0 1 min 3 mths

काठमाडौंमा जसै वर्षात् सुरु हुन्छ, युवावर्गमा अचेल झोर जाने जोशजाँगार पलाउँछ । झोरको नाम मात्रै सुनेर पनि पुलकित हुन थाल्छन् । एउटा सानो गाउँ हो, काठमाडौंको उत्तरी भागमा पर्ने र गाउँको एउटा बर्खे झरनाले गर्दा अचेल यो गाउँ युवामाझ चर्चित छ । गत वर्ष नै झोर जाने र झरनामा रुझ्ने योजना बनाएको थिएँ । आजभोलि भन्दाभन्दै समय मिल्दा त झरना सुकिसकेको थियो । त्यही भएर यो साल जाने भनेपछि गइहाल्ने भन्दै एक शनिवार तय ग¥यौं र १० साउन (२०७१) का दिन पुग्यौं ।

आरएनएसीमा सबै साथीहरु भेट्ने तय भयो र त्यहींबाट एउटा गाडीमा चढेर सामाखुसि पुग्यौं । त्यहाँबाट झोर जाने गाडी लाग्दो रहेछ तर भएको एउटा गाडी भरिभराउ र अर्को कतिखेर आउने टुंगो छैन । उतैतिर लाग्न त्यहाँ गाडी पर्खेर बस्नेहरुको भीड त्यत्तिकै थियो । प्रायः १६\१७ देखि २२\२५ वर्षका । केही बेरपछि एउटा बस त आयो तर चढ्ने हिम्मत नै गर्न सकेनौं । तुरुन्तै भरिभराउ भइहाल्यो । तर त्यसमा पनि मान्छे राख्न खोजिंदै थियो । हामी दश जना थियौं । दश जना त के बीसौं जना अझै अट्ने कुरा पो गर्छ । विस्तारै चढ्यौं, अटेसमटेस गरेर भित्र आफ्नो ठाउँ बनाउँयौं । हाम्रो समूह नै नअट्ला भन्ने सोचिएकोमा अझै तीन चार समूह अटायो, त्यो बसमा ।

बसभित्रको कल्याङकुल्युङले झोर जानेहरुमा बर्चश्व यही युवा वर्गमा रहेको प्रमाणित गर्दछ । हामी अल्पमतमा परेको स्पष्ट नै छ ।
बस रोकेपछि पीच रोड छाडेर तल तिर ओर्लन्छौं । खुडकिला बनाएको भए सजिलो हुन्थ्यो तर केही छैन । मान्छेहरु यसरी आउने वर्षमा एक दुई महिना मात्रै, अनि बनाउने चासो पनि कसरी हुन्छ र ? त्यसमाथि यहाँको यो झरना प्रचारप्रसारमा आएको पनि केही वर्षअघिदेखि मात्रै हो । हिडाईमा अलिकति मात्रै गडबड भयो भने पनि कैयौं बल्ड्याङ खाएर कहाँ पुग्ने हो थाहा छैन ।

तस्वीरः नेवाःटाइम्स

निकै तल गएपछि टाढाबाट नै आवाज आइरहेको सुनियो, झरना र झरनामा रमाएका मान्छेहरु । हामी त्यतै पुग्यौं । शनिवार भएर होला, अहो ! त्यहाँ त, पाइला टेक्ने ठाउँ रहेनछ । माथि कहाँ कहाँबाट आएको पानी ठूलो चट्टानमा ठोकिने र झरना भएर झर्ने रहेछ । त्यही झरनामुनि बसेर मान्छेहरु रमाउने रहेछन् । कोही झरनामा नपस्ने बरु दर्शक भएर बस्ने । कोही झरनामा रुझेर निस्केको अथवा केही क्षणपछि पस्नेवाला । आफूलाई पनि दर्शक माझ राखेर झरनाको दृश्य हेरेर बस्यौं । हेर्दाहेर्दै आफूलाई पनि झरनाभित्र पसुँपसुँ लाग्ने हुँदो रहेछ । झरनामा रुझेर रमाइ रहेकाहरुको खुशी बेजोडकै देखियो ।

मान्छेको खुशीले जब चुचुरो टेक्छ, चिच्याउने, उफ्रिने वा नाच्ने गर्दछन् र यो दृष्य यहाँ बडो मज्जाले देखियो । अघिसम्म ट्वाँ परेर हेरेर बस्ने एक अधवैंशे महिला अनायास नै झरनाभित्र पस्छिन् ,  युवायुवतीहरुकै लहलहैमा लाग्छिन् र निथु्रुक्क भिजेर निस्कन्छिन् । भिजेको गुन्यू चोलो र सारी यत्तिकै देखियो । फेर्ने लुगा नभएका कारण यतिकै हावामा बस्ने र सुकाउने पनि गर्दा रहेछन् मान्छेहरु । ती महिलाको पनि फेर्ने लुगा थिएन । उनलाई देख्दा लाग्थ्यो, कत्ति पनि अप्ठ्यारो भएको छैन, बरु झरनामा त्यसरी रुझ्न पाएकोमा दंगदास नै थिइन् । हाम्रै समूहका साथीहरु पनि कोही झरनामा पसेका त कोही नपसेका । झरनामा पस्नेहरुको फुईं ईष्र्या लाग्दो थियो ।

तस्वीरः नेवाःटाइम्स

झरनाको दायाँतिर एउटा गुफा छ । गुफाभित्र पसेर माथि निस्कन मिल्छ । त्यसरी नै त्यसको दायाँ महादेवको मन्दिर छ । तर त्यहाँ जानेहरुको मुख्य आकर्षण झरना नै रहेको कुरा मन्दिर तथा गुफामा जानेको संख्या कम भएकोबाट स्पष्ट हुन्छ ।

हरियो डाँडाकाँडाको एउटा खोँचमा रहेको छ झरना । भर्खर मात्रै प्रचारप्रसारमा आएको भएर हो अथवा वर्षामा मात्रै झरना झर्ने भएर, यहाँ किनेर खानका लागि पसलहरुको अभाव छ । एक दुईटा पसल वा रेष्टुरेन्टले नै थेगिरहेको छ । केही वर्षपछि बजारले ठूलै रुप लिने हो कि भन्ने अनुमान गर्न नसकिने होइन ।

त्यहाँ आउनेहरु खाजा आफैं बोकेर आउनेहरु पनि रहेछन् । हामी पनि आफैले बोकेर गएको, पिकनिक जस्तो । खाएर फर्कदा आएको बाटो नै फर्केनौं अर्थात उकालो नचढी ओरालो ओरालो नै झ¥यौं । अब बुझियो, झोरको झरना पुग्ने दुई बाटा रहेछन् । यतातिरबाट पनि आउनेहरु प्रसस्त नै हुँदा रहेछन् । यो बाटो गएर मूल सडकमा नै पुग्दो रहेछ र माथिबाट फर्केर आउने गाडी कुर्न थाल्यौं । तर जति पनि गाडी आयो, भरिएरै आयो । चढ्न पाएनौं । अन्तमा हिडेर टोखा पुग्ने निधो भयो र हिड्यौं ।

अलिकति हिड्न के थालेका थियौं, आकाशमा बादल मडारिन थाल्यो । अघिसम्म पश्चिमतिरमात्रै कालो बादल थियो, अब पश्चिम र पूर्व दुबैतिरबाट बादल हुत्तिएर आएजस्तो भयो र पानी वर्षन थाल्यो । ओत त लागेको हो तर ओत लागेर मात्रै के गर्नु, पानी थामिए पो ! हतपति पानी थामिने छाँट नदेखेपछि हिड्न नै थाल्यौं । हुन त सबैले छाता ओढेकै थियौं तर बिचरा छाताले मात्रै दर्केको पानीविरुद्ध कतिञ्जेल साथ देओस् । दर्केर आएको पानी झोरको झरनाभन्दा कम्तिको थिएन । यो वर्षाले झोरको झरनामा भिज्न नचाहेका साथीलाई पनि गज्जवले भिजाइदियो । झोरको झरना हेर्न गएको, झरीमा रुझेर आइयो ।

लेखकका बारेमा जानकारीका लागि : basantamaharjan.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *