
लामाले दिएको नाम छेकुडोल्मा, पुरेतले दिएको विष्णुकुमारी र आफैले राखेको नाम पारिजात तीन ओटा नाम मध्ये पारिजात नाम विश्वभर फैलियो । यायाबर बनेर जंगल घुम्दै पोल्टाभरि फूल टिप्ने रहर पालेकी पारिजातले पारिजात फूलको ‘आफ्नो लागि फुल्ने र आफ्नै लागि झर्ने’ तथा बोटबाट टिप्न नहुने विशेषताकै कारण चुनिन भने विश्व सामु चिनाउने उनको उपन्यास ‘शिरिषको फूल ’को विशेषता पनि करीव करीव उस्तै छ, फूलको रस चुस्न खोज्ने भवराको समेत अन्त गरिदिने, अर्थात मात्र आफ्नै लागि फुल्ने ।
बाल्यावस्थामा बुबाले दैनिक रुपमा सुनाउने कथाको प्रेरणा तथा नातेदार दाजु प्रियकुमार वाइबाको लेखकीय क्षमताबाट प्रभावित पारिजातले विद्यालय पढ्दाताकानै हस्तलिखित पत्रिकामा सक्रियता देखाइसक्नुभएको थियो । साहित्यको रसमा चुर्लुम्म डुबेकी पारिजातको पहिलो प्रकाशित उपन्यास ‘शिरीषको फूल’ निकै प्रसिद्ध भएकै कारण २०२२ सालमा प्रकाशित ‘शिरीषको फूल’ले गद्य साहित्य तर्फ २०२३ सालमा ‘मदन पुरस्कार- २०२२’ले सम्मानित हुने अवसर प्राप्त गरेको थियो । नेपाली महिला साहित्यकारद्वारा लिखित ‘शिरीषको फूल’लाई पुरस्कृत गर्न पुरस्कारका मूल्यांकनकर्ता सूर्यविक्रम ज्ञवालीले सिफारिस गर्नुभएको मदन पुरस्कार गुठीको अभिलेखबाट देखिन्छ ।
२०२३ साल कार्तिक २ गते मंगलबार मदन पुरस्कार वितरण समारोह थियो । समारोहका दिन पारिजात बहिनी सुकन्या तथा राल्फाली साथीहरुसँग जानुभएको थियो । वैठकमा चकटी तथा मेच थियो । पारिजात आफै हिंड्न नसक्ने कारणले ट्याक्सीदेखि बैठकसम्म जान एक राल्फाली साथीले बोकेका थिए । यस्तै मदन पुरस्कार पाउने व्यक्तिलाई पुरस्कारकालागि ससम्मान अध्यक्ष समक्ष दुइजना विद्वानले अगुवाई गरी लैजाने परम्परा थियो तर पारिजात हिंड्न नसक्ने कारणले पुरस्कार संस्थापिका रानी जगदम्बाबाट आफैं अगाडि गएर मेचमा बस्नुभएकी पारिजातलाई कपूर-बत्तीले आरती गरी पुरस्कार हस्तान्तरण गरिएको थियो ।
नेपाली साहित्यिक क्षेत्रमा सबैेभन्दा महत्वपूर्ण पुरस्कार मानिएको मदन पुरस्कारमा पारिजातले पाएको मदन पुरस्कारको अवशेष यतिबेला कसैसँग सुरक्षित छैन । पारिजातकी बहिनी सुकन्याका अनुसार मदन पुरस्कारसँगै दिइएको चाँदीको दीयो निकै समय अगाडि हरायो भने मदन पुरस्कारको प्लेट पनि पुरस्कार प्राप्त भएको दुई वर्षभित्रै चाँदीको दाममा बेचिइसकिएको छ । रोग निको पार्न जस्तो सुकै कदम चाल्न विवश तुल्याउने यथार्थका अगाडि पारिजातले झुक्न वाध्य हुनभयो । अर्थात करीव १३ वर्षको उमेरदेखि शुरु भएको ‘र्यूमाट्वाइड आथाराइटिस’ नामक हाड जोर्नी सम्बन्धी रोग निको पार्ने प्रयास स्वरुप औषधि किन्ने पैसाको अभावमा चाँदीको मदन पुरस्कारजस्तो सम्मान पत्र समेत जोगिन सकेन । पहिले सुन्निएर रातो हुने र सुन्निएको बसे पछि हाडै बाँगिने लक्षण भएको यो रोगले पारिजातलाई शुरुमा दाहिने हातको नाडीमा समातेको थियो भने पछि विस्तारै शरीरका अन्य भागमा समेत फैलिएको थियो ।
छोरीलाई डाक्टर बनाउने आफ्नो बाबुको सपनाको अगाडि जिन्दगीभरको रोगी भएर रहन बाध्य पारिजातको दाहिने हातका तीन औंलाले कामै गर्दैनथे भने वाँकी चोर औंला र बूढी औंलाका सहायताले लेख्नुहुन्थ्यो । अरुले लेख्दा भावना टुट्छ भन्ने धारणाले जस्तोसुकै अवस्थामा पनि आफै लेख्ने पारिजातले कष्टसाथ लेखेको कृति तथा लेख वापत प्रकाशकबाट पारिश्रमिक पाउँन पनि कतिपय अवस्थामा हम्मे पर्दथ्यो । महंगो औषधि दैनिक रुपमा प्रयोग गर्नु पर्ने कारणले अभाव यति थियो कि, कुनै समय बहिनी सुकन्याले एकमहिनाको लागि भनेर औषधि किन्न पैसा लिएर जाँदा तीन दिनको लागि पुग्ने औषधि आउँथ्यो ।
पारिजातको कमाउने छोरो बनेको ‘शिरीषको फूल’ को अंग्रेजी अनुवाद Blue Mimosa विदेशी साहित्य परिचय अध्ययन विभाग अन्तर्गत संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयको पाठ्यक्रममा समाविष्ट छ । तीस दिनमा लेखिसिध्याइएको उल्लेखित उपन्यासकी प्रमुख पात्र सकम्बरीमा देखिने स्वाभिमान तथा अधिकांश पात्रहरुमा देखिने शून्यवाद र निस्सारतावादको प्रभाव पारिजातसँग अधिकांश समय रह्यो भने पछिल्ला समय राजनीतिक अध्ययन र राजनीतिप्रतिको प्रभावका कारण उनमा जीवनप्रति निकै आशा पलाएको पाइन्छ । पछिल्ला समयमा जीवननै राजनीति हो भन्ने मान्यता लिएर हिंड्नुभएकी पारिजातले आफ्नो ‘मृत्यु ’कवितामा ‘मृत्यु पनि संगठन भएर अंगालोहरुबीच बाँधिएका’ पाउँनुभयो । यस्तै पछिल्ला समयलाई सामाजिक सेवाका लागि पनि उहाँले दिनुभयो ।
फूलआफू शारीरिक रुपले अस्वस्थ हुँदाहुँदै पनि महिलाहरुको लागि तथा शोषित पीडितहरुको मुक्तिका लागि देशका विभिन्न क्षेत्रमा हिंड्नु, आफ्नै प्रतिभा, क्षमता, पीडा, श्रमले आफ्नो व्यक्तित्व बनाएको कारण उहा“को स्थान साहित्य, राजनीति, सामाजिक सेवाजस्ता क्षेत्रमा उ“चो छ । कुनै पुरुषस“ग गा“सिएको कारण बनेको ‘फस्ट लेडी’ नभइ, उहाँको आफ्नै बलबुताले बनेको ‘फस्ट लेडी’मा सवैले गौरव गर्नु पर्छ । यस अर्थमा पनि उहाँलाई अव्वल दर्जाको नारीवादीको संज्ञा दिन सकिन्छ ।
दार्जिलिङमा जन्मिएर २०११ सालमा नेपाल आएकी पारिजातले नेपालको लामो बसाइपछि यहींको नागरिकता लिएर नेपाली नागरिक भएर बस्न चाहनुभयो तर नेपालको प्रशासनबाट विभिन्न अड्को थापेर उहा“लाई नागरिकताको प्रमाणपत्र दिइएन । नेपालको प्रशासनबाट वाक्क भएकी पारिजातले त्यसपछि कहिल्यै नागरिकताको प्रमाण पत्र लिने चाहना र चेष्टा गर्नुभएन ।उहा“को कथन हुन्थ्यो- म नेपालमै बस्छु, नेपालमै मर्छु कसले भन्दो रहेछ म नेपाली होइन भनेर । सरकारी जागिर खाने होइन किन चाहियो नागरिकताको प्रमाणपत्र ? तर २०५० सालमा उहाँलाई सरकारले विदेश लगेर उपचार गराउने चासो देखायो र विना नागरिकता राहदानी तयार भएको थियो । एउटा विडम्बना, जिन्दगीभर कलम चलाउने पारिजातले कलम चलाएर हस्ताक्षर गर्न नसकेको कारण राहदानीमा ल्याप्चे लगाउनुभयो ।
बुवाको चुरोट खाने लतको प्रभावबाट पारिजातले शुरुमा चियापत्तीको धूलोलाई कागजमा बेरेर चुरोट खान सिक्नुभयो भने पछि वास्तविक चुरोटलाई अन्तिम समयसम्म छोड्न सक्नुभएन । छोरीमा आफ्नो नराम्रो लतको प्रभाव परेको देखी बुवाले चुरोट छोड्नुभयो तर पारिजातले छोड्नसक्नुभएन । यस्तै रोगको पीडा भुलाउन उहाँले कुनै समय रक्सीको सहारा लिनुभयो तर पछि रक्सीको ठाउँ भारतीय लेखकहरु शरच्चन्द्र, रविन्द्रनाथ टैगोर, प्रेम चन्दका किताबहरुले लिन थाले ।
जीवनभर अविवाहित रहेकी पारिजातका कृति अति गंभीर भए पनि उहा“ स्वयं भने चंचले पनि हुनुहुन्थ्यो । उहाँ जवानीमा छँदा एक युवकले मनपराएका थिए, शायद पारिजातले पनि । तर पारिजात ती युवक आफ्नो सामुन्ने पर्ने वित्तिकै रिसाउँनुहुन्थ्यो । नेपाल आएपछि पारिजातको विवाहको कुरा चल्दा उहाँले पहिला ती युवकलाई सम्झेर चिठ्ठी पठाउनुभयो । प्रत्युत्तरमा ती युवकको विवाह भइसकेको थाहा पाएपछि उहाँले विवाह गर्ने विचार सधैंको लागि त्याग्नुभयो । पारिजातको देहान्तपछि ती व्यक्तिले नेपालमा आएर पारिजातको सालिक हेरेर गए भने तिनै पुराना प्रेमीलाई समर्पण गरेर लेखिएको पारिजातको संस्मरण अझै छ । उनै प्रेमीलाई सम्झेर पारिजातले आफ्ना एक मित्रलाई चिठ्ठीमा लेख्नुभएको छ- …Tragedy of life is not what we suffer but is that what we miss. त्यसैले मेरो first love मात्रै Tragedy हो । बाँकी सवै दुःख हुन, only sufferings । मेरो जीवन अति गाह्रो र जटील भइदियो । यस्तो जीवन बाँच्न त मैले खोजेकी होइन । एउटा जटिलतालाई संगाल्न खोज्दा अर्को जटिलता थपियो ।…. मैले त मात्र साधारण भन्दा बेग्लै जीवन बाँचु भन्ने सोचेकी थिएँ“ ।’
लामाे समय राेगबाट थिलनुभएकी पारिजातकाे मृत्यु २०५० साल वैशाख ५ गते काठमाडाैंमा भएकाे थियाे ।