाले बारिएको ठाउँ देखें, त्यहाँको पुजारी तिब्बती लामाले त्यस ठाउँ कुण्ड रहेको र त्यहाँ पानी भरेर अलि अगाडि ढुंगेधाराबाट पानी झर्ने बताए तर हाल त्यस ठाउँमा पानी सुकेर अर्कै ठाउँ चट्टानको चेपबाट पानी आईरहेको र त्यहाँ कालो प्लाष्टिकको पाईप जोडिएको थियो । ब्रतालुहरु यसै पाईपबाट आएको पानी बोटलमा थाप्न थाले । यसको ठीक अगाडि सिमेन्टले बनाईएको चर्तुव्युह चैत्य स्थापना गरिएको छ । बसुन्धरा मूर्तिभन्दा अलि माथि पहाडको चट्टानको मुनि अखण्ड बत्ति बलिरहेको थियो त्यसै स्थानमा दुईटा शिलापत्र पनि देखें ।

बसुन्धरादेवी रहेको ठाउँको ठीक माथितिर चट्टानमा पद्मसम्भवको चित्र कोरिएको देखियो । त्यससंगै सिमेन्टको बरण्डा देखें । यही ठाउँमा पहिला गुरु पद्मसम्भवले ध्यान गरेको भएर यो ठाउँ बौद्ध धर्मावलम्बीहरुका लागि प्रसिद्ध रहेको छ । ओडार जस्तो चट्टानको भित्तामा केही मधुरो पद्मसम्भवको मूर्ति कुँदिएको देखिन्छ । अगाडि पट्टि सिमेन्ट लगाएर अलि फराकिलो ठाउँ बनाइराखेको र त्यहाँ जानका लागि सिमेन्टका सिंढीहरु बनाइएको छ । सिंढी चढ्ने बित्तिकै लस्करै साना साना घण्टाहरुको झुप्पा देखें । ती घण्टाहरु सबै त्यहाँ आएका भक्तजनहरुले चढाएका हुन सक्छन् ।

यस स्थानमा हामी संगै गएका गुरुजुले कलश पूजा गरिसकेपछि बसुन्धरादेवीलाई अघ्र्य दिएर त्यहाँबाट फक्र्यौं । जाने बेला १ घण्टाको समय लागेको तर फर्किने बेला धेरै उकालो चढ्नु परेता पनि ३० मिनेटमा प्रवेशद्वार भएको ठाउँमा आईपुग्यौं । खाजा खांदा साढे ४ बजिसकेको थियो । घाम डुबिसकेकोले चिसो हावा चल्न थाल्यो । दामनमा चिसोलाई स्वीटरले थाम्न सकेन । एकजना दिदीको सल ओढेर बसें । हामी बस्ने गौरीशंकर होटल भ्यू टावरभन्दा ५ मिनेट पर थियो । खाजा खाईसकेपछि उतै गईयो । एउटा होटलमा ठाउँ नपुगेकोले अरु थप २ वटा होटलमा पनि ब्रतालुहरु र भोलिन्टर साथीहरुलाई व्यवस्था गरियो ।

दोस्रो दिन ब्रत बस्न सकाएर काठमाडौं फर्किनु पर्ने थियो । राती अलि चाँडै सुतेर बिहान पनि चाँडो उठ्ने विचार थियो । राति आफु बसेको कोठाका साथीहरु ट्वाईलेट जान ओहोर दोहोर गरेकोले राम्रो निन्द्रै लागेन । बिहान झन् ५ नबज्दै कोलाहलले उठ्न कर लाग्यो । बिहानको नित्य कर्म सकाएर ब्रत बस्नका लागि ६ बजेतिर होटेलबाट निस्कियो । चिसो हावा अनि सूर्योदयको दृश्य एकदम राम्रो देखिएको थियो । ५ मिनेट आँखालाई सितल पारे वरिपरिको दृश्यावलोकन गरें, एकैछिनको लागि भए पनि नगरकोटको सूर्योदयको सम्झना गरायो । ब्रत बस्ने स्थानमा पुगेर सबै सामानहरु मिलाएं । पूजा गर्ने सामानहरु अगाडि राखें अनि पूजा शुरु भयो बिहान ८ बजे । पूजा सकेपछि गुरुजुले १०८ बसुन्धरादेवी भएको र यस स्थानको बारे थोरै बताउनु भयो । धेरै समयअगाडि यस सुन्दर रमणीय स्थानमा बसुन्धरादेवीको आगमन भएको र गुरु पद्मसम्भवले ध्यान गरेको स्थान भएकोले यो ठाउँ पवित्र भएको बताउनु भयो । हुन पनि बसुन्धराको ब्रत बसेको यो आठौं पटक भईसकेको अवस्थामा यहाँ जस्तो प्राकृतिक हराभरा रमणीय ठाउँमा पहिलो पटक खुल्ला चौरमा ब्रत बसको पहिलो अनुभव थियो । गुरुजुले कथा भन्न सकेपछि अघ्र्य दियौं र पछि बल्ल खाना खान सकिने भयो जसलाई पालं यायेगु भनिन्छ । गुरुजुले बनाएको मण्डपमा अघ्र्य दिन सकेपछि टिका लगाएं र खानाको लागि लाईनमा बस्न थाले । दिनको करिब १२ बजे खाने समयमा पानी पर्न शुरु भयो खुल्ला चौरमा एउटा मात्र हल थियो, त्यहाँ ओत लाग्न छिरे । कोही ब्रतालुहरु खान सकेकाले गाडि चढ्न गए । म पनि हतार खाना खान सकेर गाडि चढ्न गएं । एकछिन पछि फेरि घाम लाग्न थाल्यो । दिउँसोको १ बजे सबैजना गाडि चढेर काठमाडौंतिर फर्कियौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *