भदाै ३१, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल चिकित्सक सङ्घबीच छ बुँदे सहमति भएको छ । आज आइतवार भएको छ बुँदे सहमतिसँगै सङ्घले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।
स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाकाे संयाेजकत्वमा गठित पाँच सदस्यीय समिति सहित आज दिनभर भएको वार्तामा हेटौँडामा डाक्टरमाथि आक्रमणमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्ने सहमति भएको छ । सहमतिमा पक्राउ परेका चार जना र पक्राउ पुर्जी जारी भएका अन्य पाँच जनालाई ऐनअनुसार कारबाही गर्ने उल्लेख छ ।
सङ्घले आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गराएपछि स्वास्थ्य मन्त्रालयले वार्ता टोली बनाएर संवाद थालेको थियो । चिकित्सकहरूले यसलाई बाध्यता बताएका छन् ।
सहमतिमा ऐन कार्यान्वयनका लागि सरकारका सबै निकाय प्रतिबद्ध हुने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई स्वास्थ्य मन्त्रालयले सक्रिय बनाउने र मासिक रूपमा बैठक बस्ने तथा डाक्टरहरूको सेवा सुविधा, सुरक्षा, जनशक्ति परिचालन, क्षमता अभिवृद्धि गर्ने उल्लेख छ । यस्तै, चिकित्सकको विदेशिने क्रम कम गर्ने लगायतका काम गर्ने गरी तीन महिनाभित्र चिकित्सक सेवासम्बन्धी विधेयकको मस्यौदा तयार पार्ने सहमति भएको छ ।
हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरीका ४२ वर्षका राजेश प्रधानको उपचारको क्रममा ज्यान गएको भन्दै आफन्तले डाक्टरहरू विकास थापा र प्रशान्त बिराडीमाथि कुटपिट गरेका थिए । प्रहरीले कुटपिटमा संलग्न चार जनालाई पक्राउ गरे पनि चिकित्सक सङ्घले आज देशभर आकस्मिकबाहेकका सेवा बन्द गर्दा बिरामीहरूले निकै कठिनाईकाे सामना गर्नु पर्याे ।
काठमाडौंका सरकारीअस्पतालमा टिकट लिन बिहानैदेखि बिरामीको भिड लागेको भए पनि उनीहरू अबेरसम्म अस्पतालमै बसेर उपचार नगराई फर्कन बाध्य भएका थिए ।
