काठमाडौं, २५ असार । चीनसँग खरिद गरेको ४० लाख डोज खोपमध्येको पहिलो लटको ८ लाख डोज खोप आज विहान आइपुगेको छ । निर्धारित तालिकाअनुसार नेपाल बायुसेवा निगमको जहाज चीन गएको थियो । ४० लाख डोज खोप ३ खेप गरेर, बाँकी खोप साउन १ गते र साउन ८ गते नेपाल ल्याउने तयारी छ ।
यसअघि चीनले पहिलो पटक ८ लाख र दोस्रो पटक १० लाख गरी १८ लाख खोप अनुदानस्वरुप उपलब्ध गराइसकेको छ । झण्डै डेढ महिना अगाडि राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच खोपसम्बन्धमा भएको वार्ता पछि राष्ट्रपति सीले नेपाललाई ५० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए ।
कोविड १९ संक्रमणको एक मात्र विकल्प देखिएको खोप विभिन्न देशबाट ल्याउने तयारीअनुसार सरकारले चीनबाट ल्याएको हो । चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोपको १८ लाख डोज अनुदानमा उपलब्ध गराएको चीनले ४० लाख खोप बिक्री गर्ने सहमतिअनुसार खोप ल्याइएको हो ।
स्वास्थ्य मन्त्रालयले जनाएअनुसार गाभी कोभ्याक्समार्फत् थप १० देखि १५ लाख डोज खोप साउन १६ गतेभित्र आउने क्रममा छ । अमेरिकाले गाभी कोभ्याक्समार्फत दिने खोप जोनसोन एण्ड जोनसोनको दिन लागेको र उक्त खोप एक डोज मात्र लगाउन मिल्ने बताइएको छ । कोभ्याक्सले अमेरिकाबाट खरिद गरेर विभिन्न देशमा वितरण गर्न लागेको हो ।
दक्षिण एशियाली देशहरू बंगलादेश र पाकिस्तानले अमेरिकाबाट पाउने कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप अनुदानमध्ये पहिलो चरणमा २५÷२५ लाख डोज प्राप्त गरे । दुवै देशले कोभ्याक्स सुुविधा मार्फत मोडर्ना खोप पाएको जनाइएको छ । श्रीलंकाले पनि अमेरिकाले दिने तय गरेको फाइजर खोपको आठ लाखमध्ये पहिलो चरणको २६ हजार डोज पाएको छ । श्रीलंकाले जापानबाट पनि खोप लिन पहल गरेको छ । कोभिड–१९ सँग जुध्न दक्षिण एसियाका देशहरूले पश्चिमा मुलुकहरूबाट धमाधम खोप पाइरहेका वेला नेपाल पनि खोपका लागि विभिन्न खोप उत्पादक देशहरुप्रति आशावादी नजरले हेरिरहेको छ । तर कहाँबाट कति डोज खोप आउँछ भन्ने बारे निश्चित छैन । भारतको सेरम इन्स्टिच्युटलाई नेपालले गत वर्षको फागुनमैं कोभिशिल्ड खोपको खरिद प्रकृयाका लागि रकम भुक्तानी गरिसकेको भए पनि १० लाख डोज अझै आउन बाँकी छ । कोभिशिल्डको पहिलो मात्रा खोप लगाएर दोस्रोको पर्खाइमा रहेका जनसंख्या करीव १४ लाख छ ।
अहिलेसम्म खोप अनुदान र खरीदको प्रगति हेर्दा नेपालले सबै नागरिकलाई खोप दिलाउन लामो समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ । यद्यपि, सरकारले भने एकाध महीनाभित्रैमा सबै नागरिकलाई खोप दिने बताउँदै आएको छ ।
नेपालले पछिल्ला महिनाहरूमा खोप अनुदान र खरीदका लागि प्रयत्न गर्दै आएको देखिन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिका, बेलायत, रसिया, भारतसहित विभिन्न मुलुकका राष्ट्र प्रमुखलाई खोपमा सहयोगको अपेक्षा गर्दै पत्र लेखेकी थिइन् । अन्य मुलुकका तुलनामा चीनले नेपालको खोप अनुरोधलाई बढी सकारात्मक प्रतिक्रिया दियो । यद्यपि, नेपालले चीनसँग भन्दा बढी भारतसँग खोपका लागि अपेक्षा राख्दै आएको थियो ।
कोभिड–१९ महाव्याधिको एकपछि अर्को लहरबाट छुटकारा पाइने एउटै उपाय सबै नागरिकलाई यथाशीघ्र खोप उपलब्ध गराउनु हो । तर, खोप सबै नेपालीलाई पुग्ने गरी कहिले उपलब्ध हुन्छ भन्ने अन्तर्राष्ट्रिय समुदायको उदारतामा भर पर्छ । चीनबाट आएको तथा आउन लागेको भेरोसेल सहितको खोपले करीब २९ लाखलाई कोभिड–१९ को जोखिमबाट सुरक्षित बनाउने देखिन्छ । अमेरिकाबाट एक डोज मात्रै लगाउँदा पुग्ने जोन्सन एन्ड जोन्सनको खोप आउने हो भने यसले जोखिमयुक्त १५ लाख नागरिकलाई सुरक्षित बनाउनेछ ।
यस्तै, कोभिशिल्डको दोस्रो डोज कुरिरहेका करीब १४ लाख नेपालीलाई पुग्ने गरी अन्तर्राष्ट्रिय समुदायले कोभिशिल्ड खोप उपलब्ध गराउन सके यसले नेपालको खोप अभियानमा महत्त्वपूर्ण योगदान पु¥याउनेछ । यो नेपालको कुल जनसंख्याको करीब २० प्रतिशत हो । यद्यपि, महामारीको सम्भावित अर्को लहरबाट बच्न यो परिमाणको खोप पर्याप्त होइन । स्मार्ट लकडाउनसँगै खुलेको अधिकांश क्षेत्रमा देखिएको मानिसको भीडले सम्भावित तेस्रो लहर चाँडै नै निम्त्याउने कुरामा शंका छैन ।
निषेधाज्ञाको बन्देजका बावजूद अहिले कोभिड–१९ संक्रमितहरूको संख्या दैनिक २ हजारदेखि २५ सयको हाराहारीमा छ । झन्डै दुई महिना निषेधाज्ञा जारी गरेको सरकारले क्रमशः निषेधाज्ञालाई खुकुलो बनाउँदै लग्दा यसले फेरि संक्रमण बढाउने जोखिम उत्तिकै छ । गत वर्ष पनि लकडाउन खुकुलो भएपछि संक्रमितको संख्या ह्वात्तै बढेको थियो । गत वर्षको पछिल्लो चरणमा फैलिएको संक्रमणले यो वर्षको लकडाउनलाई नियन्त्रित बनाएको थियो ।