मौसमविदहरूले मनसुन लाग्नु अगावै प्रक्षेपण गरेका थिए, यो वर्षको मनसुनमा अरु वर्षभन्दा बढी वर्षा हुन्छ, सतर्क रहनुहोला ।
नभन्दै, मनसुन सक्रिय भएर असार १ गतेदेखि नै शुरु भएको वर्षाले मेलम्ची, हेलम्बु, मनाङ, मुस्ताङका अधिकांश क्षेत्रमा ताण्डव नै मच्चायो । असार १ बाट शुरु भएको प्राकृतिक विपदको कहरबाट पीडितहरू निस्केकै छैनन्, स्थायी बास भेटेका छैनन, फेरि असार १६ गतेबाट अधिक वर्षा शुरु भएको छ । हुनत यो मनसुन एक सय २० दिन रहने आंकलन गरिएबाट लामैं समय नेपालीहरूले सतर्कतासहित तयारी गर्नु पर्ने हुन्छ ।
प्रत्येक वर्षको वर्षात्मा पहिरोले घर बगाएको, बाढीले घर ड्ुबाएको, राजमार्ग पहिरोले छेकेको, बाटो छेकिंदा यात्रीहरू बाटोमा अलपत्र परेको आदि इत्यादि समाचार आउथ्यो । तर यो वर्षको मनसुन शुरु हुने वित्तिकै नेपाली जनमानसलाई थर्काउने गरी आयो । मनसुन आएन मात्र, यसले थुप्रै वितण्डा बोकेर आयो ।
यो वर्ष मेलम्ची नदीमा आएको बाढीले खेत डुबाउने मात्र होइन थुप्रैको घरसमेत डुबायो, छोपि दियो, पर्लक्कै पल्टायो । दुई तलेसम्मको घरलाई पनि लेदो पानी, गेग्रान र ढुंगाले यसरी छोपिदियो मानौं त्यहाँमुनि घरको अस्तित्व नै छैन । घरलाई बाढीले १८० डिग्रीमैं पल्टाउनु भनेको चानचुने कुरा होइन । आफ्नो विग्रेको, भत्केको, डुबेको, छोपिएको घरलाई हेर्दैै पीडितहरू रोएको दृश्य हेरिनसक्नुको छ । स्थानीयहरूले पनि कहिल्यै नदेखेको बाढीको रुप यो वर्ष देखे, भोगे । आफूले सम्हालेर राखेको सामग्री नभेट्टाउदा भनिने गरिएको ‘आकासले निल्यो या जमिनले खायो’ भन्ने उखान यो पटक वास्तविक सावित भएको छ ।आफ्नै एउटा घर बनाउने र बस्ने सपनाका लागि वर्षौ विदेशमा पसिना बगाएर कमाएको मिहेनत पनि त्यही बाढीले घर छोपिंदा बाढी पीडितहरू वास्तविक सुकुम्बासी भएका छन् । करोडौं खर्च गरेर होटल व्यवसाय गर्न भरखर बनाई भ्याएका घरहरू खण्डहर बनेका छन् । करोडौं खर्च गरेर विदेशको कमाईलाई देशमैं केही गर्ने सोचसहित कृषि कर्ममा गरिएको लगानी पनि बगरमा परिणत भएको छ । खाई नखाई गरी कमाएको पैसाले आफ्नै गाउँ ठाउँमा केही गर्ने स्थानीयको सपना भत्किएको छ, लड्खडाएको छ । यो भत्किएको, लड्खडाएको सपनालाई सरकारले दरिलो आड दिनुपर्छ ।
अचम्मै खालको बाढीको वितण्डा मेलम्ची र हेलम्बुको मात्र होइन । मनसु्नको नगन्य प्रभाव मात्रै पर्ने तथा पानी नपर्ने जिल्लाका रुपमा लिइएका हिमालपारीका जिल्ला मनाङ र मुस्ताङमा पनि मनसुनको शुरुमैं पानी पर्यो ।
जलवायु तथा मौसम विज्ञहरूका अनुसार मनसुनको सुरुवातमै उच्च हिमाली क्षेत्रमा धेरै पानी परेको यो नेपालका लागि सम्भवतः पहिलो घटना हो । यहाँ पानी नै नपर्ने कारणले नै यहाँका संस्कृति, संरचना निर्माण सोही अनुसारको हुने गर्दछ । स्थानिय प्राकृतिक संरचनालाई नै खल्बल्याएको यो वर्षको बाढी र मनसुनले हिमाली जिल्लामा क्षतिको जोखिम बढाएको छ । मौसमविद डा. ङमिन्द्र दाहालका अनुसार ‘यो वर्ष नेपालमा मनसुन सिधै हिमालतिर उक्लियो, यो अस्वभाविक हो । नेपालको मध्य पहाड, चुरे तथा तराई क्षेत्रमा केन्द्रित हुने मनसुन यस वर्ष सिधै माथितिर जाँदा हामीलाई पनि अनौठो लागेको छ ।’
सामान्यतया मनसुन हिमाल पारी जाँदैन । मनाङ, मुस्ताङ सामान्यतया पानी पर्ने नभइ हिउँ पर्ने क्षेत्र हुन् । ती ठाउँमा कहिलेकाहीँ मनसुनको वर्षा भएपनि त्यो निकै कम हुन्थ्यो । पानी नपर्ने भएपछि त्यहाँका घर, बाटोघाटो, पुलहरू पनि त्यही किसिमका बनाइएका हुन्छन् । स्थानीय परम्परागत घर तथा पर्खाल नै माटोको हुने गरेबाट यो वर्ष आएको मनसुनले त्यहाँ वितण्डा मच्चाउन ठूलो मलजत गर्यो, अझै गर्नेछ । यस वर्ष त्यहाँ देखिएको विपद् पूर्वानुमान् गरिएभन्दा बढी हो । हिमालतिर मनसुन पुग्छ भन्ने संकेत देखिएको भएपनि अहिले नै यस्तो वर्षाको कल्पना गरिएको थिएन ।
हिमालपारी मनसुन पुग्नुलाई धेरैले जलवायु परिवर्तनको विषयसँग पनि जोडेका छन्, त्यसैको असरका रुपमा लिएका छन् । अध्ययनअनुसार मनसुनमा पहिलोको भन्दा पानी बढिरहेको छ । मौसमविद डा. ङमिन्द्र दाहालका अनुसार अहिले तापक्रम बढेकाले मनसुनको बादलले पहिलेको भन्दा बढी उचाई लियो । तलको बादल माथिको उचाईमा पुगेकैले हिमालपारी पुगेको हो । यो अबको मनसुन हिमालतिर जान्छ भन्ने संकेत हो । यसअघि अनुमान थियो अहिले व्यवहारिक पुष्टि हो ।
मनाङमा आएको रफ्तारको बाढीले बगाएको पुल, भत्किएका घरले स्वभाविक रुपमा हिमाली क्षेत्र अब जोखिममा परेको छ भन्ने कुरा प्रष्ट्यायो । त्यहाँको भूगोल पनि बढी पानी तथा भेल थेग्न सक्ने खालको छैन । माटोका थुप्रोहरू तथा रुखविरुवा विनाका कमलो पहाडहरू धेरै छन् । पानी बढी भएपछि ती क्षेत्र बग्न थाल्छन् तथा त्यहाँ पहिरो जान्छ । त्यसले त्यहाँ समस्या आउने भयो । यस्तै हिमतालहरू फुट्ने जोखिम, हिमनदीको आकार बृद्धि वा हिमालमा हिउँ धेरै पग्लिनेजस्ता समस्या पनि आउन सक्छन् । यसैले हिमालतिर मनसुन जानु भनेको त्यहाँको प्रकृतिदेखि पहाड र तराईका जनजीवन सम्मलाई असर पार्ने जोखिम बढ्नु हो ।
हिमाली भेगको बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा पनि व्यापक रुपमा पर्छ भन्ने कुराको प्रमाण सिन्धुपाल्चोकमा देखिएको छ । मेलम्चीमा बाढी आउनुको कारण पहिरो रहेको र त्यो पहिरो हिमाली क्षेत्रमा गएको प्रारम्भिक विवरण आएका छन् । मानवबस्ती नभएको ठाउँमा गएको पहिरोले प्रकृतिमा क्षति पु¥यायो भने तल्लो क्षेत्रमा आंकलन नै गर्न नसक्ने गरी जनधनको क्षति गरेको छ । माथि जहाँ पहिरो गयो त्योभन्दा बढी हेलम्बु, मेलम्ची लगायतका ठाउँमा देखिएको क्षतिलाई हेरेर पनि हामी हिमाली क्षेत्रमा संकट आउनु भनेको पहाड तथा तराइमा समस्या आउनु हो भनेर बुझ्न सक्छौं ।
हुनत मौसमविदहरूले अनुमान मात्रै गर्दै आएको कुरा यसपालि मनाङ, मुस्ताङ लगायतका ठाउँमा देखिएको छ । यस्ता प्राकृतिक विपदजन्य घटनाबाट जनधनको क्षति कम गर्न सरकार तथा स्थानीय निकायले नदी तटीय क्षेत्रहरूमा चेतावनी वा जानकारी दिने प्रणाली स्थापना गर्नुपर्छ ।
महत्वपूर्ण कुरा, पालिकाहरूले आफ्नो ठाउँको अवस्थाको बारेमा अध्ययन गरेर यथार्थ कुरा स्थानीय जनतालाई जानकारी गराउनुपर्छ ताकि बढीभन्दा बढी सुरक्षित गर्न सकियोस्, स्थानान्तरण गर्न सकियोस् । हुनत, मेलम्चीमा सम्भावित दुःखद घटनालाई आंकलन गर्दै स्थानीय सु्रक्षा निकायले स्थानीय बजारका घरहरू खाली गर्न केही घण्टा आगाडि नै माइकिङ गरेको थियो । तर, यस आगाडि कहिल्यै त्यो स्तरको भयावह नदेखेका स्थानीयले चेतावनीलाई पनि नीच मानेर घरमैं बसिरहे । चेतावनी सुनेर पनि नीच मानेर बसेकी एक पीडित महिलाको कथन छ, भात पकाएर खाएर जाऔला भनेर बसेको, भात त पाक्यो तर पानी घर भित्रै आउन थालेपछि भात चाहिं खान पाइएन ।
नेपालमा मुख्यतयाः बाढी, पहिरो, अधिक वर्षा, चट्याङ, हावाहुरी, सर्प दंश, आगलागी, जनावरबाट हुने आक्रमणलाई विपदका रुपमा लिइने गरिएको छ । जलवायु तथा मौसम विभागबाट प्राप्त तथ्यांकअनुसार सन् २०११ देखि २०२० सम्मको तथ्यांकलाई केलाउने हो भने ५६ प्रतिशत परिवार बाढीबाट प्रभावित भएको देखिन्छ । यस्तै, १७ प्रतिशत आगलागि, १४ प्रतिशत हावाहुरी, ४ प्रतिशत अधिक वर्षा र ६ प्रतिशत पहिरोबाट प्रभावित परिवार देखिन्छ । यी सबैखाले विपदबाट जोगिन तथा सम्भावित विपदका घटना हुन सक्ने ठाउँका बस्ती सार्नेदेखि उद्धार, राहत लगायतका विषयमा पनि पालिकाहरू तथा सरकारी निकाय तयारी अवस्थामा रहनुपर्छ । सरकार तथा स्थानीय निकायले विपदबाट पीडितहरूका फाइललाई यो मन्त्रालय र त्यो मन्त्रालयमा अड्काएर वर्षौसम्म पीडितकैं अवस्थामा झुलाएर राख्ने वातावरणबाट मुक्त हुन जरुरी छ
